एसईईमा राष्ट्रिय मावि शमीपुरको उत्कृष्ट नतिजा

६ पालिकालाई उछिन्यो, जिल्लामै चौथो

Avatar photo

Byएजुकेशन पाटी

२३ असार २०८१, आईतवार

चितवन। राष्ट्रिय माध्यमिक विद्यालय शमीपुर चितवनले गएको एसईईमा उत्कृष्ट नतिजा हासिल गरेको छ । एसईई दिएकामध्ये ७६.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले जिल्लाका ६ पालिकामा सामुदायक विद्यालयतर्फ प्रथम र जिल्लामै चौथो स्थान हासिल गर्न सफल भएको हो ।

विद्यालयबाट एसईईमा सहभागी २१ जना विद्यार्थीमध्ये १६ जना उत्तीर्ण भएका छन् भने ५ जनाको मात्रै एनजी आएको छ । परीक्षा दिएका १६ जनामध्ये पनि २ जनाको ३.६ जीपीए भन्दा धेरै, ८ जनाको ३.२ जीपीए भन्दा धेरै ग्रेड आएको छ । यसैगरी ४ जनाको २.८ देखि ३.२ सम्म र २ जना विद्यार्थीको २.४ देखि २.८ सम्मको जीपीए आएको छ ।

विद्यालयका उत्कृष्ट १० जना विद्यार्थीहरुको मात्रै नतिजा हेर्दा क्रमशः ३.७८, ३.७७, ३.५२, ३.३७, ३.३४, ३.३१, ३.३०, ३.३०, ३.२६ र ३.२४ जीपीए आएको छ । केही समयअघि विद्यार्थी घटेर बन्द हुने अवस्थामा पुगेको विद्यालयले एकाएक शैक्षिक गुणस्तरमा सुधार गर्दै विद्यार्थी सङ्ख्या पनि बढाउँदै लगेको छ । पछिल्लो समय निजी विद्यालयबाट पनि विद्यार्थी भर्ना हुन आउन थालेका छन् । शिक्षक, विद्यार्थी र अभिभावकको सामुहिक प्रयासबाट विद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रधानाध्यापक धर्मेन्द्र जंग रायमाझीले बताए ।

६ पालिकामा उत्कृष्ट नतिजा
कालिका नगरपालिकास्थित राष्ट्रिय मावि शमीपुरले एसईईमा जिल्लाका ६ स्थानीय पालिकामै सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । इच्छाकामना गाउँपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका र कालिका नगरपालिकामा रहेका सामुदायिक विद्यालयमध्ये राष्ट्रिय मावि शमीपुरले उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

कालिका नगरपालिकाबाट सामुदायिक र निजी गरी १३ विद्यालयका ६०४ विद्यार्थीले एसईई दिएकोमा २४१ विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाको समग्र उत्तीर्ण प्रतिशत ३९.९ प्रतिशत रहेको छ । जसमा सामुदायिकतर्फ राष्ट्रिय मावि शमीपुरको औषत उत्तीर्णदर ७६.१९ प्रतिशत रहेको छ । पालिकाका जमुनापुर माविको नतिजा ३०.७७, पृथ्वी माविको २६.१७ र भीमोदयन नमूना माविको एसईई नतिजा २३.७८ रहेको छ ।
राप्ती नगरपालिकाका सामुदायिक निजी गरी १६ विद्यालयका ७७४ विद्यार्थीले एसईई दिएकामा २८७ विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाको औषत एसईई नतिजा सामुदायिकतर्फ १७.२२ र निजी विद्यालयतर्फ ७४.३४ प्रतिशत रहेको छ ।

यस्तै, माडी नगरपालिकाका सामुदायिक र निजी गरी ९ विद्यालयका ४०४ विद्यार्थी एसईईमा सहभागी भएकोमा १९० विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । दिवाकर स्मृति माविले ६३. ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएपनि अन्य विद्यालयको उत्तीर्णदर त्यसभन्दा कमै छ । । इच्छाकामना गाउँपालिका ८ सामुदायिक विद्यालयका ३०८ विद्यार्थी एसईईमा सहभागी भएकामा ३८ जना मात्रै उत्तीर्ण भएका छन् ।

खैरहनी नगरपालिकाका ६ सामुदायिक र ११ निजी गरी १७ विद्यालयबाट ९७३ विद्यार्थी एसईईमा सहभागी भएकामा ५६० विद्यार्थी उत्तीर्ण भएका छन् । जबकि विद्यालयको मात्रै उत्तीर्ण प्रतिशत २५.२६ प्रतिशत मात्रै रहेको छ । कुनै पनि सामुदायिक विद्यालयको औषत नतिजा ५० प्रतिशत पुग्न सकेको छैन ।

यस्तै रत्ननगर नगरपालिकाका सामुदायिक र निजी गरी १६ विद्यालयका ६९६ विद्यालयले एसईई दिएकामा २७८ विद्यार्थी उत्तीर्ण भएका छन् । बैरिया माविको ७५ प्रतिशत, मालपुरमाविको ५१.८५ र जनजागृति माविको ५०.३१ प्रतिशत उत्तीर्ण प्रतिशत रहेको छ ।

जिल्लामै चौथो उत्कृष्ट नतिजा
सामुदायिक विद्यालयतर्फ भरतपुर महानगरपालिकास्थित नारायणी नमूना माविले एसईईमा सहभागीमध्ये ८८.२७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । एसईईमा सहभागी ३९२ विद्यार्थी मध्ये ३४६ विद्यार्थीलाई उत्तीर्ण गराउँदै नारायणी नमूना माविले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । यसैगरी एसईई दिएका १२७ मध्ये १०८ विद्यार्थीलाई उत्र्तीर्ण गराउँदै समग्र ८५.७१ प्रतिशत उत्तीर्णदरका साथ आदिकवि भानुभक्त मावि जिल्ला दोस्रो भएको छ । यसैगरी परीक्षा दिएका ७३ विद्यार्थी मध्ये ६२ जनालाई उत्तीर्०ा गराएर समग्र ८४.९३ उत्तीर्णदरका साथ चितवनमावि जिल्लामा तेस्रो भएको छ । परीक्षा दिएका मध्ये ७६.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर कालिका नगरपालिकास्थित राष्ट्रिय मावि शमीपुर जिल्लामा चौथो भएको हो ।

सामुहिक प्रयास, उपलब्धि खास
वि.संं २०४६ स्थापना भएको राष्ट्रिय मावि शमीपुरमा हाल नर्सरी देखि कक्षा १० सम्म अङग्रेजी माध्यममा पठन पाठन हुँदै आएको छ । विद्यालयमा कक्षा नर्सरी देखि १० सम्म ५०५ विद्यार्थी रहेका छन् । जसमा छात्र २३६ र छात्रा २६९ रहेका छन् । र उनीहरुका लागि ३० शिक्षक कर्मचारी रहेका छन् । विद्यार्थीको सिकाइ उपलब्धि तल्लो कक्षामा बढी छ । विद्यालयको औषत सिकाइ उपलब्धि २.७२ रहेको छ । कक्षागत रूपमा हेर्दा कक्षा १ को औषत सिकाइ उपलब्धि ३.३८ जीपीए, कक्षा २ को ३.३१ जीपीए र कक्षा ३ को औषत सिकाइ उपलब्धि ३.१३ जीपीए रहेको छ । यसैगरी कक्षा ४ को सिकाइ उपलब्धि २.४३ जीपीए र कक्षा ५ को सिकाइ उपलब्धि २.४१ जीपीए रहेको छ । कक्षा ६ को सिकाइ उपलब्धि २.२५, कक्षा ७ को २.१७ जीपीए र कक्षा ८ को सिकाइ उपलब्धि ३.२५ रहेको छ । कक्षा ९ को औषत सिकाइ उपलब्धि २.१४ रहेको छ ।

विद्यालयमा कमजोर विद्यार्थीको पहिचान गरेर उपचारात्मक कक्षा, अंग्रेजी सुधार्न भाषा कक्षा आदि सञ्चालन गर्ने गरिएको छ । शिक्षक विद्यार्थी दुबैको सिकाइ लक्ष्य निर्धारण गरेर लिखित करार गर्नुपर्छ । विद्यार्थीले लगबुकको आधारमा शिक्षक उपस्थिती मूल्यांकन राख्ने गरिन्छ । विद्यार्थीका गृहकार्य उनीहरुकै साथीहरुमार्फत् परीक्षण गराइने गरिएको छ । जान्ने र नजान्ने विद्यार्थी मिलाएर बसाईं व्यवस्थापन मिलाइने गरिनछ । विद्यार्थीले विद्यार्थीलाई सिकाउने विधि अपनाएर सुधारको प्रयास थालिउको छ ।

शिक्षकहरुले अनलाइन, युट्युवबाट सिकाउन अनिवार्य छ । हरेक परीक्षा पछि नतिजा विश्लेषणका लागि अभिभावक सहितको छलफल गर्ने गरिएको छ । शिक्षकहरुलाई तहगत प्रमुखको जिम्मेवारी दिएर सिकाइ सुधारका लागि शिक्षकहरुको अनुगमन गर्ने गरिएको छ । शिक्षकहरुले सहजकर्ताको भुमिका, कमजोर विद्यार्थीको पहिचान र उपचारात्मक कक्षाको व्यवस्था गरिएको छ ।

युनिट, मासिक परीक्षााको व्यवस्था गरिएको छ । रुचीक्षेत्र पहिचान गरेर अतिरिक्त क्रियाकलाप गराइने गरिएको छ । कक्षाकोठामा बुलिङ, जातीय विभेद, वर्गिय विभेद या दुव्र्यवहार हटाउने प्रयास गरिएको छ । विद्यालयमै स्वास्थ्य उपचार, काउन्सिलिङको व्यवस्था गरिएको छ । सदन वाइज वार्षिक क्यालेण्डरको निर्माण गरिएको छ । विद्यालयमा नमुना मतदान, भित्ते पत्रिका प्रकाशन र सिपमुलक कार्यक्रम सञ्चालन जस्ता रचनात्मक र सिर्जनात्मक काम हुने गरेका छन् ।

शिक्षासँगै सीप
विद्यार्थीहरुद्वारा कपालमा बाँध्ने लेवन्टी बनाएर शिक्षक, कर्मचारी र अभिभावकलाई बेचेर विकटका विद्यालयलाई सहयोग गर्ने गरिएको छ । विद्यार्थीहरुको सिकाइलाई टिकाउ बनाउन विविध विषयका विशेषज्ञहरु ल्याएर विविध विषयको जानकारी गराइने गरिएको छ । विद्यालयमा विद्यार्थी बिना जानकारी गयल हुन पाउँदैनन् । विद्यालयमा प्रवेश गरेपछि ४ बजे अगाडि निस्कन पाइदैन । हरेक कक्षा र विद्यालयको क्याप्टेन बनाइएको छ । उनीहरुले अनुशासन, सरसफाइ, कक्षा व्यवस्थापन गर्छन् । हरेक कक्षामा विद्यार्थीलाई नै सहायक शिक्षकको जिम्मेवारी दिइएको छ । कक्षा व्यवस्थापन समिति गठन गरिएको छ । सबैलाई नेमप्लेट सहितको परिचयपत्र दिइएको छ । विद्यालयमा कार्यरत विभिन्न क्लवहरुले वार्षिक रुपमा अनिवार्य प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

बर्थ डे मा वृक्षारोपण
विद्यालयमा अध्ययनरत विद्यार्थीले जन्मदिनमा एउटा वृक्षारोपण गर्न अनिवार्य व्यवस्था गरिएको छ । जन्म दिनलाई केक काट्ने रमाइलो गर्नेमा मात्रै सीमित नराखी विद्यालयमा एउटा वृक्षारोपण गर्नै पर्ने व्यवस्था गरिएको छ । यसले विद्यार्थीको जन्मदिनलाई विशेष र सिर्जनात्मक बनाउने गरेको प्रअ धर्मेन्द्र जंग रायमाझी बताउँछन् ।

३० मध्ये २६ महिला शिक्षक
विद्यालयमा कार्यरत ३० शिक्षक मध्ये २६ जना महिला शिक्षक छन् । विद्यालयमा महिला शिक्षक बढेसँगै सिकाइ सिधार पनि बढेको छ । केही समय अघि १९० विद्यार्थी रहेका विद्यालयमा अहिले ५ सय विद्यार्थी कटेका छन् । ‘महिला शिक्षकहरुले इसिडीमात्रै राम्रो पढाउँछन् भन्थे हामीले हरेक कक्षालाई इसिडी जस्तै रमाइलो गराएर सिकाउँछौँ’ शिक्षक पावर्ती खनालले भनिन् ।

कालिका नगरपालिकाको एसईई नतिजा

राप्ती नगरपालिकाको एसईई नतिजा

माडी नगरपालिकाको एसईई नतिजा

इच्छाकामना गाउँपालिकाको एसईई नतिजा

रत्ननगर नगरपालिकाको एसईई नतिजा

भरतपुर महानगरपालिकाको एसईई नतिजा

खैरहनी नगरपालिकाको एसईई नतिजा

प्रतिकृया दिनुहोस्