काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले गत बिहीबार सरकारका नाममा आदेश दिँदै शिक्षकहरूका जायज माग तीन दिनभित्र सम्बोधन गरी पठनपाठनमा फर्काउने वातावरण बनाउन भनेको थियो ।

सर्वोच्चको आदेशलगत्तै शुक्रबार शिक्षामन्त्री रघुजी पन्तले वार्तामा बोलाए पनि शिक्षक प्रतिनिधिहरु सिंहदरबारको गेटबाटै फर्किएका थिए ।शनिबार वार्ता भए पनि बिना निष्कर्ष टुंगिएको थियो । शिक्षक फर्किने वातावरण नबनेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकका माग सम्बोधनका लागि सरकारका तर्फबाट भएको प्रगति विवरणसहित सर्वोच्च अदालतलाई प्रतिवेदन पठाएको छ ।

आदेश कार्यान्वयनको प्रगतिका सम्बन्धमा आदेश प्राप्त भएको मितिले चौथो दिन प्रत्यर्थी शिक्षा मन्त्रालयले यस अदालतमा प्रतिवेदन पेश गर्न भनिएको थियो । मन्त्रालयका एक अधिकारीकाअनुसार कानुन शाखामार्फत अहिलेसम्म मन्त्रालयबाट भएका प्रयासहरु जवाफस्वरुप पठाइएको हो । सर्वोच्चलाई फर्काएको जवाफमा शिक्षकका मागका बारेमा अहिलेसम्म भएको संवाद, शिक्षा विधेयकबारे संसदीय समितिमा चलिरहेको प्रक्रिया, शिक्षकका माग सम्बोधन गर्नेबारे भइरहेको पछिल्लो अवस्था समावेश छन् ।

नयाँ शिक्षा विधेयकको माग राखेर नेपाल शिक्षक महासंघले २७ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्