२०७७ जेष्ठ १६ गते

कोरोना संकट र नेपालको विद्यालय शिक्षामा छताछुल्ल असमानता

मदन नाथ

                  


युनेस्कोका अनुसार संसारभर २९० मिलियनभन्दा बढी विद्यार्थीहरु अहिले कोरोना भाइरसबाट प्रभावित भएका छन् । भनिन्छ, संकटले अवसरलाई पनि सँगै लिएर आएको हुन्छ। हामीले यसलाई चिन्न सकेनौं भने कुनै पनि क्षेत्रमा अग्रगामी फड्को मार्न सक्दैनौं ।  कोरोनाले पनि आफूसँगै केही अवसर लिएर आएको छ। जस्तैः यसले  फ्याक्ट्री मोडलको शिक्षाप्रणालीलाई सुधार गर्न हामीलाई घच्घच्याएको छ । यो चुनौतीलाई नेपालको शिक्षामन्त्रालयले अवसरका रुपमा ग्रहण गर्न सक्यो भने नेपालको शिक्षा क्षेत्रले काँचुली फेर्ने कुरोमा विवाद नहोला ।

हाम्रो वर्तमान शिक्षाप्रणालीले शिक्षाक्षेत्रमा परम्परा धान्ने काम मात्रै गरिरहेको छ । समतामूलक शिक्षा प्रदान गर्न सकिरहेको छैन । यस्तो अवस्थामा कोरोनाको प्रकोपले यो शिक्षाप्रणालीलाई आमूलरुपमा सुधार गर्नका लागि सबैलाई सोच्न भने बाध्य बनाएको छ। कोरोनाले एउटा कुरो के स्पस्ट पारिदिएको छ भने वर्तमान शिक्षा र शैक्षिक स्रोतसाधनमा सवैै वर्गका बालबालिकाहरुको समान पहुँच छैन । अहिले विद्यालय, शिक्षाप्रणाली र बालविकासलाई विद्यार्थीका आवश्यकताहरुप्रति कसरी उत्तरदायी बनाउने भन्ने चुनौती हो । अहिले एउटा यस्तो शिक्षाप्रणालीको विकास गर्न सकिन्छ जहाँ विद्यार्थीहरुका विद्यालयभित्र र विद्यालयबाहिरका सबै आवश्यकताहरु पूर्ती गर्न सकिन्छ। अनि मात्रै  फ्याक्ट्री मोडलको वर्तमान शिक्षाप्रणालीलाई विस्थापन गर्न सम्भव हुन्छ।

विद्यालय जाने कामले मात्र विद्यार्थीको सफलता र कल्याणलाई निर्धारण गर्दैन । हाम्रो शिक्षाप्रणाली सवैै वर्गका विद्यार्थीका लागि एकनासको छ जवकि विद्यार्थीमाथि पर्ने प्रभाव र विद्यालय सञ्चालनका आधारमा हेर्ने हो भने कुनै पनि विद्यालय समान हुदैनन् । जसरी प्रत्येक विद्यार्थी फरक हुन्छ त्यसरी नै प्रत्येक विद्यालय फरक हुन्छ किनकि प्रत्येक विद्यार्थी भिन्न पृष्ठभूमिबाट आएको हुन्छ।


विद्यालय बाहिरका स्रोतसाधन र अवसर पनि भिन्न हुन्छन् भन्ने कुरो बुझ्नु आवश्यक छ। विद्यार्थीको धेरै जसो समय त विद्यालयबाहिर नै बितेको हुन्छ जहाँ असंख्य असमानता र फरकपन हुन्छन् । कोरोना संकटका बेला केही विद्यार्थीलाई कुनै असर पर्दैन किनकि उनीहरुसँग गुणस्तरयुक्त सिकाइका अवसरहरु धेरै छन् । तर, अरु विद्यार्थीहरुसँग भने गुणस्तरीय शिक्षाका लागि कुनै विकल्प नै छैनन् । यस्ता विद्यार्थीहरु अहिले शिक्षाप्राप्त गर्ने अवसरबाट निश्चय पनि वञ्चित भएका छन् । त्यसैले अहिले स्रोत र साधनमा पहुँच भएका विद्यार्थीहरु जेनतेन गरेर सिकाइ गर्न सफल छन् भने कुनै पनि स्रोत र साधन नभएका विद्यार्थीहरु कोरोनाको ठूलो मारमा परेका छन् ।

अहिलेको समस्या भनेको डिजिटल डिभाइड हो किनकि सक्नेले अनलाइन शिक्षण र सिकाइ गर्दैछन् भने नसक्नेले शिक्षण र सिकाइका अवसरबाट वञ्चित भएको अवस्था स्पस्ट छ। यो खाडललाई पुर्न नेपालको शिक्षाप्रणालीले के गर्नसक्छ त ? यो कुरो सरकारले पहिले नै गरिसक्नुपर्थ्यो ।  तर गरेन किनकि यसमा उसको दूरदृष्टि नै देखिएन । प्रविधिमा पहिले नै सबै विद्यार्थीको पहुँच सुनिश्चित गरेको भए अहिले यो अवस्था भोग्नुपर्ने थिएन । यसका लागि स्थानीय, प्रदेश र संघिय सरकारले संयुक्तरुपमा पहल गर्नुपर्ने देखिन्छ।

एक्काइसौं शताब्दीको शिक्षाले प्रविधि र इन्टरनेट खोजेको छ जसले विद्यार्थीको सिकाइलाई सुनिश्चित गर्न सकोस् । सबै विद्यार्थीको पहुँच प्रविधिमा पुर्याउनु आवश्यक भइसकेको छ किनकि यसले मात्र हाम्रा विद्यार्थीका शैक्षिक आवश्यकताहरुलाई पुरा गर्नसक्छ । केही समुदायमा प्रविधि उपलब्ध छ भने नभएका समुदायहरुले अहिले यसका लागि संघर्ष गर्नुपर्ने भएको छ। अहिले प्रविधिमा पहुँच नभएका विद्यार्थी वा परिवारका लागि नेपाल सरकारले ठाउँठाउँमा इन्टरनेट हटस्पट स्थापना गर्नुपर्छ जहाँ यिनीहरुले आफ्नो   सिकाइका लागि पहुँच गर्न सकुन् । यसै गरी आयआर्जन कम भएका अभिभावकहरुका बालबालिकाहरुलाई सरकारले निःशुल्क क्रोमबुक उपलब्ध गराउनुपर्छ । तर, कालान्तरमा भने हटस्पटले हुँदैन किनकि सबैको प्रविधिमा पहुँच सुनिश्चित गर्नुपर्ने हुन्छ जुन राज्यको संवैधानिक दायित्व हो ।

अहिले सामाजिक र आर्थिकरुपमा पछि परेका वा पारिएका विद्यार्थीहरु ठूलो मारमा छन् किनकि उनीहरुको  प्रविधि र इन्टरनेटमा कुनै पहुँच छैन । यो समस्याको सामाधान भनेको प्रविधि र इन्टरनेटमा यो बर्गको पहुँच सुनिश्चित गर्नु नै हो । घरमा आमाबुवाले बालबालिकाका शैक्षिक आवश्यकताहरु पुरा गर्नसक्छन त ? अहिलेको विकल्प भनेको होमस्कुलिङ्ग नै हो तर के अभिभावकहरुसँग त्यो क्षमता, स्रोतसाधन र सरकारी निकायबाट दिइने सहयोग उपलब्ध छ त ? यथार्थमा धेरै अभिभावकहरु अहिले यसका लागि संघर्ष गर्दैछन् ।

यो परिवारको क्षमतामा भर पर्ने कुरो हो किनकि कुनै परिवार स्रोतसाधन सम्पन्न होलान भने कुनै परिवार यसबाट वञ्चित छन् । कोही अभिभावकहरु घरमै होलान् भने मजदुरबर्गले आफ्नो  रोजीरोटी कमाउन काममा जानुपर्ने होला। त्यसैले होमस्कुलिङ्ग अहिलेको विकल्प भए पनि यो सबैका लागि प्रभावकारी हुनसक्दैन । यदि अभिभावकको काम र अभिभावकले गर्ने होमस्कुलिङ्गकाबीच सन्तुलन कायम गर्नसकिएन भने जो पहिले नै पीडित छ ऊ झन् पीडित हुने सम्भावना बढेर जान्छ । त्यसैले अभिभावकलाई कति जिम्मेवारी दिने भन्ने कुरामा नेपालको शिक्षामन्त्रालय स्पस्ट हुन जरुरी छ।

अहिले विद्यालयहरु बन्द छन् र अभिभावकहरुले कहिले अनुभूति नगरेको असमानता अहिले महसुस गरेका छन् । अहिले खानाको अभाव छ, स्वास्थ्य र मानसिक स्वास्थ्यमा सर्वसाधारणको पहुँच अपर्याप्त छ, बस्ने बासको स्थायित्व छैन र प्रविधि तथा इन्टरनेटमा सबैको पहुँच छैन । यी असमनाताहरुलाई सम्बोधन गर्न सकिएन भने शिक्षाले आफ्नो उद्देश्य प्राप्त गर्नसक्दैन । अहिले शिक्षाप्रणाली र बालविकासको पुनर्संरचना र पुनर्विचार गर्नुपर्ने समय हो।अबको पाइला भनेको शैक्षिक प्रविधिमा समतामूलक पहुँच कसरी सुनिश्चित गर्ने भन्ने हो। यसले प्रविधि र इन्टरनेटले सिर्जना गरेको असमानताको खाडललाई पुर्न ठूलो सहयोग गर्नेछ ।


शिक्षाक्षेत्रमा अहिले आमूल परिवर्तनको खाँचो छ किनकि यो कोरोनासंकटले दिएको अवसरलाई हामीले उपयोग गर्न सकेनौ भने भविष्यमा यो परिवर्तन गर्न गारो होला । रसियाले जब १९५७ मा स्पुत्निक अन्तरिक्षमा पठायो अनि अमेरिकाले बल्ल थाहा पायो अमेरिकन शिक्षा अरुसँगको प्रतिस्पर्धामा पछाडि परेको छ भनेर । अनि अमेरिकाको आखाँ खुल्यो र आफ्नो शिक्षाप्रणालीलाई सुधार गर्न तिर युद्धस्तरमा लाग्यो । यसका फलस्वरूप चन्द्रमामा आफ्नो यान पठाउन सफल भयो । अमेरिकाले आफ्नो शिक्षा प्रणालीलाई पुरै पुनरावलोकन गर्यो र वैज्ञानिक पाठ्यक्रम बनाएर लागु गर्न सफल भयो । मानवीय पूँजी विकासमा शिक्षाको ठूलो भूमिका छ भन्ने तथ्यलाई आत्मसात गर्न सफल भयो । शैक्षिक हिसावले अमेरिका पछाडि परेपछि ‘रास्ट्र जोखिममा’ भनेर घोषणा नै गरेको थियो ।

विद्यालयमा राम्रो सिकाई गर्न विद्यालयबाहिर विद्यार्थीहरुले धेरै सुविधाहरु पाउनुपर्ने हुन्छ । नेपालमा हामी विद्यालयभित्रका मात्रै कुरा गर्दछौं तर विद्यालयबाहिर उपलब्ध हुनुपर्ने सुविधाहरुका बारेमा हामी विरलै मात्र कुरा गर्छौं । विद्यार्थीले सिक्नका लागि स्वास्थ्य, सफापानी, पोषणयुक्त खाना, विद्यार्थीको सुरक्षा, लत्ताकपडा, स्थायी वसोवास र राम्रो पारिवारिक सम्बन्ध अति आवश्यक हुन्छन् । विद्यालयबाहिर यी सबै कुरामा विद्यार्थीको समान पहुँच भयो भने मात्रै हाम्रो शिक्षा प्रणालीले सार्थकता पाउनेछ । यसका लागि एउटा विद्यार्थीलाई एउटा सिंगो व्यक्तिका रुपमा हेर्नुपर्ने हुन्छ । जब विद्यालयभित्र र बाहिर उपलब्ध स्रोतसाधनमा सबै विद्यार्थीहरुको समान पहुँच हुन्छ अनि मात्रै सिकाइ सार्थक हुन्छ ।

संकटको बेला सफल हुन कुनै पनि प्रणालीका लागि वैकल्पिक प्रणालीको ब्यबस्ठा गरिनु सामान्य हो । संकटको बेला यसले अभ्यासमा रहेको प्रणालीलाई ब्याकअप गर्ने काम गर्छ । तर, नेपालमा शिक्षाप्रणालीको कुनै ब्याकअप प्रणाली नभएकाले अहिलेको संकटमा विद्यार्थीहरुले दुख पाउनुपरेको हो । नेपालको शिक्षा प्रणालीको ब्याकअप भनेको संकटका वा अन्य समय डिजिटल सिकाइका लागि शैक्षिक प्रविधि र इन्टरनेटमा समान पहुँच नै हो । यसको समुचित व्यवस्था गर्न सकियो भने मात्रै सबैका लागि शिक्षा भन्ने नाराले मूर्तरूप पाउने हो ।

कोरोनासंकटले हाम्रो शिक्षाप्रणाली कत्तिको प्रभावकारी छ भन्ने त देखाइसकेको छ । हुनेखाने विद्यार्थीले भन्दा पनि गरीब र पछाडि परेका वा पारिएका विद्यार्थीहरुले यस्तो संकटमा अझै सास्ती भोग्नुपर्ने भएकाले नेपालका सम्बन्धित निकायहरुले वैकल्पिक शिक्षाप्रणालीको विकासमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

एडिएचडि र विशेष आवश्यकता भएका विद्यार्थीका लागि वैकल्पिक शिक्षाप्रणालीले पनि काम गर्नसक्दैन । किनकि यस्ता आवश्यकता भएका विद्यार्थीहरुले अनलाइन कक्षामा ध्यानकेन्द्रित गर्न गारो हुन्छ । व्यक्तिकेन्द्रित योजनाको आवश्यकता पर्ने भएकाले यो पक्षलाई कसरी वैकल्पिक शैक्षिक प्रणालीमा समेट्ने भन्ने कुरो त्यत्तिकै आवश्यक हुन्छ । आशा छ नेपालले यो कोरोनासंकटबाट आफ्नो शिक्षाप्रणालीलाई आमूलरुपमा परिवर्तन गर्न धेरै कुराहरु सिकेर व्यबहारमा लागु गर्नेछ ।

( हाल क्यानाडा रहेका नाथ शैक्षिक जनशक्ति विकास केन्द्रका पूर्वप्रशिक्षक हुन् ।)

Comments: