कंकाली माविः जहाँ विज्ञान, इञ्जिनियरिङ, व्यवस्थापन र कानुन संकाय निःशुल्क पढ्न पाइन्छ

जहाँ कक्षा ११ र १२ पढ्न कुनै शुल्क लाग्दैन

Avatar photo

Byएजुकेशन पाटी

१४ श्रावण २०८१, सोमबार

काठमाडौँ । राजधानी काठमाडौँको पुरानो नैकापस्थित कंकाली माध्यमिक विद्यालयले पूर्ण निःशुल्क पढाउने घोषणासहित कक्षा ११ मा विज्ञान, इञ्जिनियरिङ, व्यवस्थापन तथा कानुन सङ्कायमा भर्ना खुलाएको छ ।

विद्यालयले विज्ञान संकायका कुनैपनि विषय, प्राविधिक धारतर्फ कम्प्युटर इञ्जिनियरिङ, व्यवस्थापन र कानुन सङ्कायमा भर्ना खुलाएको हो । विद्यार्थीहरुले यी सङ्कायमा अध्ययन गर्न एक रुपैयाँ शुल्क तिर्नु नपर्ने विद्यालयले जनाएको छ ।

टाढाबाट पढ्न आउने विद्यार्थीका लागि विद्यालयले स्कुल बसको समेत व्यवस्था गरेको छ । यदि स्कुल बसको प्रयोग गरे विद्यार्थीले मात्र बसको शुल्क तिरे पुग्ने विद्यालयले स्पष्ट पारेको छ । तर, विडम्वना विद्यालयले निःशुल्क भर्ना आह्वान गरेपनि विद्यार्थीहरुको चाप भने देखिदैन ।

‘विद्यार्थी र अभिभावकले शिक्षा भन्दा तडकभडक हेरे । सबै सङ्कायमा निःशुल्क भर्ना आह्वान गरेका छौँ । तर, कोही पनि भर्ना भएका छैनन् ।’ विद्यालयका प्रधानाध्यापक विष्णु पनेरुले भने । आफूहरुले कक्षा ११ र १२ निःशुल्क पढाउँछौँ भन्दा पनि अभिभावक र विद्यार्थी निजी कलेज तिरै दौडिरहेका प्रअ पनेरुले गुनासो गरे ।

विज्ञान प्रयोगशाला

‘हामी कहाँ अत्याधुनिक विज्ञान प्रयोगशाला छ । इञ्जिनियरिङ ल्याब छ । दक्ष शिक्षक समूह छ । निरन्तरको उत्कृष्ट नतिजाको इतिहास छ । तर हामी सामुदायिक विद्यालय हौँ ।’ प्रअ पनेरुले भने, ‘सामुदायिक विद्यालय भन्ने बित्तिकै शिक्षक र विद्यार्थीले नाक खुम्च्याउँछन् ।’

प्रधानाध्यापक विष्णु पनेरु

पछिल्लो समय विद्यालय र शिक्षा संकार र ज्ञान आर्जन भन्दा पनि प्रतिष्ठाको विषय बनाइदा सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण घट्दै गएको प्रअ पनेरु दुखेसो पोख्छन् । ‘हामी निःशुल्क त्यही शिक्षा दिन्छु भन्दा भन्दै अभिभावक निजी विद्यालयमा महङ्गो शुल्क तिर्न तयार भइरहेका छन् प्रतिष्ठाका लागि ।’ पनेरुले भने ।

‘यो राज्यको कमजोरी हो कि ? स्थानीय निकायको कमजोरी हो कि ? विद्यालय प्रशासनको कमजोरी हो ? विद्यालय व्यवस्थापन समितिको कमजोरी हो कि ? नागरिक समाज या सारोकारवालाको पो कमजोरी हो ?’ प्रअ पनेरु प्रश्नमाथि प्रश्न तेर्साउँछन् । यस विषयमाथि बहस जरुरी रहेको उनको भनाइ छ ।

कम्प्युटर ल्याब

‘शुल्क लिँदा सरकारी विद्यालय भएर शुल्क लियो भन्ने आरोप आउँछ । शुल्क नलिँदा शुल्क नलिइ कसरी राम्रो पढाउँछ भन्ने आरोप आउँछ ।’ प्रअ पनेरु दुखेसो गर्छन्, ‘सामुदायिक विद्यालय दोहोरो मारमा परेका छन् ।’

सामाजिक सङ्ग्रहालय

कक्षा ११ र १२ मा मात्रै होइन कक्षा १ देखि १० सम्म नै विद्यालयले विद्यार्थीसँग एक रुपैयाँ शुल्क लिने गरेको छैन । केही समय पहिले त दाताको सहयोगमा अभिभावक बैठकमा आएवापत अभिभावकहरुलाई उल्टै भत्ता दिने गर्दथ्यो । कोरोनाका बेला विद्यालयले दाताको सहयोगमा अभिभावकहरुलाई निःशुल्क जस्तापाता, खाद्यन्नको व्यवस्था समेत गरेको थियो ।

कक्षा ११ र १२ मा पनि दाताले सहयोग गरेकाले विद्यालयले निःशुल्क भर्ना खुलाएको हो । राजधानीका सामुदायिक विद्यालयहरुमध्ये औँलाले गन्न सकिने विद्यालय मात्रै अत्याधुनिक भौतिक सुविधा सम्पन्न छन् । त्यहीमध्ये पर्छ कङ्काली माध्यमिक विद्यालय पनि ।

खानेपानी

हाल विद्यालयमा ५७ जिल्लाका ९०० बढी विद्यार्थीहरुले अध्ययन गरिराखेका छन् । विद्यालयमा ३ ओटा स्कुल बस छ । थप बस खरिदको प्रक्रिया अगाडि बढेको अवस्था छ ।

कम्प्युटर कक्षा

एकजना विद्यार्थी कक्षा १ मा भर्ना भएपछि कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउँछ । त्यतिमात्रै होइन उत्कृष्ट विद्यार्थीका लागि विद्यालयले उच्च शिक्षाका लागि पनि दाता खोजेर छात्रवृत्तिको व्यवस्था मिलाइदिने गरेको छ ।

कम्प्युटर ल्याब

पढ्न चाहने, पढेर केही गर्न चाहने विद्यार्थीका लागि विद्यालयले डिग्रीसम्मै निःशुल्क शिक्षाको व्यवस्था गर्न लागिपरेको छ । १२ सम्म यही विद्यालयमा निःशुल्क पढाएपछि उच्च शिक्षाका लागि पनि निःशुल्क अध्ययन गर्न दाता खोजिदिने गरेको प्रअ विष्णु पनेरु बताउँछन् ।

विद्यालयले दर्जनौँ विद्यार्थीलाई डाक्टर, इञ्जिनियर बन्न मद्दत गरेको प्रअ पनेरु निर्धक्क सुनाउँछन् । सामुदायिक विद्यालय प्रति अभिभावक र विद्यार्थीको विश्वास बढाउन सरकार र सरोकारवालाहरु सबैले मिहिनेत गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

नर्सिङ रुम

विद्यालयमा ८४ कक्षाकोठा छ । हरेक कोठामा सीसीटीभी क्यामेरा, स्मार्टबोर्ड र प्रोजेक्टर छन् । विद्यालयले कराँते, नृत्य र संगीतलगायतका अतिरिक्त कक्षा पनि सञ्चालन गर्दै आएको छ । फूलबारी, खेलकुद मैदान सभाहल, हाइजेनिक चमेनागृह,स्मार्ट शौचालयको व्यवस्था छ ।

स्मार्ट शौचालय

यसवर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा ८ड विद्यार्थी सहभागी भएकामा ८१ जना उत्तीर्ण भएका छन् । हरेक कक्षाको सिकाइ उपलब्धि उत्कृष्ट रहेको छ । २०५१ सालदेखि आजसम्म एसईईमा ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण भइरहेका प्रअ पनेरु बताउँछन् ।

‘१० कक्षासम्म हामीले पढाएको ठिक, कक्षा ११ मा बेठिक हुने हो त ?’ प्रअ पनेरु प्रश्न गर्छन्, ‘होइन भने किन विद्यार्थी भर्ना हुन आइरहेका छैनन त ?’


अभिभावकको नियन्त्रणमा विद्यार्थी छैनन् । उनीहरु विद्यालय चेन्ज गर्न चाहन्छन् ।

पहिले विद्यार्थीहरुले यो संकाय रैनछ भन्दै विद्यालय छाडेपछि अहिले दाताको सहयोगमा विद्यालयले सबै संकायमा भर्ना खुलाएको छ । बाहाना सिद्धिए पनि विद्यार्थी टिक्न भने सकिरहेका छैनन् ।

कम्प्युटर ल्याब

९–१२ मा प्राविधिक धारतर्फ कम्युटर इञ्जिनियरिङ कक्षा छ तर विद्यार्थीहरुले १० पछि पढ्न छाडेर अर्कै विद्यालयमा जाने गरेका छन् ।

प्रतिकृया दिनुहोस्