भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन निर्देशन दिएकी छन् ।
आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज आयोजित कार्यक्रममा उहाँले साक्षरताविना शिक्षा र शिक्षाविना विकास सम्भव नहुने भएकाले समयसापेक्ष यसको विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिइन् ।
“सरकार एक्लैको प्रयासले निरक्षरता उन्मूलन हुँदैन, सबै सरोकारवालाको सहभागितामा र सहयोगमा सरकारले काम गर्छ । आफ्नै मातृभाषामा सिक्ने अवसर प्रदान गर्न सरकारले प्रतिबद्ध छ, त्यसका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा लाग्नु आवश्यक छ”, मन्त्री भट्टराईले भनिन्।
त्यस अवसरमा उनले प्रौढ महिलालाई कक्षा १० सम्म पढाउने छवटा महिला विद्यालयलाई सम्मान गर्नुभएको थियो । सम्मानित हुने भक्तपुरको आस्था महिला विद्यालय, काठमाडौँ चाबहिलको ज्ञानज्योति महिला विद्यालय, तीनकुनेको उत्प्रेरणा महिला विद्यालय, नयाँ बजारको नमुना महिला विद्यालय र बुटवलको साधना महिला विद्यालय रहेका छन् । यस्तै, ज्ञानज्योति महिला विद्यालयबाट एसइई उत्तीर्ण गरी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत ४३ वर्षीया दिलमाया तामाङलाई केन्द्रले सम्मान गरेको छ ।
कार्यक्रममा शिक्षा सचिव डा. दीपक काफ्ले, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निमित्त महानिर्देशक जयराम अधिकारीलगायतले शुभकामना दिएका थिए । दिवसका अवसरमा केन्द्र परिसरमा वृक्षारोपणसमेत गरिएको थियो ।
साक्षरता अभियानका पाँच दशक
सरकारले अक्षर लेख्न र पढ्न सिकाएर साक्षर बनाउने प्रयास थालेको दशकौँ बितिसकेको छ । तर, तथ्याङ्ककै आधारमा हेर्दा मुलुक पूर्ण साक्षर त के अझै २३.८ प्रतिशत जनता साक्षर हुन सकेका छैनन् । सरकारले अक्षर चिनाउने प्रयास भने जारी राखेको छ । साक्षरता दर सुधारमा क्रमशः उल्लेखनीय प्रगति भइरहेको छ भन्न सकिन्छ ।
अहिलेसम्म ६४ वटा जिल्ला र तीनवटा प्रदेश बागमती, गण्डकी र कोशी साक्षर प्रदेश घोषणा भएका छन् । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश घोषणाको तयारीमा छन् । ७५३ मध्ये ६०० स्थानीय पालिका साक्षर घोषणा भइसकेका छन् । सरकारको तथ्याङ्क भन्छ– मुलुकका ५ वर्ष माथिका ७६.२ प्रतिशत जनसङ्ख्याले अक्षर चिन्न, पढ्न र लेख्न सक्छन् । त्यसैगरी, १५ देखि ६० वर्ष उमेर समूहका पढ्न र लेख्न सक्ने जनसङ्ख्या ८५ प्रतिशत पुगिसकेको छ । सरकारले अबको केही समयमा बाँकी जनसङ्ख्यालाई पनि अक्षर चिनाएर मुलुकलाई साक्षर घोषणा गर्ने तयारी गरेको छ ।
नेपालमा जब पढ्न, कमाउन घरभन्दा बाहिर जाने प्रचलन शुरु भयो । तब सञ्चारको एक मात्रै विकल्प चिठीपत्र हुन गयो । अक्षर लेख्न पढ्न नजाने हालखबर आदानप्रदान नै नहुने अवस्थामा सरकारले साक्षरता अभियानमा जोड दियो । कम्तिमा अक्षर लेख्न पढ्न सिके जनताले चिठीपत्र आदानप्रदान गर्न सक्छन् भन्ने त्यतिबेलाको मान्यता रह्यो । त्यतिबेलाका लागि त्यो सही पनि थियो । तर बदलिँदो समय, सूचना प्रविधिको विकासले भने अब सञ्चारका लागि अक्षर मात्रै चिनेर नपुग्ने अवस्था ल्याइदियो ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार सङ्ख्यामध्ये ७२.९४ प्रतिशत परिवार स्मार्ट मोबाइल फोन प्रयोग गर्छ । त्यस्तै नेपालका ३७.७२ प्रतिशत परिवारले इन्टरनेट प्रयोग गरिरहेका छन् । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार २०८१ असार महिनासम्ममा मोबाइल बैंकिङबाट भुक्तानी गर्ने जनसङ्ख्या २ करोड ४६ लाख ४८ हजार ८४६ पुगिसकेको छ ।
यस्तै इन्टरनेट बैंकिङका ग्राहक १९ लाख १९ हजार ३२२ पुगिसकेको छ । अर्थात् अब अङ्क चिन्दैमा, साधरण हिसाबकिताब जान्दैमा पसलबाट सामान किन्नसमेत कठिनाई हुने अवस्था आएको छ ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगले व्यक्तिगत चिठीपत्र पठाउनेको सङ्ख्या ९९ प्रतिशतसम्म घटेको गोश्वरा हुलाक कार्यालयका सूचना अधिकारी गौतम रिमाल बताउँछन् । अर्थात् अब अक्षर चिन्दैमा वा साक्षर बन्दैमा परिवारका सदस्यसँग खबर आदानप्रदान गर्नसमेत गाह्रोे पर्ने देखिन्छ ।