यस पटकलाई बाई–बाई बर्दिया

Avatar photo

Byएजुकेशन पाटी

२४ जेष्ठ २०७७, शनिबार

जागीरको क्रममा जिल्ला शिक्षा कार्यालय, बर्दियामा २०७१ साल साउन २७ गते हाजिर भएको थिएँ र त्यो क्रम २०७३ असोज ३० गतेसम्म कायम रह्यो । यसरी हिसाब गर्दा यो पङ्तिकारलाई २६ महिना ४ दिन बसेर काम गर्ने अवसर मिलेछ बर्दियामा । म बर्दिया छँदाछँदै शिक्षामन्त्रीसमेत ३ जना (चित्रलेखा यादव, गिरिराजमणि पोख्रेल र हालका धनीराम पौडेल) भइसकेको अवस्था छ । बर्दियामा शिक्षा क्षेत्रमा प्रभाव पार्ने पदाधिकारीहरुमध्ये यो अवधिमा ४ जना प्रमुख जिल्ला अधिकारी (तेजप्रसाद पौडेल, नरहरि बराल, विनोदबहादुर कुँवर, हालका विष्णुबहादुर थापा) र ३ जना स्थानीय विकास अधिकारीहरु (शिवप्रसाद रेग्मी, डिल्लीराम सिग्देल र हालका तेजराज शर्मा) ले काम गरेको अवस्था छ । यसरी विश्लेषण गर्दा मलाई अनुभूति भइरहेको छ, बर्दियामा मैले लामै समय काम गर्ने अवसर पाएको हुँ । यद्यपि, मेरो जुम्लाको र दाङको बसाइ यो भन्दा पनि अझै लामो भएको थियो । बर्दियाको कार्यालयको अभिलेखमा हेर्दा ३८ औं जिल्ला शिक्षा अधिकारीको रुपमा दर्ज भएपनि लामो समय बस्नेमा मेरो नाम तेस्रोमा पर्दो रहेछ ।

म हाजिर भएको तेस्रो दिन जिल्ला विकास समितिमा अघिल्लो वर्षका कार्यक्रमहरुको समीक्षा बैठक थियो । म सहभागी भएर अघिल्लो वर्ष भए गरेका कार्यक्रमहरुको बारेमा प्रस्तुति गर्ने क्रममा भावी कार्यक्रमहरुको संक्षिप्त जानकारी पनि पेश गरेको थिएँ । त्यस्ता जानकारीहरुमा सिनियर शिक्षकलाई प्रअ बनाउने, एसएलसी परीक्षालाई मर्यादित गराउने, शिक्षक दरबन्दी मिलान गर्ने लगायतका कार्यहरु थिए । मैले प्रस्तुत गरेका आगामी कार्यक्रमहरु सुनेर उपस्थिति राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले सफलताको लागि शुभकामना दिएका थिए । त्यसैको भोलिपल्ट बिहान ८ नबज्दै घाम लागिरहेकै अवस्थामा बाढी आइपुग्यो । त्यसपछि त मानिसहरु हताहत भएका दुःखद समाचारहरु सुनिन थाले । एकहप्तासम्म जिल्ला शिक्षा कार्यालय समेत बाढी पीडितहरु ओत लाग्ने थलो भयो । त्यो बाढीले अन्य जिल्ला लगायत बर्दियामा पनि धेरै क्षति पु¥यायो । बर्दियामा मात्रै ५ जना विद्यार्थीहरुले बाढीका कारणले ज्यान गुमाए, १४ हजार विद्यार्थीहरुले कापीकिताव र लगाउने लुगा गुमाए र करीव एकसय विद्यालयहरुमा बाढीबाट आंशिक क्षति भयो ।

बाढीबाट प्रभावित विद्यालय र विद्यार्थीहरुको उद्धार र व्यवस्थापन गर्ने कार्यलाई निरन्तर जारी राख्दै जिल्लाको शैक्षिक व्यवस्थापनमा समेत केही पाइलाहरु अघि बढाउने कामहरु भए । यसका लागि भाद्र ४ गते सम्पन्न स्रोतव्यक्तिहरुको बैठकमा स्रोतव्यक्तिहरुसँग १५ बूँदे करार सम्झौता समेत गरियो । यसैको आधारमा भाद्रकै २० गते बासगढीमा सम्पन्न माध्यमिक विद्यालयस्तरीय प्रधानाध्यापक बैठकमा १५ बूँदे निर्णय कार्यान्वयनका लागि प्रतिबद्धता जाहेर गरियो । यसरी जाहेर गरिएका प्रतिबद्धताहरुमा विगतको भन्दा चालु वर्षमा १० प्रतिसतले एसएलसी लगायत अन्य कक्षाको नतिजा वृद्धि गर्ने, शैक्षिक उपलब्धिका सुधारका लागि विद्यालयहरुमा विद्यार्थी, शिक्षक र अभिभावकको बीचमा अन्तक्र्रिया सञ्चालन गर्ने, आ–आफ्नोे सेवाक्षेत्रका १५ देखि ६० वर्षका निरक्षरहरुलाई साक्षर बनाउने, विद्यालयका कार्यक्रमहरुमा युवायुवतीको मायाप्रेमसँग सम्बन्धित गीतहरुको प्रयोगलाई निषेध गर्ने, विद्यालयलाई हरियाली बनाउने, सिनियर शिक्षकलाई प्रअ बनाउने कार्यलाई प्राथमिकता दिने जस्ता कुराहरु प्रमुख रुपमा थिए । मेरो कार्यकाल यिनै प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्ने गराउने सवालमा सक्रिय र क्रियाशील हुँदाहुँदै पूरा भएको पत्तै भएन ।

शैक्षिक उपलब्धिमा बढोत्तरीका निम्ति सञ्चालन गरिएका अन्तक्र्रियाहरु अविस्मरणीय भए । एउटै थलोमा विद्यार्थीहरु, तिनका अभिभावकहरु र तिनका शिक्षकहरु सँगै बसेर शैक्षिक उपलब्धि उकास्ने क्रममा कहाँ कसबाट केकस्ता कमीकमजोरी भए त भन्दै समीक्षा गर्दै जाँदा कतिपय अन्तक्र्रियामा त विद्यार्थीहरु भावविह्वल हँुदै भक्कानिएर रोए । कतिपय ठाउमा त्यही अवस्था अभिभावकहरुको पनि देखियो । अन्तक्र्रिया पछि विद्यार्थीहरुमा सकारात्मक परिवर्तन आएको जानकारीहरु पनि प्राप्त भए । फेल हुने कुरामा कुनै द्विविधा नभएका बासगढीका एकजना विद्यार्थी अन्तक्र्रिया पछि पढाइमा कस्सिएर जुट्दा प्रथम श्रेणीमा उत्तीर्ण भएकोले खुसियालीमा बाबु र छोरा मिठाइ ल्याएर मेरो कार्यकक्षमा आएको सम्झदा कता–कता गर्वको अनुभूति हुन्छ । धेरै विद्यार्थीहरुले अन्तक्र्रिया पछि आफ्नोे सिकाइको सुधारका लागि आफैले लक्ष्य निर्माण गरी अघि बढे । पढाइ मेरा लागि हो र मैले जे गर्छु त्यो सवै मेरो निम्ति गर्छु भन्ने कुराको बोध भएपछि धेरै विद्यार्थीहरुमा अन्तक्र्रिया पछि परिवर्तनको आभाहरु देखिदै गए र त्यसको सकारात्मक प्रभाव पछिल्ला वर्षका नतिजाहरुमा पनि क्रमशः प्रतिविम्बित भएको देखियो ।

बर्दियालाई साक्षर घोषणा गर्ने कार्य पनि कम चुनौतीपूर्ण थिएन । विद्यार्थीहरुबाट २०७२ सालको भाद्रमा साक्षरताको सर्वेक्षण गर्दा १५ देखि ६० वर्षका मानिसहरु ४७ हजार निरक्षर भएको देखियो । तत्पश्चात् विद्यालयहरु आ–आफ्नो विद्यार्थीहरुलाई परिचालन गरेर आ–आफ्नो निरक्षर अभिभावकहरुलाई साक्षर बनाउने अभियानमा जुटे । विद्यालयहरुले अभिभावकहरु निरक्षर भए छात्रवृत्तिको रकम दिन नसकिने घोषणा समेत गरे । कतिपय गाविसहरुले साक्षर भएर मात्र सामाजिक सुरक्षाभत्ता लिन आउ भन्ने अभियान पनि अघि सारे । जसको फलस्वरुप क्रमशः सबै गाविस र नगरपालिकाहरु साक्षर घोषणा हँुदै गए । २०७२ साल आषाढ ३१ गते मनाउ गाविसबाट सुरु भएको साक्षर घोषणा गर्ने अभियान २०७२ चैत्र ३ गतेसम्म आएर बर्दियाको जिल्ला अनौपचारिक शिक्षा समितिले जिल्लालाई साक्षर घोषणा गर्ने निर्णय गर्न सफल भयोे । साथै समितिले जिल्लाको १५ देखि ६० वर्ष उमेरको साक्षरता दर ९६.४१ प्रतिसत समेत किटान ग¥यो । यसको घोषणा गर्ने काम तत्कालीन माननीय शिक्षा मन्त्री गिरीराजमणी पोख्रेलबाट २०७२ साल चैत्र २८ गते विशाल सभाको आयोजना गरी सम्पन्न गरियो । यसरी सवै एकैसाथ जुटेपछि असजिला चूनौतिहरुलाई चिर्दै देशको २५ औं जिल्ला र तराईको दोस्रो जिल्लाको रुपमा बर्दियाले आफूलाई साक्षर घोषणा गर्न अवसर प्राप्त ग¥यो ।

स्थायी एवं सिनियर शिक्षकलाई प्रधानाध्यापकमा नियुक्त गर्ने कार्यको सुरुवात गर्दा यसका विरुद्धमा धेरैका डेलिगेसन र धेरैका धम्कीहरुको सामना गर्नु प¥यो । आफ्नोे पक्षधर शिक्षकहरुले प्रअबाट हात धुनु पर्दा कतिपय राजनीतिक दलहरु समेत विरुद्धमा उभिन पुगे । अन्ततः बर्दियामा कुनै विद्यालयमा स्थायी शिक्षक हुँदाहुँदै अस्थायी एवम् राहत शिक्षक प्रअ हुने प्रथालाई अस्वीकार गरियो । यस पूर्व भएका त्यस्ता केसहरुलाई एकाध विद्यालयमा बाहेक सवै विद्यालयहरुमा व्यवस्थापन गरिएको छ भने आगामी दिनहरुमा त्यस्ता किसिमका घटनाहरु नदोहोरिने गरी विधिवत किसिमबाट प्रअ नियुक्ति गर्ने कार्यलाई बर्दियामा सर्वसम्मत शैक्षिक संस्कारको रुपमा स्थापित गरिएको छ । यसका साथै माध्यमिक र निम्न माध्यमिक तहमा शिक्षक दरबन्दी मिलान गर्ने कार्य सम्पन्न गरिएको छ । माध्यमिक र निम्न माध्यमिक तहका कतै पनि दरबन्दी कटौती गर्नु पर्ने छैन बरु धेरैमा थप्नु पर्ने देखिन्छ । प्राथमिक तहको शिक्षक दरबन्दी मिलान जिल्ला शिक्षा कार्यालयले जिल्ला शिक्षा समितिको अनुमति लिएर अनुकूलता हेरी शिक्षक दरबन्दी कटौति हुने विद्यालयबाट क्रमशः दरबन्दी थपिने विद्यालयमा शिक्षक दरबन्दी थपिरहेको छ । सघन रुपमा दरबन्दी मिलान गर्ने कार्यमा समेत नेपाल शिक्षक महासंघले एक प्रकारको तदारुकता देखाइरहेको छ ।

बर्दिया जिल्लामा शिक्षक महासंघ सँगको सहकार्य प्रभावकारी रह्यो । कतिपय जिशिअको टाउको दुखाइको विषयलाई शिक्षक महासंघको अध्यक्ष नवराज ढुङ्गानाले बहन गरे । दरबन्दी मिलानको क्रममा साँच्चीकै उनको सहयोग रचनात्मक रह्यो । उनकै नेतृृत्वमा शिक्षक महासंघले शिक्षकका विभिन्न घटकहरुको उपस्थितिमा जिशिअहरुको विदाइ र स्वागत कार्यक्रमको आयोजना गरेर म हरेको २ वर्षे कार्यकालको समीक्षा ग¥यो । महासंघका अध्यक्ष नवराज ढुङ्गानाले दुई वर्षे कार्यकालमा भएका राम्रा कार्यहरुलाई डेढ दर्जनभन्दा बढी बुँदाहरुमा समेटेर चर्चा गरे । शिक्षकका अन्य घटकका अध्यक्ष र केन्द्रीय पदाधिकारीहरुबाट समेत उक्त कार्यकालको प्रशंसा गरियो । मलाई भने घामपानी र झरीवर्षाको समेत पर्वाह नगरी जिल्लाको शैक्षिक सुशासनका लागि निस्वार्थ किसिमले खटेको पुरष्कार यही होला भन्दै मन खुशीले गद्गद् भयो । तालुक निकायहरुले राम्रोसँग नचिने पनि विद्यालयतिर जाँदा धेरै विद्यार्थी र तिनका अभिभावकहरुले यो पङ्तिकारलाई चिनेर सम्मान गर्दा पनि लाग्यो मेरो निम्ति सबैभन्दा ठूलो सम्मान यही हो ।

बर्दियामा रहँदा बस्दा शिक्षा क्षेत्रका थुप्रै काममा पाइला सारियो । तीमध्ये कार्यालयदेखि विद्यालयसम्म हरियाली वातावरणको व्यवस्थापन, माध्यमिक विद्यालयका प्रअको जिल्लास्तरीय बैठकको निरन्तरता, शिक्षक दरबन्दी मिलान, प्रअ नियुक्तिको व्यवस्थापन, अनियमित विद्यालयहरुको खारेजी, बालविकास केन्द्रका सबै बालबालिकाहरुलाई खाजा व्यवस्थापन, स्कूल–स्कूलमा शैक्षिक अन्तक्र्रिया सञ्चालन, मर्यादित परीक्षा प्रणालीको व्यवस्थापन, राजनीतिक हस्तक्षेपको न्यूनिकरण जस्ता कार्यमा धेरै हदसम्म सफलता हात प¥यो । नीतिगत हिसाबले गर्ने कुरामा कुनै कञ्जुस्याइ भएन । व्यक्ति विशेषका निहीत स्वार्थसिद्धिका लागि भने हतियार हुन सकिएन । यसले गर्दा कतिपयले आफ्नो कुत्सित उद्देश्यहरु पूरा नभएकै कारण अमिलो मन बनाएका लक्षणहरु पनि यदाकदा देखिए । अन्यथा, सबैले सहयोग गरे । शिक्षामा पवित्र मनले काम गर्नेहरु कसैबाट पनि आलोचना र धम्किको सामना गर्नु परेन । बरु प्रसंशा र बधाइको पात्र हुने अवसर मिल्यो । यसका लागि मेरो कार्यकालमा सहयोग गर्ने सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । नेपाल सानो छ । फेरि पनि यही जिल्लामा काम गर्ने अवसर जुर्न सक्छ । अहिले पनि सीमाना जोडिएको जिल्लामै कार्यरत छु । फेरि पनि भेट हुन सक्छ । यस पटकलाई भने बाई–बाई बर्दिया ।

प्रतिकृया दिनुहोस्