काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।
अर्थशास्त्रमा पीएचडी गरेका वाग्ले राष्ट्रबैंकका गभर्नरको सल्लाहकार पनि भइसकेका व्यक्ति हुन् । गत ३ फागुनमा भएको अन्तर्वार्तापछि सिफारिस समितिले नाम दिन सकेको थिएन । संयोजक सुरेशराज शर्माले गत शुक्रबार कुलपति ओलीलाई आफ्नातर्फको नाम बुझाएका थिए । आज छनोट समितिका अन्य दुई सदस्य डा. अर्जुन कार्की र जनार्दन नेपालले छुट्टै नाम बुझाएका थिए ।
छनोट समितिका बहुमत सदस्यले बुझाएको रिपोर्टका आधारमा प्रधानमन्त्री समेत रहेका कुलपति ओलीले वाग्लेलाई नियुक्त गरेका हुन् ।उपकुलपतिमा नियुक्त हुनुअघि प्रा.डा. वाग्ले काठमाडौं विश्वविद्यालयकै रजिष्ट्रारका रुपमा काम गरिरहेका थिए । गत ६ माघमा उपकुलपति प्रा.डा. भोला थापाको कार्यकाल सकिएपछि उनी कामु उपकुलपतिमा नियुक्त भएका थिए ।अर्थशास्त्रका प्राध्यापक वाग्लेसँग केयूको स्कुल अफ म्यानेजमेन्ट (कुसोम)को एसोसियट डिन तथा व्यवस्थापन विज्ञान विभागको प्रमुखका रुपमा काम गरेको अनुभव छ ।
उनले भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुर (आईआईटी कानपुर) बाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । बेलायतबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट एमए गरेका वाग्लेसँग प्रधानमन्त्रीको सल्लाहकार तथा नेपाल राष्ट्र बैंकको गभर्नरको सल्लाहकारसमेत भएर काम गरेको अनुभव छ ।
उनले विश्वविद्यालयमा इकोनोमेट्रिक्स, व्यावसायिक वातावरण लगायतका विषय अध्यापन गराउने गरेका छन् । यसपटक केयूमा उपकुलपति नियुक्तिको विषय पेचिलो बनेको थियो ।केयूकै पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्त्वमा समिति बनेको थियो । समिति सदस्यमा डा अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल सदस्य थिए ।
समितिले ३ फागुनमा अन्तर्वार्ताको प्रक्रिया सकेर पनि नाम सिफारिस गर्न ढिलाइ गरेको थियो ।समितिका संयोजक शर्मा र सदस्यद्वय कार्की र नेपालले छुट्टाछुट्टै नाम सिफारिस गरेका थिए ।