काठमाडौँ । बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को सातौँ संस्करणको उपाधि आनिन लिम्बुले जितेकी छन् । यस्तै, सिनियरतर्फ लक्षणा थापा र प्रशान्त कार्की तथा जुनियरतर्फ शान्भी श्रेष्ठ विजेता बन्न सफल भएका छन् ।

टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्म्स् प्रालि, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा विभिन्न उमेरसमूहका ११ जना बालबालिकाहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा ऋषिका लामिछाने, प्रिन्सेस श्रेष्ठ, कौस्तुभ कोइराला तथा प्रज्वल क्षेत्रीले फर्स्ट, सेकेन्ड, थर्ड र फोर्थ रनरअपको उपाधि जित्न सफल भएका छन् ।

अडिसन र झण्डै एकमहिनाको तयारीपछि भएको ग्राण्ड फिनालेमा जनताको भोटिङ र निर्णायकको मूल्यांकनका आधारमा विजेता छनोट गरिएको थियो । ग्राण्ड फिनालेमा प्रतिस्पर्धीहरुले नृत्य, क्याटवाक, अभिनय, अन्तवार्तालगायतमा प्रतिस्पर्धा गरेका थिए ।

यस्तै आइएमई पेमार्फत् सबैभन्दा धेरै भोटिङ् गर्ने, फेसबुक पोष्टमा सबैभन्दा लाइक र कमेन्ट आउने, कार्यक्रममा सबैभन्दा बढी हुटिङ र सहभागिता जनाउने, सबैभन्दा कम उमेरका प्रतिस्पर्धीलाई पनि पुरस्कृत गरिएको थियो ।

जसमा मोस्ट पपुलर अवार्ड लक्षणा थापा, आइएमई पब्लिक च्वाइस अवार्ड लक्षणा थापा र प्रशान्त कार्कीले हात पारेका थिए । यस्तै, लिटिल स्टार भन्दै विभूति पौडेल र आह्वान बराकोटी तथा लिटिल प्रिन्स बन्दै रिवान श्रेष्ठ पुरस्कृत हुन सफल भए ।

साथै, बेस्ट वाकमा आनिन लिम्बु, बेस्ट ट्यालेन्ट र बेस्ट डान्सरमा प्रिन्सेस श्रेष्ठ, बेस्ट सिंगरमा, एक्टरमा लक्षणा थापा तथा फेसबुक स्टार भन्दै रिवान श्रेष्ठ पनि पुरस्कृत भएका थिए ।

कार्यक्रममा बालबालिकाको प्रस्तुतिले छुट्टै रौनक छाएको थियो । दर्शकहरुले हुटिङ गर्दै सहभागीहरुलाई हौसला दिइरहेका थिए । तर, कार्यक्रमभर प्रतिस्पर्धी प्रज्वल क्षेत्रीको मुस्कानको धेरै चर्चा भएको थियो ।

सबै प्रतिस्पर्धामा खरो उत्रिएका प्रज्वलले कार्यक्रम भर आफ्नो ओठमा लोभलाग्दो मुस्कान उत्रिन दिएनन् । कपनस्थित रिलायन्स पब्लिक स्कुलमा कक्षा पाँचमा अध्ययनरत प्रज्वलले टाइटल उपाधि जित्न नसकेपनि लोभ लाग्दो मुस्कानले सम्पूर्ण दर्शकको मन जित्न सफल भएका थिए ।

प्रतियागीहरुलाई एक महिनासम्म रंगकर्मी बिरेन्द्र हमालले अभिनय, विशाल श्रेष्ठले नृत्य तथा एसराज गराच, राजन बुढाथोकी, गोपाल ढकाल तथा परिस्ना बास्तोलालगायतले विभिन्न विधामा प्रशिक्षण दिएका थिए

कार्यक्रममा फेसन कोरियोग्राफर हिमानी सुब्बा, टेलिभिजन प्रस्तोता बिना श्रेष्ठ, लेखक कलाकार बिन्दा खतिवडा, कलाकार गोपाल ढकाल छन्दे, निर्देशक कमल खतिवडा, कलाकार राजु कार्की, डा.आयुस्नोभा ढुंगाना तथा योगेश शर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने मोडल एवं कलाकार दिक्पाल कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्