हरेक वर्षको श्रावण महिनाको शुक्ल पञ्चमीका दिन नागको पुजा गरिने भएकाले यस दिनलाई नाग पञ्चमी भनिन्छ । नाग पुजा निश्चित तिथिमा गरिने भएकाले यो नित्य पुजाअन्तर्गत पर्दछ । यस दिन कुनै जुठो, सुत्केरा वा अन्य कारणले पुजा रोकिन गएमा तिजको पञ्चमी (ऋषिपञ्चमी)वा श्रीपञ्चमीमा पुजा गरिने परम्परा छ । गृह शिलन्यास वा गृहशुद्धिका लागि गरिने वास्तुपुजामा पनि नागको प्रसंग आउँछ ।
नागका धेरै प्रकारहरु र कुलहरु भएको ब्यहोरा हिन्दूधर्मअन्तर्गतका विभिन्न शास्त्रहरुमा उल्लेख पाइन्छ । धेरै प्रकारहरु मध्ये कुनैको एकमात्र शिर भएको र कुनैको चार–पाँचसयसम्म शिर भएको वर्णन पाइन्छ । शेषनागलाई नागहरुको राजा मानिएको र जसको शिरमा नागमणी अर्थात जिवमणी हुन्छ र यसका हजार जिब्रा हुन्छन् भन्ने मान्यता छ ।
नागराजाको महिमा जैमनी भारतमा यसरी बताइएको छ(नागहरुको वासस्थान पाताल हो जहाँ सुर्यको प्रकाश पुग्दैन, त्यहाँ नागमणीको प्रकाशले प्रकाशित हुन्छ।) ‘नारायण प्रभुका भगत अति बडा वात्शाह ति शेष छन्¸जीवन सोही मणी लगाइ शिरमा हिड्दा सबै उठ्दछन् ।’
नागहरुका राजा शेष नागका सल्लाहकारको रुपमाको टक, तक्षक, पद्म, शत्त आदिलाई वर्णन गरिएको छ । यसैगरी नागका अष्ठकुलको रुपमा (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कोटक र शत्तलाई) काला, सेता, हरिया, पहेला, राता, निलालगायत आठ रंगका हुन्छन् भन्ने मान्यता छ।
माहाभारतमा आफ्नै छोरा बव्रुवहानद्वारा मारिएका अर्जुनलाई बचाउन त्यही जीवमणील्याइ शेषनाग मत्र्यलोकमा आएको भन्ने प्रसंग छ । नागमहिमाको अर्को प्रसङ्गमा शेषनागले पृथ्वीलाई आफ्नो शिरमा धारण गरी अड्डयाइरहनुभएको छ र शेषनागलाई पृथ्वीको भार सस्र्यूको दाना जती हुन्छ भन्ने प्रसङ्ग पनि उल्लेख गरिएको छ ।
नागलाई जीव विज्ञानले पनि पारिस्थितिक प्रणाली सन्तुलित राख्ने एक महत्वपूर्ण जिवको रुपमा लिन्छ । जीव विज्ञानले नाग वा सर्पले वातावरणको विषालु तत्वहरु ग्रहण गर्दछ र वातावरणलाई शुद्धपार्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने कुरा प्रमाणीत गरेको छ ।
यसले नागको धार्मिक र वातावरणीय महत्वलाई प्रकाश पार्दछ । सर्पलाई भगवानको रुपमा लिइ यसलाई मार्नु हुदैन भन्ने जनविश्वास समेत रहेको छ । हिन्दुधर्ममा यी नागहरुमा फरक–फरक विशेषताहरुको वर्णन विभिन्न लेखनहरुमा गरिएको पाइन्छ साथै आमजनजीवनमा नागहरुले जीवनको रक्षागर्ने, चट्याङ्गबाट रक्षागर्ने, कष्टबाट मुक्तिदिने तथा शान्ति कायम गर्न मद्दत गर्दछन् भन्ने मान्यता समेत रही आएको छ ।
गाँउघरमा प्रायः जसो ढुङ्गाको ओडार, रुखको फेद, पानीको मुहान आदिमा नागको थान स्थापना गर्ने प्रचलन छ । त्यहाँ मुठ्ठी आकारका शिलालाई नागको रुपमा, अलीकम उचाइका शिलालाई नागिनी र त्यो भन्दा साना शिलालाई नागका बच्चाको रुपमा स्थापित गरी पुजा गर्ने गरिन्छ ।
पुजा गर्ने क्रममा यी शिलालगायत वरिपरी गाइको गोवरले लिपपोत गरिन्छ । यसरी शुद्ध पारीएपछि केराको पात बिच्छाइ पिठो वा गाइको गोबरका तीनवटा मुर्ति बनाइन्छ । नाग, नागिनी र तिनका बच्चाका यी मुर्तिमा मासका आँखा, जौ तिलका कत्ला, दुवाको जीब्रो र कुशको पुच्छर जोडिन्छ । कतैकतै कुशको जिब्रो र दुबोको पुछर बनाउने चलन पनि पाइन्छ । नागका यि मुर्तिलाई निश्चित दिशातर्फ फर्काएर राखिन्छ । नागले गुलियो र बेसार मन नपराउने हुनाले सावधानी हुनु जरुरी छ ।
पुजाको सुरुवात कतै विना संकल्पले, कतैहेरी जय परमेश्वर भन्दै कतै सर्व भयनिवारण प्रर्वकम् श्रीनाग देवता पृतार्थम भनि शुरु हुन्छ ।
नाग पुजा गर्ने तरिका ठ्याक्कै एउटै पाइदैन, कसैले के कसैले के गरी पुजा सम्पन्न गरेका हुन्छन् । तर भाव भने एउटै पाइन्छ । नाग प्रसन्न होउन्, कुनै बिघ्न वाधान परोस्, सबैको भलो होस् । तसर्थ परम्परादेखि नै चलेको विधि राम्रो हो त्यसैको अनुशरण गर्नु राम्रो हुन्छ । नागपुजा गर्ने कुनै एउटा विधिलाई यसरी प्रस्तुत गरिन्छ ।
एउटा टपरीमा धान र त्यसमाथि अर्को टपरीमा चामल राखी त्यसमाथि दियो र त्यसैगरी कलश अनि गणेशको स्थापना गरी पाध्य, अर्ध, आचमन, स्नान, वस्त्र(कपास), गन्ध(श्रीखण्ड), पुष्प, धुप, दिप र नैवेधले पुजा गर्ने । नागलाई पुजा गर्न १०८ काने दुना तयार पार्ने र जस मध्ये :
– हातखुट्टा धुनका लागि नागनागिनिलाई ८ वटा दुनामा र नागका बच्चाहरुलाई एउटा दुनामा जल टक्र्याउने ।
– पहिल्यै तयार गरी राखेको अर्घ ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने
– धानको लाभा तयार गरी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– रोटीलाई पनि ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– गाईको दुधलाई ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– गाईको दुधबाट बनेको खिर ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– नागलाई खानेपानी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– नागलाई चुठ्नेपानी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने
– अलैचि वा सुपाडी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
र यसरी पुजा गरि बाँकी रहेका दुनामा पानीले भर्नु पर्दछ । यसरी पुजा गरिसकेपछि गाईको दुधको खिरले १०८ पटक हवन गर्नुपर्दछ । साथै, कर्मपात्रोको जल चोबेर अर्को दुनामा राख्ने गरिन्छ । हवनको मन्त्र भने आफ्नो आफ्नो इच्छा र सहजताको आधारमा प्रयोग हुन्छ (गायत्रीमन्त्र, पुरुषशुक्त, सर्पसर्वाङ्गी आदी ।)
अष्ठनाम बनाइ माछा, गंगटो, खजुरो, सर्प आदि वरिपरी पारी तयार गरिएका सचित्रहरुलाई पनि सिन्दुर, अक्षता, जौ, तिल, दुवोले पुजा गरिन्छ । सो तस्विरलाई घरमा लगी मुलढोका माथि भित्तामा गाइको गोवरको लेप लगाइ टाँसिन्छ । पुजाको अन्त्यमा हे नाग देवता मैले केही जाने बुझेको छैन, पुजा गर्दा गल्ती कमिकमजोरी भएको भए माफ पाँउ, मेरो पुजाबाट खुसी हुनु होस् भनि विनम्रभाव प्रकट गर्नुपर्दछ । यसरी शरणागत भइ पुजा सम्पन्न हुन्छ ।
झारखोला, स्याङ्जा