१. महावीर पुनको नाम धेरैलाई थाहा छ । विद्यार्थीले पाठ्यपुस्तकमै पढेका छन् । कसैले वैज्ञानिक भनेर चिनेका छन् । कसैले लेखकका रूपमा समेत हेरिरहेका छन् । पछिल्ला दिनहरूमा आफ्नै नामको किताब बेच्दै नेपालका विभिन्न सहरहरुमा महावीर पुन पुगेको र पुन स्वयम्ले आफु कुन स्थानमा हो सो को जानकारी दिँदै किताब बिक्रीमा सक्रिय भएको देखियो ।

उक्त किताब बिक्रीको रकम राष्ट्रिय आविष्कार केन्द्र र कृषि औजार कारखानाका लागि खर्च गरिने भनिएकाले भेटे देखे सम्मका ब्यक्तिहरुले कम्तिमा एउटा किताब किनेर सहयोग गरीरहेका छन् । त्यसैले पनि किन्ने सबैले उक्त किताब पढ्न भ्याएका छैनन् । नेपालको दुर्गम जिल्ला म्याग्दीको नाङ्गी नामको गाउँमा वि.सं. २०११साल माघ ०५ गते जन्मिएका महावीर पुनका आमाको नाम पुर्वी पुन र बुबाको नाम कृष्ण पुन भनेर उक्त किताबमा पुनले उल्लेख गर्नु भएको छ ।

मैले उक्त किताब पढे पश्चात सारमा बुझेको कुरा भनेको महावीर पुन ,एक संघर्षको नाम हो, बास्तविक शिक्षाप्रेमी हो,एक सच्चा राष्ट्रवादीको उदाहरण हो, खोज अनुसन्धानको अथक योद्धा हो, असफलता भित्र सफलता देख्ने आम विद्यार्थीका प्रेरणाका श्रोत हुन् भन्दा अतिशयोक्ति नहोला । त्यसैले पनि महावीर पुन जस्ता लगनशील ब्यक्तिको जीवनका आरोह अवरोहको जानकारी ईच्छुकहरुका लागि ब्यवहारिक शिक्षाका प्रेरणाका श्रोत हुन सक्ने महसुस गरी यो आलेखमा पुनका संघर्षमयी घटनाहरुको उजागर गर्ने प्रयत्न गरिएको छ । बिस्तृत थाहापाउन त “महावीर पुन” पढ्नै पर्ने हुन्छ ।

२. बुबा ब्रिटिस सेनामा कार्यरत भएकै कारणले २ वर्षको उमेरमा मलेसिया पुगेका महावीर पुनको ३ वर्ष आर्मी क्याम्पको बसाई पश्चात ५ वर्षको उमेरमा आफ्नै गाउँ नाङ्दी फर्केर बाजे मैते पुन संग गाई गोठमा बाल्यकाल बितेको थियो । ब्रिटिस सेना वा भारतीय आर्मीमा भर्ती हुन पनि ५ कक्षा पढेको हुनु पर्ने भनेर गाउँका बुढापाकाहरुले खोलेको स्कूलमा काठको पाटीमा कालोमोसो दलेर खरिढु¨ाले लेखी शिक्षा प्रारम्भ गरेका पुनले दशैं, तिहार, माघे सङ्क्रान्ति, चैते दशैं र साउने सङ्क्रान्ति जस्ता चाडपर्वमा मात्र दुई छाक धानको भात खाएको र अरु बेला मकै ,कोदो र जौ को ढिंडो र आलु खानपर्ने अवस्थामा स्कूलकै एक कोठामा बस्ने नयाँ शिक्षक हिमालय पुरीको भाँडा माझेर उनले छाडेको भात खाएको कुरा समेत पुनले आफ्नो किताबमा उल्लेख गर्नु भएको छ ।

 रमेश प्रसाद लामिछाने
रमेश प्रसाद लामिछाने

“तपाईं” र “मास्टर सा’ब” यी दुई शब्द पनि नयाँ माष्टरजीबाट सिकेका क्षण संगै पिसाबको कारणले बिरुवा मरेको प्रयोग नै विज्ञानको पहिलो प्रयोग भएको रोचक प्रसंग संगै रेडियो भित्र कस्ता मान्छे रहेछन् भनेर खोज्दा कोहि नदेखेको अनि हवाईजहाज आकाशमा उडेकोमा रमाईलो मानेको कुरा पनि उक्त किताबमा उल्लेख गरिएको छ । पुनले पढेको पहिलो किताब १२ वर्षको उमेरमा ७ कक्षामा रामजी उपाध्यायले लेखेको “ नेपाल दिग्दर्शन इतिहास” को राम्रो याद रहेको र अमेरिकी सहयोगमा संचालित शिक्षक बनाउन नर्मल तालिमका लागि ७ कक्षा उत्तीर्ण लाई एक वर्षे निशुल्क तालिमको अवसर पाउँदा कम उमेरका कारणले पोखरा जानबाट बन्चित भएकाले वि.सं.२०२४माघमा मल्लाज नामको गाएँमा कक्षा ८मा भर्ना हुनुलाई जीवन यात्राको पहिलो मोड भन्नुभएको छ ।

३. मल्लाजबाट कक्षा ८ पास गरेपछि पहिलोपटक बुबासंग पोखरा देखेका पुनले वि.सं. २०२५ सालमा चितवनको खैरहनीमा कक्षा ९मा पढ्न लागेपछि शिक्षकलाई “सर” भन्न सिकेको अनि ईच्छाधिन गणित रोजेको, ईन्जिनियर शब्द पहिलो पटक सुनेको,ट्रिगनोमेट्री अचम्म लागेको,होमवर्क गरेको भन्ने सम्झना नभएको र १४वर्षको उमेरमा पहिलो पटक चप्पल लगाएको जस्ता कुराहरु उनले उक्त किताबमा उल्लेख गरेका छन् ।

वि.सं. २०२७ सालको माघमा एसएलसी दिएका पुन दोश्रो श्रेणीमा पास भएपछि विरेन्द्रनगरका तत्कालिन प्रधानपंच प्रेम बहादुर राना मगरको सहयोगमा वि.सं.२०२८ जेठ देखि काठमाडौंको अमृत साईन्स कलेजमा आईएस्सीमा भर्ना पश्चात जीवनको तेश्रो मोड शुरु भएको लेख्ने पुनले पढाईका विषयहरु, आफ्ना कठिनाई,छात्राबासको बसाई, द्धितिय श्रेणीमा उत्तीर्ण भएकै कारणले छात्रवृत्तिबाट बन्चित भै ईन्जिनियर बन्ने सपना अधुरो भएको प्रसंग सहित बिएस्सीको पढाई तिर नलागि चितवन फर्केर दिब्यनगरको हाईस्कूलमा वि.सं. २०३०साल भदौमा मासिक रु. २२५ तलब बुझ्ने गरी विज्ञान पढाउने अस्थायी शिक्षकमा नियुक्ति भै शिक्षण पेशा सहित जीवनको चौथो मोड शुरु भएको उल्लेख गर्नु भएको छ ।

कट्टु मास्टरको पहिचान बनाएका पुनले दिब्यनगर, रत्ननगर, बिरेन्द्रनगर र खैरहनी हाईस्कूलमा गरि १३ वर्ष शिक्षण पेशाको अनुभव सँगालेका पुन शिक्षक आन्दोलनमा जोडिएर सहभागी भएको र नेपाल राष्ट्रिय शिक्षक संगठन चितवन तदर्थ समितिको कोषाध्यक्ष समेत बनेका पुनले नेपाली सेनामा भर्ति हुने प्रयास असफल भएको कुरा पनि समेट्नु भएको छ ।

४. नयाँ र श्रृजनात्मक कुराहरुको चिन्तन गरिरहने पुनको स्वभाव अनुशार खैरहनी स्कूलमा शैक्षिक सामग्री ब्यवस्थापनका लागि रकम जुटाउन बेसार खेती, बंगुर पालन, तिहारमा देउसी भैलो, माछा पालन, विज्ञान प्रयोगशाला पुस्तिका प्रकाशन गरेको रोचक घटना क्रमहरु उदाहरणिय छन् ।

नेपालमा विज्ञान तथा प्रविधिको विकास गर्न स्तरीय स्कूल कलेज खोल्ने सपना बोकेका र अमेरिकि यान अपोलो बारे रेडियोमा सुनेका पुनले उनको सपनाको शिक्षण संस्थाको नाम अपोलो ग्रुप अफ इन्स्टिच्युसन्स राखि सन १९८७ देखि तयारी गरि क्रमशः अपोलो ११ हाईस्कूल, अपोलो १२ टेक्निकल स्कूल, अपोलो१३ साईन्स क्याम्पस, अपोलो १४ नर्सि¨ क्याम्पस, अपोलो १५ मेडिकल क्याम्पस, अपोलो १६ ईन्जिनियरि¨ क्याम्पस र सन २०३२ पछि अपोलो १७ विज्ञान प्रविधि र अन्तरिक्ष अनुसन्धानको म्युजियम खोल्ने काल्पनिक योजना समेत प्रस्तुत गर्नु भएको छ । यो योजना त सरकारको हुनुपथ्र्यो,देशको पहिचान बन्नुपथ्र्यो तर दुर्भाग्य भन्नै पर्छ ।

आज, त्यो प्रविधिको योजनाकार किताब बेचेर कृषि औजार कारखाना चलाउन लागिरहेको छ । सन १९८६को अर्जेन्टिना र जर्मनीको वल्र्ड कप फुटबल फाईनल खेल पुरानो टिभिका पार्टपुर्जा योगेन्द्र पुनबाट मर्मत गराई जुगाड एन्टेना बनाएर सिग्नलका लागि गोरखपुरतर्फ फर्काएर २४ ईन्चको कालो सेतो टिभिमा सानो जेनेरेटरको सहयोगमा उक्त खेल लाईभ देखाएको रोमान्चक क्षण स्मरण गर्नु भएको छ ।

५. शिक्षण पेशामा नै रहेको बेलामा २०४३ सालको एसएलसी परीक्षामा तत्कालिन सिडिओको रबाफी ब्यवहारले शिक्षक जागिर नखाने निधो गरि पुन काठमाडौंमा भौंतारिने क्रममा साथी उदय मैनालीको सल्लाहमा अमेरिका पढ्न जाने योजना बन्नुलाई पुनले जीवनको पाँचौं मोड भन्नु भएको छ ।

टोफलको तयारी, एक सय भन्दा बढि अमेरिकी युनिभर्सिटीहरुमा छात्रवृत्तिका आवेदन, अन्तरिक्ष यात्री निल आर्मस्ट्र¨संग पत्राचार, प्राप्त जवाफ, अमेरिकन लाईब्रेरीमा पढेको जुल भर्नको साहसिक उपन्यास “ अराउण्ड द वल्र्ड ईन एईटी डेज” मा काल्पनिक पात्र फिलियस फगको विश्व भ्रमणको ८० दिने योजना नै मार्गदर्शक बनेको, बुबा गुमाएको क्षण, करिब १८ महिनाको अनवरत प्रयास पश्चात नेब्रास्का कर्नी स्टेट कलेजका डिन डा.लियोनार्ड स्कोभ बाट छात्रवृत्ति प्राप्त, भाडा र खर्च ब्यवस्थाको संघर्ष झेल्दै २०४५पुष १६ गते अमेरिका यात्राको अनुभव, अमेरिकी कलेजमा १८ क्रेडिट आवरको कक्षा, टाईप गर्न नजान्दा पाएको दुख,भाषाको कठिनाई सहित अनेक अनुभव सँगाल्दै २०४९ सालमा ब्याचलर उत्तीर्ण गरी पुन नेपाल फर्किए ।

६. अमेरिकाबाट फर्के पश्चात जीवनको छैंटौं मोडमा प्रवेश गरेको बताउने पुनले म्याग्दीको नाङ्दी छाडेको २४ वर्ष पछि त्यहि गाउँ पुगेर एक कचहरीमा सहभागी भै पुरानो मिडिल स्कूललाई हाईस्कूल बनाउने र २ वर्ष पढाएर सहयोग गर्ने बचन दिए । अमेरिकन नेपाल एजुकेशन फाउण्डेसनका संस्थापक डा. ह्यु बि.उड संग सम्पर्क गरि शैक्षिक सहयोगका लागि अनुरोध गरेको स्मरण गर्दै म्याग्दीमै काम गरिरहेका जापानी प्रोफेसर कावाकिता संग जोडिएर गाउँको कष्टकर जीवनमा सहज बनाउन सहयोग संगै प्रकृति र संस्कृतिको संरक्षणमा संस्थागत प्रयत्न गरेको बिस्तृत स्थिति उक्त किताबमा उल्लेख गर्नु भएको छ ।

साथै , स्कूल संचालनका लागि आर्थिक श्रोत संकलनका क्रममा टनेलमा गरेको असफल गोलभेंडा खेती, मःम ब्यपार, पलफूलको जाम बिक्रि, पर्यटकका लागि नाङ्दीमा क्याम्पि¨ स्थल, खरायो पालन र उनको उत्पादन,नेपाली हाते कागजको उत्पादन, माहुरी पालन,माछा पालन, चिज बनाउने, सहितका प्रयत्नहरु बिस्तृत अनुभवका रुपमा समेटिएका छन् । संगै. स्वास्थ्य सेवाका लागि धनन्जय पाठक र सरोज धिताल संगै अमेरिकी स्वयंसेवकहरुले गरेको सहयोगले राहत पुगेको पुनले उल्लेख गर्नुभएको छ ।

७. नाङ्गी स्कूल संचालनार्थ गरिएका सयौं प्रयत्नहरु, पुनले बनाएका अमेरिकी शैक्षिक ब्यक्तित्वहरु संगको नाङ्गी ओहरदोहर, छाप्रे छात्रावासको निर्माण, स्कूल तथा छात्रावासमा जडान भएको पहिलो हाईड्रो जेनेरेटर, आर्थिक श्रोत जुटाउने प्रयोजनार्थ शैक्षिक भिडियो बनाएर अमेरिकाबाट रकम संकलन गर्ने असफल योजना, दोश्रो पटक नेब्रास्का भ्रमण, वेबसाईट निर्माण, बिदेशी स्वयंसेवकहरुको आगमन, घोरेपानीमा संस्कृतिक संग्रहालय बनाउने असफल प्रयास, मर्कन्टाईल कम्युनिकेशन संगको सहकार्यमा टेलीफोन र इन्टरनेट ल्याउन गरेको प्रयास, सबैभन्दा महत्वपूर्ण भनेकै दुर्गम गाउँहरुमा वायरलेस संजाल र ईन्टरनेट बिस्तारका काम र चुनौतिलाई पुनले जीवनको सातौं मोड भन्नुभएको छ ।

बिबिसी संगको ईमेल, वायरलेस नेटवर्क डिजाईन, अशोका फेलोसिप, ओभरअल सोसल ईनोभेसन अवार्ड, रामोन म्यागसेसे पुरस्कार, अनरेरी डक्टरेट,उज्जवल किर्तिमय राष्ट्रदीप, इन्टरनेट हल अफ फेम, जोनाथन बी.पोस्टेल सर्भिस अवार्ड, स्पेशल अवार्ड, गण्डकी तारा, जस्ता उच्च पदकहरुबाट सम्मानित हुँदाका अविस्मरणीय क्षणहरुको लामो विवरण उक्त किताबमा पढ्न सकिन्छ । उक्त किताबमा उल्लेखित कुराहरुका अतिरिक्त राष्ट्रिय आविष्कार केन्द्र र कृषि औजार कारखाना संग जोडिएर बनाईएका योजना लिई सरकार संगको सम्पर्क, भेट, उपलब्धि, गुनासा, आदिकुराहरु पछिल्ला दिनका गतिबिधिहरु चर्चा गरिएको छ ।

८. अन्तमा, राष्ट्रिय आविष्कार केन्द्रको स्थापना संगै यो मुलुकलाई समृद्ध बनाउने सपना मात्र हैन,पुनले गरेका ग्रामिण पर्यटनका लागि गुराँस पार्कको कल्पना सामुदायिक पदमार्ग तथा पर्यटक लज, ट्रयाकिङ उपकरणको विकास, साहसिक पर्यटन र आरोहण प्रशिक्षण स्कूल, पर्यटन सहकारी, लगायतका प्रयासहरु अध्ययन र विश्लेषणका विषय हुन् ।

पुन एक शिक्षा प्रेमी ब्यक्ति हुन् जो अमेरिका पुगेर उतै पढेका मान्छे ,उतै काम गरेर सुखमय र सुविधापूर्ण जीवनका स्थिति त्यागेर नेपालको शिक्षा विकासका लागि स्वदेश विदेश जोड्दै र आफ्रनो सीप तथा क्षमताको अधिकतम उपयोग गरि राष्ट्रकै पहिचान बन्ने आविष्कार केन्द्र र कृषि औजार कारखाना संचालनार्थ आर्थिक श्रोत जुटाउन लागि परिरहेका महावीर पुनका योजनामा सरकारको गम्भिर ध्यानाकर्षण हुनु जरुरी छ । यो राष्ट्रका लागि केहि गरेर देखाउने नै हो भने पुन एक दरिलो उदाहरण र उर्जाशील श्रोत भन्दा अतिशयोक्ति नहोला ।

– हेटौंडा

प्रतिकृया दिनुहोस्