वीरेन्द्रनगर । डोल्पाको काइके गाउँपालिका–३ स्थित अरनिको साधारण तथा प्राविधिक माध्यमिक विद्यालयले माध्यमिक तहको अंग्रेजी विषय शिक्षकका लागि दुईपटक विज्ञापन गरिसक्यो । अहिलेसम्म विद्यालयले शिक्षक पाउन नसकेको विद्यालयका प्रधानाध्यापक गोविन्द घर्तीले बताए ।

उक्त विद्यालय अंग्रेजी विषय शिक्षक खोज्न थालेको ४ महिना बितिसक्यो । तर, अहिलेसम्म पनि पाउन सकेको छैन । ‘वैशाखमा विज्ञापन खोलिएको माध्यमिक तहको रसायन शास्त्र र कम्प्युटर इन्जिनियरको शिक्षक केही दिनअघि मात्र पायौं,’ प्रधानाध्यापक घर्तीले भने, ‘अंग्रेजी विषयको शिक्षक अझै पाउन सकिएको छैन ।’ माध्यमिक तहका अंग्रेजी शिक्षक नपाउँदा आधारभूतका शिक्षकले माथिल्लो कक्षामा पढाउनुपर्ने बाध्यता छ । शिक्षक नपाउँदा विद्यालयको पठनपाठनमा पनि समस्या भइरहेको उनले बताए ।

दैलेखको ठाँटीकाँध गाउँपालिका–२ मा रहेको दशरथ माविले गत वर्ष पालिकाको अनुदानमा शिक्षक नियुक्त गर्न ३ पटकसम्म विज्ञापन गर्दा पनि विज्ञान र गणित विषय शिक्षक पाएन । गत पुसमा संघीय अनुदान आएपछि फेरि विद्यालयले विज्ञापन खोल्यो । फेरि २ पटक विज्ञापन गर्दा पनि मावि विज्ञान विषय शिक्षक विद्यालयले पाउन सकेको छैन । संघीय अनुदान आएपछि गणित विषयको शिक्षक पाए पनि विज्ञानको अझै पाउन नसकिएको विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए । उनका अनुसार अहिले फेरि विद्यालयले विज्ञापन खोलेको छ ।

कर्णालीका दुर्गम क्षेत्रमा मात्र होइन, सुगम क्षेत्रकै विद्यालयले पनि शिक्षक पाउन सकेका छैनन् । २००८ मा स्थापना भएको कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको जननमुना माध्यमिक विद्यालय प्रदेशकै उत्कृष्ट सामुदायिकमा पर्छ । निजी विद्यालयमा पढ्ने विद्यार्थीसमेत यहाँ भर्ना हुन पुग्छन् । उत्कृष्ट शिक्षक समूह, अंग्रेजी माध्यममा पढाइ, अतिरिक्त क्रियाकलाप र पारिवारिक वातावरण भएको यो विद्यालय निजी विद्यालयभन्दा पनि राम्रो नतिजा ल्याउन सफल छ । विद्यार्थीको सिकाइ र उनीहरूको भविष्यलाई बढी महत्त्व दिने यो विद्यालय कर्णाली प्रदेशभरि नै लोकप्रिय छ । यो विद्यालयमा आफ्ना बालबालिका पढाउने अभिभावकको सपना पनि हो । यही विद्यालयले पनि ६/७ महिनायता निरन्तर रूपमा शिक्षक खोजिरहेको छ । तर अहिलेसम्म विद्यालयले शिक्षक पाउन सकेको छैन ।

स्थानीय पत्रिकामा शिक्षक आवश्यकताका लागि ३ पटक विज्ञापन प्रकाशित गर्दा पनि शिक्षक नपाएपछि अहिले विद्यालयले विज्ञापनै खोल्न छोडेको छ । विद्यालयले आधारभूत तहका लागि गणित र विज्ञान विषयको शिक्षक खोजे पनि अहिलेसम्म पाउन नसकेको व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले बताए । लामो समयसम्म शिक्षक नपाएपछि अब विद्यालयले विषय परिवर्तन गरेर अर्को विषय शिक्षक माग गर्ने योजना बनाएको छ । उनले भने, ‘हामीलाई नगरपालिकाले स्वयंसेवक शिक्षक राख्न भनेर ३ जनाका लागि बजेट दिएको थियो । माध्यमिक तहको नेपाली विषय शिक्षक पनि पहिलोपटक नपाएपछि दोस्रो पटकको विज्ञापनमा मात्र पायौं । गणित र विज्ञान विषयको अझै पाएका छैनौं ।’

कालीकोटको नरहरिनाथ गाउँपालिका–८ मा रहेको मंगलासैनी माध्यमिक विद्यालय ५ कक्षासम्म मात्र स्थायी दरबन्दी भएको विद्यालय हो । जनसंख्या र भौगोलिक विकटताले यो विद्यालय माविसम्म सञ्चालनमा छ । १ वर्षबाट यो विद्यालयले मावि तहको विज्ञान विषयको शिक्षक खोज्यो । ४ पटक विद्यालयले विज्ञापन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश विष्टले बताए । बल्ल गत आइतबार मात्र शिक्षक पाएको उनले सुनाए ।

‘१ वर्षसम्म विद्यालयलाई शिक्षक पाउनै समय लाग्यो,’ उनले भने, ‘शिक्षक अभावमा हामीले बीचमा बीएस्सी पढ्दै गरेकालाई ल्याएर पनि काम चलाउन पर्ने अवस्था आयो । अहिले भर्खर मात्र शिक्षक पाएका छौं । शिक्षककै खोजीमा म धेरै पटक सुर्खेत, काठमाडौंसम्म पुगें । तराईका केही जिल्ला पनि गएँ । अहिले पनि अर्को दुर्गम क्षेत्रको विद्यालयमा पढाइरहेको शिक्षकले उता छोडेर यता आउँदा बल्ल हाम्रो विद्यालयले शिक्षक पायो ।’

बीचमा केही शिक्षक पाइए पनि पहाडी र हिमाली क्षेत्रमा भने आउन मन नगर्ने गरेको अनुभव उनले सुनाए । अहिले १२ कक्षा पढेपछि अरु विषय नै पढ्ने र विदेशतिर जाने भएकाले पनि शिक्षक पाउन मुस्किल भएको हो कि भन्ने आफूलाई लाग्ने गरेको विष्ट बताउँछन् । ‘कर्णालीमा मात्र नभएर देशकै अधिकांश विद्यालयले शिक्षक नपाएको अवस्था छ,’ उनले भने, ‘अहिल्यै यस्तो अवस्था छ । अबको केही वर्षपछि अझै जटिल अवस्था आउन सक्छ । त्यसैले बेलैमा सरकार शिक्षा क्षेत्रका लागि जिम्मेवार बन्न आवश्यक छ ।’

सामुदायिक विद्यालय व्यवस्थापन समिति कर्णाली प्रदेशका संयोजक समेत रहेका कोइराला भन्छन्, ‘अहिले कर्णालीमा विज्ञान र गणित विषयका शिक्षकको हाहाकारै छ । धेरै विद्यालयले विज्ञापन गर्दा पनि शिक्षक पाएका छैनन् । विज्ञान र गणित पढेकाहरू शिक्षक भन्दा अन्य पेसामा जान थाले । यता जनशक्ति अभाव हुन थाल्यो ।’

शिक्षक सेवाबाट विज्ञान र गणित विषयमा नाम निकालेर आएकाहरू पनि अन्त नाम निकालेर जाने चलन बढी भएको उनले बताए । ‘केही समयअघि मात्र आधारभूत तहमा १ नम्बरमा नाम निकालेका कर्णालीकै १ जना शिक्षकले जननमुना माविलाई रोजेर आएका थिए,’ उनले भने, ‘तर, १ महिनापछि खरिदारमा नाम निकाल्दा शिक्षण पेसा नै छाडेर गए ।’

विज्ञान पढेकाहरूले अवसर धेरै पाउने भएकाले शिक्षण पेसामा आउन नचाहने गरेको कोइराला बताउँछन् । ‘बजारमा ट्युसन पढाउने हो भने तलबभन्दा तेब्बर बढी पैसा कमाउने भएकाले पनि उनीहरू जागिर खान रहर नगर्ने रहेछन्,’ उनले भने, ‘स्थानीय तहले दिएको दरबन्दीमा आधारभूत तहको शिक्षकलाई २० हजार तलब दिइन्छ । त्यही तहको अर्को शिक्षकले ३०/३६ हजार पाउँछ । अनि, कसरी शिक्षण पेसामा रुचि हुन्छ ?’ अहिले विद्यालयहरू लाइसेन्स नभए पनि शिक्षक राख्नुपर्ने अवस्थामा पुगेको उनले बताए ।

कर्णालीमा २ हजार ९ सय ८३ सामुदायिक विद्यालय छन् । सामाजिक विकास मन्त्रालयको शैक्षिक योजना तथ्यांक तथा अनुसन्धान शाखाका अनुसार कर्णालीमा विद्यार्थीको संख्या ६ लाख २६ हजार १० छ । कर्णालीमा प्राथमिक तहमा ८ हजार ७ सय ९३ शिक्षक दरबन्दी हुनुपर्नेमा ८ हजार १ सय ४९ दरबन्दी छ । अझै ६ सय ४४ दरबन्दी अपुग छ । यस्तै निम्न माध्यमिक तहमा ४ हजार ५ सय ६० शिक्षक दरबन्दी हुनुपर्नेमा १ हजार ८ सय ६१ दरबन्दी मात्र छ । निम्न माध्यमिक तहमा २ हजार ६ सय ९९ दरबन्दी अपुग छ । माध्यमिक तहमा ३ हजार २५ दरबन्दी हुनुपर्ने हो । यो तहमा १ हजार २ सय ७६ मात्रको दरबन्दी छ । माध्यमिक तहमा अझै १ हजार ७ सय ४९ दरबन्दी अपुग छ । उच्च माध्यमिक तहमा १ हजार ३६ शिक्षक दरबन्दी हुनुपर्ने भए पनि अहिले ५ सय ७९ को मात्र दरबन्दी छ । यसमा पनि ४ सय ५७ दरबन्दी अपुग छ । शाखाका अनुसार कर्णालीमा प्राथमिक, निम्म माध्यमिक, माध्यमिक र उच्च माध्यमिकका लागि १७ हजार ३ सय ८४ दरबन्दी हुनुपर्ने भए पनि ११ हजार ८ सय ६५ मात्र दरबन्दी छन् । अझै ५ हजार ५ सय ४९ दरबन्दी अपुग छन् ।

कर्णाली प्रदेशमा आधारभूत र मावि तहका विद्यालयमा शिक्षक र विद्यार्थी अभाव देखिन थालेपछि अहिले स्थानीय तहले विद्यालय मर्जर अभियानलाई पनि अघि बढाएका छन् । विद्यार्थी र विद्यालय बढे पनि सरकारले दरबन्दी नबढाएकाले शिक्षक अपुग भएको सामाजिक विकास मन्त्रालयको शैक्षिक योजना तथ्यांक तथा अनुसन्धान शाखाका अधिकृत बलवीर सुनारले बताए । २०५६ सालको दरबन्दी अनुसार नै काम चलाइरहेको अवस्था भएकाले पनि शिक्षक अभाव भएको उनले बताए । विद्यार्थी भएको ठाउँमा शिक्षक नभएका र शिक्षक भएका ठाउँमा विद्यार्थी नहुने समस्या पनि कर्णालीमा देखिएको छ ।

‘जस्तो कि, वीरेन्द्रनगरमा भएको जननमुनामा चाहिने १ सय जना शिक्षक भए पनि २८ जना मात्र स्थायी दरबन्दीका छन्,’ उनले भने, ‘अरु सबै शिक्षक विद्यालयले राख्न परिरहेको छ । दरबन्दी मिलान नहुँदा समस्या भइरहेको छ ।’ कर्णालीमा शिक्षक अभावकै अवस्थालाई मध्यनगर गर्दै कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरका ३ वटा विद्यालयलाई विज्ञान, गणित र अंग्रेजी विषय शिक्षक दिने भनेर बजेट विनियोजन गरेको छ । यसको कार्यविधि पनि अघि बढेको अधिकृत सुनारले बताए ।

तृप्ति शाहीले कान्तिपुरमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्