नातिकाजी महर्जन
प्रधानाध्यापक
ज्ञानोदय मावि, बाफल, काठमाडौं

ज्ञानोदय माविको अवस्था कस्तो छ ?

विद्यालयको पठनपाठन राम्रो छ । विद्यार्थीको चाप यति बढेको छ कि उनीहरुलाई सुविधायुक्त कक्षाकोठा उपलब्ध गराउनै हम्मे–हम्मे परेको अवस्था छ । सिकाइ उपलब्धि हेर्दा एसइइ सम्मिलित २०६ विद्यार्थीमध्ये गत वर्ष ३.२ भन्दा माथि ३.६ सम्म जिपिए ल्याउने विद्यार्थी ५८ जना, ३.६ देखि माथि ४ सम्म जिपिए ल्याउने ४८ जना थिए । सि प्लसभन्दा तलको ग्रेड कसैले ल्याउनु परेन । पहिलेका वर्षहरुमा विज्ञान र गणितको औषत अंक अन्यको तुलनामा तेस्रो हुने गरेकोमा गत वर्षमा कम्प्यूटरमा सबैभन्दा बढी र दोस्रो स्थानमा विज्ञान र तेस्रोमा ऐच्छिक गणितको आयो । यसले पनि हाम्रो पठनपाठनको वस्तुस्थितिमा सुधार आयो भन्ने लाग्छ । एसइइको मात्रै होइन, हरेक कक्षामा विज्ञान र गणित विषयको सिकाइ उपलबिध पछिल्लो दिनमा राम्रो हुँदै गइरहेको छ । गत वर्ष नर्सरीदेखि १२ सम्म २,२४३ विद्यार्थी रहेकामा यस वर्ष बढेर २,५५५ जना पुगेका छन् । भर्नाको लागि चाप अझै धेरै छ । हामीले कक्षा ९ देखि प्राविधिक एवं व्यवसायिक शिक्षा दिने उद्देश्यले सिभिल इञ्जिनियरिङको कक्षा सञ्चालन गर्दै आइरहेका छौं । यसका लागि पनि हामीलाई कक्षाकोठाको अभाव छ । अहिले हामी व्यवस्थापनमा जुटिरहेका छौं । नयाँ भवन पनि बनिरहेकाले सायद एक वर्ष पछि यो समस्या हल हुनेछ । हामी विद्यार्थीलाई उत्तीर्ण मात्रै गराउने भन्दापनि उनीहरुको विषयगत सिकाइ सुधारलाई बढी जोड दिइरहेका छौं । हरेक विषयमा उत्कृष्ट बनून् भन्ने हाम्रो चाहना छ ।

विषयगत सिकाइ सुधार भनेको के हो ?

गणित विषयमा हरेक विद्यालयको सिकाइ कमजोर देखिन्छ । यसको कारण भनेको नर्सरीदेखि नै विद्यार्थीको गणितमा ध्यान नदिनु नै हो । एकजना विद्यार्थी नर्सरीमा कमजोर भएपछि राम्रो गर्छ भन्दै कक्षा चढाउँदै गइन्छ । पछि माथिल्लो कक्षामा पुगेपछि उसलाई त्यो ठूलो समस्या बन्छ । र, स्कूलमा आएर रमाउनका साटो दिक्दार बन्छ । उसलाई स्कूल आउन नपरे हुन्थ्यो भन्ने लाग्छ । हामीले उदार कक्षोन्नतिमा फेल नगर्ने र ग्रेडिङ सिस्टममा पास गर्दै लगेपछि विज्ञान र गणितमा कमजोर भइकन पनि माथिल्लो कक्षामा गएको हुन्छ । उनीहरुलाई उपचारात्मक कक्षा आवश्यक हुन्छ । हामीले त्यस्ता विद्यार्थीका लागि छुट्टै उपचारात्मक कक्षाको व्यवस्था गरेका छौं । हामीले तल्लै तहदेखि विषयगत उपचारात्मक कक्षा सञ्चालन गर्दै आएका छौं ।

अन्य विद्यालयहरुले पनि धेरै फरक–फरक अभ्यासहरु गरिरहेका छन्, उनीहरुको भन्दा भिन्न र थप के–के गर्नुभएको छ ?

हामी समुदायकै आग्रहमा नर्सरीदेखि नै अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएका छौं । जसले गर्दा शुरुमा भर्नाकै अवस्थामा राम्रा विद्यार्थी भर्ना हुने भए । उनीहरु नर्सरीदेखि नै अंग्रेजीमा पढ्ने भए । राम्रा विद्यार्थी भर्ना भइदिएपछि पठनपाठनमा सहज हुने भयो । हामीले सिकाइमा आइसिटीलाई विशेष जोड दिँदै आएका छौं । हामी किताब पढाउँदैनौं, त्यहाँका विषयवस्तु खोजेर कम्प्यूटर, इन्टरनेट, आइसिटीका माध्यमबाट सिकाउछौं । हामीकहाँ कम्प्यूटर, आइसिटी, स्मार्टका छुट्टाछुट्टै कक्षाहरु छन् । शिक्षकहरुलाई पनि सूचना प्रविधिमैत्री बनाउन विद्यालयले नै ट्यावलेटहरु वितरण गरेको छ । आइसिटीका तालिमहरुसमेत दिइएको छ । कक्षा ४ देखि ८ सम्म कम्प्यूटर कक्षा अनिवार्य गरिएको छ । ९ देखि १२ सम्म ऐच्छिक रुपमा पढ्ने व्यवस्था गरेका छौं । शिक्षकहरुले ट्यावलेटबाटै नयाँ कुरा खोज्ने, दैनिक पाठ योजना बनाउने, सन्दर्भ–सामग्री तयार गर्ने काम गर्नुहुन्छ । आइसिटी ल्यावको प्रयोग पछि विद्यार्थीमा पनि हौसला मिलेको छ । अतिरिक्त कक्षा, कक्षा ९ मा अर्थशास्त्र, वातावरण लिएर पढ्नेको छुट्टै विषय बनाएर अन्य विद्यार्थी १० बजेदेखि पढ्छन् भने उनीहरुलाई एक पिरियड विज्ञान र गणित पढाउने गर्छौं । परीक्षासँग विद्यार्थी परिचित हुनुपर्छ भनेर हरेक शनिबार परीक्षा सञ्चालन गर्छौं । उत्तरपुस्तिका अभिभावकलाई वितरण गर्दै आएका छौं । नियमित अभिभावक भेला हुन्छ । अभिभावकहरु विद्यालय आउन हिच्किचाउदैनन् । हरेक कक्षाहरुको छुट्टा–छुट्टै शनिबार पारेर अभिभावक भेला गर्दै आइरहेका छौं । जहाँ हामी शिक्षण सिकाइ सुधारका बारेमा छलफल गर्छौं ।

सामुदायिक विद्यालयहरुको भीडमा ज्ञानोदय माविलाई कसरी चिनाउनुहुन्छ ?

हामी शिक्षक, अभिभावक, विव्यस, विद्यार्थी सबैले मिहिनेत गरिरहेका छौं । र त्यसको फल पनि पाइरहेका छौं । जताततै ज्ञानोदयको नाम सुनिन्छ, हाम्रा लागि खुशीका कुरा हो । हामीकहाँ सम्पूर्ण टिम मिहिनेती छ । र हामी हरेक दिन नयाँ दिन मानेर मिहिनेत गरिरहेका छौं । अहिले ज्ञानोदयमा पढ्छु र पढाउछु भन्दा गौरव गर्ने अवस्था बनेको छ । यो गौरवका लागि हाम्रो समूहको ठूलो मिहिनेत, दुःख र परिश्रम छ । हरेक दिन, हरेक समय स्कूलकै बारेमा सोचिदिने, सिकाइ सुधारमै लागिदिने समूह विद्यालयले पाएको छ । जसले हामीलाई अन्य सामुदायिकभन्दा अब्बल र उत्कृष्ट बनाएको छ । हामी नयाँ केही गरेका छैनौं तर हरेक काम नयाँ ढंगले गर्ने गर्छौं । विद्यालय समय भनेर कोही पनि १०–५ बजेसम्म सिमित बन्नुहुन्न । हामी हाम्रा विद्यार्थी र अभिभावकलाई बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिँदै आएका छौं । भर्ना, परीक्षा, परामर्श, सिकाइ प्रक्रियामा हामी समयमा सिमित हुँदै हुँदैनौं ।

ज्ञानोदय विद्यालयले प्रवेश परीक्षाको नाउँमा विद्यार्थीलाई विद्यालयमा भर्ना हुन समस्या पार्ने गरेको गुनासो सुनिन्छ नि !

हामीकहाँ भर्ना हुन आउने विद्यार्थीहरुको स्तर बुझ्नका लागि उनीहरु कुन कक्षामा पढ्न योग्य छन् भनेर जान्नका लागि मात्रै हामीले प्रवेश परीक्षा सञ्चालन गर्दै आएका छौं । पास/फेल त विद्यार्थी पहिले पढेकै स्कूलमा भइसकेको छ । हाम्रो उद्देश्य पास/फेल गर्ने नभई उनीहरु कुन कक्षामा उपयुक्त हुन्छन्, हाम्रो कक्षाकोठाको वातावरणमा फिट हुन सक्छन् कि सक्दैनन् ? त्यो मात्रै हामीले प्रवेश परीक्षामा जाँच गर्ने हो । प्रवेश परीक्षाका माध्यमबाट कोही विज्ञान, गणित, अंग्रेजीमा साह्रै कमजोर पाइए वा हामी अंग्रेजी माध्यममा पढाउछौं तर विद्यार्थीको अंग्रेजी राम्रो छैन भने उसका लागि हाम्रा कक्षाकोठा उपयुक्त नहुन सक्छन् । परीक्षामा नाम ननिस्किएका उनीहरुका लागि हामीले तपाईँ कहाँ बस्नुहुन्छ भनेर सोधी घर पायक अर्को सामुदायिक विद्यालयमा पठाइदिन्छौं । ‘तपाईँ फेल हुनुभयो जानुस्’ भन्दैनौं । ‘छिमेकी सामुदायिक विद्यालयहरु जानुस्’ भन्छौं । भर्ना अभियानका बेला पनि हामी विभिन्न कक्षाका विद्यार्थीहरुको छुट्टा–छुट्टै समूह बनाएर विभिन्न क्षेत्रमा पुगेर नजिकको सामुदायिक विद्यालयमा पढ्न पठाऔं भनेर कार्यक्रम सञ्चालन ग¥यौं । हामी निरन्तर सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढोस् भन्ने अभियानमा छौं । हामी छिमेकी स्कूलको पनि सिकाइ सुधार राम्रो होस् भनेर एसइइ परीक्षामा सहकार्य गर्दै आएका छौं । हामी छिमेकी पञ्चकन्या माविसँग यस विषयमा सहकार्य गर्दै आएका छौं । सिकाइ उपलब्धि र सिकाइ विधि सुधार गर्न दुई विद्यालयका बीचमा विभिन्न आइडिया सेयर गर्ने गरेका छौं ।

सामुदायिक विद्यालयमा शुल्क लिँदा गरीब निमुखाका बालबालिका पढ्नबाट बञ्चित भए भन्ने आरोप छ नि त ?

मलाई मेरै पुराना कुराहरु याद आउँछ । पहिले–पहिले परीक्षा शुल्क तिर्न नसक्ने विद्यार्थीलाई विद्यालयले ‘पहिले शुल्क तिर अनि मात्रै प्रवेश पत्र दिन्छौं’ भन्थे । हामी कहिल्यै विद्यार्थीलाई शुल्कका लागि दबाब दिन्नौं । ‘शुल्क नबुझाएसम्म परीक्षा दिन दिन्नौं, कक्षामा पढ्न दिन्नौं, प्रवेश परीक्षा लिन्नौं’ भन्दैनौं । वार्निङ भएको शुल्कको सूचना नै पठाउँदैनौं । बरु, हामी कक्षाकोठामा पुगेर, अभिभावक भेलामा विद्यालयका दःुख, समस्या, अभावका कुराहरु उहाँहरुलाई सुनाउने गर्छौं । यो विद्यालयमा अभिभावकले कसरी सहयोग गरे र आज यो अवस्थामा आएको छ भनेर बुझाउछौं । वास्तवमा, हामीले निःशुल्क शिक्षा दिनुपर्ने हो । तर, शिक्षक दरबन्दी समस्याले गर्दा शुल्क लिनु परिरहेको छ ।

यसरी सम्झाउँदा विद्यार्थी र अभिभावक शुल्कका लागि सकारात्मक हुनुहुन्छ । हामी शुल्क भनेर लिँदैनौं । विशेष कक्षा अध्यापन सहयोग भनेर लिन्छौं । हामी वैशाखमा नयाँ भर्ना गर्दा धेरै लिँदैनौं । नर्सरीका लागि भर्ना शुल्क भनेर एक हजार लिन्छौं । जसबापत् उनीहरुलाई हामी स्वीटर, बेल्ट, टाइ, क्यालेण्डर, नोटबुक, आइडी कार्ड दिन्छौं । १० कक्षाको भर्ना शुल्क २,६०० छ । यसबापत् उनीहरुलाई अघिका सबै सामानसँगै, कम्प्यूटर, आइसिटीलगायतका सबै सुविधा निःशुल्क दिन्छौं । हामीले एक सय दुई सय गरेर कक्षाअनुसार १० कक्षामा मासिक ६ सय रुपैयासम्म शुल्क लिने गरेका छौं । जसबाट हामी हामी दैनिक ८ कक्षा सञ्चालन गर्छौं । उपचार कक्षा गरी ९ कक्षा हुने’भो । सिभिल इञ्जिनियरिङ पढ्नेहरुकाको त बिहान ८ बजेदेखि साढे ४ सम्मै कक्षा सञ्चालन हुन्छ । ४ देखि १२ सम्म कम्प्यूटर पढाउने शिक्षक, अन्य भौतिक पूर्वाधार, खानेपानीलगायतमा त्यो खर्च हुन्छ । सरकारले टाउको गनेर शिक्षक दिन्छ । जस्तो कि २,५०० विद्यार्थी भए ४८ शिक्षक दिन्छ । हामीकहाँ ८५ जना शिक्षक छन् । हामीकहाँ ४५ दरबन्दी, ५ जना सिभिल इञ्जिनियरिङका लागि अनुदान र ३४ जना निजी स्रोतमा शिक्षकहरु कार्यरत हुनुहुन्छ ।

सामुदायिक विद्यालय सुधारमा विव्यस, प्रअ, शिक्षक या अभिभावक कसकोे भूमिका धेरै हुन्छ ?

भूमिका सबैको नै हुन्छ । तर, सिकाइ सुधारका लागि मुख्य भूमिका शिक्षककै हुन्छ । शिक्षकहरुले इमान्दारपूर्वक मिहिनेत गरेर कक्षाकोठामा पढाइदिए स्कूल राम्रो हुने हो । विद्यालय प्रशासन, व्यवस्थापन समिति राम्रा भए विद्यालय राम्रोसँग चल्न मद्दत मात्रै पुग्ने हो । गुदी चिज त शिक्षक नै हो । शिक्षकहरुले कर्तव्यनिष्ठ बन्दै मिहिनेत गरेर बालमैत्री वातावरणमा सिकाइ सञ्चालन गरे सुधार हुने हो । प्रअ एक्लैले पनि केही गर्न सक्दैन । शिक्षक इमान्दार नभएसम्म प्रअको केही लाग्दैन ।

सरकारको ठूलो लगानी हुँदाहुँदै सामुदायिक र निजी विद्यालयबीच किन खाडल देखिएको होला ?

अहिलेका प्रायः अभिभावकहरु सामुदायिक विद्यालय पढेर आएकाहरु छन् । उनीहरुलाई अहिले आफू सामुदायिक विद्यालयमा पढेकै कारण पछाडि परेको भन्ने आभास भएको छ । मेरा छोराछोरीलाई मभन्दा अझै बढी सफल बनाउनुपर्छ, त्यसका लागि सरकारी स्कूलभन्दा राम्रो पढाउने ठाउँ कहाँ छ भनेर टाउको उठाउँदा निजी विकल्पका रुपमा देखिए । वास्तवमा भन्दा शिक्षित र पढेलेखेकाहरुभन्दा पनि अन्य साधारण अभिभावकहरुको चासो निजी विद्यालयप्रति बढेको देखिन्छ । होइन भने उत्कृष्ट निजी विद्यालयहरुको संख्या औलामा गन्ने मात्रै छ । अरु सब औषतका छन् । वास्तवमा भन्ने हो भने औषतमा राम्रा निजी विद्यालयको संख्या राम्रा सरकारी विद्यालयको भन्दा कम छ । तर, निजी विद्यालय मानक बनेको छ । राम्रो शिक्षा, उज्ज्वल भविष्य, प्रतिष्ठा आदिको ।

मकै पोल्ने अभिभावकले पनि छोरोले फेरि मकै पोल्न नपरोस् भनेर निजीमा पढाउन खोज्छ । यो गलत संस्कार र भ्रममा सुधार हुन आवश्यक छ । वास्तवमा भौतिक पूर्वाधार, शिक्षक योग्यता, शिक्षक तालिम आदि हे¥यो भने निजीको तुलनामा सामुदायिकका अब्बल छन् । फेरि सामुदायिक विद्यालयको प्रशासन कमजोर भयो । विद्यार्थी आएपनि ठीक, नआएपनि ठीक, पढे पनि ठीक, नपढे पनि ठीक भयो । अनुगमन, मूल्याङ्कन, दण्ड र पुरस्कार भएन । जागिर मात्रै भयो । जिम्मेवारीबोध भएन । जसले गर्दा सामुदायिकमा पठाए बच्चा बिग्रन्छ, नराम्रो संगतमा पर्छ भनेर अभिभावकहरु डराए । राम्रा, धनीका संगत भए केही सिक्छ भनेर निजीतिर आकर्षित भए । घरमा छोराछोरीले भनेको नमानेमा अभिभावकहरुले ‘पख् ! सरकारी स्कूलमा भर्ना गरिदिन्छु । यत्रो पैसा तिरेर निजीमा पढाएको छु भनेको मान्दैनस्’ भनेर डर देखाउने प्रवृत्ति पनि छ । यसले बच्चाको संस्कारमै सामुदायिक विद्यालय हामीले भनेको नटेरेपछि सजाय दिन लग्ने ठाउँ हो । पढाउने राम्रो ठाउँ होइन भन्ने भएको छ । बच्चालाई पछि ‘ठूलो भयौं पैसाले पुगेन अब सरकारीमा जाउ भन्दा त्यहाँ जान्न जानपरे पढ्दिनँ’ भनेर भन्छन् । विद्यार्थीमा सरकारी विद्यालयको भूतले जरा गाडेको छ । यसमा सुधार हुन आवश्यक छ ।

सामुदायिक विद्यालयको स्तर उकास्न कसले के गर्नुपर्ला ?

सरकारले प्रयास गर्दै आएको छ । छात्रवृत्तिको व्यवस्थाले माथिल्ला कक्षाहरुमा निजी छाडेर सामुदायिकमा विद्यार्थी आइरहेका छन् । अब छात्रवृत्तिको आधार विन्दु ८ कक्षा ९ कक्षा नभनेर ४/५ कक्षा भनिदियो भने तलैदेखि सामुदायिकमा विद्यार्थी संख्या बढ्न जान्छ । पछि इसिडिदेखि ५ सम्म निजीको हुने त्यसमाथि सामुदायिक विद्यालय हुने अवस्था बन्छ । शिक्षकहरु कर्मशिल, जिम्मेवारीपूर्ण, मिहिनेती बन्न आवश्यक छ । अभिभावकहरुबाट ‘सरकारी विद्यालयको भूत’ हट्न आवश्यक छ ।  प्रस्तिुतिः रोशन गाउँले

२०७५ जेष्ठ ३ गते १२:१४मा प्रकाशित

प्रतिकृया दिनुहोस्