४० को उमेरमा जब मैले क्यानेडियन विश्वविद्यालय जाने मौका पाए अनि थाहा पाए विश्वविद्यालय के हो र यो कस्तो हुनुपर्छ भन्ने कुरो। मेरो अनुभवको आधारमा विश्वविद्यालयका दुई ओटा महत्पूर्ण काम हुदा रहेछन। पहिलो प्राज्ञिक विषयमा गुणस्तरीय शिक्षण प्रदान गर्नु र दोश्रो सोही विषयवस्तुमा गहन अध्ययनअनुसन्धान गर्नु मुख्य काम रहेछन।
माथिका दुई ओटा मुख्य कार्यहरु धेरै नै अन्तरसम्बन्धित हुदारहेछन। त्यसैले विश्वविद्यालयशिक्षा विद्यालयशिक्षाभन्दा धेरै फरक रहेछ। यो अति नै जटिल विषय रहेछ। त्यसैले विश्वविध्यालयका विषयहरु फ्याकल्टीले शिक्षण गर्छन जो अनुसन्धानका क्षेत्रमा पोख्त छन्। अझै महत्वपूर्ण कुरो के रहेछ भने जो आफ्नो क्षेत्रको अनुसन्धानमा सक्रिय छ त्यसैले विश्वविद्यालयमा शिक्षण गर्ने अवसर पाउनुपर्ने रहेछ। विश्वविद्यालयमा शिक्षणको आत्मा नै अनुसन्धान रहेछ। त्यसैले सरकारले पनि आफ्नो कुनै क्षेत्रको अनुसन्धान गर्नुपर्यो भने बजेटसहित विश्वविध्यालयका शिक्षकहरुलाई जिम्मा लगाउदो रहेछ। यसका लागि प्राज्ञिक स्वतन्त्रताको प्रत्याभूति पनि गरिएको हुदोरहेछ। विश्वविध्यालयमा शिक्षणका क्रममा सतहमा आउने जुनसुकै मुद्दाहरुलाई खुल्लारुपमा बहसमा ल्याएर अनुसन्धानको प्रश्न निर्माण गर्ने अभ्यास रहेछ। त्यसैले स्नातक र स्नाकोत्तरमा अध्यनरत विद्यार्थीहरुलाई अनुसन्धानमा सक्रियरुपमा सहभागी गर्नुपर्नेरहेछ।
प्राज्ञिक स्वतन्त्रता किन आवश्यक छ? प्राज्ञिक स्वतन्त्रता विनाको अनुसन्धान गुणस्तरीय र विश्वासिलो नहुदोरहेछ किनकि प्राज्ञिक कार्य त्यस्तो वातावरणमा मात्रै सम्भव रहेछ जहाँ प्राज्ञिक व्यक्तिहरुलाई जोखिम लिनसक्ने अवसर दिइन्छ। यस्तो वातावरणमा मात्रै अनुसन्धानकर्ता वा प्राज्ञिक व्यक्तिले यथास्थितिलाई चुनौती दिनसक्छ र आफ्नो मस्तिस्क र सोचमा नै परिवर्तन गर्नसक्छ। त्यसैले क्यानेडियन विश्वविद्यालयहरुले यस्तोखाले वातावरण सिर्जना गर्दा रहेछन ताकि प्राज्ञिक व्यक्तिहरुले प्राज्ञिकरुपमा स्वतन्त्र भएर आफ्नो कार्यसम्पादन गर्न सकुन। प्राज्ञिक व्यक्तिलाई कसैले पनि प्रभाव पार्ने, कुनै विषयवस्तुमा चुप लाग्न लगाउने, अनावश्यक हस्तक्षेप गर्ने, नियन्त्रण गर्न खोज्ने, धम्की दिने, हिँसाको आभास दिने र अनुसन्धानकाक्रममा कुनै विरोधाभासयुक्त विषयवस्तु आयो भनेर त्यसको अनुगमन गर्ने काम कसैले पनि गर्न पाउदैन। यो प्राज्ञिक स्वतन्त्रताको हनन हो।
त्यसैले विश्वविद्यालयहरुले एउटा बलियो कानूनी फ्रेमवर्क बनाएर प्राज्ञिक इन्टेग्रिटी र स्वतन्त्रतालाई जोगाउने काम गर्दारहेछन। प्राज्ञिक स्वतन्त्रता विश्वविद्यालयमा काम गर्ने शिक्षक र अनुसन्धानकर्ताको अधिकार हो। देशको सरकार र विश्वविद्यालयले यसको प्रत्याभूती नगरेसम्म विश्वविद्यालयले कुनै पनि क्षेत्रमा राम्रो परिणाम दिन सक्दैन। त्यसैले कुनै पनि विश्वविद्यालयले प्राज्ञिक व्यक्तिको प्राज्ञिक स्वन्त्रतालाई हनन गर्न सक्दैन। विश्वविद्यालय एउटा स्वायत्त संस्था हो तर यसको अर्थ यो होइन कि प्राज्ञिक स्वतन्त्रता यसको अधिनमा रहेको हुन्छा भन्ने किनकि यो प्राज्ञिक व्यक्तिको विशेष अधिकार हो। कुनै पनि विश्वविद्यालयले संस्थागत स्वतन्त्रताका नाममा प्राज्ञिक स्वन्त्रतामा धावा बोल्न कुनै पनि हालतमा पाउदैन।
विश्वविद्यालयशिक्षाले कुनै पनि व्यक्तिलाई कामको संसारको लागि तयार गर्छ तर विश्वविद्यालय केवल रोजगारीको बाटो मात्रै भने होइन। उदाहरणका लागि विश्वविद्यालयले शिक्षक वा वकिल उत्पादन मात्रै गर्ने होइन! यसले त त्यस्तो व्यक्ति तयार गर्नुपर्छ जसले शिक्षण र कानूनका बारेमा गहन र बृहत ज्ञान हासिल गर्न सफल होस्। यस्तो कुरोको अभाव सुप र नेपालका अन्य विश्वविद्यालयमा रहेको तथ्यलाई कुनै पनि हालतमा नकार्न सकिदैन। किनकि सुप विश्वविद्यालयले विभिन्न खाले जनशक्ति उत्पादन त गर्ला तर अनुसन्धानमार्फत ज्ञान उत्पादन गर्न सकेन भने सुप र देशको विकास सम्भव छैन।
विश्वविद्यालयको अर्को महत्वपूर्ण काम हो प्रत्येक समुदायमा यसले एउटा सांस्कृतिक दूतकारुपमा आफ्नो भूमिका निभाउनुपर्ने हुन्छ। यसका लागि यसले आफ़ुस्थित समुदायमा विभिन्न काम गर्नसक्छ। उदाहरणका लागि सार्बजनिक बहसका कार्यक्रम आयोजना गर्ने, कलात्मक कार्यक्रम प्रस्तुत गर्ने, खुल्ला बहसलाई आमन्त्रित गर्ने र अन्य सामुदायिक कार्यक्रम आयोजना गर्ने ताकि विश्वविद्यालयले आफ्नो सामाजिक दायित्व वहन गर्नसकोस । तर यसको अर्थ यो होइन कि यी कार्यक्रमहरु गरेर विश्वविद्यालय आफ्नो मूल उद्देश्यबाट टाढा रहोस।
सुप र अरु विश्वविद्यालयहरुले शिक्षण र अनुसन्धानको लगनगाठो बलियो गरी बाध्नुपर्छ ताकि विश्वविद्यालयहरुले गुणस्तरीय जनशक्ति उत्पादन गर्नसक्नुकासाथै अन्तरास्ट्रियरुपमा आफ्नो साख पनि कायम गर्नसकुन। यसका लागि सुप विश्वविद्यालयले प्राज्ञिक स्वतन्त्रताको प्रत्याभूति गर्नुपर्ने हुन्छ। मलाई लाग्छ माथिका विषयवस्तुहरु सुप विश्वविद्यालय कस्तो हुनुपर्छ भन्ने दिशामा बहसका लागि प्रस्थान बिन्दु हुनसक्छन।
नेपालमा काठमान्डू विश्वविद्यालय बाहेक अरु विश्वविद्यालयहरु माथिका मापदण्ड अनुसार अझै संचालन हुन सकिरहेको अवस्था छैन जबकि सुप विश्वविद्यालयले त अझै धेरै गर्नुपर्ने बाकी छ। अहिलेदेखि नै सुप विश्वविद्यालयले यो दिशामा गहन र बृहत बहस चलाएर आफ्नो भिजन, मिसन, कोर भ्यलुज, लिगल फ्रेमवर्क, नीति र कार्यक्रम ल्याउन सफल भयो भने अहिलेका पिढीको तर्फबाट आउने पुस्ताका लागि यो सुप विश्वविद्यालय ठुलो उपहार हुनसक्छ।
अहिलेदेखि नै सुप विश्वविद्यालयले आफ्ना प्रोफेसरहरुलाई अनुसन्धानकर्ताकोरुपमा विकास गर्नुपर्ने हुन्छ नत्र यो विश्वविधालयले पनि अरु विश्वविद्यालयको जस्तै नियति भोग्नुपर्नेछ। अहिलेसम्मका गतिबिधिहरु नियाल्ने हो भने सुप विश्वविद्यालय केवल विश्वविद्यालयशिक्षाले कामको संसारका लागि व्यक्ति तयार गर्ने हो भन्ने सोचकासाथ अघि बढेको देखिन्छ। सुप विश्वविद्यालयले श्रमको बजारमा केही जनशक्ति पूर्ति गर्न सके आफ्नो उद्देश्य पुरा हुन्छ भन्ने सोचबाट मुक्त हुनुपर्छ किनकि सुपवासीहरुले यो विश्वविद्यालय ज्ञान र सीप दुवै उत्पादन गर्ने कारखानाको रुपमा स्थापित भएको हेर्न चाहन्छन। तर सुप विश्वविद्यालयले आफ्ना प्रोफेसरहरुलाई अनुसन्धानमा पोख्त नबनाउन्जेलसम्म सुपवासीको सपना पुरा होला जस्तो लाग्दैन।
अर्को कुरो फ्याकल्टी भर्ना गर्दा नै अनुसन्धानका क्षेत्रमा विशेष योगदान गर्न सफल व्यक्तिहरुलाई ध्यान दिन सकियो र नीति पनि त्यही अनुसारको बनाउन सफल भयो भने मात्र सुप विश्वविद्यालय आगामी दिनमा एउटा गुणस्तरीय र सफल विश्वविध्यालयका रुपमा उदाउनेछ भन्ने कुरोमा शंका छैन।
त्यसैले विश्वविद्यालयको अर्थ पहिल्याउन हामी सबैले हाम्रो सात नम्बर प्रदेशमा कस्तो खाले विश्वविद्यालय चाहने हो बहस चलाऔ।
रजिस्टर्ड सोसल वर्कर, क्यानाडा