काठमाडौं । चितवनको पदमपुर स्थित मुलुकभरका उत्कृष्ट शिक्षक बनेका छन् । पी.पी प्रसाई प्रतिष्ठानले मुलुकभरबाट  उनलाई उत्कृष्ट शिक्षकको रुपमा छनोट गरेको हो ।

यसवर्ष मुलुकभरबाट उत्कृष्ट शिक्षक बन्दै डा. कँडेल पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार– २०७६ बाट पुरस्कृत भएका छन् ।

२०३२ सालमा जन्मिएका कँडेल २० वर्षदेखि अध्यापन पेशामा रहेका छन् । उनकै नेतृत्वमा भीमोदय माविले छाटै समयमा शैक्षिक र भौतिक क्षेत्रमा आमूल परिवर्तन गर्न सफल भएको थियो ।

म २०५६ सालदेखि विज्ञान शिक्षकका रुपमा विद्यालयमा प्रवेश गरेका कँडेल  २०६३ सालमा स्थायी भएका हुन् ।  २०६९ मा द्वितीय श्रेणीमा बढुवा भएका कँडेल  २०७१ असारदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छन् ।

भारतको सिंहानिया विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. कँडेलले विद्यालयमा सूचनाप्रविधियुक्त शिक्षण सिकाइ  र बालमैत्री वातावरण निर्माणमा उल्लेखनीय काम गरेका छन् ।

‘हामीले शिक्षकहरुलाई सन्तुष्ट पार्ने प्रयास गरेका छौं । हरेक शिक्षकका लागि दराज, ल्यापटप, पिउने पानीका लागि फ्रिजको व्यवस्था गरेका छौं । पर्याप्त शैक्षिक सामग्री, पत्रपत्रिका दिने व्यवस्था गरेका छौं ।’ डा. कँडेलले भने ।

विद्यालयमा अतिरिक्त कक्षा लिने शिक्षकलाई थप सुविधा दिने व्यवस्था गरिएको छ । साथै, शिक्षकहरुलाई दण्ड र सजायको पनि व्यवस्था गरिएको छ । पढाएको विषयमा गत वर्षको भन्दा नतिजा बढी ल्याउनुपर्ने व्यवस्था छ । आफ्नो विषयमा सबै विद्यार्थीलाई ८० प्रतिशत बढी अंकसहित उत्तीर्ण गराएमा एक तोलाको गोल्ड मेडल दिने र कमजोर नतिजा ल्याए तल्लो कक्षामा पढाउन लगाउने, स्पष्टिकरण दिने व्यवस्था गरिएको कँडेलले बताए ।

‘एक वर्ष कमजोर नतिजा ल्याउने शिक्षकले अर्को वर्ष सोही कक्षा पढाउन पाउँदैनन् ।’ उनले भने ।

‘हरेक कक्षामा सिसिटिभी र स्मार्ट बोर्डको व्यवस्था गरिएको छ । हरेक शिक्षकलाई एउटा–एउटा ल्यापटप निःशुल्क उपलब्ध गराएका छौं । उहाँहरुले खोजेर, स्लाइड बनाएर प्रोजेक्टरको माध्यमबाट पढाउने गर्नुहुन्छ ।’ उनले भने, ‘३७ कम्प्यूटरसहितको ई–लाईब्रेरी र ई–कम्प्यूटर ल्यावको व्यवस्था गरेका छौं । ई–लाईब्ररीमा ४० हजार बढी किताबको सफ्ट कपि उपलब्ध छन् ।’

एउटै शिक्षकले एउटा विषय पढाउँदा विद्यार्थीलाई ‘मोनोटोनस’ हुन्छ भनेर एउटै विषय पनि फरक–फरक शिक्षकले पढाउने व्यवस्था गरेको उनले बताए । ११ र १२ मा गणित पढाउने शिक्षकहरुले पनि नौ र १० मा गणित पढाउने, ९ का गणित पढाउनेले ११ पढाउन लगाउने, ४ पढाउनेलाई ८ र ८ पढाउनेलाई ४ कक्षाको गणित पढाउन लगाउने गरिएको उनको भनाइ छ ।

‘यसबाट विद्यार्थीले सिकाइमा फरक स्वाद र विधि थाहा पाउँछन् । शिक्षक पनि मिहिनेती बन्छन् । नर्सरीदेखि नै कक्षागत रुपमा अभिभावकहरुको नियमित भेला गर्छौं । विषयगत शिक्षकमार्फत् नतिजा विश्लेषण गर्ने गर्छौं । यसले विद्यार्थीको सिकाइ र विद्यालयको अवस्थाबारे अभिभावकलाई थाहा हुन्छ ।’ उनले स्पष्ट पारे ।

कँडेलका अनुसार विद्यालयमा कक्षा नर्सरीदेखि १० सम्म अंग्रेजी माध्यममा पढाइहुने गरेको छ । ९ र १० मा अंग्रेजी नेपाली दुबै माध्यममा पठनपाठन हुँदै आएको छ । विद्यार्थीका लागि होस्टेलको व्यवस्था छ । त्यहाँ कक्षा १० का विद्यार्थी बसेर एसइइको तयारी गर्ने गर्छन् । कक्षा ८ का विद्यार्थीहरुका लागि बिहान ६ देखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन हुन्छ । उनीहरुलाई विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको छ । स्रोतकेन्द्रस्तरीय ३ वटा र विद्यालयले आन्तरिक ३ गरी ६ वटा परीक्षा लिने गरिएको छ ।

छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने गरिएको छ ।  सबै छात्राहरुलाई स्कट निषेध गरिएको छ । पाइन्ट अनिवार्य छ । संस्थागत विद्यालयसरह झोला, जुत्ता–टाई अनिवार्य गरिएको छ । एक दिन स्कूल लोगो भएको टिसर्ट लगाउनुपर्ने व्यवस्था गरिएको छ । साउण्ड सिस्टमका आधारमा एसेम्ब्ली गरिन्छ । विद्यालयमा सुविधा सम्पन्न कन्फेरेन्स हलको व्यवस्था गरिएको छ । विद्यालयले आफू मात्रै सुधारको प्रयास गरेको नभई अन्य छिमेकी स्कूलहरुमा पनि सुधारका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । १३२५ विद्यार्थीका लागि २० सरकारी तलब खाने र २० जना आन्तरिक स्रोतका गरी ४० जनाको शिक्षक समूह छ । विद्यार्थीको अत्यधिक चापका कारण प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्नुपर्ने बाध्यता छ ।

‘शिक्षकहरुको हरेक वर्ष नतिजा परीक्षण हुनु आवश्यक छ । नतिजाकै आधारमा शिक्षक परीक्षण हुनु पर्छ । एक समय विश्वविद्यालय टपर सधैं टपर रहन सक्दैन । समय अनुसार मिहिनेत गर्न आवश्यक छ ।’ उनले स्पष्ट पारे ।

उनको यसै योगदानको कदर गर्दै प्रतिष्ठानले एक लाख नगद सहित उनलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मानित गरेको हो ।

यसैगरि हरेक वर्ष प्रत्येक विकास क्षेत्रका उत्कृष्ट शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ट शिक्षक पुरस्कार– २०७६’ यो वर्ष प्रदेश नं.१ बाट बाल सुवोधेनी आधारभूत विद्यालय मेचीनगर झापाका शिक्षक विश्व थापा र  प्रदेश नं. २ बाट  देउराली माध्यमिक विद्यालय महोत्तरीका शिक्षक केदार बहादुर रायमाझीलाई प्रदान गरिएको छ ।

यसैगरी प्रदेश नं. ३ बाट ज्ञानोदय मावि बाफलका शिक्षक अन्जु लामा, प्रदेश नं. ४ बाट  अमरसिंह माध्यमिक विद्यालय र केफ मावि कास्कीका शिक्षक  केशव प्रसाद  पराजुली पुरस्कृत भएका छन् ।

प्रदेश नं. ५ बाट सिद्धबाबा माध्यमिक विद्यालय तम्घास गुल्मीका प्रअ डोर विक्रम श्रीस ‘उत्कृष्ट शिक्षक पुरस्कार– २०७६’ बाट पुरस्कृत भएका हुन् ।

यसैगरी,  प्रदेश नं. ६ बाट हिमज्योति आधारभूत विद्यालय डोल्पाका शिक्षक   तुल बहादुर विष्ट र प्रदेश नं. ७ बाट  महेन्द्रनगर नमुना माध्यमिक विद्यालयका शिक्षक  ललित सिंह साउदलाई पुरस्कृत गरिएको हो ।

२०७६ भदौ १९ गते २३:०५मा प्रकाशित

प्रतिकृया दिनुहोस्