बृहत नेपाली शब्दकोशमा अभिभावक शब्दलाई पालन–पोषण गर्ने, हेरविचार गर्ने, संरक्षक, छात्रछात्राको जिम्मा लिने वा जिम्मेवारी वहन गर्ने व्यक्ति, बाबु, आमा वा संरक्षक व्यक्ति भनेर अर्थ्याइएको छ ।

यस शब्दको अंग्रेजी रूपान्तरण Guardian/Parents हो। Oxford Learner’s Dictionary अनुसार Guardian भन्नाले “one who guards, protects or preserves” अर्थात् संरक्षण गर्ने व्यक्ति जनाउँछ भने Parents भन्नाले “a person who has the position or role of a parent; one who exercises the functions of a parent” अर्थात् अभिभावकीय दायित्व निर्वाह गर्ने व्यक्ति जनाउँछ।

विद्यालय तहको शिक्षामा अभिभावकको महत्वपूर्ण भूमिका हुने भएकाले शिक्षा ऐन २०२८, शिक्षा नियमावली तथा स्थानीय शिक्षा ऐनहरूमा समेत अभिभावक शब्दको स्पष्ट परिभाषा गरिएको छ। शिक्षा ऐन २०२८ अनुसार विद्यालयको अभिलेखमा विद्यार्थीको अभिभावक भनी जनाइएको व्यक्ति नै अभिभावक हो, जसअन्तर्गत बाबु, आमा, बाजे–बज्यै वा संरक्षकत्व प्रदान गर्ने व्यक्ति समेत पर्छन् ।

अभिभावकको शाब्दिक र कानुनी अर्थलाई बृहत दृष्टिकोणमा हेर्दा बालबालिकाको सर्वाङ्गीण विकास—शारीरिक, मानसिक, संवेगात्मक, बौद्धिक, सामाजिक र नैतिक विकास—का लागि भूमिका निर्वाह गर्ने व्यक्ति नै अभिभावक हुन् ।

बालबालिकाको समुचित विकासका लागि आवश्यक ज्ञान, सीप र व्यवहार प्रदान गर्ने उद्देश्यले अभिभावकहरूलाई दिइने प्रशिक्षणमूलक तथा सचेतनामूलक कार्यक्रम नै अभिभावक शिक्षा हो । यस कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक तथा नैतिक विकासका आवश्यकताहरूबारे अभिभावकहरूलाई जानकारी, दक्षता र व्यवहारगत क्षमता प्रदान गर्दछ। यसअन्तर्गत उचित पालन–पोषण, संरक्षण र स्वास्थ्य सुरक्षा, सकारात्मक अभिभावकीय व्यवहार, उपयुक्त घरायसी वातावरण निर्माण, पारिवारिक सदस्यहरूबीच सुमधुर सम्बन्ध स्थापना, माया, करूणा र स्नेहजस्ता संवेगात्मक मूल्यहरूको विकास तथा बालबालिकामा व्यवहारिक ज्ञान, जीवनोपयोगी सीप र सकारात्मक दृष्टिकोण अभिवृद्धि गर्न अभिभावकहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रशिक्षण प्रदान गरिन्छ।

कोमलनाथ घिमिरे

अभिभावक शिक्षा कार्यक्रमको मूल उद्देश्य जिम्मेवार, संवेदनशील र उत्तरदायी अभिभावकत्व निर्वाह गर्न सक्षम अभिभावकको विकास गर्नु हो। यसले अभिभावकहरूमा बालबालिकाको समग्र विकासप्रति सचेतना अभिवृद्धि गर्दै व्यवहारमा रूपान्तरण ल्याउने सीप तथा क्षमताको विकास गर्दछ र विद्यालय शिक्षा प्रणालीसँग सहकार्यात्मक सम्बन्ध सुदृढ गर्न सहयोग पुर्‍याउँछ।

यो गोष्ठी, भेला, छलफल, अन्तरक्रिया आदिका रूपमा सञ्चालन गर्न सकिने अनौपचारिक शिक्षा कार्यक्रम हो । यसको मुख्य उद्देश्य बालबालिकाको सिकाइमा सुधार ल्याउन अभिभावकको सहभागिता र संलग्नता बढाउनु हो । अभिभावक शिक्षा समकालीन शिक्षा प्रणालीमा बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्न तथा विद्यालय शिक्षामा अभिभावकको सक्रिय सहभागिता र संलग्नता अभिवृद्धि गर्न विकसित भएको एक महत्वपूर्ण र नवीनतम शैक्षिक अवधारणा हो ।

बालबालिकाको पहिलो पाठशाला घर हो। अभिभावक नै उनीहरूको पहिलो शिक्षक, पहिलो साथी र पहिलो संरक्षक हुन् । विद्यालय प्रवेश गर्नु अघि नै बालबालिकामा विकास हुनुपर्ने शारीरिक, मानसिक र संवेगात्मक पक्षहरूको आधार घरायसी वातावरणबाट निर्माण हुन्छ। विद्यालय तहसम्मको अवधिमा अभिभावकको भूमिका अत्यन्त संवेदनशील र दीर्घकालीन प्रभाव पार्ने हुन्छ । विभिन्न अध्ययनहरूले अभिभावकको सक्रिय संलग्नता र विद्यार्थीको शैक्षिक उपलब्धिबीच सकारात्मक सम्बन्ध रहेको पुष्टि गरेका छन् ।

मानव विकासका विभिन्न चरणहरूमध्ये विद्यालय तहसम्मको अवधिमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण, संवेदनशील तथा दीर्घकालीन प्रभाव पार्ने प्रकृतिको हुन्छ भन्ने विषयमा कुनै द्विविधा छैन । बालबालिकाको प्रारम्भिक अनुभव, मूल्यबोध, आत्मविश्वास र सिकाइप्रतिको दृष्टिकोण यही अवधिमा निर्माण हुने भएकाले अभिभावकको सक्रिय, जिम्मेवार र सकारात्मक सहभागिता निर्णायक मानिन्छ ।

विद्यालय तहमा अध्ययनरत बालबालिकाको गुणस्तरीय शिक्षा विकासका लागि अभिभावकहरूको सक्रिय संलग्नता, पारिवारिक अन्तरक्रिया र सहयोगले शैक्षिक उपलब्धिमा उल्लेखनीय सकारात्मक प्रभाव पार्ने तथ्य विभिन्न अध्ययन तथा अनुसन्धानहरूले पुष्टि गरेका छन् । अभिभावकको नियमित चासो, सकारात्मक उत्प्रेरणा, भावनात्मक समर्थन तथा शैक्षिक क्रियाकलापमा सहकार्यले विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि, आत्मविश्वास अभिवृद्धि तथा विद्यालयप्रतिको प्रतिबद्धता सुदृढ गर्न सहयोग पुर्‍याउँछ।

यसको विपरीत, अभिभावकहरूको व्यवहार र भूमिकामा देखिने असमानता, विभेदजन्य व्यवहार वा नकारात्मक अन्तरक्रियाले बालबालिकामा मनोवैज्ञानिक दबाब, आत्महीनता र असुरक्षाको भावना उत्पन्न गराउन सक्छ । यस्तो अवस्थाले बालबालिकाको सिकाइ प्रक्रिया, सामाजिक व्यवहार तथा समग्र शैक्षिक उपलब्धिमा नकारात्मक प्रभाव पार्ने देखिन्छ ।

बालबालिकाको व्यवहारसम्बन्धी पर्याप्त ज्ञान, शैक्षिक सचेतना तथा सकारात्मक अभिभावकीय अभ्यासको अभाव भएका, साथै आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थाका परिवारका बालबालिकाहरूको तुलनामा अपेक्षाकृत सुदृढ आर्थिक–सामाजिक अवस्था भएका, सचेत तथा शिक्षित अभिभावकका बालबालिकाहरूको सिकाइ उपलब्धि, आत्मविश्वास र समग्र विकासमा सकारात्मक परिणाम देखिने गरेको विभिन्न अध्ययन तथा अनुसन्धानहरूले संकेत गरेका छन्।

शिक्षित तथा सचेत अभिभावकहरूले बालबालिकाको हेरचाह, उचित पालन–पोषण, भावनात्मक समर्थन तथा आवश्यक शैक्षिक सामग्री र वातावरणको व्यवस्थापनमा तुलनात्मक रूपमा बढी सक्रियता देखाउने भएकाले त्यसको प्रत्यक्ष प्रभाव बालबालिकाको सिकाइ उपलब्धि, व्यवहार र आत्मविश्वासमा परिलक्षित हुन्छ।

विद्यालय तहका बालबालिकाहरूले अभिभावकहरूबाट अपेक्षित सकारात्मक व्यवहार, भावनात्मक समर्थन तथा मार्गदर्शन प्राप्त गर्नु उनीहरूको दीर्घकालीन व्यक्तित्व विकासका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । प्रारम्भिक तथा आधारभूत तहमा प्राप्त हुने अभिभावकीय सहयोग र उत्प्रेरणाले बालबालिकाको आत्मविश्वास, सिकाइप्रतिको रुचि तथा सामाजिक व्यवहारमा स्थायी प्रभाव पार्दछ । यस कारण विद्यालय तहको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावक शिक्षालाई प्रभावकारी माध्यमका रूपमा संस्थागत रूपमा कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।

नेपालको सन्दर्भमा विशेष गरी सामुदायिक विद्यालयहरूमा अझै पनि विद्यार्थीहरू भोकै विद्यालय आउने, आवश्यक शैक्षिक सामग्री (कापी, किताब, कलम आदि) बिना उपस्थित हुने, गृहकार्य नगर्ने, घरायसी काम वा पारिवारिक दायित्वका कारण नियमित रूपमा विद्यालय उपस्थित हुन नसक्ने, विद्यालयका लागि घरबाट हिँडे पनि विद्यालय नपुग्ने जस्ता समस्याहरू विद्यमान छन् ।

त्यसैगरी पारिवारिक विग्रह, बाबुआमाबीच सम्बन्ध विच्छेद वा असमझदारी, घरेलु झैझगडा, आर्थिक तथा सामाजिक तनाव, तथा मोबाइल फोन र इन्टरनेटको अति प्रयोगका कारण बालबालिकामा देखिने मानसिक दबाब र व्यवहारगत समस्याहरू आज सबै प्रकारका विद्यालयहरूले सामना गरिरहेका साझा चुनौतीहरू हुन् ।

उल्लेखित समस्याहरूको न्यूनीकरण र बालबालिकाको समग्र विकास सुनिश्चित गर्नु अभिभावकहरूको सक्रियता, सकारात्मक सोच तथा सार्थक सहभागितामार्फत मात्र सम्भव छ। विद्यालय तहमा कमजोर शैक्षिक उपलब्धि र त्यसका कारणहरूको विश्लेषण गर्दा यस महत्त्वपूर्ण पक्षप्रति पर्याप्त चासो वा ध्यान दिइएको देखिँदैन।

नेपालमा परम्परागत वैदिक शिक्षा प्रणालीमा पनि बालबालिकाको उचित शिक्षादिक्षाको लागि अभिभावकहरूको जिम्मेवार भूमिका र निर्धारित कर्तव्यको महत्व स्पष्ट रूपमा चित्रित छ। वैदिक ग्रन्थहरूमा अभिभावकत्व सम्बन्धी अपेक्षित जिम्मेवारीहरूको उदाहरण प्रशस्तै भेटिन्छ।

तर आधुनिक शिक्षा प्रणालीको आरम्भसँगै शिक्षाको पद्धति, स्वरूप, दर्शनशास्त्रीय र समाजशास्त्रीय आधार, शिक्षा मनोविज्ञानमा आएको परिवर्तन तथा विकासको समयमा समय सापेक्ष रूपमा अभिभावकीय भूमिकाको आवश्यक परिमार्जन र विकास पर्याप्त रूपमा सम्पन्न हुन सकेको देखिँदैन । यसले विद्यालय तहमा बालबालिकाको सर्वाङ्गीण विकास र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने आवश्यकतासँग अभिभावकको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने स्पष्ट संकेत दिन्छ।

नेपालको सन्दर्भमा, विशेष गरी सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूका अभिभावकहरूमा आवश्यक अभिभावकीय भूमिका, बालबालिकाको अपेक्षित व्यवहार र आवश्यकताहरूबारे पर्याप्त जानकारी अभावित रहेको देखिन्छ । जानकारी भएको विषयहरूमा पनि धेरै अभिभावकहरूले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सकेका छैनन् ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न दातृ निकायको सहयोगमा अभिभावक शिक्षासम्बन्धी सन्दर्भ सामग्री तयार गरी कार्यक्रम सञ्चालन गरेका भए पनि ती कार्यक्रमहरूको प्रभावकारिता पर्याप्त देखिएको छैन ।

यसका मुख्य कारणहरूमा कार्यक्रम सञ्चालन र कार्यान्वयन गर्ने निकायहरूको बीचमा एकीकृत नीति तथा रणनीतिक योजना अभाव हुनु, संघीय, प्रदेश र स्थानीय तहबीच समन्वयको कमी र विद्यालय तहको शैक्षिक गुणस्तर विकासका लागि अभिभावक शिक्षालाई प्राथमिकतामा राखेर प्रभावकारी कार्यान्वयन योजना निर्माण नहुनु रहेका छन् ।

पछिल्लो समयमा विद्यालयमा शिक्षक–अभिभावक संघ गठन गर्ने कानुनी व्यवस्था भएपनि, सामुदायिक विद्यालयहरूले आफ्नै पहलमा अभिभावक भेलाहरू आयोजना गर्ने र अभिभावकहरूसँग छलफल गर्ने अभ्यास देखिन्छ । यद्यपि, यस्ता भेलाहरू पर्याप्त मात्रामा सञ्चालन हुँदैनन् र प्रायः छलफलहरू अभिभावक शिक्षा वा बालबालिकाको सर्वाङ्गीण विकासभन्दा परीक्षाको नतिजा, शुल्क र प्रशासनिक विषयमा बढी केन्द्रित हुने गरेको पाइन्छ ।

बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय प्रवेशको उमेरसम्म र विद्यालय तहको शिक्षा प्राप्त गरिरहँदासम्म शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक र नैतिक विकासका आवश्यकताहरूको पूर्तिका लागि घरायसी वातावरण र अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । यस सन्दर्भमा अभिभावकहरूलाई आवश्यक ज्ञान, सीप र व्यवहारगत दक्षता प्रदान गर्दै प्रशिक्षित गराउनु नै अभिभावक शिक्षाको मुख्य उद्देश्य हो ।

प्रभावकारी अभिभावक शिक्षाको माध्यमबाट अभिभावकहरूमा सकारात्मक अभिभावकीय दृष्टिकोण, व्यवहार र जिम्मेवारीप्रति सचेतना अभिवृद्धि गर्न सकिन्छ । यसले विद्यालय तहको शैक्षिक गुणस्तर विकासमा अभिभावकको संलग्नता वृद्धि गर्न सहयोग पुर्‍याउँछ र अभिभावकहरूलाई अझ जिम्मेवार तथा जवाफदेही बनाउने अवसर प्रदान गर्दछ ।

अभिभावक शिक्षा कार्यक्रम कार्यान्वयनका लागि हाम्रो सामु धेरै चुनौतीहरू रहेका छन् । यसमा शिक्षानीतिमा कार्यक्रम समावेश र बजेट व्यवस्थापनको आवश्यकता, संघ, प्रदेश र स्थानीय तहबीच जिम्मेवारी निर्धारण र समन्वयको अभाव, अभिभावकहरूको चेतना स्तर र आवश्यकता अनुसार सन्दर्भ सामग्रीको कमी, अभिभावकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न कठिनाइ, तथा प्रशिक्षणपछि प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न आर्थिक र सामाजिक क्षमताको अभाव प्रमुख चुनौतीहरू हुन् ।

यसका साथै, संघीय संरचनामा सर्नु सँगै अभिभावक शिक्षा कार्यक्रमको लागि थुप्रै अवसरहरू पनि सिर्जना भएका छन् । हरेक स्थानीय तहले आफ्नै आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्न सक्ने स्वतन्त्रता, सूचना र प्रविधि पहुँच, अभिभावकमा बढ्दो सचेतना, माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार क्षेत्र भित्र पर्ने संवैधानिक व्यवस्था, शिक्षा ऐन तथा नियमावलीमा अभिभावक संलग्नता बढाउने कानुनी तथा नीतिगत प्रबन्ध, अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको प्रबन्ध, सरकारी, गैरसरकारी र विभिन्न संघ संस्थाहरू मार्फत हुने सचेतीकरणका प्रयास, स्थानीय तह अन्तर्गत वडा तथा टोल विकास संस्थामार्फत कार्यक्रम सञ्चालन गर्ने सम्भाव्यता र विद्यालय शिक्षामा स्थानीय तहको बढ्दो चासो यी अवसरहरूमध्ये प्रमुख हुन् ।

उल्लेखित चुनौतीहरूका बावजुद उपलब्ध अवसरहरूलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिएमा अभिभावक शिक्षा कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न सम्भव हुन्छ । यसमार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा अभिभावकको भूमिका र जिम्मेवारीलाई सुदृढ पार्न सकिन्छ तथा विद्यालयमा अभिभावकहरूको सकारात्मक सहभागिता बढाउन सकिन्छ ।

अभिभावक शिक्षाले बालबालिकाको स्वस्थ शारीरिक र मानसिक विकास, सुरक्षित र सम्मानजनक घरायसी तथा विद्यालय वातावरणको निर्माण, आत्मविश्वास अभिवृद्धि, र पठनपाठन प्रतिको रुचि जागरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ ।

यसका लागि संघीय सरकारले नीति तथा कानुनी प्रबन्धहरू तयार पार्नुपर्ने हुन्छ भने, प्रदेश र स्थानीय सरकारहरूले बजेट व्यवस्थापन, अभिभावकको क्षमता र स्तरअनुसार सन्दर्भ सामग्री विकास, समावेशी तथा पहुँचयोग्य कार्यक्रम कार्यान्वयन योजना तयार गर्न आवश्यक छ । साथै, वडा तथा टोल विकास संस्था र विद्यालयको माध्यमबाट अभिभावक भेला, छलफल तथा अन्य सहभागितामूलक गतिविधिहरू सञ्चालन गरेर कार्यक्रमको प्रभावकारिता सुनिश्चित गर्न सकिन्छ ।

यस्ता भेला तथा छलफल कार्यक्रमहरूले विद्यालय–अभिभावक–शिक्षक सम्बन्ध र संवाद सुदृढ पार्ने काम गर्छन् । यस माध्यमबाट शिक्षक र अभिभावकहरूले विद्यार्थीहरूको चालचलन, व्यवहार र सिकाइ आवश्यकताबारे आपसमा छलफल गरी प्रभावकारी सिकाइ योजना निर्माण गर्न सक्ने हुन्छन् ।

यस प्रकारको अभ्यासले विद्यार्थीहरूको विद्यालय छाड्ने दर घटाउने, नियमित उपस्थितिमा वृद्धि गर्ने, गलत र असामाजिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने, कुलत तथा दुर्व्यसनको नियन्त्रण र रोकथाम गर्ने र मोबाइल तथा इन्टरनेटको अति प्रयोगबाट सिर्जित समस्याहरू न्यूनीकरण गर्ने प्रभाव पार्दछ ।  साथै, घरमा पठन संस्कृतिको विकास, अभिभावक र विद्यार्थीहरूलाई अध्ययन प्रति जिम्मेवार र जवाफदेही बनाउने, विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि गर्ने र बालबालिकामा विद्यालय, शिक्षक तथा अभिभावकहरू प्रति सकारात्मक मनोविज्ञानको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ ।

घिमिरे, भीमनगर माध्यमिक विद्यालय, चितवनका प्रधानाध्यापक हुन्।

प्रतिकृया दिनुहोस्