सुनसरी । महेन्द्र बहुमुखी क्याम्पस, धरान जग्गा बचाउ समितिले क्याम्पसको स्वामित्वमा रहेको १७ कट्ठा १८ धुर जग्गामा षड्यन्त्रपूर्वक मोही कायम गरेमा भोगचलन गर्न नदिने चेतावनी दिएको छ ।
इनरुवास्थित भूमि सुधार तथा मालपोत कार्यालयले असोज २५ मा दसैं बिदाको समयमा प्रायोजित मोहीको नाममा कुल जग्गाको आधा नै पाउने गरी फैसला गरेपछि त्यसको विरुद्ध समिति संघर्षरत छ । तत्कालीन क्याम्पस प्रमुख लोकेन्द्रप्रसाद आचार्यको कार्यकालमा ०३४ सालमा धरानकै श्यामगोविन्द श्रेष्ठबाट १ लाख २५ हजार ३ सय रुपैयाँमा खरिद गरेको जग्गामा ४१ वर्षपछि मोहीयानी हक दाबी गर्दै यज्ञबहादुर घिमिरे देखा परेका छन् । ०३४ सालमा मोहीलाई फरफाराक गरे पनि भूमिसुधार तथा मालपोत कार्यालयले लगत कट्टा नगरे पछि अहिले आएर भूमाफिया सलबलाएको हो ।
धरान– ११ स्थित स्वस्तिक चोकमा कित्ता नम्बर २६६ रहेको १७ कट्ठा १८ धुर जग्गा क्याम्पसलाई बिक्री गर्दा जग्गाधनी श्रेष्ठले उतिबेलै घिमिरेका बाबु डम्बरबहादुर घिमिरेलाई चित्त बुझाएर फरफराक गरेका थिए । जग्गा बचाउ समितिका संयोजक तथा सोही क्याम्पसमा दुई पटक क्याम्पस प्रमुख भइसकेका कुमारबहादुर कार्कीले भने, ‘क्याम्पसले जग्गा खरिद गरेपछि कसैले पनि त्यहाँ खेतीपाती गरेनन् । घिमिरेले खेतीपाती वा जग्गा रुगेर पनि नबसेकाले कुत बुझाउने कुरा पनि भएन । तर अहिले देखिएका प्रायोजित मोही यज्ञबहादुरले दाबी गर्नुका पछाडि भूमाफियाहरूको हात छ ।’
यज्ञबहादुरका बाबु डम्बरबहादुरको ०५६ सालमा मृत्यु भएको १९ बर्षपछि एक्कासी क्याम्पसको सार्वजनिक सम्पत्तिमा मोहियानी हक खोज्दै भूमाफियाहरूले प्रायोजित मोही तयार गरेको संयोजक कार्कीले आरोप लगाए ।
हाल उक्त चोक आसपास धुरको १० लाखदेखि १२ लाख रुपैयाँका दरले जग्गा खरिदबिक्री भइरहेको छ । उनले भने, ‘क्याम्पसले ०७५ सालमा उक्त जग्गामा छात्राबासका लागि भवन निर्माण गर्न धरान उपमहानगरपालिका र नापी तथा मालपोत कार्यालयमा नक्सा र धनीपुर्जा देखाएपछि एक्कासि मोही देखिएको हो ।’
भूमिसुधारको फैसलाअनुसार जग्गा भोगचलन गर्न पाएमा यज्ञबहादुरको स्वामित्वमा ८ कट्ठा १९ धुर अर्थात् कम्तीमा २० करोड रुपैयाँको जग्गा प्राप्त हुनेछ । तर उनले मोहियानी हक दाबी गर्न भूमिसुधार ऐनको अनुसूची १ अनुसार मोहीको तथ्यांक संकलन भएको र अनुसूची २ अनुसार तत्कालीन नगरपञ्चायतले दिएको कागजपत्र भने उपलव्ध गराउन सकेका छैनन् ।
पूर्वक्याम्पस प्रमुख कार्कीले भने, ‘जग्गा खरिद गर्दै मोहीको फरफाराक गरेकाले उनका बाबु बाँचुन्जेल केही भनेनन् । त्यसबीचमा उक्त जग्गामा क्याम्पसले ०३५ सालमा प्राध्यापकहरू बस्ने आवास गृह निर्माण गरियो । ०४० सालमा मेरै पालामा २० जना क्षमताको छात्राबास निर्माण गरियो । ०४७ सालमा भान्साघर र चौकीदार आवास गृह, ०६१ सालमा कर्मचारी संघको भवन ०७२ सालमा व्यावसायिक प्रयोजनका लागि दुई तले पक्की भवन निर्माण भएको थियो । जुन हालसम्म विद्यमान छन् ।’
जग्गाको मूल्य आकासिएको र फराकिलो सडक धर्मपथ र पशुपति चोक जाने बाटोको बीच परेकाले भूमाफियाले प्रायोजित मोही तयार गरेको समितिले जनाएको छ । क्याम्पस प्रमुख दामोदर भण्डारीले भने, ‘धरानको शैक्षिक इतिहाससँग जोडिएको र जनस्तरबाट संरक्षित निर्मित सार्वजनिक जग्गामा प्रायोजित मोही हक दाबी गर्नु निन्दनीय भएकाले जुनसुकै चुनौतीको सामना गर्न तयार छौं ।’
जग्गा बचाउ समितिका सदस्य डा. आनन्द आचार्यले कथित मोहीले मुद्दा फिर्ता गर्नुपर्ने बताए । जग्गा बचाउन समितिमा प्रदेश १ का सभामुख प्रदीप भण्डारी, प्रतिनिधिसभा सांसद जयकुमार राई, सांसद मीन विक, प्रदेश सांसद भीम आचार्य, प्रतिनिधिसभा सांसद मीना सुब्बा, प्रदेशसभा सांसद सावित्री श्रेष्ठ जोशी, सांसद चन्द्रप्रसाद श्रेष्ठ, सांसद उमिता बराइली, नगरप्रमुख तिलक राई, पूर्वनगरप्रमुख मनोजकुमार मेन्याङ्बो लगायत ६२ जना धरानका लब्ध प्रतिष्ठित व्यक्ति, राजनीतिक दलका नेता, समाजसेवी, उद्योगी व्यवसायी, कानुन व्यवसायी, विद्यार्थी नेता र संघसंगठनका प्रतिनिधिहरू छन् ।
कान्तिपुरमा खबर छ ।