विकासको प्रमुख औजार शिक्षा हो । औपचारिक शिक्षा प्राप्त गर्ने थलो विद्यालय हो । विद्यालय विद्यार्थीले पढ्ने र शिक्षकले पढाउने वैधानिक संस्था हो । यो शान्तिक्षेत्र हुनु पर्छ भन्ने एक विश्वव्यापी मान्यता हो । तर यहाँ विद्यालय राजनीति क्षेत्रको रूपमा प्रयोग भएको देखिन्छ । समाजका व्यक्तिहरूलाई शिक्षा प्रदान गर्नको लागि समाजमा नै स्थापित औपचारिक शैक्षिक संस्थालाई विद्यालय भनिन्छ ।
जसले सधैैं समाजको भलाइका लागि कार्य गर्दछ, राष्ट्रको भविष्यको लागि योग्य जनशक्ति निर्माण गर्दछ । विद्यालयले सामाजिक मूल्य तथा आदर्शहरू भावी पुस्तामा हस्तान्तरण पनि गर्दछ । एउटा बालकलाई पूर्ण मानिस बनाउने कार्यमा विद्यालयले महत्वपूर्ण भूमिका खेल्दछ । विद्यालयमा गुणस्तरीय शिक्षा र शान्तिको प्रत्यानुभूति हुनुपर्दछ, न कि राजनीति क्षेत्रको । विद्यालयमा द्वन्द्व हटाई शान्ति कायम गर्नुपर्दछ । यहाँ देशको अस्थिर तथा अस्वस्थ राजनीति, अविकासको अवस्था र अशान्तिमय परिवेशले मात्र विद्यालयहरू अशान्ति क्षेत्र भएका होइनन् ।
विद्यालयहरूमा हुने बन्द, हड्ताल, भौतिक असुविधा, विद्यालयभित्रको विभेद, हिंसा, आर्थिक अभाव, विद्यालय व्यवस्थापन समितिमा राजनीति, शैक्षिक वातावरणको कमी आदिले पनि विद्यालय अशान्ति क्षेत्र बन्न पुगेका हुन् । तसर्थ विद्यालय शान्ति क्षेत्र हुन आवश्यक छ । नेपालका विद्यालय शान्ति क्षेत्र कि राजनीति क्षेत्र हुन् भन्नेमा प्रश्न चिह्न छ । विद्यालय ज्ञान प्रदान गर्ने र शिक्षा आर्जन गर्ने संस्था हो ।
शिक्षा एउटा गतिशील प्रव्रिmया हो । शिक्षाले व्यक्ति, समाज, राष्ट्र र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा फरक–फरक प्रभाव पारेको हुन्छ र सो अनुरूपको परिणाम दिएको हुन्छ । आधुनिक युगमा र राज्यसँग सम्बन्धित समस्त विषयहरू राजनीतिले अध्ययन गर्दछ भने संघर्ष, कलह र भेदभाव रहित, शान्तिपूर्ण सामाजिक जीवन राजनीतिको लक्ष्यभित्र पर्दछ । तर विडम्वना यहाँ विद्यालयमा शैक्षिक वातावरण नभई राजनीतिक हस्तक्षेप र बढ्दो अनावश्यक राजनैतिक क्रियाकलापहरूले विद्यालय शान्ति क्षेत्र हुन सकेका छैनन् । विद्यालय शान्ति क्षेत्रको खोक्रो नारा र अभियान बनेको छ ।
विद्यालयमा शिक्षकको अनियमितता, विद्यार्थीको अनुशासनहीनता, स्थानीय सरकार र शिक्षा विकास तथा समन्वय इकाईकोे मनपरितन्त्रले विद्यालय अशान्त छन् । विद्यालय शिक्षक, विद्यार्थी, अभिवावक, स्थानीय सरकार र शिक्षा विकास तथा समन्वय इकाईको राजनीति गर्ने ठाउँ भएका छन् । अन्यको लागि विद्यालय राजनीतिको प्रयोगशाला बनेको छ । नेपालमा चलेको सशस्त्र द्वन्द्वको कारण विद्यालयलाई शान्ति क्षेत्रका रूपमा विकसित गर्नुपर्ने अवस्था आयो । विगतमा राज्यमा भएको द्वन्द्वले देशको अन्य क्षेत्रका साथै शिक्षा क्षेत्रलाई पनि अस्तव्यस्त बनाएको थियो ।
विद्यालयलाई व्यारेक र कार्यक्रम स्थलका रूपमा प्रयोग गरेका थिए । गैर सरकारी संस्था र अन्य क्षेत्रले विद्यालय शान्ति क्षेत्र बनाउने अभियान थालेका छन् । यसरी नै नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले २०६८ जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको छ । शान्ति क्षेत्र ढाँचा र कार्यन्वयन निर्देशिका जारी गरी राज्यले विद्यालय शान्ति क्षेत्र र बालमैत्री शिक्षणका लागि १४९ बुँदे मापदण्ड तोकेको छ । यसको कार्यन्वयन तथा पालना गर्नु अबको आवश्यकता रहेको छ ।
जुन घोषणाबाट विद्यालय शान्ति क्षेत्र बन्ने र राजनीतिमुक्त क्षेत्र हुनेछ । जुन नेपालको आवश्यकता पनि हो । शिक्षा समाजको अपरिहार्य आवश्यकता हो । शिक्षाको माध्यमबाट समाज र राष्ट्रको आवश्यकताहरू पूर्ति हुन्छन् । शिक्षालाई समाज र राष्ट्रहरूका विद्यमान विभिन्न तत्वहरूले प्रभाव पार्दछन् । यहाँ हुने सकारात्मक र नकरात्मक गतिविधिहरूले विद्यालयमा शान्ति र अशान्तिको वातावरण सिर्जना हुन्छ् । विद्यालयमा कस्तो शिक्षा प्रदान गर्ने ? कसरी शिक्षा प्रदान गर्ने ? कस्ताले शिक्षा प्रदान गर्ने ? भन्ने प्रश्न उठ्छ ।
विद्यालयमा अहिले शैक्षिक अभ्यास भन्दा पनि शिक्षामा राजनीतिक अभ्यास भइरहेको देखिन्छ । यहाँ शिक्षाको भन्दा पनि शिक्षामा राजनीति सबै पक्षहरूले गरेको भेटिन्छ । फलस्वरूप विद्यालय अशान्ति क्षेत्र हुन गइरहेको छ । विद्यालय शान्ति क्षेत्र हुन नसक्नुमा कुनै एउटा मात्र कारण नभई धेरै कारणहरू जिम्मेवार रहेका छन् । यिनीहरूमा राजनैतिक कारण प्रमुख हो ।
नेपालमा हुने पटक पटकको राजनीतिक परिवर्तनमा विद्यालय, विद्यार्थी र शिक्षकको बढी प्रयोग भएको पाइन्छ । जसमा द्वन्द्वहरू सिर्जना भएका हुन्छन् । राजनीतिक पार्टी तथा भातृ सङ्गठनको प्रयोग केन्द्र एवं कार्यक्रमस्थल विद्यालय बनेको छ । विद्यालय व्यवस्थापन समितिमा आ–आफ्नो पार्टीका मान्छे ल्याउन र नाजायज माग पूरा गर्ने नाममा विद्यालय बन्द हड्तालको सिकारमा परेका छन् ।
प्रधानाध्यापक, शिक्षक, कर्मचारीहरूको अवस्था, नियुक्ति, पक्षपाती व्यवहारले विद्यालय तनावग्रस्त र अशान्त छन् । यस्तै सामाजिक कारणले पनि विद्यालय शान्ति क्षेत्रमा बाधा उत्पन्न हुने गरेको देखिन्छ । समाजका विभिन्न वर्ग, जाती, धर्म, भाषा, संस्कृति र राजनीतिक पृष्ठभूमि भएका विद्यार्थीहरू विद्यालयमा आउँछन् । सो अनुरूप सोच, सुनुवाइ र सङ्गतमा भिन्नता पर्छ ।
फरक रीतिरिवाज र चाडपर्व अनुसार विद्यालयमा स्थानीय विदाको लागि विवाद हुन्छ । विद्यालयमा लागु पदार्थको दुव्र्यसन पनि बढेको जस्तो देखिन्छ । जसले गर्दा विद्यालयमा अशान्ति मच्चेको पाइन्छ । यसरी नै शैक्षिक रूपमा बालमैत्री शिक्षाविधिको प्रयोगमा कमी हुनु, परीक्षा प्रणालीमा अनियमितता हुनु, अस्थिर शैक्षिक नीति, लैङ्गीक विभेदताका कारणहरूले पनि विद्यालय अशान्त छन् ।
विद्यालयको भवन, फर्निचर, शौचालय, खानेपानी, खेलमैदान, पुस्तकालय, प्रयोगशाला, खेलकुद सामग्री तथा शैक्षिक सामाग्रीको अभाव, दैवी प्रकोप, शिक्षक–कर्मचारीको अपर्याप्तता, अनियमितता, राजनीति, व्यवस्थापनको कमजोरीले पनि विद्यालय शान्ति क्षेत्र हुन सकेका छैनन् । यसरी नै संवैधानिक शिक्षक सेवा आयोगको व्यवस्था नहुनु, शिक्षकहरूका बिच विविधता हुनु, सेवा सुविधामा विभेद हुनु, अस्पष्ट कानून आदिले पनि बेला बेलामा आन्दोलन, बन्द र हड्ताल भई विद्यालय अशान्त छन् ।
त्यसैले यी समस्याहरूको समाधानको खोजी गरी विद्यालयलाई शान्तिक्षेत्र बनाउँनुपर्छ र राजनीतिको प्रयोगशाला बन्नुबाट टाढा रहनुपर्छ । अहिलेको अवस्थाबाट नेपालका विद्यालयहरूलाई माथि उठाउनु पर्दछ । कुनै पनि विद्यालयले समाज र राष्ट्रको समुन्नत विकासको लागि महत्वपूर्ण भूमिका खेल्दछ । विद्यालयले समाज र राष्ट्रको लागि आवश्यक पर्ने विभिन्न किसिमका जनशक्तिहरूको उत्पादन गर्दछ । बालवालिकाहरूलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरी समाज र सचेत नागरिक बनाई विद्यालय मात्र नभई राष्ट्रमा शान्ति कायम गर्न सहयोग पु¥याउँछ । जग बलियो भयो भने घर बलियो हुन्छ भनेभैंm विद्यालय शान्ति क्षेत्रसँगै देश शान्ति क्षेत्र हुनेछ ।
मूलतः सहस्राब्दि विकास लक्ष्य पूरा गर्न, शैक्षिक गुणस्तर वृद्धि गर्न, शिक्षालाई नैसर्गिक अधिकारको रूपमा लिन, शिक्षामा समान पहुँच हुन, फरक जाति, धर्म, भाषा, लिङ्ग, वर्ग, विचार, संस्कारप्रति सम्मान गर्न, लोकतान्त्रिक मूल्य मान्यताका साथ सभ्य सुशिक्षित नागरिक बनाउँन, विद्यालयभित्र हुने विभिन्न प्रकारका हिंसाहरू अन्त्य गर्न र विद्यालयमा हुने राजनीतिलाई निषेध गर्न विद्यालय शान्ति क्षेत्र हुन आवश्यक छ । नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका शैक्षिक लगायत अन्य सन्धि, सम्झौता र प्रतिबद्धता पुरा गर्न यसले ठोस बल पु¥याउँछ ।
साथै नेपालको शैक्षिक विकास गर्न, विद्यालय सुधार गर्न र शिक्षामा गुणस्तरीयता ल्याउँन यस मान्यताले मद्दत गर्दछ । विद्यालय शान्ति क्षेत्र निर्माण र राजनीति क्षेत्र मुक्त गर्न कुनै एक पक्षको प्रयास मात्र नभई सरोकारवाला सबैको संयुक्त प्रयासबाट मात्रै यो संभव छ । तसर्थ शिक्षा र ज्ञानको केन्द्र विद्यालयलाई राजनीतिक प्रयोगशालाको रूपमा नचिनाउँन तपाईं हामी सबैको भूमिका महत्वपूर्ण हुन्छ ।