काठमाडौं । सरकार र शिक्षकहरुबीच ९ बुँदे सहमति भएसँगै शिक्षकहरु आन्दोलन स्थगित गर्न तयार भएका छन् । सहमतिसँगैआगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सत्तारुढ दलका प्रमुख सचेतक र शिक्षा समिति सभापतिले प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त प्रतिवद्धतासँगै शिक्षक आन्दोलन स्थगित भएको छ ।
एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले संयुक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । नेपाल शिक्षक महासंघले करिब एक महिनादेखि जारी राखेको आन्दोलन र विगतमा भएका सहमतिलाई ध्यानमा राखेर आफूहरुले विधेयक पारित गर्ने प्रतिवद्धता व्यक्त गरेको संयुक्त प्रतिवद्धता पत्रमा उल्लेख छ ।
‘संसदीय उपसमितिले विधेयक उपर दफाबार छलफल गरी निरन्तर काम गरिरहेको अवस्था छ। यसै सन्दर्भमा नेपाल शिक्षक महासंघसँग भएका सहमति/समझदारीलाई ध्यानमा राख्दै यो विधेयकलाई चालू अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गराउन आ-आफ्नो तहबाट सम्पूर्ण प्रयास गर्न हामी प्रतिवद्ध रहेका छौं,’ संयुक्त प्रतिवद्धता पत्रमा भनिएको छ।
त्यस्तै आन्दोलन फिर्ता लिएर सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई आ-आफ्नो विद्यालयको नियमित शैक्षिक गतिविधिमा फर्कन आह्वान गरिएको छ।
सरकारसँग सहमति भएसँगै शिक्षक महासङ्घले आन्दोलन स्थगित गरेको छ । महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरुले नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि हड्ताल स्थगित गरिएको जनाएको हो।
महासङ्घका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०८१ माघ २० गतेदेखि सुरु भएको आन्दोलन र पछिल्लो चरणमा २०८१ चैत २० देखि काठमाडौं केन्द्रित सडक प्रदर्शन भइरहेको जनाइएको छ। सरकारसँग भएका सहमति र मन्त्रिपरिषदबाट निर्णय भइसकेका केही मागहरु कार्यान्वयन हुने प्रतिबद्धता अनुसार आजको मितिबाट लागू हुने गरी सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको महासङ्घले स्पष्ट पारेको छ।
महासङ्घले विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन तथा परीक्षा सम्बन्धी सम्पूर्ण कार्य यथाशीघ्र पुनः सुरु गर्न सबैलाई अनुरोध गरेको छ। तथापि, तोकिएको समयमा विद्यालय शिक्षा ऐन जारी नभए आन्दोलन पुनः तीव्र बनाइने चेतावनी पनि दिइएको छ।