२०७६ भदौ ६ गते

विद्यार्थी स्वागत र शिक्षाको आगत


 जीतबहादुर शाह


बैशाख लाग्यो । नयाँ वर्ष आरम्भ भयो । नयाँ वर्षसँगै नयाँ शैक्षिक सत्र पनि आरम्भ भयो । अभिभावकहरुको सक्रियता र सल्बलाहट अलि बढेको महसुस हुदैछ । आफ्नो सन्ततीहरुलाई कुन विद्यालयमा भर्ना गर्ने भन्ने विषयमा जानकारी लिदैछन् अभिभावकहरु । यस्तैमा रोल्पामा सरकारी जागीर गर्ने कल्पना म्याडमले पनि नयाँ शैक्षिक सत्रमा आफ्नो छोरी दर्शनालाई आफूलाई पायक पर्ने गरी छोरीको विद्यालय परिवर्तन गर्ने ध्याउन्नमा देखिन्छिन् । छोरीको अगाडि यो प्रस्ताव तेस्र्याएपछि दर्शनाले आफ्नो मम्मी कल्पना म्याडमलाई भन्छिन् – ‘मम्मी मैले पढिरहेको स्कूल म छोड्दिन । यदि मैले मेरो स्कूल छोड्नु नै पर्ने हो भने मलाइ माया गर्ने त्यो स्कूलको सुशीला म्याडमलाई पनि मलाई जहाँ भर्ना गर्ने हो त्यो स्कूलमा सरुवा गरिदिनु पर्छ ।’ दर्शनाले अझै अगाडि थप्छिन् – ‘तपाईलाई के थाहा छ र मामु ? सुशीला म्याडमले मलाई कति माया गर्नु हुन्छ ∕ साँच्ची तपाईले भन्दा पनि धेरै माया गर्नु हुन्छ । मलाई त तपाईको भन्दा पनि सुशीला म्याडमको धेरै माया लाग्छ ।’ छोरीको कुरा सुनेर कल्पना म्याडम भने अवाक भएर  टोल्लाइरहन्छिन् ।


राम्रा शिक्षक खोज्ने मनसाय बोकेर यात्रारम्भ गरेपछि राम्रा शिक्षकहरु बस्तीबस्तीमा भेटिदा रहेछन् । माध्यमिक शिक्षा परीक्षाको अनुगमन गर्ने क्रममा पश्चिम सुर्खेतको बिजौरामा एकरात बास बस्ने अवसर जु¥यो ।  त्यो रातको बसाइमा ममात्र एक्लो थिइन । त्यो क्षेत्रका साथीहरु साथमा हुनुहुन्थ्यो । साथीहरुसँग सँगै रहँदा बस्दा कोठामा एक्लै बस्दाको भन्दा मीठो र रमाइलो अनुभूति भइरहेको थियो । विहान उठेर नित्य कर्म पछि चिया खाएर एक रात बसेको उक्त घरबाट बिदा भएर परीक्षा केन्द्रतिर हिड्ने समयमा त्यो घरका बृद्धबृद्धा बाबाआमालाई ‘हामीलाई बास दिनु भयो त्यसको लागि हजूरहरुलाई धन्यवाद’ भन्न मन लाग्यो र त्यसै गरें । बृद्ध बाबा कान अलि कम सुन्नु हुन्थ्यो, वहाँले सुन्नेगरी अलि ठूलो स्वरले बोलेँ । एकछिन वहाँसँग भलाकुसारी भयो । छुट्टिनैै लाग्दा म नजिकै उभिएका उनकै घरमा डेरा गरी बस्ने माध्यमिक विद्यालय बिजौराका प्राथमिक तहका शिक्षक ओमप्रकाश बास्तोलालाई देखाउदै बृद्ध बाबाले भन्नुभयो – ‘हाम्रा घरमा बस्ने यिनी माष्टरले हाम्रो विद्यालय र हाम्रा विद्यार्थीहरुका निम्ति रातदिन खटेर दुःख गरेका छन् । सकिन्छ भने यिनलाई बढुवा गरिदिनु बाबु ।’


बृद्ध बाबाले भनेको उक्त भनाइ पूरा गर्ने सवालमा मेरो खासै योगदान नहुने भए पनि मैले कोशीस गरौंला भन्दै वहाँबाट छुट्टिए । सोच्दै गएँ, बृद्ध बाबाले गरेको सिफारिसमा केही दम भए झै लाग्यो । अघिल्लो साँझ मसहितको  पाहुनाहरुको झुण्डलाई खानाको ब्यवस्थापन गर्ने काममा पनि उक्त शिक्षकको स्वतस्फूर्त क्रियाशीलता देखेको थिएँ । उनको त्यो क्रियाशिलता देख्दा ममा पनि बृद्ध बाबाले भने झै अघिल्लो साँझ देखि नै नजानिदो तरिकाले उनिप्रति सकारात्मक भाव जागिसकेको थियो । परीक्षा केन्द्रमा जाँदा पनि गेटमा खानतलासी गर्ने क्रममा उनकै सक्रियता देखेँ । तन र मन सँगै राखेर प्रदर्शन भएको उनको सक्रियताले उनलाई तनाव र कष्ट दिइरहेको थिएन बरु मनभरि खुशी र उमङ्ग दिइरहेको थियो जसको सहज अनुमान उनको अनुहार हेर्दा गर्न सकिन्थ्यो । यसरी उक्त शिक्षकको बारेमा बृद्ध बाबाले गरेको सिफारिस देख्दा मलाई अनुभूत भयो, सरकारले सम्मान गर्न नसके पनि समाजमा राम्रा शिक्षकहरुको कदर र सम्मान अझै पनि जिउदै रहेछ ।


मलाई सुशीला म्याडम र बास्तोला सरको महिमा सुनेपछि विद्यार्थी भर्ना एवम् स्वागत अभियानलाई प्रभावकारी बनाउने हो भने यस्तै शिक्षकहरुको आवश्यकता हुन्छ भन्ने महसुस भइरहेको छ । शिक्षक प्रभावशाली नभएर भर्ना अभियान प्रभावशाली हुन सक्दो रहेनछ भन्ने कुराको पनि सशक्त रुपमा महसुस भइरहेको छ । नियम कानून र विधिविधान त बाटो बिराउने र अपराध गर्न हरकत गर्नेहरुका लागि काम लाग्दो रहेछ । दिलदार र सम्बेदनाको सहयोगले काम गर्नेहरुका निम्ति दिलको भाषा ठूलो कुरा हुँदोरहेछ । दिल मिल्यो भने दिलकै निर्देशन र सहयोगमा बग्रेल्ती चुनौतिहरु अवसरमा रुपान्तरण हुँदारहेछन् । दर्शनाले जस्तै विद्यार्थीहरुले पनि सुशीला म्याडम झै दिलदार शिक्षकहरु खोज्दा रहेछन् । समाजका मानिसहरु पनि बास्तोला जस्तै व्यक्तिगत भन्दा पनि समाज र विद्यालयका लागि अहोरात्र खट्ने शिक्षकको सम्मान र आराधना गर्दारहेछन् । विद्यार्थी र समाजले यदि यस्तै शिक्षकहरुको खोजी गर्ने हो भने हामी शिक्षक हुनेहरु त्यस्तो हुन सक्ने कि नसक्ने ? यदि त्यस्तो हुन सक्ने होइन भने शिक्षण पेशा रोज्ने वा नरोज्ने ? यो विषय आज हामी सबैका निम्ति दिन प्रति दिन गम्भीर भएर हाम्रै अगाडि ठिङ्ग उभिए झै लाग्छ ।


अव त स्थानीय तहको निर्वाचन सँगै अन्य क्षेत्रका झै शैक्षिक क्षेत्रका पनि धेरै अधिकार र जिम्मेवारीहरु स्थानीय तहमा हस्तान्तरण हुदैछन् । सरकारले यो गरेन र उ गरेन भनेर पिरलो र पीडा पोख्नेहरुकै घरआँगनमा सरकार उपस्थित हुदैछ । अव त जिल्ला शिक्षा कार्यालयबाट प्राप्त हुने सवै बजेट स्थानीय तहबाटै विद्यालयहरुलाई उपलब्ध हुदैछ । यतिबेला जिल्ला शिक्षा कार्यालयमा विद्यालयका निम्ति यो चाहियो र उ चाहियो भनेर कराउन आउने स्थानीय नेताहरुले स्थानीय तहको निर्वाचन पछि आफैले नै विद्यालयका निम्ति बजेटको ब्यवस्था गर्नेछन् । त्यतिबेला स्थानीय निकायका निम्ति आवश्यक पर्ने हरप्रकारको बजेट एउटै थैलो वा डालोमा राखिएको हुनेछ । उक्त बजेट कुन क्षेत्रमा न्यूनतम कति खर्च गर्ने भन्ने कानून त बन्ला तथापि बजेटको प्रभावकारी उपयोगको विश्लेषण गरी अधिकतम खर्च गर्ने क्षेत्रको पहिचान गरिनेछ । मलाई त लाग्छ, मात्र खर्चका निम्ति त्यतिबेला बजेटको खर्च गरिने छैन । बजेट र कार्यक्रमबाट प्रतिफलको भरपूर मात्रामा अपेक्षा गरिनेछ ।


मैले अपेक्षा गरिरहेको छु, अव त बालबालिका बिनाका बालविकास केन्द्रहरु पनि रहने छैनन् । एउटा विद्यालयमा एउटा भन्दा बढि बालविकास केन्द्र रहनु भनेको अपबाद मानिनेछ । यतिबेला बालबालिका नभए पनि त्यहाँ शिक्षण गर्ने सहयोगी कार्यकर्ताको तलव चाहियो भनेर जिल्ला शिक्षा कार्यालयमा कराउन आउनेहरु नै उक्त तलव दिनु हुदैन भनेर स्थानीय तहमा बहस र पैरवी गर्न थाल्नेछन् । विद्यार्थी नहुने विद्यालयहरु अहिले जस्तो कुनै शिक्षकलाई मर्का पर्छ कि वा कुनै कर्मचारीको जागीर खोसिन्छ कि वा कुनै विब्यसका अध्यक्षको पद फुत्किन्छ कि भनेर रहिरहने छैनन् । त्यस्ता विद्यालयहरुले कि त विद्यार्थी सङ्ख्या बढाएर देखाउनु पर्ने छ कि त भने अर्को विद्यालयमा गाभिने कुरामा सहमत हुनु पर्नेछ, त्यो भन्दा तेश्रो विकल्प हुने छैन । यसका साथै विद्यार्थी भएका ठाउमा शिक्षक नहुने र शिक्षक भएका ठाउमा विद्यार्थी नहुने प्रथाको पूर्णरुपमा अन्त भइ जहाँ विद्यार्थी त्यहाँ शिक्षक हुने गरी बजेट र शिक्षक दरबन्दीको व्यवस्थापन र मिलान गरिनेछ ।


अहिले जस्तो सरकार टाढा भएका कारण सरकारका आँखा छलेर सरकारको बजेटमाथि लामो हात गर्ने प्रबृत्तिहरुको पनि क्रमशः अन्त हुनेछ । शैक्षिक क्षेत्रकै कुरा गर्दा बजेट लिएर विद्यालयको खातामा राखिरहने र दुइचार वर्षपछि मात्रै काम गर्ने प्रथाको पनि पूर्णरुपमा अन्त हुनेछ । जसले काम छिटो गर्छ र जसलाई उक्त कार्यक्रमको अति आवश्यकता छ त्यसले मात्रै बजेट र काम पाउने कुरामा सुनिश्चितता कायम गरिनेछ । यसले शिक्षामा रहेको  अरबौंको बेरुजुलाई न्यूनिकरण गर्न सहयोग मिल्नेछ । कतिपयले साक्षरताका कक्षाहरु सञ्चालनका लागि कार्यक्रम र बजेट लिएर उक्त कक्षाहरु सञ्चालन नगरी बजेट भ्याउने र कार्यक्रमहरु कागजमा सम्पन्न गर्ने परिपाटी पनि अव बाँकी रहने छैन । सवैभन्दा ठूलो कुरा स्थानीय तहमा कार्यक्रम र बजेटप्रति मानिसहरुमा अपनत्वको विकास हुनेछ । यसरी विकास भएको अपनत्वको भावनाले बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर खबरदारी गरिरहनेछ ।


मलाई पूर्ण विश्वास छ, शिक्षकहरु पनि आफ्नो कर्तब्य र जिम्मेवारीप्रति गम्भीर र लगनशील भएर प्रस्तुत हुनेछन् । आजको जस्तो शिक्षण पेशालाई सहायक पेशाको रुपमा ब्यवहार गर्ने र अन्य पेशालाई मुख्य पेशाको रुपमा अपनाउने कतिपय शिक्षकहरु विद्यालयमा त्यतिबेला रहने छैनन् वा रहन हरकत गरे पनि स्थानीय समुदायको दवावका कारण स्थानीय तह त्यस्ता शिक्षकलाई जागीरमा थमाइ राख्न बाध्य हुनेछैन । आफ्नो नैतिकता र निष्ठालाई बेचेर आफ्ना सन्तानहरु संस्थागत विद्यालयमा भर्ना गराउने र आफू भने सामुदायिक विद्यालयमा जागीर गर्ने आजका जस्ता शिक्षक र कर्मचारीहरु त्यतिबेला क्रमशः हट्दै र घट्दै जानेछन् । सरकारी विद्यालयमा जागीर खाएर संस्थागत विद्यालयमा लगानी गर्ने  शिक्षक र कर्मचारीहरुलाई समेत सरकारीमा जागीर खान नैतिक सङ्कटको सिर्जना हुनेछ । मैले भनेका यी सवै परिपाटी मिल्दै गए भने शिक्षामा भइरहेको अहिलेको जस्तो धूत्र्याइपूर्ण राजनीति पनि रहने छैन र अन्ततः  राजनीति विद्यालयको विकास र समुन्नतिका लागि गरिनेछ ।


सवैभन्दा ठूला कुरा त अन्य क्षेत्रमा जस्तै शैक्षिक क्षेत्रमा पनि सेवाग्राही र सेवाप्रदायकहरु सुशासनको अनुभूति गर्न थाल्नेछन् । चोरलाई चौतारो र साधुलाई सुली कतै पनि हुने छैन । विद्यार्थी र समूदायका बीचमा वा–वा कमाएका शिक्षकहरु सम्मानित हुने वातावरणको सिर्जना हुनेछ । यस प्रकारको परिपाटी र पद्धतिले सुशीला म्याडम र बास्तोला जस्ता शिक्षकहरु स्कूल स्कूलमा बढ्दै जानेछन् । त्यतिबेला विद्यार्थी स्वागत एकाध हप्ता र महिनाको लागि सञ्चालन नभइ वर्षैभरि सञ्चालन भइरहने छन् । अहिले जस्तो विद्यार्थीहरु विद्यालयमा भर्ना भएपछि बीचैमा पढाइ पनि छोड्ने छैनन् । किनभने उनिहरुलाई सुशीला म्याडम र वास्तोला सरहरु जस्ता विद्यालयमा भएका शिक्षक शिक्षिकाहरुको मायाले तान्नेछ । अन्तमा, मेरो यो विश्वासलाई व्यवहारमा रुपान्तरण गर्नका लागि सवै सवैमा एकप्रकारको उर्जा र छटपटीको सिर्जना अहिले देखि नै हुदै जाओस । नयाँ वर्षको अवसरमा सवै सवैलाई मेरो यही शुभकामना ।

Comments: