नेपोलियन बोनापार्टको ‘चार विरोधी अखवारको भय एकहजार बेयोनटको भयभन्दा बढ्ता हुन्छ’ भन्ने भनाइबाट प्रभावित भएर मैले २०३६ सालदेखि नै पत्रकारितामा रहर गरेको हुँ । यसैपनि बेलायती राजनीतिज्ञ बर्केले ‘जसरी ग्यालरीमा समाचार पत्र, संवाददाता बस्छ, ऊ राज्यको चौंथो समकक्षी हुन्छ’ भनेर प्रेस जगतलाई सम्मान गरेको कुराबाट म प्रभावित थिएँ । बाग्लुङ्बाट विदुर खड्काको सम्पादकत्वमा प्रकाशित हुने ‘धौलाश्री साप्ताहिक’मा सम्पादकलाई चिठी लेखेर २०३६ मा छापामा आएपनि २०३८ देखि पोखरा बसाइमा ‘हिमाली आवाज’ र राजधानीबाट प्रकाशित हुने ‘साप्ताहिक विमर्श’को पोखरास्थित संवाददाता भएपछि पत्रकारिताले तान्न थाल्यो ।
यसो त राजधानीबाटै प्रकाशित ‘बाँकेको युुगधारासँग पनि मेरो’ सम्बन्ध रह्यो । लेख, रचनाका लागि भने चर्चा, नयाँ झिल्को, मातृभूमि, समीक्षा, राष्ट्रपुुकार, देशान्तर र नयाँसन्देशसम्म म पहुुँचमा थिएँ । गोरखापत्रमा भने धेरै पछि जोडिएँ । हिमाली आवाजका सम्पादक माधव शर्मा,(राष्ट्रपतिका प्रेस सल्लाहकार) बाँकेको युुगधारामा प्रेम कैदी (राजनीतिक विश्लेषक) र विमर्शको टिम पदम ठकुराठी, हरिहर विरही, जनार्दन आचार्यसमेतको संगत गर्न पाउँदाको आनन्द अलगै हुन्थ्यो ।
पत्रकारितामा वजन थियो उनीहरुको । विज्ञापन उठाएको पैसामध्ये ५० प्रतिशत उनीहरुलाई ड्राप्mट बनाएर पठाइदिनुपर्ने, बाँकी ५० प्रतिशत आफ्नो पारिश्रमिक त्यो बेलाको नियम नै थियो । यसैकारण मोफशलका पत्रकारहरु भन्ने गर्थेउँ, गाईलाई घाँस हाल्ने एउटा, दुहुने अर्कै छ के गर्नु ? शायद न्यूूनतम पारिश्रमिकको कुरा आएपनि अधिकांश सञ्चारगृहमा आज पनि पत्रकारहरुको अवस्था लगभग उस्तै छ जस्तो लाग्छ । आज पनि कैयांै पत्रिकाले लेखकको पारिश्रमिक या त नदिने, दिनै परे अत्यन्त न्यून दिने गरेकै छन् । अहिले हामीसँग न त बेलायतमा झैं स्वीकृत रचनालाई शब्दसंख्याको हिसाबले पैसा दिने चलन छ न त ‘विना पारिश्रमिक छाप्नैका लागि लेख्नेहरु मुर्ख हुन’ भन्ने जर्ज बर्नाड शाहजस्ता स्वाभीमानी लेखकहरु नै छन् । यसैले जसोतसो गुजारामा लेखक र पत्रकार दुुबैको दैनिकी चलेकोे छ ।
उतिबेला आधा पेट खाएर पनि हाम्रो पत्रकारिता यात्रा निकै सारपुर्ण थियो । पुस १, १४, २७ फागुन ७ , कर्तिक २२ गते तथा दशैं र नववर्षजस्ता दिनहरु हाम्रा लागि ठूला पर्व मानिन्थे । सरकारी अफिसहरुले गइसकेपछि गच्छेअनुसारको साइजमा विज्ञापन दिन्थे । यही विज्ञापन एयर कुरियर गर्दै माथि पठाउने र छापिइसकेपछि बिलसहित पत्रिका लिएर पैसा उठाउन जाने चलन त्यतिबेला सबैको दैनिकीजस्तै थियो । जसले धेरै विज्ञापन उठाउन सक्यो त्यो संवाददातालाई पत्रिकाले मन पाथ्र्यो ।
एउटा घटना
पोखरामा नवप्रभात हाइस्कुल निकै नामी थियो । त्यहाँ बिहानीसत्रदेखि दिवासत्रसम्म पढाइ हुन्थ्यो । हेडसर हरि खनाल थिए । २०४४ सालको कुरा हो, क्षेत्रीय शिक्षा निर्देशक आनन्दलाल प्रधान र ती हेडसरबीच विद्यालयको विषयलाई लिएर झगडा परेछ । भनाभन भएछ । तँ,तँ, मँ,मँ गरेछन् । यो थाहापाएर त्यतिबेलाका पत्रिकामा समाचार आयो । समाचार घटनाको विवरण हो, घटना स्वयं समाचार होइन भन्ने कुरा पत्रकारिताभित्र पर्दछ । समाचारमा गाम्भीर्यता हुनुपर्छ रुखोपना होइन भन्ने मान्यता लण्डन टाइम्सले पनि राखेको छ । यसै मान्यताका आधारमा सबैभन्दा धेरै समाचार मैले लेखेछु ।
उत्साही भन्नेलाई बोलाउ भनेर निर्देशकले भनेछन् । मेरो उपनाम त्यतिबेला उत्साही थियो । मलाई खबर आयो । क्षेत्रीय शिक्षा निर्देशनालय गएँ । नमस्कार सर भन्दै उनको कोठामा पसें । ‘तपाईं हो, पत्रकार उत्साही ’ उनले भने, ‘हो, मै हुँ’ मैले ढुक्कले जवाफ दिएँ । उनी छिन छिनमा चुरोट र चिया खाइरहन्थे । उनको टेबुलमा चियाको गिलास थियो, तैपनि चिया मगाए, सँगै चिया खायौं । ‘कति पढ्नुुभा छ ’? ‘बीएड, अब एम एड भर्ना हुने हो’ मैले भनें । उनी कुरा गर्दा बेला बेलामा लामो डकार निकालेर गर्थे । अहिले पनि डकार निकाल्दै भने ‘हैन, एम एड पढ्दै गरे हुन्छ । हामीकहाँ माविनि (माध्यमिक विद्यालय निरीक्षक ) खुल्छ, जाँच दिएर माविनिमा आउँदा राम्रो हुन्छ । अफिसर पद हो, अस्थायी भएपनि ग्रेड पाइन्छ’ ,पत्रकारिता बेकार किन गर्नुहुन्छ ? अधिकृत हुन छोडेर ’?
त्यतिबेला म टुडिखेलस्थित प्रेम गुरुङको घर डेरा गरी बस्थें । अर्को कोठामा कृष्णप्रसाद लम्साल (अवकाशप्राप्त सहसचिव, नेपाल सरकार ) बस्थे । उनी सिंचाइमा नासु थिए त्यतिबेला । मैले आज निर्देशकले यसो भन्यो भन्दा उनले ‘तिम्रो मन चोरेको होला, माविनि त्यति सजिलो ठानेका छौ’? भने । नभन्दै अर्को साता क्षेशिनिले विज्ञापन गरेछ । २ पदमा ७ जना उम्मेदवार । परीक्षामा म सहित इश्वरबन्धु गौतम(सम्प्रति अवकाशप्राप्त अधिकृत) पास भएको सूचना पाटीमा नाम निस्क्यो । गौतमलाई कास्की र मलाई म्याग्दी पठाउने भनियो । म मानिन ।
‘म कास्की बस्न नपाउने कारण के डाइरेक्टर साब ?’ मैले सोधें ? ‘मलाई बाध्यता छ’ उनले भने । ‘भैगो मलाई तपाईंको जागिर खानुछैन । म पत्रकारिता नै गर्छु , एम. एड. पढछु’ भनेर हिँडे । केही समयपछि मलाइ उनले बोलाए । ‘कास्कीमा वीरेन्द्रकुमार सिंह जिशिअ छन्, तपाईं खरो मान्छे, अस्थायी पनि । उनी तपाईं भन्दा पनि खरा छन् । तपाईंलाई काम गर्न असजिलो पर्छ’ भने । ‘मैले जिशिअलाई पहिल्यै चिनेकोे थिएँ । उनको भनाईमा सत्यता थियो । फेरि मैले भनें, ‘हैन सर, म उहाँसँग मिलेर काम गर्न सक्छु’ । ‘त्यसो भए जानुस उनलाई भेटेर मलाई फोन गर्न भन्नुस र तपाईं नै चाहिन्छ भन्न लगाउनुस भने’ । म गएँ र यही कुरा गरे । उनी रिसाए । ‘सारा काम त्यो डाइरेक्टरले मलाइ सोधेर गर्या छ ? अहिले किन सोध्नुुपर्ने ? तपाईं आउनुस स्वागत छ । म तपाईंलाई चिन्छु । मेरा लागि पनि तपाई आउदा राम्रै हुन्छ तर त्यो निर्देशकसँग म फोन गरेर यसलाई पठा, उसलाइ नपठा भन्दिनँ ’ उनले भने । यही कुरा लिएर म जिल्ला शिक्षा अधिकारी निवास बगरबाट निर्देशक निवास नयाँबजार गएँ । धेरैबेर कुरा भए । उनले ‘पहिला लेखेको समाचार पनि खण्डन गर्नुस न है, मलाईं माथिबाट के भएको भनेर सोधिराखेको छ’ भने ।
नभन्दै त्यतिबेला आजको झैं जसलाई जे लेखेपनि हुने चलन थिएन । पत्रिकामा आएका समाचार हेरेर उपल्लो निकायले मातहतका निकायलाई सोध्ने चलन थियो । स्पष्टीकरण पनि दिनुपथ्र्यो । कटिङ् संकलन गरेर राख्ने, नथ्थी गरी पठाएर सोध्ने गर्दथे त्यतिबेला । मलाई त्यतिबेला समाचार तयार गर्दा ५ डब्लु र १ एच अर्थात् के, को, किन, कहाँ, कहिले र कसरी भन्ने कुरालाई ख्याल गर्नुपर्छ भन्ने थाहा थियो । साथै समाचार लेख्नु छप्काइ हो, समाचारप्रति असहमति जनाइ आधारसहित खण्डन गर्न पाउनु मलहम लगाउनुु हो, औषधि गर्नु हो । यसबाट बञ्चित गर्न हुँदैन भन्ने मान्यता थियो त्यतिबेला ।
अहिलेका झैं जंगे बोलेपछि बोल्यो, बोल्योको स्थिति त्यो बेला थिएन । मैले हुन्छको संकेत गरें । दिउँसो अफिस बोलाए । मलाई कास्की र गौतमलाई म्याग्दीका लागि माविनिमा नियुक्ति दिए । भोलिपल्ट नियुक्ति लिएर म कास्की गएँ । उनै बिरेन्द्रकुमार सिंह सानो खालको घुम्ने कुर्चीमा थिए । अहिलेका कम्प्युटर अपरेटरकोजस्तो गुणस्तरीय कुर्ची त्यो बेला उपसचिवको पनि हुदैन्थ्यो । अफिसरभन्दा तल्लो पदका कर्मचारीलाई घुम्ने कुर्ची दिइदैन्थ्यो । एउटा पोर्टफोलियो कायम थियो त्यो बेला । उनले सानै भएपनि कुर्ची घुमाएर पत्र हेरे । बधाई भने । सँगसँगै चेतावनी पनि दिए । ‘माविनि चानेचुने पद होइन । माष्टरहरुको निरीक्षण, अनुुगमन गर्नुपर्छ । कक्षा पनि हेर्नुुपर्छ । पत्रकारिता गरेजस्तो थर्काएर खान पाइदैन थाहा छ होला नि’ ।
पहिलो बसाइमै मेरो सातो लिए । मलाई सम्झना भो, ‘सक्छौ जागिर नखाऊ, सक्दैनौ खाऊ, झण्डाभित्र बस, दरवारभित्र नपस’ । पत्रकारबाट नोकरशाही हुनुको पीडा बोध गर्न मलाइ धेरैबेर लागेन । निर्देशकले भनेको पनि सम्झें । आखिर जागिर न पर्यो, हुन्छ सर भनें । म आफू, दशौ तहबाट अवकाशहुँदा थाहा भो, आफूलाइ महान् सम्झने ती सिंहको पनि अन्ततः अवकाशपछि दशौ तहकै पेन्सेन हुँदोरैछ ।
संयोग नै मान्नुपर्छ मेरा पहिला हाकिम वीरेन्द्र सिंह परे भने अन्तिम हाकिम पनि सिंह नै थिए । फरक कति मात्र थियो कि, पहिलाले आफूलाई मधेसको राजपूत भन्थे, दोस्रोले पहाडको मगर । तर यी दुुईमा भारी अन्तर थियो । दोस्रा सिंहको चर्चा अलग प्रसंगमा गर्नेछु । यसप्रकार २०३६देखि पत्रकारिता गरेको एउटा जल्दोबल्दो युवाको पत्रकारिताको अवशान ८ वर्षपछि २०४४ को मंसिरमा निजामतीमा गएर भएको थियो ।