उहिले जिल्लामा काम गर्दा मेरा एक घनिष्ट मित्र हुनुहुन्थ्यो । कार्यालय नजिकै थियो उहाँको डेरा । उच्च माध्यमिक तह अध्ययन गर्ने छोरी पनि उहाँसँगै हुनुहुन्थ्यो । माध्यमिक तहको परीक्षाका समयमा अलि व्यस्तता भएकाले बिहानै कार्यालय आएपछि विभिन्न काम गर्ने र खाना पनि त्यहीँ खाने व्यवस्था गरिएको थियो । कार्यालयको काममा बढी खट्नुपर्ने कर्मचारीका लागि अफिसले नै क्यान्टिनमा खानाको प्रबन्ध गरेको थियो ।

छोरीको परीक्षाका दिन मेरा मित्र अफिसको काम गर्दागर्दै एक घण्टाका लागि फुर्सद माग्थे । मैले यसरी फुर्सद माग्नुको कारण सोधें । उनले हाँस्तै भने— “आज छोरीको परीक्षा छ । म बिहानैदेखि अफिसमा छु । छोरीलाई खाना पकाएर खुवाउनु छ । पस्केर नदिने हो भने पकाएको खाना पनि झिकेर खाँदिनन् । त्यसैले छोरीको परीक्षा भएको दिन एक घण्टा फुर्सद लिनुपर्छ सर !”

मैले भनें— “छोरीलाई पनि क्यान्टिनमै बोलाउनुस् न खाना खान ।”

मित्रले भने— “यस्तो बानी नै छैन उनको । कहिलेकाहीँ क्यान्टिनमा खाइदिए मलाई पनि सजिलो हुन्थ्यो । म गएर खाना खान नदिने हो भने पसलबाट चाउचाउ किनेर त्यसै खाइदिन्छिन् ।”

“छोरीलाई खाना पकाउन आउँछ कि आउँदैन त सर ?” सोधें ।

“आउँदैन नि सर ।” साथीले हाँस्तै भने ।

“किन नसिकाएको त ?” मैले भनें ।

“सानामा काम लाइएन । स्कुल पढ्दा पढाइमा ध्यान दिन भनियो । मेरी श्रीमतीले पनि बच्चालाई कामै लगाउनु भएन । खाना पकाउने, घर सफा गर्ने, कपडा धुने, आइरन लाउने जस्ता दैनिक गर्नुपर्ने काम छोराछोरीलाई सानैदेखि सिकाउनुपर्ने रहेछ । यी सिपहरु हरेक व्यक्तिमा हुनुपर्दो रहेछ । अहिले आएर सिकाउन कठिन भएको छ । अझ छोरीलाई त यी सिप झन् आवश्यक छन् । हाम्रो सामाजिक बनोट, मान्छेका व्यवहार आदिले पनि छोरीले छोराका तुलनामा सिक्नै पर्ने रहेछ ।” मित्रले भने ।

व्यवहारकुशल सिप(Soft Skills),जीवनोपयोगी सिप(Life Skills), पेसागत सिप(Professional Skills) र सञ्चालन सिप(Operational Skills) मानव जीवनलाई सरल र सहज बनाउन अति आवश्यक छन् । घर व्यक्तिको पहिलो पाठशाला भएकाले दैनिक व्यवहारमा आवश्यक पर्ने सिप पनि घरबाटै सिकाउनु र सिक्नुपर्छ । यस्ता सिपहरु जीवनमा जुनसुकै समयमा उपयोगी हुन्छन् ।

बालबालिकालाई आफ्ना कपडा जतन गर्ने, जुत्तामा पालिस लाउने, नङ काट्ने, कपाल कोर्ने, आफै नुहाउने, आफ्ना कपडा धुने, पट्याउने, सामान्य उध्रिएका कपडा सियो र धागोले सिलाउने जस्ता सामान्य सञ्चालन सिप पनि सिकाउनुपर्छ ।

आफूले लगाइरहेको सर्टको बटन (टाँक) फुस्क्यो भने बिनाबटन सर्ट लाउने अवस्था आउनु हुँदैन । सियो, धागो खोजेर तुरून्त टाँक लाउने अवस्था आएमा जसको सिप छ, उसले तुरून्तै व्यवस्थापन गर्न सक्छ । टाँक लाउने सामान्य सिप पनि नहुने व्यक्तिले अभिभावक, आमा, बाबु, दाजु, दिदीको प्रतीक्षा गर्नुपर्छ । समयमा सहयोग नमिले बिनाबटन सर्ट लाएर हिँड्नुपर्छ । घर नै व्यावहारिक सिप सिक्ने र सिकाउने पहिलो पाठशाला भएकाले यस्ता सिप बालबालिकालाई विद्यालय शिक्षाको उमेरमा नै सिकाउनुपर्छ ।

जापानको हिरोसिमामा सञ्चालन भएको ‘प्रोमोटिङ पिस थ्रु म्युचुअल अन्डरस्टान्डिङ’ तालिममा पूर्वी टिमोरका साथीहरुसँग भेट भयो । तालिममा आएका हामी पाँचै मुलुकका सहभागीलाई आयोजकले छात्रवासमा बस्ने व्यवस्था गरेको थियो । बसाइ एउटै छात्रवासमा भएकाले खाना, खाजा खाने समयमा हाम्रो भेटघाट हुने नै भयो । पूर्वी टिमोरका मित्र भिडल काम्पोस माग्नोसँग मेरो निकै घनिष्टता थियो ।

एक दिन मेरो कोठाको ढोका ढकढक्याउन आइपुगेका काम्पोसले बटन फुस्केको सर्ट देखाउँदै भने— “मिस्टर बराल ! माइ फ्रेन्ड ! डु यु ह्याभ अ निडल एन्ड अ रोप ?” (बरालजी ! मेरा मित्र ! तपाईंसँग सियो र धागो छ ?

छात्रवासमा सियो, धागो, ब्रस, पेस्ट आदिको व्यवस्था थिएन । म एकछिन त अलमल्ल परें । कपडा उध्रिएमा, टाँक फुस्केमा हाम्रो समाजमा मात्र होइन, विश्वका अन्य देशमा पनि सियो, धागो नै चाहिँदो रहेछ । हाम्रा पुर्खाले विदेश नघुमे पनि यो कुरा सिकेका रहेछन् । विश्वको अर्को कुनाका मानिसहरुले पनि सिकेका रहेछन् ।

मैले भनें— “एस, आई ह्याभ” (हो, मसँग छ ।) मित्रको मुहारमा मुस्कान छायो । उनले दिन भने तर सर्टको रङअनुसार धागोको रङ मिल्दैन कि भनी मित्र अलि अन्योलमा थिए । मैले विभिन्न रङको धागो पनि लगेको थिएँ । मित्रलाई सियो र सर्टको रङसँग मिल्दो धागो दिएँ । उनले बटन लगाए उही तरिकाले जसरी हामी लगाउँछौं ।

काम सकिएपछि मित्रले भने— “मिस्टर बराल ! हाउ वाइज यु आर !” (बरालजी ! तपाईं कति बुद्धिमानी !)
मैले भनें— “ह्वाई ?” (किन)

उनले थपे— “तपाईंले यस्ता ससाना चिज पनि साथमा ल्याउनुभएको रहेछ । हामीले त ल्याएनौं । मलाई यो कुरा भन्न पनि लाज लागेको थियो । तैपनि तपाईंसँग भनें, सियो धागो पाएँ, मेरो समस्या समाधान भयो । नत्र जापानको कुन पसलमा गएर सियो, धागो किन्नु ! फेरि सियो, धागो अङ्ग्रेजीमा भन्दा बुझ्दैनन् जापानीहरु, जापानीमा के भन्छ कुन्नि । अनि यो व्यवस्थापन तपाईंले कसरी गर्नुभयो ?”

मैले भनें— “यी सबै सामानको व्यवस्थापन मेरी श्रीमतीले गरिदिनुभएको हो । मेरो लगेजमा त कैंची पनि छ, प्राथमिक उपचारका सामान पनि छन् । आधारभूत औषधि पनि छन् ।”

“हाउ वाइज योर वाइफ इज ! प्लिज कन्भे माइ थ्याङ्क्स टु हर ।” (तपाईंकी श्रीमती कति बुद्धिमानी ! मेरो धन्यवाद सुनाइदिनुहोला उहाँलाई ।) टिमोरी मित्र फुरूङ्ग देखिए ।

यात्राका समयमा ससाना सामानले पनि हाम्रो दैनिकी सहज बनाइदिन्छन् । सानो सियोले ठूलो आवश्यकता सुल्झाइदिन्छ । आधारभूत सामग्री हामी जहाँ जाँदा पनि सँगै लानुपर्ने हुन्छ । उपलब्ध भए त्यहाँकै प्रयोग गर्ने, उपलब्ध हुन नसकेमा आफूले लगेका सामानबाट समस्या समाधान गर्नु नै उपयुक्त हुन्छ । मेरो अनुभवले यही सिकाएको छ ।

*******************

माथि उल्लिखित विषय साङ्ग्रीला प्रकाशनले २०७६ को अन्त्यतिर बजारमा ल्याएको सिकाइ र सहयोग पुस्तकको अंश लैङ्गिकता र व्यवहारोपयोगी सिप शीर्षकको हो । शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यरत खगराज बरालको २०७५ सालको चर्चित पुस्तक सिकाउने शैलीपछिको यो पुस्तक जीवनका अनुभवजन्य सिकाइसम्बन्धमा केन्द्रित छ ।

प्रतिकृया दिनुहोस्