जसले जे ध्येयले विद्यालय स्थापना गरे पनि अन्ततः विद्यालयको स्थापना विद्यार्थीहरुका निम्ति गरिन्छ । अर्को शब्दमा भन्नु पर्दा विद्यालय भनेको विद्यार्थीहरुको हो । विद्यालय अरु नभए पनि बाँच्न सक्छ तर विद्यार्थी भएनन् भने बाँच्न सक्दैन । त्यही भएर नै विद्यार्थी नहुँदा कतिपय विद्यालयहरु बन्द हुन्छन् वा अन्यत्र गाभिन्छन् । त्यसैले पनि विद्यार्थीहरु विद्यालयका निम्ति प्रथम उपभोक्ता हुन् । यही कुरालाई मध्यनजर राखी घुमफिर वा जागीर खाने सिलसिलामा विद्यालयतिर जानुपर्दा मलाई विद्यार्थीहरुसँग भलाकुसारी गर्नु प्रथम आवश्यकता जस्तो लाग्छ । आवश्यकता मात्र होइन त्यसको छुट्टै आनन्द हुन्छ । फोटो हेरेर रमाएको भन्दा सम्बन्धित स्थललाई नै अवलोकन गर्दै रमाएको जस्तो । विषादी मिसाएको खान्की भन्दा अर्गानिक खान्की खाएजस्तो । पसलमा राखेको भन्दा बारीको रुखमै चढी आफैले टिपी खाएको फलफूल जस्तो । सेकेण्ड हयाण्ड भन्दा फष्ट हयाण्ड खरिद गर्दा पनि प्राप्त भएको सस्तो र गुणस्तरीय सामान जस्तो ।
एकपटक सुर्खेतको अलि दुर्गममा रहेको माध्यमिक विद्यालयमा गएर कक्षा ८ का विद्यार्थीहरुसँग गएर गरिएको भलाकुसारी यो मनले अझै बिर्सिएको छैन । कक्षामा गएर सर्वप्रथम त मैले आफ्नो परिचय दिएँ । त्यसपछि उनीहरुका भावनाहरु छिमल्नतिर लागेें । उनीहरुका कुरा सुनेर राम्रा कुराका लागि बधाइ र शुभकामना दिएँ । समस्या र असहजताका लागि धैर्यताका साथ सामना गरेर अघि बढ्न उत्साह दिने काम पनि गरें । अन्तमा उनीहरुलाई आफ्नो विद्यालयका मन पर्ने र मन नपर्ने कुराहरु बूँदागत रुपमा लेखेर दिनका लागि अनुरोध गरें । नाम लेख्नु पर्दैन पनि भनें । करिव दश मिनेटमा सबैले आफ्नो कपिको एउटा पानामा लेखेको कुरा पाना च्यातेर मलाई बुझाए । अन्य कुराको अलावा धेरै विद्यार्थीहरुले आफूलाई मन नपर्ने कुरामा केही शिक्षकहरुले क्लासमा अध्यापन गर्न आउदा समेत मध्यपान गरेर आउछन् भन्ने कुरा समेत लेखेका रहेछन् । उक्त कुरा पढेपछि मैले त्यहाँका सबै शिक्षकहरुसँग टिफिन टाइममा बसेर यो विषयमा कुरा गरें । कतिपयले यो कुरा होइन पनि भनें । मसँग फष्ट हयाण्ड डकुमेण्ट थियो । अन्ततः उनीहरुले हो नभनी धरै पाएनन् ।
कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा प्रतिनिधिमूलक किसिमले मुलुकभरिबाट विद्यार्थीहरु सहभागी हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको भर्चुअल भेलामा पनि त्यस्तै भयो । भेलामा सबै जिल्लाका विद्यार्थीहरु उपस्थित देखिन्थे । विद्यार्थीहरुका अलावा केही शिक्षक, केही अभिभावक र केही मजस्ता शिक्षामा चासो राख्नेहरुको पनि उपस्थिति थियो । सामान्य औपचारिकता पछि विचारहरु अभिव्यक्त गर्ने सवालमा भने विद्यार्थीहरुले मात्र अवसर पाए । मुलुकभरकै अधिकांस विद्यार्थीहरुले कोर्स पूरा भएको छैन । पहिले कोर्स पूरा गरौं अनि परीक्षाका कुरा गरौं भन्ने कुरालाई जोड दिएर आफ्ना विचारहरु राखे । कतिपय विद्यालयहरुले कोर्स पूरा गर्ने नाममा शिक्षकहरुले विषयवस्तुको बारेमा पर्याप्त अभ्यास र क्रियाकलाप नगराएर पाठहरु दौडाएको वास्तविकतालाई पनि अनावरण गरे । सुर्खेतकी विदूषी बम लगायत धेरै विद्यार्थीहरुले कोर्स नसकिएको र अललाइन क्लास पनि प्रभावकारी नभएको कुरा अभिव्यक्त गरे । आफू आफ्नो घरभन्दा माथि डाँडामा आएर डाटामार्फत भेलामा सहभागी भएको कुरा उल्लेख गर्दै बझाङका मनिष बोहोराले कुनै पनि विषयको दुई–तीन एकाइभन्दा अघि कोर्स नबढेको वास्तविकताको उजागर गरे ।
कास्कीकी रिया बराल, सप्तरीकी मोनिका कार्की, जुम्लाकी प्रतिमा शाह र डोटीका किरण धामी लगायत अधिकांश विद्यार्थीहरुले गतवर्षमा गरिएको आन्तरिक मूल्याङ्कन र चालिस अङकको लिखित परीक्षा प्रति आपत्ति जनाउदै यो पटक त्यसो नगर्न अनुरोध गरे । उनीहरुको भनाइ थियो, कोरोना सर्ने भए चालीस अङकको परीक्षा लिदा पनि सर्छ र सय अङ्कको लिदा पनि सर्छ । त्यसैले चालिस अङकको होइन कि पाठ्यक्रमले तोकेकै अङकको लिनु पर्दछ । भेलामा सहभागी सम्पूर्ण विद्यार्थीले अनलाइन परीक्षामा असहमत हुदै भनेका थिए –‘इन्टरनेटको सुविधा सबैतिर छैन, त्यसैले कसैले अनलाइनबाट परीक्षा दिने र कसैले भौतिक उपस्थितिमा परीक्षा दिने कार्यले हामीले प्राप्त गर्ने सर्टिफिकेटमै प्रश्न उब्जिन्छ । अर्को कुरा भनेको अनलाइन परीक्षालाई निष्पक्ष बनाउन पनि त्यत्तिकै कठिन छ । जोसँग पर्याप्त सन्दर्भ सामग्री र पढेलेखेका आफन्तहरु छन् उसलाई परीक्षा सजिलो हुन्छ भने त्यो बाहेककालाई परीक्षा कठिन भइदिन्छ ।’
काडमाण्डौंका कल्याण खरेलले भने अरुको भन्दा फरक विचार राखे । उनले भनेका थिए – ‘पठनपाठन नगरेर परीक्षा लिने हो भने परीक्षा लिनुको खासै अर्थ छैन, त्यसैले आन्तरिक मूल्याङकन गरेर सर्टिफिकेट दिए हुन्छ ।’ धेरैले होमसेन्टरमै परीक्षा दिने व्यवस्था गरिनु राम्रो हुन्छ भन्दै गर्दा काठमाण्डौंकी अंशु भण्डारीको विचार अरुभन्दा फरक थियो । उनले भनेकी थिइन् – ‘विद्यालयका आन्तरिक परीक्षा मर्यादित तरिकाले सञ्चालन गर्ने हाम्रा विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डको वार्षिक परीक्षा भनेपछि भद्रगोल गर्ने परिपाटी छ । त्यसैले परीक्षा होमसेन्टरमा आधारित हुनु हुदैन ।’ यससम्बन्धमा खोटाङकी जानुका विष्ट, रसुवाका रोशन अर्याल र नवलपरासीकी शर्मिला लगायत केही विद्यार्थीको भनाइ यस्तो रहेको थियो – ‘होमसेन्टर नहुने गरी आफ्नै वडाभित्रका विद्यालयहरुको बीचमा सकेसम्म घरबाटै भ्याउने गरी परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरेमा कोरोनाको सङक्रमण वडाभन्दा बाहिर नाघेर जाने सम्भावना पनि हुदैन र परीक्षा पनि मर्यादित हुन्छ ।’
मोरङका शुभम कटुवाल लगायत केही विद्यार्थीहरुले आफ्ना भनाइ यसरी पनि राखेका थिए – ‘समय मिलाएर पढाइ पनि गरौं । कोर्स पनि पूरा गरौंं र परीक्षा पनि तोकिएको मापदण्डमा सानदारका साथ सञ्चालन गरौं । किन कि हामीलाई कोरोना ब्याच भनेर कसैले पनि हेला गर्ने मौका नपाओस् ।’ कपिलबस्तुका रोशन लगायत धेरै विद्यार्थीहरुले ‘हतार गरेर परीक्षा गर्नु हुदैन । विद्यार्थीहरुलाई भ्याक्सीन दिनुपर्दछ, परीक्षाको अवधिमा उनीहरुको पिसिआर टेष्ट गरिनु पर्दछ र सुरक्षाका मापदण्ड प्रभावकारी रुपमा अवलम्बन गरिनुपर्दछ । परीक्षाको कारणले कसैले पनि कोरोनाको सिकार हुने स्थिति हुनुहुदैन’ भन्नेजस्ता विचार पनि सघन रुपले राखेका थिए । यस्तैमा रुपन्देहीकी स्नेहा ज्ञवाली लगायत अधिकांश विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्ड प्रति भरविश्वास गर्दै हामी विश्वस्त छौं कि हाम्रो निम्ति राष्ट्रिय परीक्षा बोर्डले छिटोभन्दा छिटो उपयुक्त निर्णय गरी हामीलाई जानकारी दिनेछ । परीक्षा कसरी सञ्चालन हुने भन्ने कुराको निश्चित नहँुदा हामी विद्यार्थीहरु मनोवैज्ञानिक रुपले तनावमा बाँचिरहेका छौं ।’
हामीमध्ये धेरैले विद्यार्थीहरुलाई अपरिपक्व र आलाकाँचा भनेर निर्णयका सन्दर्भमा सहभागी नगराउने स्वभाव छ । तथापि उनीहरुका विचारहरु अध्ययन गर्दा लाग्छ उनीहरु धेरै परिपक्व छन्, उनीहरुका विचारहरु कसैबाट निर्देशित नभई अर्गानिक र मौलिक प्रकारका छन् । मुलुकको उच्च ओहोदामा बसेका विद्वान भनिएकाहरुले समेत आफ्नो र आफूलाई नियुक्त गर्नेको हित हुने गरी आफ्ना विचारहरु कथाले मागेअनुसार अभिव्यक्त गर्दछन् । त्यसकारण त हाम्रो शिक्षा कुहिरोको काग भएको हो । विद्यार्थीहरुका विचार भने बस्तुगत छन् । शिक्षकहरुले समेत आफ्ना कमीकमजोरी बाहिर नआवस् भनेर होला, कोर्स पूरा नभएको कुरा उठाएको देखिदैन जब कि त्यही कुरा विद्यार्थीहरुले प्राथमिकताका साथ उठाए । सिकाउने कुराको पिरलो नगर्ने, केवल परीक्षाको मात्र पिरलो गर्ने भनेर धेरै विद्यार्थीहरुले आफ्ना पीडा व्यक्त गर्दा विद्यार्थीको त्यो पीडाले मलाई समेत मर्माहत बनाएको थियो ।
सारमा हाम्रो देशमा विद्यालयहरु भौतिक हिसावले सञ्चालन नभएको अवस्थामा सञ्चालन हुने अनलाइन कक्षाहरु प्रभावकारी नभएको स्पष्ट भयो । यसको लागि पूर्वाधार नभएको व्यहोरा पनि स्पष्ट भयो । सिक्ने र सिकाउने कामलाई भन्दा पनि शिक्षक, समाज र समग्र मुलुकले परीक्षालाई महत्व दिएको व्यहोरा पनि स्पष्ट भयो । अर्को कुरा, शिक्षकहरु विद्यार्थीहरुको सिकाइका निम्ति हुनु पर्ने जति जिम्मेवार हुन नसकेको व्यहोरा पनि स्पष्ट भयो । मलाइ त लाग्छ, बिरामीको निम्ति समर्पित हुने डाक्टरको इज्जत र सम्मान जस्तो छ त्यस्तै इज्जत र सम्मान शिक्षकहरुको पनि छ तर त्यसका लागि डाक्टर बिरामीप्रति समर्पित भएजस्तै शिक्षक पनि विद्यार्थीप्रति समर्पित हुन सक्नुपर्दछ । अन्यथा बिरामीप्रति समर्पित नहुने डाक्टरले समेत कुटाइ खाएको व्यहोरा पनि प्रष्टै छ । कामको सम्मान गर्ने संस्कार पातलिए पनि निमिट्यान्नै भने नभएको कुरा सत्य हो । हामी अरुलाई शिक्षा दिनेहरुले यसैमा विश्वास गर्दै जीवन र जगतलाई उर्वर बनाउन सक्नुपर्दछ भन्ने लाग्दछ ।
विद्यार्थीहरुका उल्लिखित विचारहरुको कदर गर्दै राष्ट्रिय परीक्षा बोर्डले कोविद १९ को सङ्क्रमण घटे लगत्तै परीक्षा सञ्चालनका लागि उचित निकास निकाली परीक्षासम्बन्धी आफ्ना कामकार्वाहीहरु अघि बढाउनु पर्ने देखिन्छ । परीक्षा सञ्चालन पूर्वको डेढदुई महिनाको अवधिमा विद्यार्थीहरुसँग व्यक्तिगत सम्पर्क गरेर भएपनि उनीहरुलाई विषयगत शिक्षकहरुले शैक्षिक परामर्श दिने काममा कञ्जुस्याई गर्नु हुदैन । परिश्रमी, इमान्दार र जेहेन्दार विद्याथीहरुलाई उत्साहित हुने गरी परीक्षासँग सम्बन्धित निर्णयहरु गरिनु पर्दछ । सरकारका बैठकहरु सञ्चालन भए झै हाम्रा परीक्षाहरु पनि सुरक्षाका मापदण्डहरु अपनाउदै होम सेन्टर नपर्ने गरी एक विद्यालय एक परीक्षा केन्द्र बनाएर पनि परीक्षा सञ्चालन गर्न सकिन्छ । त्यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा विद्यार्थीहरुको भावनाप्रति एकाकार भएर प्राथमिकताका साथ शिक्षा र परीक्षालाई हेर्ने सरकारको नजर हुनु पर्दछ । मलाई त लाग्छ, विद्यार्थीका उल्लिखित विचारहरु एसइइ र एसएलसी दुबै परीक्षाका निम्ति समेत उत्तिकै लाभदायक भएको कुरा समेत यो पङ्क्तिकारलाई महसुस भएको छ । सबैलाई चेतना भया ।