२०७६ चैत्र २५ गते

हाम्रा विद्यार्थी घरमा भन्दा स्कूलमा बढी रमाउँछन्

नातीकाजी महर्जन


नातीकाजी महर्जन
प्रधानाध्यापक
ज्ञानोदय मावि, बाफल, काठमाडौं



विद्यालयको समग्र अवस्था कस्तो छ ?
पछिल्लो दिनमा विद्यार्थी संख्या अझै बढेको छ । नर्सरी देखि कक्षा १२ सम्म हाल २९ सय विद्यार्थीहरु अध्ययनरत छन् । नर्सरी देखि १० सम्मको कक्षा दिउँसो र ११ र १२ कक्षा बिहान सञ्चालन भइरहेको छ । जसमा व्यवस्थापनको बिहानै र विज्ञान र इञ्जिनियरिङको कक्षा बिहान साढे ८ बजेदेखि साढे ३ बजेसम्म सञ्चालन हुने गरेको छ । यसरी दैनिक तीन सिफ्ट सञ्चालन हुँदै आएको छ । विद्यार्थी संख्याको आधारमा हामीललाई शिक्षक पुगिराखेको छैन । भएका दरबन्दी पनि केही खाली अवस्थामा रहँदा कक्षाहरु च्लाउन केही मुस्किल देखिएको छ । विद्यालयमा प्राविधिकको अनुदानसमेतगरी सरकारी तलवखाने शिक्षक ५३ जना पुगेका छन् । दिससोको कक्षा सञ्चालन गर्न ३० जना शिक्षक र ११ कर्मचारी गरी ४१ जनालाई आन्तरिक स्रोतमा व्यवस्थापन गरेका छौं । ११ र १२ कक्षा पनि सरकारी दरबन्दी बिनै आन्तरिक स्रोतमा चलेको छ । काठमाडौंमा विभिन्न ठाउँबाट आएर बस्ने मानिसको सङ्ख्या बढी हुने भएकाले ज्ञानोदयमा पनि स्थानीय भन्दा बाहिरबाट आएर कोठामा बस्ने अभिभावकका छोराछोरी पढिरहेको अवस्था छ । विद्यालयमा १५ प्रतिशत स्थानीय र ८५ प्रतिशत बाहिरबाट आएर काठमाडौंमा भाडामा बस्ने विद्यार्थीहरु छन् ।


ज्ञानोदय सामुदायिक विद्यालयहरुमा छुट्टै पहिचान स्थापित गर्न सफल छ । अरु विद्यालयमा के छैन जुनकुरा ज्ञानोदयमा छ ?
कक्षाकोठाभित्रको पठनपाठन राम्रो छ ।  विद्यार्थी खुसी छन् ।  शिक्षकहरुले मिहिनेत गरेर प्रविधियुक्त शिक्षण सिकाइ गर्छन् । विद्यार्थीहरुपनि अनुशासित र लगनशील छन् । अभिभावकहरुले पनि छोराछोरीको पठनपाठनमा चासो राख्छन् । यही नै ज्ञानोदयको राम्रो पक्ष हो । यसैगरी विद्यालय व्यवस्थापनको पाटो, प्रशासनिक पाटो अब्बल छ । यिसँगै पूर्व विद्यार्थी समाजलगायतको समन्वय एकै ठाउँमा हुँदा विद्यालयलाई काम गर्न सहज भएको छ । शिक्षक र विद्यार्थी बीचको सम्बन्ध आत्मीय छ । रमाइलो विधिको प्रयोग गरेर शिक्षण सिकाइ हुने गरेको छ । त्यसैले हाम्रा विद्यार्थी घरमा भन्दा स्कूलमा बढी रमाउँछन् । आउँदा हसिलो, उत्साहित भएर आउँछन् ।


अरु विद्यालयमा यि पक्षबीच समन्वय हुन समस्या हुनु तर यहाँ नहुनुको कारण के होला ?
अभिभावकसँगको नियमित छलफल र अन्तक्र्रिया नै हो । अभिभावकहरुको नियमित बैठक बसेर हरेक समस्या र उपलब्धिको बारेमा सरसल्लाहर छलफल गर्छौ । शनिवार पारेर हामीले नियमित कक्षागत अभिभावक भेला बोलाउँछौं । त्यहाँ विद्यालयले गरिरहेको क्रियाकलाप,  अबको योजना, उपलब्धिका बारेमा जानकारी गराउँछौं । विद्यालयको पठनपाठन, शिक्षण क्रियाकलापमा के पुगेन, कसरी सुधार गर्न सकिएला भनेर सुझाब माग्छौं । अभिभावकहरुले पनि विद्यार्थीको सिकाइ सुधारका लागि हामी के गर्न सक्छौं त्यसका लागि तयार छौं भन्नुहुन्छ । हामी विद्यार्थीहरुलाई बिहानै बोलाउँछौं र खानाको लागि सहयोग गर्न भन्छौं । उहाँहरुले विद्यालयमै खाना पु¥याउन आउनुहुन्छ । अभिभावकहरुपनि सिकाइ सुधारका लागि आफ्नोतर्फबाट गर्न सक्ने सहयोगका लागि तयार भइदिने, शिक्षकहरुपनि राम्रो शिक्षणका लागि तयार भइदिने, विद्यार्थीहरुपनि मैले राम्रो गर्नुपर्छ, मेरा लागि पढ्ने हो भन्ने भित्री चाहनाको विकास भइदिने, विद्यालय प्रशासन र व्यवस्थापनको पनि सहयोग भइदिने हो भने विद्यालय सुध्रन बेर लाग्दैन । ज्ञानोदयमा भएको यही हो ।


शिक्षकहरुलाई प्रविधियुक्त स्तरीय सिकाइका लागि मिहिनेती  र लगनशील बनाउन विद्यालयले के प्रयास गरेको छ ?
शिक्षकहरु आफै आफ्नो मोरलबेसमा काम गरिरहनुभएको छ । कसैले देख्लान्, केही भन्लान् भनेर डरले नभई स्वतःस्फूर्तरुपमा मेरो जिम्मेवारी के हो ? मैले के–के गर्न बाँकी छ, कसरी गर्दा राम्रो हुन्छ नैतीक जिम्मेवारीका साथ काम गरिरहनुभएको छ । नगर्ने केही शिक्षकहरुको कक्षाकोठाको गतिविधि विद्यार्थीहरु स्वयंबाट मूल्याङ्कन गर्ने परिपाटी भएकाले शिक्षकहरु स्वयं मिहिनेती र लगनशील बन्नुहुन्छ । विद्यार्थीहरुले यो शिक्षकले पढाएको बुझिएन, मन परेन भन्लान कि भन्ने शिक्षकहरुलाई परिरहन्छ । त्यसैले उहाँहरु ऋाफै मिहिनेत गर्नुहुन्छ । पछि नतिजाका आधारमा मूल्याङ्न हुने त छदैँछ ।

कक्षाकोठामा हुने गतिविधिहरु अन्य विद्यालयको भन्दा ज्ञानोदयमा फरक के छ ?
एउटा कक्षाकोठाभित्र नलेज ट्रान्फरका लागि गर्न पर्ने क्रियाकलाप त जहाँसुकैको शिक्षकले गरिहाल्छन् । ज्ञानोदयमा कक्षाकोठामा एउटा घरको जस्तै वातावरण हुन्छ । शिक्षक र विद्यार्थीको बीचमा पनि त्यसैखाले सम्बन्ध छ । रमाइलो गर्दै, हास्दै, एकअर्कामा मायास्नेहका साथ शिक्षण सिकाइ हुने गरेको छ । दण्ड, गाली, होच्याउने भन्दा आज हामी यसो गरेर सिकौं भनेर विद्यार्थीको सल्लाहमै शिक्षण सिकाइ हुने गरेको छ । हामीले कक्षाकोठाभित्र जुन किसिमको भावानात्मक सम्बन्ध स्थापित गरेका छौं । त्यसले कक्षाकोठाको वातावरण र शिक्षण सिकाइलाई रमाइलो बनाउने गरेको छ । शिक्षकहरुले केहि न केहि शैक्षिक सामग्री बोकेर मात्रै कक्षाकोठामा जानुहुन्छ । पढाउने विषयको पूर्वतयारी, पाठयोजना, शैक्षिक सामग्री, सिकाइ विधिको निक्र्योल आदि शिक्षकहरुलाई अनिवार्य गरिएको छ । त्यसका लागि शिक्षकहरुलाई शिक्षक डायरीको व्यवस्था गरेका छौं । जसमा आज के पढाउने, कसरी पढाउने, सारसंक्षेप के हो ? मूल्याङ्कनका लागि दिइने प्रश्नहरु के हुन सक्छन्, पढाइसकेपछि कक्षामा के रमाइलो र कमजोरी भयो टिप्ने काम हुन्छ । कक्षाकोठामा सबै विद्यार्थी एकनाशका नहुन सक्छन् । कोही कमजोर हुनपनि सक्छन् ।  उनीहरुलाई चलाख र जान्ने विद्यार्थीबाट सिक्ने वातावरण उपलब्ध गराएका छौं । जसले गर्दा उनीहरुले एउटै कक्षाभित्र धेरै शिक्षकहरु पाउने गर्दछन् । नबुझे पनि डरले बुझे भन्ने अवस्था आउनै दिदैनौं ।


विद्यालय आजको अवस्थामा आइपुग्नका लागि क–कसको कस्तो मिहिनेत प¥यो ?
मुख्य त समुदायकै ठूलो योगदान रहेको छ । समुदायकै योगदानबाट उत्साह भएर विद्यालयको जन्म भएको हो । हामीले बनाएको ज्ञानोदय कस्तो भयो, बिग्रेला, भत्केला भनेर दहरबखत सचेत रहेको अवस्था छ । यहाँ काम गर्नुभएका पूर्व प्रधानाध्यापकहरु, शिक्षकहरु, विव्यसहरुले पछिसम्मको लागि भनेर जुन दीर्घकालीन योजनासहित काम र मिहिनेत गर्नुभयो । त्यसले आजसम्मकालागि निरन्तरता दिन मार्गनिर्देश गर्दै आएको छ । विद्यालयमा जुन सिस्टम स्थापित भएको छ नयाँ आउने शिक्षक, विद्यार्थी र विव्यस समितिहरु त्यसमा नबसी सुखै छैन । म अल्छि गर्छु, मनलागेको गर्छु भन्ने छुट नै पाउने अवस्था छैन । फेरी ज्ञानोदयमा पढ्न र पढाउन पाएकामा जुन गर्व हुने अवस्था छ त्यसले शिक्षक विद्यार्थीलाई आफै लगनशील र मिहिनेती  बनाउने गरेको छ ।


विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाँप कस्तो छ ? निजी विद्यालय छाडेर  कत्तिको भर्ना हुन आउछन् ?
सानाकक्षाहरुमा अन्य विद्यालयबाट भन्दापनि स्थानीय र बाहिरबाट आउने विद्यार्थीहरु नै भर्ना हुन आउने गर्छन । माथिल्लो कक्षाहरुमा ७,८ ९ कक्षामा चाँही निजीविद्यालयबाट आएर भर्ना हुने विद्यार्थी सङ्ख्या बढी छ । नेपाल सरकारले माथिल्ला तहमा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएकाले सर्टिफिकेतपनि माथिल्ला कक्षाहरुमा निजीबाट विद्यार्थी आउने आरोप पनि लाग्ने गरेको छ । तर, ज्ञानोदयमा फरक रहेजस्तो मैले बुझेको छु । सानाकक्षाहरुमा बालबालिका टाढा  पठाउन नसकिने भएकाले घरपायककै निजी वा सामुदायिकमा पढाउने र अलिक ठूला भएपछि राम्रो विद्यालय छानेर भर्ना गर्ने परिपाटी छ । हाम्रो विद्यालयमा बालाजु, सतुङ्गल, थानकोट, किर्तिपुर, बानेश्वर, कोटेश्वर, गोङ्गवुलगायत चारैतिरबाट विद्यार्थी आउछन् । विद्यालयमा एउटा स्कूलबस पनि छ । त्यो अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी सवारीकालागि प्रयोग गर्ने गछौं । टाढाका विद्यार्थीहरुलाई अभिभावकहरु आफैले मिलेर बस, माइक्रो व्यवस्था गरेर पठाउनुहुन्छ । कतिपय आफ्नै साधनमा ल्याउनेलग्ने गर्नुहुन्छ । हामीले भर्नाका बेला प्रवेश परीक्षा लिएर मात्रै भर्ना गर्छौं । यसको एउटै कारण हाम्रो विद्यालयको स्तरसँग मेल खाने विद्यार्थीमात्रै भर्ना गरौं भन्ने हो । कतिपय निजी विद्यालयबाट आएका विद्यार्थी पनि प्रवेश परीक्षामा अनुत्तीर्ण भएर भर्ना नपाएको अवस्था छ । भर्नाको यति चाँप छ कि आएका सबै विद्यार्थीलाई भर्ना गर्ने हो भने विद्यार्थी सङ्ख्या विद्यालयले धान्नै सक्दैन । कतिपय उच्च तह र ओहदाका ल्व्यक्तिहरुले समेत विद्यार्थी भर्ना गराइदिन फोन गर्नुहुन्छ । हामी विद्यार्थीको क्षमता हेरेर मात्रै भर्ना गर्छौं ।

भौतिक सुविधाको अवस्था कस्तो छ  ?
पहिले केही समय भवनको अभाव हुँदा खानेपानी, शौचालय, कक्षाकोठा आदिको समस्या पनि भयो । अहिले भवन निर्माण भएर कक्षाहरु सञ्चालन भइरहेको छ । अहिले सुविधायुक्त शौचालय, खानेपानी, क्यान्टिनको व्यवस्था भइसकेको छ । साइन्स, कम्प्युटर, इञ्जिनियरिङ, आइसिटिका ल्याबहरु, लाइब्रेरी, प्रिजिन्टेशन हलको व्यवस्था भइसकेको छ ।


निजी स्रोतका शिक्षकको व्यवस्था कसरी गरिएको छ ?
सरकारले पर्याप्त शिक्षकको व्यवस्थापन गरिदिएको भए विद्यालयलाई धेरै सजिलो हुनेथियो । त्यो हुन नसकेपछि हामीले अभिभावक भेला गरेर गुणस्तर कायम गर्न थप गरेका पुस्तकहरु, विषयहरु, थप कक्षाहरु सञ्चालन गर्नका लागि सकेको सहयोग माग्दछौं । नाफाका लागि नभई तपाईंहरुले चाहनुभएको सिक्ने सिकाउने वातावरण निर्माणका लागि केही सहयोग गर्नुप¥यो भनेपछि स्वेच्छाले उहाँहरुले सहयोग गर्ने गर्नुभएको छ । यो बाध्यता किनआयो भने हाम्रो इसिडिको नर्सरी केजीमा मात्रै ३५० विद्यार्थी छन् । उनीहरुलाई ९ सेक्सनमा बाँडेर पढाइएकोे छ । यि कक्षाहरुमा एकदमै योग्य, मन्टेश्वरी तालीमप्राप्त, नाच्नहास्न जान्ने, शैक्षिक सामग्री निर्माण गर्न सक्ने शिक्षक आवश्यक पर्छ । तर, सरकारले मासिक ६ हजारको एक मात्रै बालविकास सहयोगी दिएको छ । हामीले इसिडिमा मात्रै १२–१३ जना निजी स्रोतमा शिक्षकहरुको व्यवस्था गरेका छौं । त्यसैले अभिभावकहरुसँग सहयोग नलीई कक्षा सञ्चालन गर्नै नसक्ने अवस्था छ ।


विद्यालयमा शिक्षण सिकाइ सुधारका कस्ता प्रयास भएका छन् ?
हामीले साना कक्षाहरुदेखि नै दैनिक गणित, अंग्रेजी विषयका दुईवटा कक्षाहरु सञ्चालन गर्दै आएका र्छौं । यस्तै कम्प्युटरको पनि छुट्टै कक्षा सञ्चालन हुने गरेको छ । ४ देखि माथिल्ला कक्षाहरुले दैनिक ८ पिरियड पढ्ने गर्छन् । हामीले २०६८ सालदेखि अंग्रेजी माध्यममा पठनपाठन गर्न शुरु गरेका छौं । हाल नर्सरी देखि १२ सम्म नै पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ । विद्यालयमा विषयगत, पाठगत नियमित परीक्षा हुने गरेको छ । विद्यार्थीहरु परीक्षासँग डराउँदैनन् । विद्यालयमा ‘सब्जेक्ट’ भन्दा ‘टपिक’को आधारमा पढाइ हुने गरेको छ  । लाइब्रेरी कक्षा, प्रिजेन्टेशन कक्षा, सूचनाप्रविधि कक्षा सञ्चालन गर्ने गरिएको छ । कक्षाकोठालाई चारभित्ताहरुमा सीमित नगरी कक्षाकोठा बाहिरको सिकाइलाई महत्व दिने गरिएको छ ।


विद्यालय सुधार गर्न एउटा प्रधानाध्यापकको कस्तो भुमिका हुन्छ ?
विद्यालय सुधारका लागि प्रअको पनि भुमिका त रहन्छ नै । प्रअ लगनशील, मिलनसार, नेतृत्वदायी, इमान्दार, पारदर्शी, मिहिनेती हुनैपर्छ । तर, प्रअ एक्लैले चाहेर मात्रैपनि विद्यालय सुधार हुनेभने होइन । शिक्षक, विद्यार्थी, अभिभावक, विव्यससबैको सामुहिक प्रयासबाट मात्रै विलदालयमा सुधार आउँछ । त्यसैले प्रअले शिक्षकहरुलाई पनि जस दिनुपर्छ । प्रोत्साहित गर्नुपर्छ । प्रअले योजना निर्माण, स्रोतसाधनको जोगाड, शिक्षक र सिकाइका लागि आवश्यक तालीम र सामग्रीको व्यवस्था, शिक्षकहरुसँग सुखदुखको साटफेर गर्ने हुनुपर्छ । जसले विद्यालयलाई घर जस्तै बनाउँछ । पारिवारिक वातावरण बन्छ ।


ज्ञानोदय माविबाट देशभरका विद्यालयहरुले के सिक्न सक्छन् ?
शिक्षकले चाहे हुन्छ । हामी पनि गर्न सक्छौं । गरे हामीले नै गर्ने हो भन्ने भावना विकसित हुनुप¥यो । अभिभावकसँगको सम्बन्ध राम्रो बनाउनुप¥यो । शिक्षकहरुको सामुहिक मिहिनेत, शिक्षण सिकाइ विधिमा सुधार, सूचना प्रविधिको प्रयोग, विद्यार्थी केन्द्रित सिकाइ गर्नुपर्छ । धेरै विदालयहरुमा सुधारको जागरण नै देखिन्छ । पछिल्ला दिनमा देशभरकै सामुदायिक विद्यालयमा सुधार गर्ने होडवाजी नै चलेको छ । अब प्रअहरु नेता नबनी  सेवक बन्न जरुरी छ । सामुदायिक विद्यालय कमजोर भन्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक छ । त्यहाँ कस्ता विद्यार्थी छन् ? शिक्षकको अवस्था के छ ? भनेर हेर्नुपर्छ । नतिजा मात्रै हेरेर धारणा बनाउनु हुँदैन ।


प्रस्तुतिः रोशन क्षेत्री गाउँले

साभार: आजको शिक्षा साप्ताहिक

Comments: