शिक्षाको महत्व
शिक्षा उज्यालोको त्यो श्रोत हो, जुन उज्यालोले हामी मानवलाई जीवनको बिभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । शिक्षाले मानवको ब्यक्तित्व निमांणमा सहयोग पुर्याउंछ । शिक्षाले नै मानिसभित्र आत्मबिश्वास र सकारात्मक बिचार पैदा गर्छ । जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न उचित शिक्षा आर्जन गर्नु सवैको लागि अत्यावश्यक छ । शिक्षा आर्जन नगर्नु भनेको अन्धकारमा बस्नु सरह हो । शायद यहि तथ्यलाई बुझेर होला सभ्यताको बिकासक्रम सँगै मानिसले परापूर्वकालदेखिनै बिभिन्न तरिकाबाट सिक्ने र सिकाउने कार्य गर्दै आएको छ । प्राचिनकालमा गुरुकूल, गुम्वा, मदरसा आदिबाट परम्परागतरुपमा दिईने शिक्षा प्रणाली आधुनिक प्रविधिको बिस्तारसँगै हालः कम्प्युटर युगमा पुगिसकेको छ ।
नेपालमा महिला शिक्षा
शैक्षिक बिकासक्रमको दृष्टिकोणले नेपालको सन्दर्भमा भने औपचारिक आधुनिक शिक्षाको सुरुवात रानीपोखरीस्थित दरवार हाई स्कूल (भानु मा.वि.) को स्थापनासँगै बि.सं. १९१० बाट भएको हो । सुरुमा राणा परिवारको लागि मात्र खोलिएको उक्त विद्यालयमा बिस्तारै सर्वसाधारणले समेत प्रवेश पाउंदै गए । महिलाहरुले घरबाट बाहिर निस्कनु हुन्न भन्ने रुढिवादी परम्परा र सामाजिक सोच भएको तत्कालिन नेपाली समाजमा पुरुषहरुका लागि आधुनिक शिक्षा प्राप्त गर्न केहि सहज भएतापनि, महिलाहरुका लागि यस्तो अवसर पाउनु कठिन नै थियो ।
हाम्रो देशको सन्दर्भमा, बेग्लै विद्यालय स्थापना गरि महिला शिक्षाको सुरुवात गर्ने काम देवशमशेरको पालामा वि.सं. १९५८ बैशाख ३० गते देशका बिभिन्न स्थानमा कन्या पाठशाला खोलेर भएको देखिन्छ । यसैगरि चन्दशमशेरको प्रधानमन्त्रीत्वकालमा वि.सं. १९८० असार २२ गते काठमाडौं, पाटन र भक्तपुरमा चारश्रेणीसम्मको पढाई हुने गरि १–१ वटा कन्या पाठशालाहरु खोलिएका थिए ।
ती विद्यालयहरुमा सिलाई, बुनाई, कताई र कटाई समेत सिकाईन्थ्यो भन्ने कुरा निजामती कितावखानामा भेटिएको तत्कालिन ललितपुर कन्या पाठशालामा शिल्पविद्या सिकाउने शिक्षिका ललितकुमारीको अभिलेखबाट पनि पुष्टि हुन्छ । समयको गति संगै वि.सं. २००३ सालमा कन्या मन्दिर मा.वि. को स्थापना भयो । भने, नारी शिक्षित नभई समाजको बिकास हुन सक्दैन भन्ने कुरालाई मनन गरि तत्कालिन राणा प्रधानमन्त्री श्री ३ पद्मशमशेर जवराले वि.सं. २००४ सालको श्रीपञ्चमीका दिन आफ्नै निजी भवन र १३ रोपनी जग्गामा पद्मकन्या विद्याश्रमको स्थापना गरेका हुन । अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरको पालामा पनि वि.सं. २००७ सालमा मोहन कन्या मिडिल स्कूल खोलिएको थियो ।
वि.सं. २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापना हुँदा नेपालको साक्षरता करिव २५ प्रतिशत थियो । त्यसबेला महिलाहरुको साक्षरता दर बेग्लै गणना गर्ने स्थितिमा नै थिएन । वि.सं. २००७ पछि भने देशभर विद्यालय खोल्ने लहरै चलेको देखिन्छ । नेपाल अधिराज्यका डिभिजनल इन्सपेक्टर कार्यालयबाट वि.सं. २०११ जेठ १ गते प्रकाशित भएको विद्यालय तालिकामा रहेका ६५ वटा विद्यालयहरुमध्ये महिलाहरुको मात्रै पढाई हुने विद्यालयहरुमा– कन्या मन्दिर मा.वि., पद्मकन्या विद्याश्रम मा.वि., कान्तिईश्वरी राज्यलक्ष्मी हाईस्कुल, मदन मेमोरियल गल्र्स हाईस्कुल, शारदा बालिका विद्यालय र कन्या हाईस्कुल धरान उल्लेखित छन् ।
त्यसताका महिलाहरुको लागि भनि खोलिएका मध्ये कतिपय विद्यालयहरु हालः सम्म आईपुग्दा बिभिन्न कारणले सहशिक्षामा गईसकेका छन भने, केहि विद्यालयले अझैसम्म आफ्नो ईतिहास र अस्थित्व जोगाउंदै देशको नारी शिक्षामा महत्वपूर्ण योगदान दिंदै आएका छन् । यस्ता विद्यालयमध्येको एक पद्मकन्या विद्याश्रम मा.वि., डिल्लीबजारले यहि २०७४ साल माघ ८ गते श्रीपञ्चमीका दिन आफ्नो स्थापनाको ७०औं बार्षिकोत्सव मनाउंदै छ ।
पद्मकन्या विद्याश्रमको इतिहास
आजभन्दा ७० बर्ष अघि स्थापना भएको पद्मकन्या विद्याश्रम देशकै पुराना विद्यालयहरुमध्येको एक हो । सुरुवाती अवस्थामा यस विद्यालय दरबार हाईस्कूलको माथिल्लो तल्लामा सञ्चालन भएको र केहि समयपछि हालको स्थान डिल्लीबजारमा सरेको भन्ने कुरा विद्यालयको दस्तावेजबाट देखिन्छ । वि.सं. २००४ मा स्थापना भएको यस विद्यालयबाट वि.सं. २००५ सालदेखि नै छात्राहरु प्रवेशिका परीक्षामा सामेल हुन थालेका हुन ।
विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष प्रा. आनन्ददेव भट्टद्वारा विद्यालयको तर्फबाट २०४९।६।१ मा प्रकाशित गरिएको “अभिभावकबर्गमा अपील” नामक पुस्तिकामा– श्री ५ को सरकार, शिक्षा मन्त्रालय, प.नि.का. बाट प्राप्त बिवरण अनुसार वि.सं. २००५ मा यस विद्यालयबाट ४ जना छात्राले एस्. एल. सी. को आवेदन फाराम भरेकोमा २ जना उत्तीर्ण भएको भन्ने उल्लेख छ । सुप्रसिद्ध साहित्यकार पारीजात (बिष्णुकुमारी वाइवा) ले सत्र बर्षको उमेरमा वि.सं. २०११ मा यसै विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी हुन ।
यस विद्यालयमा विहानी समयमा वि.सं. २०२० सालबाट नारी ज्ञान मन्दिर नामक माध्यमिक विद्यालय समेत सञ्चालन भएको थियो । करिव १ दशक पद्मकन्या विद्याश्रमको प्रधानाध्यापक हुनु भएकी निलमप्रभा शिवाकोटीले वि.सं. २०२० सालमा सोहि नारी ज्ञान मन्दिर मा.वि. मा नियुक्ति पाउनु भएको थियो । बिहान सञ्चालन हुने सो विद्यालय नयां शिक्षा योजना लागू भए पश्चात वि.सं. २०३० फागुन १ देखि पद्मकन्या विद्याश्रममा गाभिएपछि आफू पद्मकन्या विद्याश्रममा सहायक–प्रधानाध्यापक भएर काम गरेको उहां स्मरण गर्नुहुन्छ । यस्तै, पद्मकन्या विद्याश्रमबाट अवकाशप्राप्त सहायक–प्रधानाध्यापक मीरा उपाध्याय पनि आफुले वि.सं. २०३० सालमा नियुक्ति पाएर यस विद्यालयमा आउंदा सुरुसुरुमा विहानी समयमा माध्यमिकतहमा नेपाली बिषय पढाएको सम्झनुहुन्छ ।
वर्तमानमा पद्मकन्या
आफ्नो स्थापनाकाल देखि हालः सम्म हजारौं योग्य र सक्षम नारीजनशक्तिहरु उत्पादन गरि राष्ट्रलाई समर्पित गरिसकेको यस विद्यालयले नारी शिक्षाको क्षेत्रमा दिएको योगदान अतुलनीय छ । आफ्नो स्तरोन्नति गर्ने क्रममा २०६४ साल देखि यस विद्यालयले शिक्षा, मानविकी र व्यवस्थापन बिषयमा कक्षा ११–१२ सञ्चालन गर्दै आएको छ । छात्राहरुलाई प्राविधिक शिक्षा दिने उद्धेश्यले कक्षा ९ देखि सिभिल ईञ्जिनियरिङ्ग बिषयको पढाईका साथै स–साना नानीहरुको लागि शिशु कक्षाको समेत व्यवस्था छ । विद्यार्थीहरुको समग्र क्षमता विकासको लागि स्काउट, जुनियर रेड्क्रस, ईको क्लव र बाल क्लव जस्ता सामाजिक संस्थाहरु समेत सञ्चालित हुंदै आएका छन् । छात्राहरुको सुविधाको लागि विद्यालयहातामा सांढे तीन तल्लाको ४४ कोठे महिला छात्रावास भवन निर्माणाधिन रहेको छ ।
राजधानी काठमाण्डौंको मुटु डिल्लीवजारमा, आफ्नै करिव १३ रोपनी जग्गा र तीन ब्लकमा बिभाजत २ तल्ले भवनहरु सहितको यस विद्यालयमा देशका बिभिन्न भाग बाट राजधानी आएका सवै जात–जाती, संस्कृति, भाषा र रहन–सहन भएका करिव नौसय छात्राहरु अध्ययनरत रहेका छन् । विद्यालयले कुनै माशिक शुल्क बिना नै मा.वि. तह सम्म सरकारी पाठ्यक्रम बाहेक अंग्रेजी, गणित र कम्प्यूटर बिषयका थप पुस्तकहरु पढाउंदै आएको छ । कक्षा ६ देखि १० सम्म नेपाली तथा अंग्रेजी दुवै माध्यममा पढाईने गरिएको छ । जसलाई एउटा महत्वपूर्ण पक्ष मान्न सकिन्छ ।
अन्त्यमा, आगामी दिनमा आफ्ना विद्यार्थीहरुलाई गुणस्तरीय र जीवनोपयोगि शिक्षा प्रदान गर्नमा विद्यालय सफल होस्, स्थापनाको ७१ औं बर्ष प्रवेश को अवसरमा समस्त विद्यालय परिवारहरुमा शुभ–कामना ।
(लेखक, २०४१ साल देखि पद्मकन्या मा.वि.मा कार्यरत हुनुहुन्छ)