काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बिचको वार्तामा विद्यालय कर्मचारी र इसिडी शिक्षकको तलब सुविधा बढाउने सहमति भएको छ ।

आइतवार भएको वार्तामा स्थायी शिक्षक र निजामति कर्मचारीहरुको तलब बढेको सन्दर्भमा विद्यालय कर्मचारी र इसिडी शिक्षकको पनि तलब बढाउने सहमति भएको वार्तामा सहभागी एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।

वार्तामा विद्यालय कर्मचारी र इसिडी शिक्षकको तलब बढाउन तत्काल शिक्षा मन्त्रालयले पहल थाल्ने निर्णय भएको अधिकारीले जानकारी दिए ।

यसैगरी, विगतमा स्थायी शिक्षक पदस्थापनबाट विस्थापित भई राहतमा पदस्थापन भएका शिक्षकहरुलाई सेवा अवधि निरन्तर रहने गरि स्थापित गर्नको लागि सम्बन्धित पक्षमा पठाउनेसमेत निर्णय भएको अधिकारीले जानकारी दिए ।

लाइसेन्स र तालिम नभएकाले गोल्डेन ह्याण्डसेक लिनबाट बञ्चित शिक्षकहरुलाई सुविधा उपलब्ध गराउन प्रक्रिया थाल्ने सहमति पनि भएको छ ।
अधिकारीका अनुसार विद्यालय मर्जर हुँदा विस्थापनमा परेका विद्यालय कर्मचारी र इसिडी शिक्षकहरूको पेशा र तलबमानको सुनिश्चित हुनेगरी सम्बन्धित तहमा निर्देशन दिने निर्णय समेत भएको छ ।

राज्यकोषबाट तलब खाने अन्य सम्पुर्ण राष्ट्रसेवक, निजामती र शिक्षकहरु समेतको तलबमान बढेकोमा विद्यालय कर्मचारी र इसिडी शिक्षकहरुको तलब बढेको सुनिश्चित नभएकोले समयानुकूल तलबमान बढाउन शिक्षा मन्त्रालयले विशेष पहल थाल्ने निर्णय भएको संगठनका अध्यक्ष अधिकारीले जानकारी दिए ।

इस्तै, शिक्षक सरुवा प्रक्रिया कठिन र जटिल हुनुका साथै अपारदर्शी हुने गुनासो बढिरहेको अवस्थामा विधि र प्रक्रिया पुगेकाहरुको लागि यथासिघ्र अगाडि बढाउन निर्देशन दिने र शिक्ष पोस्टिङ्लाई अझ वैज्ञानिक र ब्यवाहारिक बनाउने निर्णय भएको छ ।

आइतबारको वार्तामा मन्त्रालयको तर्फबाट शिक्षा सचिव खगराज बराल , सहसचिव तथा सम्बाद समिति समयोजक कृष्ण काप्री र महासंघका तफृबाट अध्यक्ष बाबुराम थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्मा, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष  शंकर अधिकारी, शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदी, हेमचन्द्र महतो, शेरबहादुर अधिकारी, प्रदीप श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । अर्को वार्ता छिटै हुने जनाइएको छ ।

२०७६ भदौ १ गते २२:२५मा प्रकाशित

प्रतिकृया दिनुहोस्