काठमाडौं । सरकार र शिक्षकबीचको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ । मंगलबार रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको हो ।

मंगलबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तसहितका पदाधिकारीहरुसँग भएको वार्तामा सहमति जुट्न नसकेको हो ।आजको वार्तामा उपप्रधान एवम् अर्थमन्त्री तथा गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

सोमबार साँझ भएको वार्तापछि मन्त्रिपरिषद्मा पनि छलफल भएको थियो। मन्त्रिपरिषद् बैठकपछि पुनः राति शिक्षा मन्त्रालयमा वार्ता भएको थियो। सोमबार भएको वार्ता पनि निष्कर्षविहीन बनेको थियो ।

मंगलबार दिउँसो शिक्षामन्त्री रघुजी पन्तले ३ बजे नै वार्तामा बोलाएका थिए। उनले ५ घण्टाभन्दा बढी समय मन्त्रालयमा प्रतीक्षा गरेका थिए। शिक्षक महासंघको विस्तारित पदाधिकारी बैठक लम्बिएका कारण ढिलो गरी ८ बजे मात्र वार्ता सुरू गरेको थियो।

महासंघले तत्काल सहमतिका लागि ९ वटा बुँदा अघि सारेको छ र यसमा सहमति भए आन्दोलनको स्वरुप परिवर्तन गरी कार्यस्थल फर्किने जनाएको छ।

वार्ता सकिएपछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएपनि थप बोलेनन् । उनले भने, ‘हामी शिक्षकहरुसँग वार्तामा छौँ । त्यो वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छ । सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’

प्रतिकृया दिनुहोस्