काठमाडौं । इन्टरनेटसहितको मोबाइल चलाउन दिए छोरीहरू बिग्रने सोच अभिभावकमा हुँदा अनलाइन शिक्षामा छात्राको पहुँच कम देखिएको छ । नेपाली समाजमा अझै पनि छोराछोरीबीच विभेद कायमै छ। यस्तो सोच काठमाडौं महानगरपालिकाजस्तो सहरी क्षेत्रका अभिभावकमा पनि रहेको सुन्दा आश्चर्य लाग्न सक्छ। तर यो यथार्थ हो। कोरोना संक्रमण जोखिमका कारण लकडाउनयता सुरु भएको अनलाइन कक्षामा विद्यार्थीको सहभागिताले यस्तो रहस्य खोलेको हो। नेटसहितको मोबाइल चलाउन दिए छोरीहरू बिग्रने सोच अभिभावकमा हुँदा अनलाइन शिक्षामा छात्राको पहुँच अपेक्षित रुपमा पुग्न नसकेको देखिएको छ।
त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन स्कुलमा १० कक्षाका विद्यार्थीका लागि सञ्चालित अनलाइन कक्षामा सोमबार ८६ जना विद्यार्थी सहभागी थिए। उनीहरूमध्ये ५८.१३ प्रतिशत छात्र र ४१.८६ प्रतिशत छात्रा रहेको प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए। उनले कक्षा सकिएपछि भने, ‘अभिभावकलाई छोरीलाई पनि इन्टरनेट चल्ने मोबाइल किनिदेऊ भन्दा छोरी फेसबुक चलाएर बिग्रे जिम्मेवारी कसले लिने भन्छन्। मैले सम्झाउँदा किताब पढे पुगिहाल्छ भन्ने गरेका छन्।’ अझै पनि छोराको पढाइ रोके संसारै बिग्रने र छोरीको अध्ययनमा बाधा पुग्दा कुनै असरै नपर्ने सोच भएका अभिभावक भेट्दा दुःख लाग्ने गरेको उनले बताए।
विश्वनिकेतनमै कक्षा ९ मा अध्ययनरत एक छात्रकी आमा रजनी यादवले छोरीलाई नेटसहितको मोबाइल नदिने बताइन्। ‘आज म स्कुलमा किताब लिन आएकी। छोरी स्कुल नखुलेसम्म किताब पढेरै सिक्छिन्,’ उनले भनिन्, ‘नेट भएको मोबाइल त म दिन्नँ। गलत बाटो गए परिवारमा नराम्रो हुन्छ।’
कलंकी बस्ने सुस्मिता श्रेष्ठका बुवाले कक्षा ८ पढ्ने छोरालाई अनलाइन कक्षाकै लागि नेट चल्ने आफ्नो मोबाइल सेट दिए। तर सुस्मिताले पाइनन्। आमाबुवाको यस्तो व्यवहारले सुस्मिता निराश बनिन्। ‘भाइको कक्षा बिहान १० बजे सुरु हुन्छ, साढे एक बजे सकिन्छ। भाइ अनलाइन पढिरहेछ,’ सुस्मिताले भनिन्, ‘तर मलाई बुवाआमाले एक्लै मोबाइल अहिलेसम्म चलाउन दिनुभएको छैन। मैले ब्वाई फ्रेन्डसँग च्याट गर्छु कि भन्ने उहाँहरूको शंका रहेछ।’ उनको गुनासो छ, ‘भाइ नेटबाट पढ्दा बिग्रँदैन, मैले नेट चलाएर पढ्दा बिग्रन्छु रे, आमा यसै भन्नुहुन्छ।’ यसैलै गर्दा आफ्नो पढाइ छुट्दै गएको उनको गुनासो छ। उनी बलम्बु माविकी विद्यार्थी हुन्।
सुस्मिताकी आमा विमलाले छोरीलाई नेटसहितको मोबाइल दिए अनलाइन कक्षाको बहानामा फेसबुक चलाउने र केटा साथीसँग च्याट गरी बिग्रने आशंका व्यक्त गरिन्। ‘केटीहरूले मोबाइलमा फेसबुक, केके जाति भन्ने चलाएर बिग्रेको सुन्नुभएको छैन,’ उनले नागरिकको जिज्ञासामा भनिन्, ‘स्कुलले किताब दिएकै छ, त्यही पढे भइहाल्छ नि।’ उनले थपिन्, ‘छोराको कक्षा छुटे अप्ठ्यारो हुन्छ नि।’
पढाइमा विभेद मात्र होइन, लकडाउनका बेला घरमा रहँदा छोरीहरूलाई काममा पनि सघाउनुपर्छ। ‘केको अनलाइन कक्षा गर्नु, फुर्सद हुुनुप¥यो नि,’ कालीमाटीमा रहेको जनप्रभात स्कुलकी कक्षा ९ की छात्रा महिमा पाण्डे भन्छिन्, ‘आमाबुवा कालीमाटी तरकारी बजारमा व्यापार गर्न बिहानै निस्कनुहुन्छ। म खाना, दिउँसोको खाजा र रातिको खानासमेत तयार गरेर राख्छु। भाइ भने पढिबस्छ।’ १४ वर्षीया महिमाले थपिन्, ‘हामी दुई दिदिबहिनी नै घरगृहस्थी गर्छौं। एउटा भाइ छ। बुवाले उसलाई पढ्न देऊ भन्नुहुन्छ।’ आफ्नो घरमा छोरीहरू जति पढे पनि अर्काको घरमा जाने र भाइले आमाबुवालाई बुढेसकालमा हेर्ने कुरा हुने गरेको उनी सुनाउँछिन्।
बलम्बु माविका प्रधानाध्यापक सुमन राउतले आर्थिक अवस्था कमजोर भएका सहरी क्षेत्रका अभिभावकले छोरा र छोरीमा बढी विभेद गरेको पाइएको बताए। उनको स्कुलमा हाल ८ सय ७० विद्यार्थी भर्ना भएका छन्। उनले नेटको उपलब्धता र छोराछोरीको अनलाइन सामग्रीमा पहुँचबारे एक अध्ययन नै गरेको बताए। ‘४० प्रतिशत अभिभावकको पहुँच अनलाइन पठनपाठनका माध्यमसम्म नरहेको पाइयो,’ उनले भने, ‘छोरामा भन्दा छोरीमा अध्ययन गर्ने उत्सुकता बढी देखियो। तर आमाबुवासँग मोबाइल, नेट, ल्यापटप, ट्याबलगायतका सामग्री छन् भने प्राथमिकतामा छोरा नै पर्ने गरेको हाम्रो अध्ययनले पनि देखायो।’ बिदाको समयमा छोरीलाई अर्काको घरमा काम गर्न पठाइदिने र छोरालाई पढ भन्ने विभेद समाजमा कायमै रहेको उनले बताए। ‘स्कुल छनोटदेखि पढ्ने वातावरण बनाइदिनेसम्ममा छोरीमाथि विभेद नै छ,’ उनले थपे।
सरकारले वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशिका जारी गरेसँगै स्कुलहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आए पनि छात्राको सहभागिता न्यून रहेको ज्ञानोदय स्कुलका प्रधानाध्यापक नातिकाजी महर्जनले बताए। शान्ति निकुञ्ज माविकी शिक्षक मञ्जु श्रेष्ठले पनि विद्यार्थीसँग कुरा गर्दा छोराहरूसँग मोबाइल रहेको र छोरीहरूसँग मोबाइलको पहुँच नरहेको अनुभव सुनाइन्। ‘मैले विद्यार्थीलाई अनलाइन कक्षाबाट शिक्षण सिकाइ गराउँदा छोरीहरूको सहभागित अति न्यून पाएँ,’ अंग्रेजीकी शिक्षक उनले भनिन्, ‘छोराहरू आमाबुवासँग झगडा गरेर पनि मोबाइल र नेटको व्यवस्था गराउन सक्ने रहेछन्। तर छोरीहरूलाई आमाबुवाले नै नेट र मोबाइलको पहुँचबाट रोक्ने गरेको रहेछन्।’
डिल्लीबाजरमा रहेको पद्मकन्या माविमा समेत यस्तो समस्या रहेको प्रधानाध्यापक रीता तिवारी बताउँछिन्। ‘हाम्रो स्कुल छोरीहरू नै पढ्ने स्कुल हो। तर अनलाइन कक्षामा सहभागिता निकै दयनीय छ,’ उनले भनिन्, ‘कक्षा ९ र १० मा ८० विद्यार्थी छन्। तर ३० जना पनि अनलाइन आउँदैनन्।’ उनले थपिन्, ‘कारण सोध्दा घरायसी काममा व्यस्त हुनुपर्ने र नेट तथा मोबाइल नभएको विद्यार्थीले बताउने गरेका छन्।’
रूबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।