कल्पना खड्का 'सारा'
कल्पना खड्का ‘सारा’

पृष्ठभूमि
नेपालमा उच्च शिक्षाको इतिहास त्रिभुवन विश्वविद्यालयको स्थापना वि.सं. २०१६ बाट सुरु भएको हो । विश्वविद्यालय अनुदान आयोगको बार्षिक प्रतिवेदन २०८०/८१ अनुसार देशभर १२ विश्वविद्यालय, ४ प्रादेशिक विश्वविद्यालय, ७ प्राविधिक शिक्षालयहरू र १,४०० भन्दा बढी क्याम्पस र सञ्चालनमा छन् । तीमध्ये त्रिभुवन विश्वविद्यालय सबैभन्दा पुरानो र ठूलो हो, जसले ८०% भन्दा बढी विद्यार्थीहरूलाई सेवा पुर्‍याउँछ । सामुदायिक र निजी क्याम्पसहरूले ग्रामीण क्षेत्रका निम्न आय भएका विद्यार्थीहरूलाई शिक्षाको पहुँच सुनिश्चित गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालका उच्च शैक्षिक संस्थाहरूले स्रोत अभाव, संरचनागत समस्या, प्राविधिक विकास र गुणस्तर सुधारका विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् ।

नेपालमा डिजिटल शिक्षाको विकासको गति अन्य दक्षिण एसियाली मुलुकहरूको तुलनामा अपेक्षाकृत ढिलो रहेको कुरा यूनेस्कोको 2020 को प्रतिवेदनमा उल्लेख गरिएको छ यद्यपि, डिजिटल शिक्षाको विकास, QAA (गुणस्तर सुनिश्चितता प्रत्यायन) प्रक्रिया, र प्रविधिको उपयोगले शिक्षा प्रणालीमा सुधारका प्रयासहरू अघि बढाइरहेको छ । यस सन्दर्भमा, Learning Management System (LMS) ले महत्त्वपूर्ण स्थान ओगटेको छ। LMS शिक्षण र सिकाइको गुणस्तर सुधार गर्न तथा प्राविधिक साधनहरूको समावेशमार्फत व्यवस्थापन प्रक्रियालाई सहज बनाउन डिजाइन गरिएको डिजिटल प्लेटफर्म हो । यसले शिक्षक र विद्यार्थीबीचको अन्तरक्रियालाई सशक्त बनाउँदै शैक्षिक सामग्रीको व्यवस्थापन, मूल्यांकन, र पहुँचलाई सरल बनाउँछ ।

तर नेपालका उच्च शिक्षण संस्थाहरूमा LMS प्रविधिको उपयोग मिश्रित अनुभवले भरिएको छ । केही क्याम्पसहरू यो प्रविधिमा आधारित प्रणालीलाई सफलतापूर्वक कार्यान्वयन गरिरहेका छन् भने धेरै संस्थाहरूले संरचनागत, आर्थिक, र प्रविधिगत चुनौतीहरूको सामना गरिरहेका छन् । यो लेखले नेपालका उच्च शैक्षिक संस्थाहरूमा LMS को प्रयोग एक डिजिटल युगको बाध्यता हो कि केवल वैकल्पिक उपाय भन्ने प्रश्नमा बहस गर्दै, यसको महत्त्व, चुनौतिहरू, र सान्दर्भिकतालाई विश्लेषण गर्ने प्रयास गरेको छ।

LMS को परिचय तथा महत्त्व र फाइदाहरू
Learning Management System (LMS) एउटा डिजिटल प्लेटफर्म हो, जसले शिक्षण-सिकाई प्रक्रिया व्यवस्थित, सहज र प्रभावकारी बनाउँछ । यसले शैक्षिक सामग्री निर्माण, व्यवस्थापन, वितरण, र मूल्यांकनलाई सहज बनाउँछ । LMS मार्फत विद्यार्थीले समय र स्थानको सीमाबिना अध्ययन गर्न सक्छन्, भने शिक्षकले शिक्षणलाई संरचित र अन्तरक्रियात्मक बनाउन सक्छन् । यसले ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तार गर्ने, शिक्षामा प्रविधिको उपयोग बढाउने, र शिक्षण-शिक्षण प्रक्रियालाई गुणस्तरीय बनाउने अवसर प्रदान गर्छ । LMS शिक्षा क्षेत्रको आधुनिक प्रविधि हो, जसले शिक्षण-सिकाई प्रक्रियामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्दछ । यसको प्रयोगले शिक्षाको गुणस्तर मात्र नभई विद्यार्थीको पहुँच र संलग्नता पनि उल्लेखनीय रूपमा बढाउँछ । नेपालजस्ता विकासोन्मुख देशका शैक्षिक संस्थाहरूका लागि LMS एउटा अपरिहार्य उपकरण बन्न पुगेको छ । यसका केही प्रमुख फाइदाहरू निम्नलिखित छन्: –

LMS प्रविधि विद्यार्थी र शिक्षकबीच सहज सम्पर्क स्थापना गर्न अत्यन्त प्रभावकारी छ । यसले उनीहरूलाई एकीकृत प्लेटफर्म प्रदान गरेर सूचना, सामग्री र संचारलाई सरल बनाउँछ । विद्यार्थीले कुनै पनि समय र स्थानबाट पाठ्यक्रम सामग्री, भिडियो, प्रेजेन्टेसन, र अन्य स्रोतहरू सहजै प्राप्त गर्न सक्ने भएकाले सिकाइ सामग्रीको पहुँच अझ सहज र प्रभावकारी हुन्छ । LMS प्रविधिले परम्परागत कक्षाकोठा शिक्षण र अनलाइन शिक्षणलाई संयोजन गर्न मद्दत पुर्‍याउँछ, जसले ब्लेन्डेड लर्निङलाई प्रवर्द्धन गर्दछ । यसले विद्यार्थीको प्रगति ट्र्याक गर्नका लागि शिक्षकलाई प्रभावकारी साधन उपलब्ध गराउँछ, जसबाट विद्यार्थीको सिकाइ अवस्था बुझ्न र सुधार गर्न आवश्यक कदम चाल्न सहयोग मिल्छ ।

यस प्रविधिले समय र स्रोतको बचत गर्दछ । कागजमुक्त प्रक्रियाले स्रोतको खपत घटाउँछ भने शिक्षकले मूल्यांकन तथा सामग्री व्यवस्थापनमा समय बचत गर्न सक्छन् । LMS ले अनलाइन क्विज, असाइनमेन्ट र परीक्षा सञ्चालन गर्न सहजता प्रदान गर्छ, जसले मूल्यांकन प्रक्रिया द्रुत र पारदर्शी बनाउँछ । प्रविधिमा आधारित शिक्षाको माध्यमबाट विद्यार्थीलाई डिजिटल प्रविधि र स्रोतहरूको प्रयोगमा दक्ष बनाउँदै भविष्यको कामकाजी संसारका लागि तयार पार्न सकिन्छ । यसका साथै, LMS ले विद्यार्थीलाई समूह गतिविधि, छलफल र परियोजनामा सहभागी गराई सहकार्य र समूह सिकाइमा जोड दिन्छ । LMS ले विद्यार्थीको आवश्यकताअनुसार व्यक्तिगत सिकाइ अनुभव प्रदान गर्दछ । यसमा रहेको डेटा सुरक्षित भण्डारण प्रणालीले अभिलेखीकरण र डेटा सुरक्षित राख्न सहयोग पुर्‍याउँछ । यसरी LMS प्रविधिले शिक्षण-सिकाईको गुणस्तर सुधार गर्दै शिक्षालाई दिगो र पहुँचयोग्य बनाउने मुख्य उपकरणको रूपमा काम गरिरहेको छ ।

LMS को प्रयोग: बाध्यता वा विकल्प ?
नेपालका उच्च शैक्षिक संस्थाहरूमा LMS को प्रयोग अहिले एक महत्वपूर्ण विषय बनेको छ । यसको प्रयोगलाई सहजै स्वीकार गर्न एकातिर आर्थिक, प्राविधिक र संरचनागत समस्याहरु तेर्सिएका छन् भने अर्कोतर्फ यसको प्रयोग गर्न नसक्ने उच्च शैक्षिक संस्थाहरु दीर्घकालीनरुपमा टिकिरहन र अस्तित्त्व जोगाउन हम्मे-हम्मे पर्ने अवस्था आंकलन गर्न सकिन्छ । के यो एक बाध्यता हो या विकल्प? यस विषयमा विचार गर्दा केही प्रमुख कारणहरूलाई विश्लेषण गर्नु उचित हुन्छ ।

सरकार र UGC का नीति निर्देशन: नेपालमा LMS को प्रयोगलाई प्रोत्साहन गर्न विभिन्न नीतिगत व्यवस्थाहरू छन्, जसले उच्च शैक्षिक संस्थाहरूलाई LMS लागू गर्न बाध्यकारी बनाएको छ । नेपाल सरकारको शिक्षा नीति र IT Policy, २०१५ ले डिजिटल शिक्षाको प्रयोगलाई प्राथमिकता दिएको छ । यसैगरि, UGC नेपालले उच्च शैक्षिक संस्थाहरूमा LMS को प्रयोगलाई प्रवर्द्धन गर्न अनुदान र निर्देशनहरू जारी गरेको छ । यी नीतिहरूका कारण विश्वविद्यालय र क्याम्पसहरूलाई LMS को प्रयोग अनिवार्य बनाइरहेको छ, जसले शिक्षाको पहुँच र गुणस्तर सुधार्न मद्दत पुर्याउँछ । UGC को निर्देश अनुसार, विशेष गरी QAA (Quality Assurance and Accreditation) प्रक्रिया पूरा गर्नका लागि डिजिटल शिक्षण प्रणालीको प्रयोग अनिवार्य भएको छ । यसले संस्थाहरूलाई LMS जस्ता प्रौद्योगिकिहरूको प्रयोग गर्न बाध्य तुल्याउँछ । यदि कुनै संस्थाले LMS को प्रयोग नगरेको खण्डमा, प्रत्यायन प्रक्रियामा समस्या उत्पन्न हुनसक्छ ।

घट्दो विद्यार्थी संख्या : नेपालमा उच्च शिक्षाका विद्यार्थीहरूको ड्रपआउट दर गम्भीर चिन्ताको विषय बनेको छ । पछिल्लो समयमा प्रकाशित भएका सम्पूर्ण उच्च शैक्षिक संस्थाहरुको तथ्यांक हेर्दा भर्ना भएर पनि बिचैमा पढाई छोड्ने बिध्यार्थीहरुको दर लगभग ४५% रहेको देखिन्छ । विभिन्न अध्ययनहरूले उच्च दरमा विद्यार्थीहरू आफ्नो अध्ययन बीचमै छोड्ने गरेको देखाएका छन् । यी उच्च ड्रपआउट दरका कारणहरूमा आर्थिक समस्या, सामाजिक-आर्थिक चुनौतीहरू, र विदेशमा रोजगारीको अवसर मुख्य रहेका छन् ।

यी समस्याहरू समाधान गर्नु विद्यार्थीहरूको निरन्तरता सुनिश्चित गर्न र नेपालमा उच्च शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक छ । ड्रपआउट दर कम गर्नका लागि आर्थिक सहयोग, संस्थागत सुविधाको सुधार, र शैक्षिक कार्यक्रमहरूलाई श्रम बजारको मागसँग मिलाउन केन्द्रित प्रयासहरू आवश्यक छन् । यसले विद्यार्थीहरूलाई आफ्नो अध्ययन पूरा गर्न उत्प्रेरित गर्दछ र बिद्यार्थीहरुको आकर्षण बढाउन LMS सशक्त माध्यम बनेको छ ।

महामारी पछि अनलाइन शिक्षाको आवश्यकता: कोभिड -१९ महामारीले नेपालका उच्च शैक्षिक संस्थाहरूमा अनलाइन शिक्षामा ठूलो परिवर्तन ल्यायो । विद्यालय र कलेजहरू बन्द भएपछि, LMS र अन्य अनलाइन शिक्षण उपकरणहरूको प्रयोग अत्यावश्यक बन्यो । यसले LMS को प्रयोगलाई एक बाध्यता बनाएको हो, जहाँ संस्थाहरूलाई अनलाइन शिक्षाको संरचना निर्माण गर्नको लागि LMS को उपयोग अनिवार्य भएको छ ।

सस्तो र लचिलो शिक्षण प्रणाली: नेपालका धेरै उच्च शैक्षिक संस्थामा सीमित भौतिक स्रोत र संरचना छन् । तर श्रोत साधन भरपुर भएका शैक्षिक संस्थाहरुले LMS का माध्यमबाट, संस्थाहरूले कम लागतमा गुणस्तरीय शैक्षिक सेवाहरूको विस्तार गर्न सक्छन् । यसले शिक्षक र विद्यार्थीहरूको समय बचत गर्न मद्दत पुर्याउँछ, जसको कारण यो एउटा रहरको रूपमा पनि देखा परेको छ । विभिन्न क्षेत्रमा लचिलो र अनुकूल शिक्षण प्रणालीको मागले LMS को उपयोगलाई पहिलो प्राथमिकता बनाएको छ ।

LMS को प्रयोग गर्दा देखिने चुनौतीहरू
नेपालका उच्च शैक्षिक संस्थामा LMS को प्रयोगको साथ केही चुनौतीहरू पनि आउँछन्, जसले यसलाई बाध्यताको तुलनामा विकल्प वा रहरको रूपमा हेर्न कठिन बनेको छ । प्रविधिको पहुँच र संरचना, प्रविधीसम्बन्धि शिक्षकहरूको क्षमता अभाव, वित्तीय चुनौतीहरू, विद्यार्थीहरूको डिजिटल पहुँच र साक्षरता जस्ता जटिल चुनौतीहरु देखिएका छन् । नेपालका धेरै शैक्षिक संस्थामा प्रविधिको पहुँच र संरचनाको अभाव छ, जसले LMS प्रयोगमा कठिनाइ र ढिलाई ल्याउँछ । दुर्गम क्षेत्रका सामुदायिक क्याम्पसहरूले वित्तीय र प्राविधिक चुनौतीहरूको कारण LMS को पूरा उपयोग गर्न सक्दैनन् । शिक्षकहरूको प्रविधिमा निपुणता कम छ, र तालिमको अभावले LMS को प्रयोगमा असहजता उत्पन्न गर्छ । वित्तीय चुनौतीहरू, जस्तै सफ्टवेयर र हार्डवेयरको लागत, तथा बिद्यार्थीहरूको डिजिटल साक्षरता र पहुँचको अभावले LMS को प्रभावकारी प्रयोगमा थप कठिनाइहरू निम्त्याउँछन् ।

LMS को प्रयोगको भविष्य र सम्भावना
यद्यपि, विभिन्न चुनौतीहरूको सामना गर्दै, यसले शिक्षाको गुणस्तर र पहुँच सुधार्नमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा नेपालमा LMS को प्रयोगको भविष्य उज्जवल देखिन्छ । । निम्नलिखित पक्षहरूले LMS को वाध्यकारी प्रयोग र भविष्यलाई अझ प्रबल बनाउने सम्भावना राख्दछन्:

सरकारी र संस्थागत पहलहरू: नेपाल सरकारले र UGC ले उच्च शैक्षिक संस्थामा डिजिटल शिक्षा र LMS को प्रयोगलाई प्रोत्साहन गर्न विभिन्न नीति र निर्देशन जारी गरेका छन् । नेपाल सरकारको शिक्षा नीति,२०७६ ले डिजिटल शिक्षामा प्रविधिको उपयोगलाई प्राथमिकता दिँदै अनलाइन शिक्षा र LMS को प्रयोगलाई प्रवर्द्धन गर्ने व्यवस्था गरेको छ। त्यसैगरी सूचना प्रविधि नीति ,२०१५ ले डिजिटल शिक्षाको पहुँच विस्तार गर्न र प्रविधिमा आधारित शिक्षण विधिहरूको विकासका लागि आधार तय गरेको छ। UGC को निर्देशनअनुसार QAA प्रक्रिया पूरा गर्न उच्च शैक्षिक संस्थाहरूले LMS र डिजिटल प्रणालीको प्रयोग अनिवार्य गर्नुपर्ने व्यवस्था छ । यसका साथै, डिजिटलाइजेशन परफरमेन्स ग्रान्टमार्फत उच्च शैक्षिक संस्थाहरूलाई LMS सञ्चालन र ICT संरचना विकासका लागि १८२ सामुदायिक क्याम्पसहरुलाई अनुदान उपलब्ध गराइएको छ । सरकारी तवरबाट स्मार्ट कक्षा, अनलाइन परीक्षा प्रणाली, र डिजिटल पुस्तकालय स्थापना जस्ता सरकारी निर्देशनहरू पनि उच्च शिक्षालाई आधुनिक बनाउने उद्देश्यले अघि बढाइएका छन् । यी निर्देशनहरूले नेपालमा उच्च शिक्षाको डिजिटल रुपान्तरणलाई सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन् ।

डिजिटल शिक्षामा लगानी र विकास नेपालमा डिजिटल शिक्षामा लगानी र विकासका लागि नेपाल सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ मार्फत डिजिटल शिक्षामा लगानी गर्ने योजना अघि सारेको छ । शिक्षा क्षेत्रमा लगानी र प्राविधिक पूर्वाधारको विकास गर्दै नेपाल सरकारले स्मार्ट कक्षाको प्रयोग, डिजिटल पुस्तकालय र अनलाइन परीक्षा प्रणाली जस्ता कदमहरू अघि बढाउँदैछ ।

विद्यार्थीहरूको डिजिटल साक्षरता र प्रवृत्ति विद्यार्थीहरूको डिजिटल साक्षरता र प्रवृत्तिको सन्दर्भमा हेर्ने हो भने नेपालमा करिब १२/१३ वर्ष पुगेपछि बालबालिकाले मोबाइल फोन प्राप्त गर्ने प्रचलन बढ्दो छ यसले विद्यार्थीहरूमा डिजिटल उपकरणहरूको पहुँच र प्रयोगलाई संकेत गर्दछ । LMS र अन्य डिजिटल शिक्षण विधिहरूको प्रयोग मार्फत प्रभावकारिता बढाउँछ ।

निष्कर्ष: नेपालका उच्च शैक्षिक संस्थाहरूमा LMS प्रविधिको प्रयोग बाध्यता र रहरको मिश्रण हो । यसको कार्यान्वयन शैक्षिक गुणवत्ता सुधार र पहुँच विस्तारका लागि अनिवार्य त हो, तर यसको प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक, वित्तीय र तालिमका क्षेत्रमा सुधार आवश्यक छ । उच्च शैक्षिक संस्थाहरूलाई LMS को पूर्ण प्रयोगका लागि आवश्यक पूर्वाधार र प्रशिक्षित जनशक्तिमा लगानी गर्नु अपरिहार्य छ । सरकारी नीतिहरू, संस्थागत पहलहरू, र भविष्यको डिजिटल शिक्षा विकासका कदमहरूले LMS को प्रयोगलाई दीर्घकालीन र प्रभावकारी बनाउँछ ।

यसले शैक्षिक प्रणालीमा दिगो सुधार ल्याउने सम्भावना राख्दछ, जसले आगामी वर्षहरूमा शिक्षा क्षेत्रको गुणस्तरीय परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । UGC नेपालले विश्वबैंकको सहयोगमा प्राप्त अनुदानलाई कार्यन्वयन गर्ने सन्दर्भमा आ.व.२०८१ मा मुलुकभरका करिब १८२ उच्च शैक्षिक संस्थाहरुलाई डिजिटलाइजेशन अनुदान उपलब्ध गराउने सम्झौता गरिसकेको परिप्रेक्ष्यमा सरकारी निकायबाट यस्तै सहुलियतपूर्ण डिजिटल प्रवर्द्धनात्मक कार्यक्रम ल्याउनु जरुरी देखिन्छ ।

(खड्का बेलबारी बहुमुखी क्याम्पस मोरङमा  Assistant Lecturer का रुपमा कार्यरत छिन् ।)

प्रतिकृया दिनुहोस्