२०६५ सालको तराई एक किसिमले डरलाग्दो रुपमा चित्रित थियो । भन्नेहरु पहिला, पहिला मान्छे बिग्रे राँची, कर्मचारी बिग्रे अर्घाखाँची भन्थे । अर्थात् अर्घाखाँची दुर्गम, पहाडी इलाका र आवत–जावतका दृष्टिले कठिनाइका कारण त्यसो भनिएको हुनुपर्छ । सुुगम भइकन पनि २०६५ को दशकतिर उतिबेलाको अर्घाखाँचीलाई माथ गथ्र्यो नेपालकै तराईले । त्यहाँ जान सानातिना चोटले कर्मचारी मान्दैन्थे । पेलेरै पठाउने चलन थियो ।
मधेसको उत्पीडन विरुद्धको आन्दोलन जायज थियो । मधेसले त्यतिबेला उठान गरेका समसामयिक मुद्दाहरु पनि नाजायज थिएनन् तर आन्दोलनलाई भड्काउनेहरुका कारण मधेसलाई पहाडविरुद्ध पनि उभ्याइयो । हरेक घरमा ‘प’ र ‘म ’ लेखेर मनोवैज्ञानिक त्रास दिइयो । उतिबेलाको मधेस मनोविज्ञान खतरा थियो । शिक्षाक्षेत्र त यसै पनि बर्बाद । झोले स्कुल र शिक्षण अस्पतालमा चर्चित खडेबाबाको गलत अवधारण पनि त्यतैबाट आयो । अख्तियारमा अधिकांश मुद्दाहरु झोलेस्कुलसँग सम्बन्धित हुन्थे ।
के हुन् झोले स्कुल ?
जिल्लामा स्कुल दर्ता छन् । विद्यार्थी पनि छन् । शिक्षक पनि छन् । तर ती सबै अभिलेखमा मात्र सीमित । केबल झोलामा मात्र सीमित छन् । वास्तविक स्थानमा गएर हेर्दा न स्कुल, न विद्यार्थी, न शिक्षक, केही पनि पाइदैनन् । भए पो पाइनु ? सबै कागजी घोडाको उडान मात्र । अनुदान, छात्रवृत्ति र राहत शिक्षकको तलब भत्ता खाने प्रयोजनका लागि मात्र यस्ता विद्यालयहरु जिल्लाका ठुलाबडाहरुबाटै खोलिएका हुन्थे ।
मेडिकल कलेजको अनुुगमनका क्रममा सञ्चालकहरुले १,२ दिनका लागि मेडिकल डाक्टरहरु बोलाएर अनुुगमनकर्ताका सामुन्ने खडा गर्ने र अनुुगमनकर्ता फर्किसकेपछि यसरी खडा गरिएका चिकित्सकहरु पनि आफ्नै ठाउँमा फर्कन्थे । यिनीहरुलाई उतिबेला खडेबाबा भनेर चिनिन्थ्यो । आवश्यक परेको समयमा खडा हुने, आवश्यकता सकिएपछि फर्कने हुनाले यिनिहरुलाई यसो भनिएको पनि हुनसक्छ ।
जे होस, एउटा समय थियो, चिकित्सा क्षेत्रमा खडेबाबा निकै प्रचलित थियो । त्यो बेलाशिक्षा सचिवमा इञ्जिनियर किशोर थापा आए । उनी एकाध ठाउँको जिल्ला शिक्षा अधिकारी गोष्ठीमा जाँदा झोले स्कुल बन्द गराएँ भनेर शिक्षा अधिकारीहरुले प्रतिवेदन सुनाउँथे ।सचिव थापा शिक्षा क्षेत्रका थिएनन् । उनलाई शिक्षा अधिकारीहरुले सुनाएको प्रतिवेदनमा आएको ‘झोले स्कुल’ शब्दले छोएछ । अनि भन्न थाले‘ यो झोले स्कूूल भनेको के नि’ ? सहभागीले यसको मर्म बताइदिएपछि उनले ‘अब देखि अनियमित स्कुल भन्नुस, यसरी झोले चाँही नभन्नुस्’ भनेर निर्देशन समेत गरेका थिए ।
पछि शिक्षा मन्त्रालयमा गएर कसैले मलाई जिल्ला शिक्षा अधिकारीमा पठाइदिनुस् भन्यो भने तराई जाने हो ? भनेर सोध्न थालियो । सहजै त्यता गएर शिक्षा अधिकारी हुन चाहनेहरु कमै देखिन्थे । अन्य कर्मचारीहरु त झन नगण्य नै थिए । पदाधिकार त्यता राखेर मन्त्रालय, विभाग वा केन्द्रिय निकायतिर बस्नेहरुकै भिड बढी थियो ।
तालिम केन्द्र निशानामा
त्यतिबेला मुलुकमा ९ वटा ‘क’ वर्गका शैक्षिक तालिम केन्द्रहरु थिए । शिक्षकको तालिम सञ्चालन गर्ने, प्रमाणपत्र प्रदान गर्ने आदि काम यी केन्द्रहरुको थियो । २०६४ साल बैसाख २ गते शैक्षिक तालिम केन्द्र बारामा अत्यन्त मिलनसार, सरल स्वभावका प्रशिक्षक वासुदेव पौडेलको हत्या गरियो । उनको हत्यामा सिंगो शिक्षा मन्त्रालय रोयो उतिबेला । २०६४ साल जेष्ठ ७ गते उनलाई सरकारले निजामती सहिद घोषणा गर्यो । त्यसपछि उक्त केन्द्रमा कर्मचारी जान प्रायः मानेनन् । कार्यालय प्रमुखलाई वरिष्ठ प्रशिक्षक पदनाम दिइएको थियो । त्यो पदमा त झन् मान्छे पाउन नै सकेनछ मन्त्रालयले ।
म सल्यानमा शिक्षा अधिकारीकै रुपमा कामकाज गरिरहेको बेला उक्त अड्डामा वरिष्ठ प्रशिक्षकका रुपमा २०६७ साउनमा सरुवा भयो । घरमा सल्लाह गरें । कसैले पनि जा भनेनन् । इष्टमित्र पुकारें । ‘यस्तो बेलामा किन तराई’ ? भन्न थाले । गृह प्रशासन चलाएका एकजना मित्रलाई सोधें । ‘मजासँग जानुस् । नियमअनुसार काम गर्नुस् । केही हुँदैन । पहाडीया देख्ने बित्तिकै ढूंगामूढा गर्न कोही पनि आउँदैनन्’ भने । उनको अर्ती ठिकै हो जस्तो लाग्यो । वीरगञ्जको बसाई(डेरा) बाराको जागिर निधो गरें ।
प्रमुख जिल्ला अधिकारी बसन्तप्रसाद उपाध्यायजस्तो लाग्छ । उनकै कार्यालय अगाडिबाट मेरो गाडी बिहान जान्थ्यो, बेलुकी फर्कन्थ्यो । उनले भने ‘ए, हाकिम साब, तपाईंको गाडी सँधै उही बेला उही बाटो कुदेको हुन्छ । यसो समय र बाटो फरक पार्नुस् । सधैँ एउटै बाटो र उही समय नकुदाउनुहोला’ ।
मैले उनको आशय बुुझिहालें । अलकति बाँकी भएको सातो पुत्लो पनि उड्यो । हरेक महिनाको ५ गते हुने कार्यालय प्रमुखको बैठकमा कर्मचारीको सुरक्षाको प्रश्न उठ्थ्यो । फलानो मारियो, ढिस्कानो मारियो भनेर कार्यालय प्रमुुखहरुले सुनाउथे । प्रमुख जिल्ला अधिकारीले ‘कर्मचारी भएर बसेको बेला मारेको/मरेको भए भन्नुस्, नत्र ऊ घरमा गएर कतै उपभोक्ता समितिको पदाधिकारी हुने, कतै विव्यसको अध्यक्ष उठने र यसैका कारण झगडा भएर मारिदा कर्मचारी मारियो नभन्नुस्’ भन्थे ।
जसरी अफवाह फिजाइएको थियो, त्यो रुपको तराई भने थिएन । पहाडीयाहरु पनि बसेका नै थिए । बाँचेकै थिए । त्यो संकटको बेला म उक्त तालिम केन्द्रमा २१ महिना बसेको छु । यसबीचमा कार्यालय व्यवस्थापन, तराईको मूल मुद्दा, र अन्य परिवेशले लय लिइसकेको अवस्थामा शिक्षामन्त्री दीनानाथ शर्माको कार्यकालमा मेरो बसाइ अवधि नपुुग्दा नपुुग्दै सरुवा भएको थियो ।
चोरीको क्षतिपुर्ति
कुनै बेला थियो शैक्षिक तालिम केन्द्रमा काम गर्नलाई १८०० दिन चाहिन्थ्यो । वर्षमा ३६५ दिनभन्दा बढी हुँदैन्थ्यो । प्राविधिक सहायताका नाममा एउटा शिक्षकका लागि ३ दिन छुट्याउनुपथ्र्यो । उतिबेला शिक्षकको पेशागत विकास तालिमको सिजन नै थियो । ९८.२ प्रतिशत शिक्षकहरु तालिमप्राप्त थिए । तर सिकाइ उपलब्धिमा बढोत्तरी नआएकोले मागका आधारमा तालिम दिनका लागि टिपिडी तालिम भित्राइएको थियो ।
एउटा शनिवार हामी सबैजना तालिम कक्षमा शिक्षकका लागि त्यही टिपिडी तालिम दिंदै थियौं । छिमेकबाट २ जना बच्चाहरु आएर तालिम केन्द्रको अर्को भवनको एउटा कोठा तोडफोड गरेर कोठाभित्र पसेछन् । एकजनाले सिलिङमा उक्लेर बिजुलीको तार काट्ने र अर्को एकजनाले उसले काटेको तार जम्मा गर्ने गर्न थालेछन् । त्यतिबेला विद्युतमा कुलमान घिसिङ थिएनन् । लोड सेडिङ् भइरहन्थ्यो । विद्युत नआएको बेला तार काट्न लाग्दा अचानक विद्युत आएछ । करेण्ट लागेर तार काटन लागेको बच्चा सिलिङ्बाट खसेर भुँइमा पछारिएछ । उसको तत्काल त्यहीं मृत्यु भएछ ।
अर्को बच्चाले बाहिर आएर खबर गर्यो । तालिम केन्द्रको बाटोमुनिका भवनमा प्रहरी बीट बस्थ्यो । प्रहरीले थाहा पाएर हामीलाई खबर गर्यो । स्थानीय स्टाफले बच्चा मरेको थाहा पाएपछि मलाई त्यहाँ नबसी वीरगञ्ज जान भने । परिआए आफुहरुले डिल गर्ने कुरा गरेपछि म वीगञ्ज गएँ । त्यहाँ त मृतकलाई क्षतिपुर्तिको प्रसंग चलेछ । अभिभावकहरुले ‘शनिबार पनि किन अफिस खोलेको ? कोठाको ताल्चा किन कमजोर लगाएको ? बच्चाले एक लात हान्दा बित्तिकै फुटने ढोका किन लगाएको ?
यदि शनिबार तालिम केन्द्र नखोलेको भए, गेट, ढोका र ताल्चा पक्की भइदिएको भए आफ्ना बच्चाहरु भित्र पसेर चोरी गर्न सक्ने थिएनन् । चोरी गर्न नसकेपछि मर्ने संभावना नै हुदैन्थ्यो’ भनेछन् । चोरीकोभन्दा पनि शनिवार काम गरेको सजायँ पाइने भयो भनेर कर्मचारी साथीहरु पनि डराएछन् । पछि मलाई साथीहरुले फोनबाट सबै कुरा सुनाए । अन्तमा स्थिति साम्य भइ बच्चाको दाहसंस्कार गरेको खबर आयो । यसपछि म ढुक्क भएँ । तर त्यही अफिसमा भने सातदिनपछि मात्र आएर काम गर्न थालें ।
२०६८ सालको जिल्ला शिक्षा अधिकारी÷वरिष्ठ प्रशिक्षकका लागि भक्तपुरको बोडेमा आयोजित गोष्ठीमा उक्त घटना सुनाउँदा उपस्थितहरुसमेत दङ्ग परेका थिए । तर विगतमा जस्तो तराईमा आज न झोले स्कूल छन्, न खडेबाबा नै । एउटा मापदण्डले त्यहाँको शिक्षा पनि चलिरहेको छ ।