चीनको वुहान शहरबाट प्रारम्भ भएको भनिएको कोरोना भाईरस(कोभिड–१९)को संक्रमण तिब्र रुपमा विश्वव्यापी बनिरहेकोछ । यस भाइरसको बिरुद्ध कुनै खोप र औषधि पत्ता नलागेको अवस्थामा यसको संक्रमण फैलन नदिन नेपालसहित विश्वका धेरै जसो मुलुुकहरु लकडाउनको अवस्थामा रहेकाछन् ।
नेपालमा अहिले सम्म संक्रमणको तिब्रता कम देखिए पनि छिमेकी मुलुक भारतमा तिब्र रुपमा फैलिरहेको संक्रमण नेपालको लागि पनि जोखिमपूर्ण रहन सक्ने सम्भावना सहित विश्व स्वास्थ्य संगठनले नेपाललाई संक्रमणकोे उच्च जोखिम रहेको मूलुकको रुपमा राखेको छ । यस अवस्थाकोे असहज परिस्थितीले प्रभावित भएको दैनिक मानवीय जीवन, विकास निर्माण, सामाजिक विकास तथा गतिशिलताका धेरै पक्षहरु मध्ये शिक्षा एउटा महत्वपूर्ण पक्ष हो ।
चूनौती र अवसर
सम्भावित संक्रमणका जोखिमलाई ध्यान दिई लकडाउन भन्दा पहिले नै नेपालमा शैक्षिक वर्ष २०७६ को विद्यालय तहको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा पटक–पटक मिति परिवर्तन गर्दै निर्धारित समय भन्दा पहिले हतार र त्रासको बिचमा सम्पन्न गरियो । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिने कक्षा १०, ११ र १२को राष्ट्रिय परीक्षाहरु अर्को सूचना नभएसम्मको लागि रोकिएकोछ ।
लकडाउनको कारण विश्वको अन्य मुलुकमा जस्तै नेपालमा पनि स्कूल कलेज तथा विश्व विद्यालयहरु बन्द गरिएका छन् । विद्यालयहरु क्वारेन्टिनको रुपमा राखिएको तथा आवश्यकता अनुसार राख्ने व्यवस्था गरिएकोछ । गत शैक्षिक सत्रको नतिजा प्रकाशित गरिएकोछैन । हतार–हतार र त्रासको बिचमा पटक–पटक मिति सार्दे सञ्चालन गरिएको वार्षिक परीक्षाको परिणाम पनि विद्यार्थीहरुको चिन्ताकै विषय बनेकोछ ।
विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरुमा मनोवैज्ञानिक सन्त्रास व्याप्त रहेकोछ । यसैगरी सामुदायिक विद्यालयमा पढ्ने धेरै जसो विद्यार्थीहरु दैनिक ज्याला मजदुरी गर्ने न्युन आय वर्गका परिवारका छन् । लकडाउनको यस परिस्थितीमा उनीहरुको परिवारमा हातमुख जोर्नेसमस्याले विद्यार्थीहरुमा पर्ने मनोवैज्ञानिक असर र त्यस पछिको सिकाइमा यसले पार्ने गम्भीर असर अर्को महत्वपूर्ण पक्ष हो ।
यसैगरी, शहरबजार तथा उद्योग धन्दा बन्द भएपछि बसेको स्थानबाट अभिभावकसँगै पुरानै थाँतथलो जाने विद्यार्थीहरुको संख्या धेरै नै छ । पूर्ववत रुपमा उनीहरु पुरानै विद्यालयमा कति फर्कन सक्छन् कतिले बिचैमा पढाइ छाड्छन गम्भीर ध्यानाकर्षणको विषय हो ।
यस महामारीको कारण अप्रत्याशित रुपमा बन्द भएको शिक्षण संस्थाहरु विद्यार्थी, शिक्षक तथा अभिभावकहरुमा यसको संक्रमणबाट हामी पूर्ण रुपमा सुरक्षित छौं भन्ने मानसिक अनुभुति नभए सम्मपूर्ववत सहजरुपमा सञ्चालन हुन कठिन हुने भएकोले शैक्षिक सस्ंथाहरु कहिले र कसरी खुल्न सक्छन् अझै भन्न सकिने अवस्था छैन । विद्यालयहरु कहिले देखि कुन रुपमा सञ्चालन हुन्छन् भन्ने यकिन नभई विद्यालयका वार्षिक शैक्षिक तथा शैक्षणिक योजनाहरु समेत निमार्ण हुन सकिरहेको छैन ।
यस महामारीको अन्त्य पछि विश्व परिदृश्यमा शैक्षिक व्यवस्थापन, सिकाइका प्रचलित विधि तथा तरिकाहरु, विद्यालयको स्वरुपहरु लगायत शिक्षाका धेरै आयामहरुमा महत्वपूर्ण परिवर्तनको प्रारम्भ हुन पनि सक्छ । यस अवस्थामा शैक्षिक व्यवस्थापन तथा वैकल्पिक सिकाइका विभिन्न विकल्पहरुको आवश्यक तयारी तथा पूर्वाधार विकासको प्रारम्भ गर्दै नविनतम चिन्तनहरुको आधारमा समग्र शिक्षा प्रणालीलाई थप व्यवस्थित तथा लचिलो बनाई् प्रवर्तनात्मक शिक्षण विधि, शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगर सिकाईका विभिन्न विकल्पहरुको प्रयोग मार्फतविद्यार्थीहरुमा व्यवहारिक सीप र दक्षता विकासको लागि हाम्रा योजनाहरुलाई परिवर्तित परिवेश अनुरुप निर्देशित गरि अपेक्षित शैक्षिक रुपान्तरणको अभियान प्रारम्भ गर्न उल्लेखित चुनौती तथा समस्याहरु महत्वपूर्ण अवसरको रुपमा प्रयोग गर्न सक्छौं ।
यो असहजताको अवधिमा पनि विद्यालय तहका बालबालिकाहरुलाई सिकाइमा कसरी निरन्तरता दिन सकिन्छ ? हामीसँग उपलब्ध रहेका र हुन सक्ने सम्भावित स्रोत सामग्रीको अधिकतम प्रयोगबाट सिकाइमा सहजता कसरी ल्याउन सकिन्छ ? सम्भाव्य वैकल्पिक उपायहरु के के हुन सक्छन ? समग्र विश्व परिवेश नै यस्तै अवस्थाबाट गुज्रिरहेको सन्र्दभमा शैक्षिक सहजीकरणको लागि अन्यत्र भएका अभ्यास तथा प्रयास र प्रयोग गरिएका विकल्पहरु के के छन ? शिक्षक, विद्यार्थी तथा अभिभावक, स्थानीय सरकार र सरोकारवालाहरुले सकारात्मक सोचका साथ सम्भाव्य विकल्पहरुको प्रयोगको लागि आ–आफ्नो भुमिका निर्वाह गर्न सक्यौ भने न्यूनतम रुपमा भए पनि विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्दै यस असहजताबाट भएको शैक्षिक क्षतिलाईपनि कम गर्न सकिन्छ ।
शिक्षण सिकाइ/सहजीकरणका सम्भाव्य विकल्पहरु :
विकल्प १. सिकाइमा सुचना प्रविधिको उपयोगः दुर शिक्षा सिकाइको प्रयोग
लकडाउन खुल्दै जाँदा पनि तत्काल विद्यालयहरु खोलेर शिक्षण गर्न सकिने अवस्था छैन । यो परिवर्तित परिवेशले सिकाइ प्रक्रियामा पनि परिवर्तन खोज्यो । कक्षाकोठाको आमनेसामने (Face to Face)पद्धतिको विकल्पमा प्रयोग भएको खुला तथा दूर सिकाइ नै अहिलेको अवस्थामा विश्वका धेरैजसो मुलुक र शैक्षिक संस्थाहरुले विद्यालयको तहको सिकाइमा पनि सर्वोत्तम विकल्पको रुपमा प्रयोग गर्न शुरु गरेका छन् ।
टेलिफोन तथा मोवाइलमार्फत् विद्यार्थीहरुको समस्या समाधान, स्थानीय एफ.एम.मार्फत रेडियो शिक्षा, पाठ्य सामाग्री राष्ट्रिय तथा स्थानीय टेलिभिजनमार्फत् प्रसारण, विद्यालयहरुद्वारा मोवाइल एप्सहरु निमार्ण गरि सोमार्फत् विद्यार्थीहरुलाई शृजनात्मक कार्यमा लगाउने, अनलाइनमार्फत् प्राप्त÷प्रयोग गर्र्न सकिने स्वअध्ययन सामग्री, श्रव्यसभा (Video Conferencing), काल्पनिक कक्षाकोठा (Virtual Classroom ), आदि विद्यालय तहको शिक्षण सिकाइमा प्रयोग गर्न सकिने/उपयोगी हुने दूर सिकाइका प्रविधिहरु हुन् ।
अपेक्षित सिकाइ उपलब्धिको प्राप्ती, शिक्षामा समता र पँहुचको दृष्टिले विद्यालय तहको शिक्षामा त्यो पनि आवश्यक न्युनतम पूर्वाधार अत्यन्तै कमजोर भएको हाम्रो जस्तो मूलुकको लागि दूर शिक्षा सिकाइ प्रविधिको प्रयोग कति उपयोगी र प्रभावकारी हुन्छ सबैले संवेदनशिल भएर सोच्नुपर्छ । सरोकारवाला सबै पक्षहरुबाट आवश्यक पूर्वाधारको तयारी तथा विकासका प्रयासहरु आरम्भ गरिनुपर्छ । विद्यालय तहमा सिकाइको माध्यमको रुपमा दूरशिक्षाका सिकाइ विधिहरुलाई प्रयोग गर्न निम्न कार्यहरु आवश्यक देखिन्छ ।
-पूर्वाधारको विकास : प्रविधिको पँहुच र पर्याप्तताको प्रबन्ध
सहजकर्ता तथा सिकारुहरुको लागि प्रविधिको पँहुच स्थापित गर्नु दुरशिक्षा सिकाईको पहिलो शर्त हो । प्रत्येक विद्यालयलाई प्रविधि मैत्री बनाउने र विद्यार्थीहरुमा सुचना तथा सञ्चार प्रविधिको उपकरणहरु तथा सुविधाहरुमा समतामुलक पँहुच ( Equity to digital access ) स्थापित गर्नू सिकाइको पहिलो आधार हो ।
हाम्रो जस्तो मुलुकमा अझै सामुदायिक विद्यालयहरुमा र ती विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुमा सुचना प्रविधिको पहुँचको अवस्था अत्यन्त कमजोर छ । रेडियो, टेलिभिजन, सिकाइमा प्रयोग हुने प्रविधि बमोजिम मोवाइल, कम्प्युटर, ट्याव, ल्यापटप जस्ता उपकरण र आवश्यक गति तथा क्षमताको ईन्टरनेट विना दुरसिकाईका प्रविधिहरुको प्रयोग कल्पना मात्रै हुन्छ ।
अहिलेकै अवस्थामा आवश्यक पूर्वाधारहरुको विकास नगरी दुरसिकाईका प्रविधिहरु प्रयोग गर्दा सिकाइमा सहभागी हुने विद्यार्थी संख्या नगण्य नै हुन्छन् तथापी स्थानीय एफ.एम.तथा रेडियो मार्फत शिक्षण सिकाइ सहजीकरण, राष्ट्रिय तथा स्थानीय टेलिभिजन मार्फत सिकाइ सामग्री प्रसारण, टेलिफोन तथा मोवाइल मार्फत विद्यार्थीको समस्या समाधान, स्वअध्ययन सामग्री विकास तथा वितरण जस्ता कार्यक्रम तत्कालीन रुपमा प्रयोग गर्दा अन्यको तुलनामा बढी विद्यार्थीले सिकाइको अवसर प्राप्त गर्न सक्छन् ।
सिकाइमा प्रविधि उच्च प्रविधिको प्रयोगको लागिविद्यार्थीहरुसँग आवश्यक स्रोत र साधनको उपलब्धता अध्ययन गरि विद्यालयको संयोजनमा स्थानीय सरकारले प्रत्येक विद्यार्थीहरुको लागि आवश्यक उपकरण तथा ईन्टरनेट सुविधा प्रदान गर्ने आवश्यक व्यवस्था गर्नुपर्छ ।
-विद्यालय, शिक्षक तथा विद्यार्थीहरुको तत्परता र तयारी
प्रारम्भ देखि नै परम्परागत सिकाइ पद्धतिको अभ्यास गरिरहेका हाम्रा शिक्षक विद्यार्थी तथा अभिभावकहरु र शैक्षिक सरोकारका सबै निकायहरु सिकाइमा सूचना र प्रविधिको प्रयोग गर्दै दूर सिकाइको अभ्यासलाई सहजै आत्मासात गर्ने अवस्था देखिदैन ।
शिक्षक विद्यार्थी तथा अभिभावक समेतमा सो प्रकारको तत्परताको विकास गर्नुपर्छ । मेरो घरमा मेरो कक्षा ( My class at my home )भन्ने भावना सबै विद्यार्थीहरुमा जागृत गर्नुपर्छ । शिक्षक साथीहरुमा प्रविधिको प्रयोग सम्बन्धमा चासो जागृत गराउने र्भचुअल कक्षाको माध्यमबाट नै आवश्यक तालिम तथा सहजीकरणको प्रबन्ध गरि विश्वास जागृत गराउने गर्नुपर्छ ।
एक अर्काका विचमा सहयोग लेनदेन गर्ने र तत्काल शिक्षा मन्त्रालय देखि स्थानीय सरकार सम्मले सो सम्बन्धमा आवश्यक नितीगत तथा व्यवहारिक व्यवस्थापन गर्ने गर्नुपर्छ । विभिन्न सिकाइ सामाग्रीहरु, Online learning platforms and websites, तथा Learning apps निमार्णगर्ने गर्नुपर्छ ।
विद्यालयहरुले दैनिक रुपमा सञ्चालन हुने दूर शिक्षा कक्षाहरुको कक्षागत तथा विषयगत योजना सहित समयतालिकाको प्रबन्ध गरि विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराउने गर्नुपर्छ । कक्षामा बसेर अध्ययन गर्ने अभ्यास गरेका विद्यार्थीहरुको लागि विद्यालयद्वारा प्रबन्ध गरिएको दूर शिक्षाको कक्षामा सहभागी हुन विद्यालयहरुले अभिभावकहरुसँग टेलिफोन तथा सम्पर्कको कुनै माध्यमवबाट पे्ररित गर्नुपर्छ ।
कक्षागत रुपमा विद्यार्थीहरुको सिकाइ समूह निमार्ण गर्ने र सिकाइमा सहभागी हुन सक्ने÷नसक्ने अभिलेखिकरण गरी सहभागी हुन नसक्ने विद्यार्थीहरुलाई सहयोगको वातावरण तयार गरी उनीहरुको सहभागिता सुनिश्चित गर्नुपर्छ ।
-विद्यालयहरुमा प्रविधिको प्रभावकारी प्रयोग सम्बन्धि अभ्यास
हाम्रा धेरै विद्यालयहरु अहिले पनि सूचना तथा सञ्चार प्रविधिमैत्री छैनन् । शिक्षणमा सूचना तथा प्रविधिको प्रयोगलाई जोड दिदै संघ, प्रदेश तथा स्थानीय सरकारद्वारा केहि विद्यालयहरुमा् सूचना तथा प्रविधि प्रयोगशालाको स्थापना र शिक्षकहरुलाई आंशिक रुपमा सूचना प्रविधि सम्बन्धि तालिम प्रदान गरिए पनि सूचना तथा प्रविधि प्रयोगशालाको स्थापना भएका विद्यालय र तालिम लिएका शिक्षकहरुले पनि सिकाइमा सूचना तथा प्रविधि प्रयोगको अभ्यास कमै गरेको पाइन्छ ।
स्रोत र साधनको अर्पयाप्तता, तालिम तथा प्रशिक्षणको अभाव, कमजोर इच्छाशक्ति तथा प्रविधिको प्रयोगमा अनिवार्यता नभएको, कारणले धेरै जसो शिक्षकहरु सिकाइमा सुचना तथा प्रविधिको प्रयोगमा निपुण छैनन् । हामी ससामुदायिक विद्यालयका कार्यरत शिक्षकहरुले यो चुनौतीलाई अवसरको रुपमा उपयोग गर्दै वृहत इच्छाशक्तिको साथ शिक्षणमा सुचना तथा सञ्चारका आधुनिक प्रविधिहरुको प्रयोग गरि लकडाउनको यो अवधिमा पनि निर्धारित माध्यमबाट विद्यार्थीहरुलाई सिकाइमा सहजीकरण गर्न सक्ने सक्षमता प्राप्त गर्ने यो उपयुक्त समय हो ।
यसको लागि शिक्षक साथीहरुले ईच्छाशक्ति जागृत गर्ने, एक आपसमा सहयोग आदानप्रदान गर्ने र नमूना कक्षाहरु सञ्चालन गरि बारम्बार अभ्यास गरेमा आवश्यक ज्ञान तथा सीप प्राप्त गर्न सकिन्छ । स्थानीय तह र शिक्षकका पेशागत संस्थाहरु, विद्यालयहरुले आवश्यक संयोजन गरि शिक्षकहरुको लागि प्रशिक्षणको प्रबन्ध गर्नुपर्छ ।
विकल्प २.सानो समुह बनाई सामाजिक दुरी कायम गर्दै शिक्षण गर्ने
लकडाउनलाई क्रमशः खुकुलो बनाउदै जादा महामारीको पुर्ण रुपमा नियन्त्रण नआउदा सम्म विद्यालय तथा कक्षा कोठाको साइज तथा संख्या अनुसार प्रत्येक कक्षाका विद्यार्थीहरुलाइस–साना समूहमा विभाजन गरि सजगताका साथ सामाजिक दुरी कायम गर्दै शिक्षण गर्न सकिन्छ ।
यसका लागि एउटै टोल वा छिमेकमा बस्ने विद्यार्थीहरुको विद्यार्थीहरुलाई कक्षागत रुपमा समूह विभाजन गर्न सकिन्छ । यसको लागि विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरु सँग समन्वय कायम गरि आवतजावतमा समेत सामाजिक दुरी कायम रहने व्यवस्था गर्नुपर्छ । साना कक्षाका विद्यार्थीहरुको स्वभावैले विद्यालय भित्र सामाजिक दूरी कायम गरि शिक्षणमा सहभागी गराउनु त्यति उपयुक्त हुँदैन ।
विकल्प ३. टोलटोलमा विद्यालय : घरघरमा शिक्षक
शिक्षण विद्यालयहरुले शिक्षक साथीहरुको समूह निमार्ण गरि योजनाबद्व तरिकाले विभिन्न टोलहरुमा बसोबास गर्ने विद्यार्थीहरुको घरमा नै गएर सिकाइमा सहजीकरण गर्न सकिन्छ । यसको लागि सम्बन्धित टोल वा छिमेकमा बस्ने विद्यार्थीहरुको कक्षागत समूह निमार्ण गर्ने ।
निर्धारित समयतालिका जानकारी गराई विद्यार्थीहरुलाई तयार गराउने र पालो मिलाई सबै विषय शिक्षण गर्न शिक्षक साथीहरु कक्षा र विषयगत आधारमा सम्बन्धित टोलमा गएर सहजीकरण गर्ने व्यवस्था गर्न सकिन्छ । सम्बन्धित घर÷टोल÷छिमेकका माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरु/अभिभावकहरु समेत यसमा सहयोगी बन्न सक्छन् ।
स्थानीय अभिभावक टोल विकास संस्था, विद्यालय व्यवस्थापन समिती तथा वडा समितिका पदाधिकारीहरु यसमा सँगको संयोजन तथा समन्वयमा यसमा थप प्रभावकारिता ल्याउन सकिन्छ । स्थानीय शिक्षकहरु बढी भएको ग्रामीण परिवेश भएका विद्यालयहरुमा यो विधि बढी प्रभावकारी हुन सक्छ ।
घिमिरे भीमनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष हुन् ।