२०७६ भदौ ६ गते

सुधारको मुख्य योजनाकार प्रअ नै भएमा विद्यालय सुध्रिन्छ

 


कुलप्रसाद खतिवडा

प्रधानाध्यापक, श्री वरुणेश्वर माध्यमिक विद्यालय, रामपुर, ओखलढुंगा

 

पहिले औषत रहेको ओखलढुंगाको वरुणेश्वर माविमा २०७० मा जब कुलप्रसाद खतिवडा प्रधानाध्यापक बन्नुभयो, तब विद्यालयले काँचुली नै फेरेको छ । शिक्षा मन्त्रालयबाट गएको तीन वर्ष लगातार पूर्वाञ्चल र प्रदेश नम्बर १ बाट उत्कृष्ट बनी पुरस्कृत हुन सफल विद्यालय ‘नमूना विद्यालय’ घोषितसमेत भएको छ । विद्यालयमा गएको केही वर्षमा अपत्यारिलो सुधार गर्न सफल प्रधानाध्यापक खतिवडासँग आजको शिक्षाले गरेको कुराकानीको सारसंक्षेप ।

विद्यालयको समग्र अवस्था कस्तो छ ?
विद्यालयको शैक्षिक, आर्थिक, भौतिक अवस्थालाई तुलनात्मक रुपले हेर्दा सन्तोषजनक नै छ । तर, सुधार गर्न हामी अहोरात्र जुटेका छौं । विद्यालयमा हाल ८०० भन्दा बढी विद्यार्थी छन् । उनीहरुका लागि ४६ जना शिक्षक–कर्मचारी कार्यरत छन् । कक्षा ११ र १२ मा चारवटै संकाय छन् । कक्षा ९ देखि नै पशुविज्ञान विषयक प्राविधिक शिक्षाको कक्षा सञ्चालन भइरहेको छ ।

अन्य विद्यालयभन्दा यो किन फरक छ ?
मुलुकका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर जुन हिसाबले घटिरहेको देखिन्छ । समुदाय र अभिभावकको विश्वास घटिरहेको अवस्था छ । विद्यार्थी संख्या पनि घटिरहेकै बेला छ । शैक्षिक सरोकारवालाहरुको विश्वास पनि त्यस्तै छ । तर, हाम्रोमा भने ठीक उल्टो छ । हामीले शैक्षिक सुधारका योजनाहरु निर्माण र त्यसको कार्यान्वयनमा दृढतापूर्वक लाग्ने गरेका कारण यस विद्यालयको शैक्षिक अवस्था राम्रो भएको छ । शैक्षिक अवस्था राम्रो भएसँगै अभिभावक र समुदायको विश्वास जित्न सफल भएका छौं । जसले गर्दा सरोकारवालाहरुको स्यावासीसमेत पाएका छौं ।


शैक्षिक सुधारका लागि के–के गर्नुभएको छ ?
२०६९ ओखलढुङ्गा जिल्लाकै शैक्षिक सुधारलाई केन्द्रबिन्दु बनाएर त्यहाँका सबै पेशागत संघ–संगठनहरु, जिशिका, राजनीतिक दलहरु, शैक्षिक सरोकारवालाहरुको संयुक्त गोष्ठीले जिल्लाको शैक्षिक सुधारको तीन वर्षे मार्गचित्र निर्माण गरेको थियो । त्यहाँ सबै विद्यालयहरुले नमूना विद्यालय बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । मैले पनि प्रतिबद्धता जाहेर गरेँ । अनि, विद्यालय सुधारमा कटिबद्ध भएर दिनरात लागेँ । प्रतिबद्धता जाहेर गर्ने जिल्लाकै पहिलो प्रधानाध्यापक पनि म नै थिएँ । शैक्षिक, भौतिक र आर्थिक रुपमा नमूना विद्यालय बनाउने मार्गचित्र त्यति बेलै बनाएँ । अनि निरन्तर शैक्षिक अभिवृद्धिका योजनाहरु विद्यालयमा बनाउन थालेँ र सबैको सहयोगले विद्यालयले प्रगति गर्न थाल्यो । सबैभन्दा ठूलो कुरो, सुधारको चाहना नै रहेछ । चाहना भए बहाना हराउने रहेछ । हामीले संस्थागत विद्यालयका राम्रा अभ्यास, अन्य राम्रा विद्यालयका नमूना कार्यको अध्ययन गरेर लागू गर्न शुरु ग¥यौं । अभिभावकको साथ र शिक्षक साथीहरुको निरन्तर सहयोग मिल्यो । विद्यालय सुशासनको थालनी ग¥यौं ।


विद्यालयले गरेका असल अभ्यासहरु के–के छन ?
हामी योजनाबिना केही गर्दैनौं । अनि सामुहिक प्रयासबिना पनि केही गर्दैनौं । वार्षिक कार्ययोजना, नियमित सिकाइ योजना निर्माण, नतिजामा आधारित सिकाइ, जिम्मेवारी बाँडफाँड गरेका छौं । कक्षा पाँचसम्म अंग्रेजी माध्यम पुगेको छ । यो हरेक वर्ष बढाउँदै लगेका छौं । विद्यार्थीहरुलाई नियमित गृहकार्य दिने र परीक्षण पनि नियमित गरेर फिडब्याकसहित अभिभावककहाँ पठाउने गरिन्छ । विद्यार्थीलाई निःशुल्क गृहकार्य डायरी उपलब्ध गराएका छौं । शिक्षकहरुलाई समेत वार्षिक कार्ययोजना र दैनिक पाठयोजना निर्माणका लागि डायरी उपलब्ध गराएका छौं । त्यसको अनुगमन र मूल्याङ्कन गर्ने काम पनि गरिन्छ । परीक्षामा शतप्रतिशत नतिजा उपलब्ध गराउन सफल शिक्षकहरुलाई पुरस्कृत र विषयगत शिक्षकहरुलाई सम्मान गर्ने गरिन्छ । शिक्षकहरुलाई पुरस्कार र दण्डको नीतिलाई कडाइका साथ अवलम्बन गरिएको छ । समुदायको समेत यसमा सहयोग रहँदै आएको छ । शतप्रतिशत नतिजा नल्याउने विषयगत शिक्षकहरुलाई विव्यसको बैठकमा बोलाइन्छ । त्यहाँ छलफल गरी समस्या पहिचान र समाधानका लागि कसले के गर्नुपर्ने हो त्यसको योजना मागिन्छ । त्यसका लागि कस्तो नसहित दिने भन्ने निक्र्योल पनि गर्ने गर्छौं ।


विद्यालयका उपलब्धिहरु के–के छन् ?
विद्यालय लगातार दुई वर्षसम्म पूर्वाञ्चल विकास क्षेत्र र यो वर्ष १ नम्बर प्रदेशबाट नै शिक्षा मन्त्रालयबाट उत्कृष्ट विद्यालय घोषित भएर पुरस्कृत भइसकेको छ । विगतका एसएलसी र एसइइ परीक्षामा लगभग शतप्रतिशत नतिजा आइरहेको छ भने अन्य कक्षाका सिकाइ उपलब्धिसमेत उत्कृष्ट छ ।


विद्यालय सुधारको शुरुवात कहाँबाट गर्नुभयो ?
म यस विद्यालयमा २०७० सालदेखि प्रधानाध्यापक बनेको हुँ । मैले ०६२ सालदेखि यही विद्यालयमा पढाउँदै आइरहेको थिएँ । म प्रअ भएदेखि नै केही योजना बनाएर कार्यान्वयन गर्न सके उपलब्धि सुधार गर्न सकिन्छ भन्ने लाग्यो । अनि मैले शिक्षक, अभिभावकहरुसँग सल्लाह गरँे । सबैले साथ र सहयोगको आश्वासन दिएपछि मैले सोही वर्षदेखि नै कक्षा १ देखि अंग्रेजी माध्यम लागू गरेँ । विद्यालय सुधारका लागि पहिलो काम भनेको स्कूलसँग सम्बन्धित सबै सरोकार पक्षलाई पहिले आत्मबोध र जिम्मेवारी बोध गराउने विषय महत्वपूर्ण रहेछ । दोस्रो, योजना निर्माण र त्यसको कार्यान्वयन गराउने रहेछ । र, तेस्रो भनेको अधिकारको विकेन्द्रिकरण रहेछ । सबैले जिम्मेवारी पाए गर्न सक्दा रहेछन् । एक्लैले नहुँदो रहेछ । अभिभावकहरुको सहभागिता बढाउन प्रत्येक १५ दिनमा फरक कक्षाका अभिभावकहरुसँग छलफल गर्न थालेँ । ‘अब विद्यालय एउटा नयाँ शैक्षिक अभियानमा जान्छ, तपाईँले साथ दिनुप¥यो’ भनेँ । ‘अब नयाँ ढंगले अभिभावकको दायित्व निर्वाह गर्नुपर्छ । विद्यालय, विद्यार्थी र शिक्षकहरुको नियमित अनुगमन गर्नुपर्छ’ भनेँ । सबैले त्यसै गर्न थाल्नुभयो । गृहकार्य डायरीमा नियमित र अनिवार्य अभिभावकको हस्ताक्षर गर्ने कार्यले समेत यसलाई सघाऊ पुग्यो । शैक्षिक सुधारका लागि जिशिका, विनि र स्रोतव्यक्तिहरुसँग पनि निरन्तर छलफल गरियो । नमूना कक्षा देखाउनै प¥यो । योजना निर्माणमा सहयोग गर्नुप¥यो । अनुगमन र सुपरिवेक्षण गरिदिनुप¥यो भनौं । उहाँहरुले समेत त्यसै गर्नुभयो ।


समग्र सामुदायिक विद्यालयको नतिजा कमजोर हुनुको कारण के होला ?
सरकारको ठूलो लगानी, विद्यार्थीहरुलाई विभिन्न सुविधाहरु, प्रतिस्पर्धाबाट छानिएका दक्ष शिक्षक, भौतिक सुविधा, शिक्षकको सेवा सुविधा उत्कृष्ट र राम्रो हुँदा–हुँदै नतिजा राम्रो नहुनु दुःखद हो । यसको एउटै कारण भनेको शिक्षामा राजनीतिक हस्तक्षेप हुनु नै हो । शिक्षकहरु पठनपाठनमा भन्दा दलका झोला बोक्नमा व्यस्त छन् । दण्ड र पुरस्कारको व्यवस्था छैन । पढाएपनि, नपढाएपनि हुन्छ, नियमित गए पनि÷नगए पनि हुन्छ, दलहरुले शिक्षकका भातृ संगठनहरु खोलेका छन् । दलका भोट बैंक रहेका शिक्षक दलहरुबाटै संरक्षित छन् । उनीहरुलाई न कसैले दण्ड गर्न सक्छ न त सरुवा नै । न जागिरबाट हटाउनै सक्छ । जे गरेपनि हुन्छ । सामुदायिक विद्यालयमा अभिभावकको चासो पनि कम छ । नियमनकारी निकायपनि प्रभावकारी छैन । यो शैक्षिक अराजकतामा सुधार आउन जरुरी छ ।


के सामुदायिक विद्यालयको अवस्था सुधार हुनै नसक्नेगरी बिग्रिएको हो ?
हजारौं माइलको यात्राको शुरुवात एउटा पाइलाबाट हुन्छ । पहिले आफू सुध्रनु प¥यो नि । प्रअ, विव्यस, शिक्षकहरु सुध्रने । अभिभावक र विद्यार्थी सुध्रने । जिशिअ, विनि र स्रोतव्यक्ति सुध्रने । कसैलाई दोष देखाएर नपन्छिने । कमीकमजोरी सबैका हुन्छन् । सबै सुधारिए पो शिक्षा सुध्रन्छ त । दण्ड र पुरस्कारलाई कडाइका साथ लागू गर्नु पर्छ । अनियमित, अल्छि, खेताला, आलोपालो गर्ने शिक्षक कर्मचारीलाई निरुत्साही गर्ने गर्नु पर्छ । दलहरुले पनि विद्यालय शान्तिक्षेत्र बनाउन केन्द्रित हुनु पर्छ । गतिविधिहरु पारदर्शी बनाउनु पर्छ ।


एउटा विद्यालय सुधारका लागि प्रधानाध्यापकको भूमिका कस्तो रहनु पर्छ ?
विद्यालय सुधारको मुख्य योजनाकार प्रअ बन्नुपर्छ । प्रअ गतिशिल, युग सुहाउँदो र समयसापेक्ष हुनुपर्छ । विद्यालयको स्रोतसाधनलाई अधिकतम परिचालन, विद्यालयभित्र रहेका विविधतामा एकता गर्न र सबै पक्षसँग समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने क्षमता प्रअमा हुन जरुरी छ । प्रअ भनेको शासक होइन, एउटा असल साथी हो भन्ने शिक्षकहरुलाई महशूस गराउन सक्नु पर्छ । शिक्षक–विद्यार्थीका समस्याको समाधान, भौतिक चाँजोपाँजोको व्यवस्था, आर्थिक व्यवस्थापनको पाटोमा ज्ञान भएको हुनु पर्छ । प्रअले सबैको हित गर्दै विद्यालय सुधार गर्न लागेको छ भन्ने व्यवहारले नै जनाउन सक्नु पर्छ । विद्यालयको सफलता र असफलता प्रअकै हातमा रहन्छ । योग्य, सक्षम, दक्ष, अपडेटेड रहनु पर्छ ।


शिक्षक नेताका विद्यालय बिग्रियो भन्ने आरोप लाग्ने गरेको छ ? तपाईँ पनि शिक्षक नेता नै भएकाले यसमा के भन्नुहुन्छ ?
वास्तवमा पार्टी नै पिच्छेका शिक्षकका संघ–संगठन खुलेका छन् । कैयन शिक्षक नेताको विद्यालय कुन हो थाहा छैन । तर, म त्यस्तो शिक्षक नेता हो जो निरन्तर विद्यालयमा उपस्थित हुन्छु । नियमित कक्षा पनि लिन्छु । ट्रेड युनियन अधिकारका कारण शिक्षकलाई एउटा पेशागत संगठनमा आबद्ध हुन पाउने हक छ । मैले मेरो विद्यालयभित्र राजनीति छिर्न दिएको छैन । आस्थाभन्दा क्षमता र नतिजाका आधारमा शिक्षकमाथि व्यवहार गर्ने गरेको छु । विद्यालय बिग्रियो भन्ने कुरा त हाम्रो स्कूलको सिकाइस्तर हेरे थाहा हुन्छ ।


विद्यालयको आगामी योजना के–के छन् ?
हाम्रो विद्यालयको मुख्य लक्ष्य भनेकै अब एसएलसी र एसइइमा मात्रै होइन, हरेक कक्षाको नतिजा शतप्रतिशत बनाउने भन्ने नै हो । विद्यार्थीलाई पढौं–पढौं लाग्ने, शिक्षकलाई पढाऊँ–पढाऊँ लाग्ने, शैक्षिक सरोकारवाला र अभिभावकहरुलाई विद्यालयमा जाऊँ–जाऊँ लाग्ने बनाउनुपर्छ भनेर त्यसैमा केन्द्रित भएर लागिरहेको अवसथा छ । सोही खालको भौतिक संरचना निर्माण, शिक्षक व्यवस्थापन, शिक्षण सिकाइ, प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिने विषयमा हामी लागिरहेका छौं । पशुविज्ञान सञ्चालनमा छ । छिट्टै सिटिइभिटिबाट सवओभरसियरको कक्षा सञ्चालन गर्ने, कम्प्यूटर, इन्टरनेट र प्रविधिमा आधारित सिकाइ, शिक्षकहरुको दक्षता वृद्धिका लागि अनिवार्य कम्प्यूटर, इन्टरनेट र प्रविधिक तालिम दिने हाम्रो योजना छ । अब आवाशीय विद्यालय सञ्चालन गर्ने हाम्रो योजना छ ।                                                                                                                   प्रस्तुति :रोशन गाउँले

 साभार :आजको शिक्षा साप्ताहिक

Comments: