रारा भ्रमणको क्रममा हामी गाडीमा कालीकोटको बाटो दगुर्दै थियौं । सडक साँघुरो भएको कारण गाडीबाट सडक छेउतिर हेर्दा सडक देखिदैन्थ्यो, बरु बाँदर लड्ने जस्तो भीर देखिन्थ्यो र त्यसपछि धेरै तल बैंशले मात्तिए झै गरी तिला नदी बगिरहेकी देखिन्थिन । गाडीभित्रबाट भीरतिर नजर लगाउँदा समेत हामीलाई हाम्रो आँखाले काम नगरेर रिङ्टा लाग्ला जस्तो हुन्थ्यो र जीउ सिरिङ्ग हुन्थ्यो त्रासले ।
तथापि त्यही भीरमा विद्यालय उमेरका बालबालिकाहरु घाँसी, गुवाला र अन्य विविध भूमिका निर्वाह गर्ने क्रममा हिडिँरहेका देखिन्थे । हिडिँरहेका मात्र होइन दौडिरहेका देखिन्थे । भीरमा दौडिरहेका ती बालबालिकाको बारेमा कुरा गर्दै बाटो काट्ने क्रममा तेज कुमारी म्याडमले भनेका कुरा बिर्सिएको छैन – ‘यी बालबालिका भनेका भीरमा फूलेका लालीगुराँसहरु हुन । हाम्रा बालबालिका भनेका घरको बगैँचामा फुलेका फूलहरु हुन् भने राजधानीका हुनेखानेहरुका घरका बालबालिका भनेका गमलाका फूलहरु हुन् ।’ उहाँले भनेका यी कुराहरु साँच्ची हो जस्तो लाग्यो र अहिले पनि त्यस्तै लागिरहेको छ ।
रारा जाने र फर्कने क्रममा लालीगुराँस जस्ता लाग्ने बालबालिकाहरुसँग साक्षात्कार हुने अवसर पाइला–पाइलामा मिल्यो । राराको छेउमा गएपछि सवारीका निम्ति तैनाथ घोडाहरुलाइ देखेर हामीलाई पनि घोडा चढ्ने रहर लाग्यो । त्यतिबेला विद्यालयहरुमा दशैंतिहारको बिदा भएको कारण त्यहाँ पनि विद्यालय उमेरका छात्र विद्यार्थीहरु सवारीका निम्ति घोडाहरु ल्याएर सशुल्क घोडा चढ्ने मानिसहरु खोजिरहेका थिए । यस्तैमा हामीले विद्यालयमा कक्षा ७ मा अध्ययन गरिरहेका १३–१४ वर्षका जस्ता देखिने एकजना विद्यार्थीसँग कुरा ग¥यौं ।
उनले हामीलाई घोडा चढ्ने तरिका सिकाइ दिएँ । घोडालाई कुदाएर पनि देखाइदिएँ । उनीबाट घोडा चढ्न सिक्ने विषयमा प्रशिक्षण लिइरहेका मध्ये धेरै त विद्यालयका शिक्षक र प्रिन्सीपल थियौं । त्यसमा पनि कतिपय शिक्षक र प्रिन्सीपलका समेत सुपरीवेक्षक थियौं । तथापि सीपको कुरा थियोे । पद र पदसोपानको काम थिएन त्यहाँ । उनले सिकाएका धेरै कुराहरु उनले र हामीले समेत अपेक्षा गरे झैँ गरी हामीले सिक्न सकेनौं । मुश्किल मुश्किलले उनकै सहयोगले घोडाको पिठ्यूमा उक्लन भने सिक्यौं । हाम्रो सिकाइको यो हविगत देखेर उनलाई हामी बुद्दु विद्यार्थी जस्ता लागिरहेका थियौं सायद ।
बाटो र सडकको छेउमा ब्यापारमा खटिएका विद्यार्थीहरु पनि धेरै देख्यौं । कोही स्याउ बेचिरहेका देखिन्थे भने भने कोही ओखर । त्यस्तै कोही सिमी बेचिरहेका देखिन्थे भने कोही जडिबुटी । कालीकोटको पिलीमा एकजना बेलौती बेचिरहेकी स्कूले नानीको फोटो त फेसबुकमा समेत पोष्ट गरेर संसारलाई शेयर गरें मैले ।
धेरैबाट धेरै थरिका कमेण्टहरु आए । समग्रमा कसैले सकारात्मक भने त कसैले नकारात्मक । त्यसरी नै कसैले खुशी ब्यक्त गरे त कसैले दुःख । बाटो हिड्ने क्रममा एक विहान एउटा चिया पसलमा हामीलाई जाडो भाग्ने गरी मीठो र तातो तातो चिया पकाएर दिने नानीलाई सोधेपछि थाहा भयो, उनले कक्षा ९ मा अध्ययन गर्ने विद्यालयमा पुग्न उनको घरबाट अढाइ घण्टा पैदल हिड्नु पर्दोरहेछ ।
बाटोभरि यस्तै लालिगुराँसजस्ता लाग्ने विद्यार्थीहरुसँग साक्षात्कार हुदै गर्दा यो मनमा अब्दुल कलामको भनाइ याद आयो – ‘कक्षाकोठाका अन्तिम बेञ्चहरुमा पनि देशका केही तीक्ष्ण मष्तिष्कहरु भेटाउन सकिन्छ ।’ रारा यात्राको क्रममा बाटो भरि भेटिएका यी स्कूले बालबालिकालाई कक्षाकोठाको अन्तिम बेञ्चमा भेटिएका तीक्ष्म मष्तिष्कका विद्यार्थीहरु भनेर उपमा दिन मन लाग्यो ।
राराको यात्रा टुङ्गिए पछि मैले यात्राको क्रममा छलफलमा आएका बगैँचाका फूल र गमलाका फूलहरु भनेर उपमा प्राप्त विद्यार्थीहरुलाई पनि सम्झिएँ । उनीहरुले गर्ने र उनीहरुबाट अपेक्षित क्रियाकलापहरुको बारेमा पनि सम्झिएँ । हाम्रा कतिपय बालबालिकाका अभिभावकहरुले माया गर्ने नाममा त्यस्ता बालबालिकालाई १३–१४ वर्षको उमेरसम्म पनि आफैले खाना खुवाइदिएका कुराहरु पनि सम्झें । त्यस्ता बालबालिकालाई अलिकति पनि पैदल हिड्न नदिएर गेटमा गाडी आएर विद्यालय लैजाने सन्दर्भहरु पनि सम्झें । तुलना गरें ।
रारा यात्राको क्रममा भेटिएका भीरमा दौडने बालबालिका र शहरमा भेटिएका एक पाइला पनि पैदल हिड्न नपर्ने बालबालिकाको बीचमा । आफैले आयआर्जन गरेर खाने बालबालिका र उमेर छिप्पिसक्दा पनि तयारी खाना समेत अरुले खुवाइदिनु पर्ने बालबालिकाको बीचमा । को हो त स्वावलम्बी र आत्मनिर्भर ? को हो त यो देशका निम्ति काम लाग्ने असल नागरिक ? यस्तै दृष्टान्तलाई नियाल्दा हाम्रो शिक्षा, सोच र कर्ममा कतै त्रुटी त छैन भनेर घोत्लिन समेत बाध्य भएको छ यो पङितकार ।
जोन एडम्सले भनेका छन् – ‘शिक्षा विशेष गरी दुई प्रकारका छन् – ‘एउटाले जीवन कसरी बनाउने (How to make living) भन्ने तर्फ निर्देश गर्दछ भने अर्कोले कसरी बाँच्ने(How to live) भन्ने तर्फ निर्देश गर्दछ ।’ मलाई त लाग्यो, हामीले भनेका भीरका लालीगुराँस जस्ता लाग्ने बालबालिकाले जीवन कस्तो बनाउने भन्ने बारेमा सोच्नै भ्याएनन् कहिल्यै र कसैले यो बारेमा सिकाउन समेत भ्याएनन् ।
उनीहरुले कसरी बाँच्ने भन्ने बारेमा मात्रै सोच्न र तदनुसारका जीवकोपार्जनका काम गर्न भ्याए । त्यसैले त कन्फुसियसले भने जस्तै सिद्धान्त बिनाको उनीहरुको सिकाइ खेर गइरहेको श्रमजस्तो भयो र भइरहेको छ ।
साँच्ची, उनीहरुले घोडा चढ्न सिक्ने क्रममा यसलाई यसका सिद्धान्त र विश्वबजारसँग जोडेर सिकाउन सकेको भए उनीहरुको जीवन सिकाइको विशेष उचाइमा पुग्न फेरि अर्को कुनै विद्यालयमा धाउनु पर्दैनथ्यो होला । बाँदर लड्ने भीरमा दौडिरहेका बालबालिकालाई यसको तरिका, सिद्धान्त र उपादेयताको बारेमा थप कुरा सिकाउनका लागि कसैले हिक्मत गरेको भए सायद उनिहरु भीरमा दौडदा दौडदै पनि आफ्नो जीवनको उत्तम बाटो कोर्न सक्थे होला । अफसोच त्यसो गर्न हाम्रो शिक्षाले सकिरहेको छैन ।
हाम्रो शिक्षाले विद्यार्थीको दिमागमा अक्षर, अंक र संकेतहरुको संख्या बढाउनुलाई नै आफ्नो मक्सद बनाए झैँ महसुस हुन्छ । उनीहरु कसैले तयार पारेको खाना समेत राम्रोसँग खान जान्दैनन् तथापि कसैले तयार गरेका कुराहरु भने किताबको सहयोगले दिमागमा स्टोरेज गर्न माहिर हुन्छन् । हामी त्यसैलाई गुणस्तरीय शिक्षा भनेर हवाला दिइरहेका छौं । त्यसैले त हाम्रा उत्पादनहरु स्वीमीङमा विद्यावारिधी त गर्दछन् तर पौडि खेल्न नजानेका कारण नदी र तलाउमा डुवेर मर्दछन् । हाम्रा उत्पादनहरु साहित्यमा विद्यावारिधी त गर्दछन् तर सिर्जनाको हिसावले भने सून्य हुन्छन उनीहरु ।
हाम्रा उत्पादनहरु बाणिज्य शास्त्रमा उत्कृष्ठ अंक त पाउँछन् तर जीविकोपार्जन र जागिरका लागि भने नेता र शक्तिमा भएकाहरुको पछि पछि धाउन थाल्छन् । एकातिर हाम्रा उत्पादनको यस्तो विजोग छ भने अर्को तर्फ कसैको क्षमता त छ तर उसँग ब्यवस्थित ज्ञान, सीप र त्यसलाई वैधता प्रदान गर्ने सर्टिफिकेटको अभाव छ । कारण स्पष्ट छ – सिकाइलाई सिद्धान्त र व्यवहारसँग परिचित र अन्तर्घुलन गराउन सकिएको छैन ।
सिकाइलाई ब्यवहारसँग जोड्नु जति आवश्यक छ र सिकाइलाई नियम र सिद्धान्तसँग जोड्नु पनि त्यत्तिकै आवश्यक छ । विशेषगरी सानो उमेरका बालबालिकाहरुलाई किताबका लाइनहरु घोकाउनु भन्दा ब्यावहारिक पक्ष तर्फ डो¥याउन सक्यौं भने उनीहरुको जीवनमा एउटा छुट्टै उर्जा र पाइन आउने गर्दछ । बालबालिकाहरुको लजिकल मष्तिष्क (बाँया मष्तिष्क) लाई भन्दा अनुभूतिजन्य अर्थात फिलिङ मष्तिष्क (दाँया मष्तिष्क) लाई एक्टिभ गराउनु आवश्यक हुन्छ । दृष्टान्तको रुपमा भन्नु पर्दा रेडियमको आविष्कारक म्याडम क्यूरीले आफ्ना छोरीहरुलाई घोक्ने र कण्ठ गर्ने कक्षाहरुबाट निकालेर ब्यावहारिक शिक्षा अर्थात रुख चढ्ने, पहाड चढ्ने, घोडा चढ्ने, प्रयोगशालामा गएर प्रयोग गर्ने, इच्छा भए त्यसको बारेमा लेख्ने, इच्छा नभए नलेख्ने आदि क्रियाकलापमा संलग्न गराउदै अगाडि बढाएकी थिइन । अन्ततः उनको एउटी छोरीले नोवेल पुरष्कार हात पार्न सफल भइन भने अर्की छोरी विश्वप्रसिद्ध लेखिका बनिन् ।
शिक्षालाई जीवन र जगतसँग जोड्नुको विकल्प छैन । यसका लागि शिक्षा र सिकाइमा प्रयोग र सिद्धान्तलाई उपयुक्त भार दिएर शिक्षण सिकाइ क्रियाकलापहरु सञ्चालन गर्न सक्नुपर्दछ । धेरै मुलुकहरुले यस प्रकारबाट शिक्षण सिकाइ क्रियाकलापहरु सञ्चालन गर्ने कामको थालनी गरिसकेका छन् । टेक्निकल एजुकेशन तर्फ हाम्रो देशमा पनि प्रयोगात्मक पक्षले प्राथमिकता पाएको त छ । साधारण शिक्षामा भने यसले त्यति प्राथमिकता नपाएको अवस्था छ । शिक्षामा यसलाई गरेर सिक्ने (Learning by doing) भनेर पनि चिनिन्छ । शैक्षणिक विधिको हिसावले यो विधि आगमन विधि (Inductive method) (Inductive Approach) सँग सम्बन्धित छ । यो विधि व्यवहारसँग सम्बन्धित छ र जानेका कुराहरुसँग सम्बन्धित छ । यसले गर्दा सिकाइलाई रोजक, अनुभूतिजन्य, सरल र अर्थपूर्ण बनाउन सहयोग गर्दछ ।
समग्रमा हाम्रो शिक्षालाई प्रभावकारी बनाउनका लागि सिकाइका दुईटा पाटाहरु – सिद्धान्त र ब्यवहारलाई एकैठाउमा जोड्नु आवश्यक छ । रारा तालको छेउमा घोडा चढ्न सिकाउने स्कूले बालकको सीपलाई पनि विद्यालय र विश्वविद्यालयको शिक्षासँग फ्यूजन गरेर हाम्रो शिक्षाले सम्मान गर्न सक्नुपर्दछ भने शहरतिर मौलाएको किताबी शिक्षालाई पनि प्राजेक्ट कार्य, अनुभूति जन्य क्रियाकलाप र प्रयोगात्मक कार्यसँग जोडेर सकेसम्म ब्यावहारिक र जीवन सापेक्ष बनाउनु आवश्यक छ ।
शिक्षा बाँच्नका लागि त चाहिनु पर्छ नै । यसलाई सिद्धान्त र ब्यवहारको बीचमा उचित सन्तुलन गरेर अगाडि बढाउन सकियो भने जीवन कसरी असल बनाउने भन्ने सवालमा समेत शिक्षा र सिकाइले विशेष योगदान गर्न सक्छ भन्ने लाग्छ । त्यसो भयो भने मलाइ त विश्वास छ, विद्यालय र विश्वविद्यालयले गरेका उत्पादनहरु चाकरी र जीहजूरीतिर नलागेर देश र समाज निर्माणको बाटोमा उत्साहपूर्वक लाग्नेछन् र त्यही दिनदेखि परिश्रमी हात र सिर्जनशील मष्तिष्कहरुलाई अपमान गर्ने संस्कारको पनि दाहसंस्कार हुनेछ । सबैलाई चेतना भया ।