रोल्पा । लिवाङस्थित बाल कल्याण माध्यमिक विद्यालयमा अनियमितता भएको आरोप लगाउँदै विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले तालाबन्दी गरेको छ ।
जिल्लामा नमुना विद्यालयका रूपमा रहेको बालकल्याण माविको प्रशासन र लेखा कार्यालयमा गएको आइतबारदेखि तालाबन्दी गरिएको हो । शिक्षा नियमावलीविपरीत विद्यालयले विद्यार्थीबाट रकम लिइरहेको आरोप लगाउँदै उक्त संगठनको नेतृत्वमा अनिश्चितकालीन तालाबन्दी गरिएको हो । उक्त संगठनले ८ बुँदै मागपत्रसमेत बुझाएको छ । संगठनका जिल्ला अध्यक्ष हरिबहादुर वलीले विज्ञप्ति सार्वजनिक गर्दै विद्यार्थीबाट चर्को शुल्क असुलेकाले तालाबन्दी गरिएको बताए ।
कक्षा १० का विद्यार्थीबाट महँगो गरी २ हजार ५ सय रुपैयाँ भर्ना शुल्क लिएको, अंग्रेजी र नेपाली माध्यममा पढाउँदा भेदभाव गरिएको, कक्षा १० उत्तीर्ण गरेपछि लब्धांकपत्र दिने बेला विद्यार्थीबाट २ हजार ७ सय ५० रुपैयाँ शुल्क लिई बाधा पारेको, कक्षा १० का विद्यार्थीलाई अनिवार्य होस्टलमा बस्न बाध्य बनाएको, त्यसको शुल्क ५ हजार रुपैयाँ लिएको, कोचिङ कक्षाका नाममा महँगो शुल्क लिएको लगायतका मागबारे विद्यालय प्रशासनसँग छफफल गर्दा पनि नमानेकाले आन्दोलन गर्नुपरेको क्रान्तिकारीले विज्ञप्तिमार्फत जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिले भने विद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ । समितिका अध्यक्ष महेश न्यौपानेले मंगलबार पत्रकार सम्मेलन गरी आधारहीन आरोप लगाउँदै विद्यालयमा तालाबन्दी गर्नु गैरजिम्मेवारपूर्ण कार्य भएको बताए ।
कान्तिपुरमा खबर छ ।