काठमाडौं । सरकारले शिक्षा क्षेत्रको लागि १ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँको बजेट बिनियोजित गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण मार्फत अर्थमन्त्री युवराज खतिवडाले शिक्षा क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट छुट्याएको घोषणा गरेका हुन् ।

गत वर्ष शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख छुट्याइएको थियो। जसमा ४६ अर्ब ५३ करोड ६४ लाख रूपैयाँ संघमा २८ अर्ब ५७ करोड ३ लाख प्रदेश र ८५ अर्ब ११ करोड ५० लाख स्थानीय तहलाई शिक्षाका लागि बजेट विनियोजन गरिएको थियो।

अर्थमन्त्री खतिवडाले सार्वजनिक गरेको बजेटमा विद्यालयमा स्यानेटरी प्याड निःशुल्क उपलब्ध गराउने, दिवाखाजा वितरण गर्ने जस्ता कार्यक्रममा समेटिएका छन् ।

दिवाखाजाका लागि ५ अर्ब ९५ करोड छुट्याएको भन्दै अर्थमन्त्री खतिवडाले उक्त रकम विद्यार्थीका आमालाई दिइने स्पष्ट पारे ।

बजेटमा ३०० नयाँ विद्यालय बनाउन ८ अर्ब ५३ करोड र आउँदो वर्ष मदनभण्डारी विश्वविद्यालय स्थापना गर्न १ खर्ब ७५ करोड बिनियोजित गरिएको छ ।

सरकारले दरबन्दी अभाव भएका सामुदायिक विद्यालयहरुमा स्वयं सेवक शिक्षक राख्नका लागि एक अर्ब पाँच करोड छुट्याइएको छ। गणित, विज्ञान, अंग्रेजी लगायत शिक्षक अभाव भएका विषयहरुका लागि स्वयं सेवकका रुपमा शिक्षक पठाउने कार्यक्रम बजेटमा अटाएको छ ।

सामुदायिक विद्यालयमा एक खेल शिक्षक खटाउनका लागि पाँच अर्ब बजेट विनियजेजित भएको छ । त्यस्तै आर्थिक वर्षदेखि विपन्न र अपाङ्ग भएकालाई छात्रवृत्ती उपलब्ध गराउन ३ अर्ब बजेट विनियोजन भएको छ।

८३ हजार युवालाई प्राविधिक तथा व्यावसायिक सिप तालिम उपलब्ध गराउन १ अर्ब ७३ करोड बजेट विनियोजित गरिएको छ ।

उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयहरुको छाता ऐन ल्याइने समेत बजेटमा उल्लेख छ ।

आगामी वर्षभित्र ७० जिल्लालाई पूर्ण साक्षर बनाउने लक्ष्यसमेत वजेटले राखेको छ ।

न्युन विद्यार्थी रहेका विद्यालयहरु समायोजन र एकीकरणकाका लागि बजेट छुट्याइएको छ। त्यस्तै आधारभूतदेखि प्राथमिक तहसम्म रङ्गिन पाठ्य पुस्तक व्यवस्था गर्न २ अर्ब २१ करोड विनियोजन भएको छ।

२०७६ जेष्ठ १५ गते २०:२२मा प्रकाशित

प्रतिकृया दिनुहोस्