काठमाडौं । १२ वर्षीया खैरुन्निसा हुसेन हप्तामा पाँच दिन बिहान ९ बजे जुम मिटिङ खोल्छिन् । उनी हरेक दिन चार घण्टासम्म जुमकक्षामा गणित, विज्ञान र फ्रेन्च वर्कसिटमा पढ्ने गर्छिन ।
गत महिना आर्ट असाइनमेन्टमा उनलाई विद्यालयले इमेलमा डेमियन हस्र्टको पेन्टिङ पठाएको थियो । त्यसको नक्कल गरेर बनाउनुपर्ने थियो । प्रत्येक मंगलबार उनको पीई शिक्षकले योगाको भिडियो लिंक पठाउँछन् ताकी उनीलगायतका विद्यार्थीहरुले भिडियो हेरेर त्यसको अभ्यास गर्न सकुन् ।
कोरोना भाइरसको कारण पाकिस्तानमा तीन लाखभन्दा धेरै विद्यालय गएको मार्चदेखि नै बन्द छन् । लाहोरमा बस्ने हुसेनको विद्यालयका विद्यार्थीहरु भाग्यशाली छन् । किनकी उनीहरुको पढाइ डिजिटल प्लेटफर्ममार्फत् चलिरहेको छ । तर, पाकिस्तानका लाखौं विद्यार्थीमाझ अहिले स्मार्टफोन र इन्टरनेटको पहुँच पुग्न सकेको छैन । जसको कारण उनीहरुले यसको लाभ लिन असमर्थ छन् ।
कराँची सहरको इन्स्टिच्युट अफ बिजनेस एडमिनिस्ट्रेशनमा अर्थशास्त्रको अध्ययन गरिरहेका अतीन्क अली विश्वविद्यालय बन्द भएपछि आफ्नो गाउँ तुरबत फर्किएका थिए । उनको गाउँमा इन्टरनेट वा थ्रीजी–फोरजी सेवा छैन । जसको कारण उनी विश्वविद्यालयको डिजिटल कक्षामा सहभागि हुन सक्दैनन् । तरपनि, उनी प्रत्येक दिन ५० डिग्री सेल्सियससम्मको तापमान हुने क्षेत्रमा एक घण्टा बाइक चलाएर आफ्नो साथीकोमा जान्छन् र त्यहाँ शिक्षकले पढाएको लेक्चर डाउनलोड गर्छन् । फोनबाट लिइएको अन्तर्वार्तामा उनी भन्छन्, ‘त्यहाँसम्म पुग्न निकै कठिनाइ पार गर्नुपर्छ, तर त्यहाँ पुग्दा कहिले बिजुली हुँदैन त कहिले इन्टरनेट ।’
अनलाइन पढाइ
पाकिस्तानका सात करोड बालबालिकामध्ये करिब दुई करोड २८ लाख विद्यालय बाहिर छन् । कोरोना भाइरसले उनीहरुको बीचमा प्रविधिको असमानता उजागर गरिदिएको छ । पाकिस्तान सरकारका वरिष्ठ शिक्षा सल्लाहकार उम्वरिन आरिफका अनुसार विद्यालय र विश्वविद्यालयहरुमा अध्ययन गर्ने पाँच करोडभन्दा धेरै विद्यार्थीहरु शिक्षाबाट बञ्चित हुने जोखिम बढेको छ ।
गत महिना विश्वविद्यालयमा अनलाइन कक्षा शुरु गर्ने निर्णय विरुद्ध सयौं विद्यार्थीहरुले सडकमा प्रदर्शन गरेका थिए । उनीहरुले अनलाइन कक्षामा आफुहरुको पहुँच नभएको जिकिर गरेका थिए । पाकिस्तानमा इन्टरनेट सेवा खराव भएको उनीहरुको भनाइ थियो । विशेषगरी बलुचिस्तान, खैबर पख्तूनख्वा र गिलगित–बाल्तिस्तानजस्ता विकट प्रान्त इन्टरनेटको पहुँच देखि टाढै छन् । पाकिस्तानका ठूला सहरभन्दा बाहिर अझैपनि होम ब्रोडब्याण्ड महँगो छ । स्मार्टफोनमा पहुँच पनि जम्मा ५१ प्रतिशतसँग मात्रै छ । पाकिस्तान दूरसञ्चार प्राधिकरणका अनुसार विद्यालय जाने उमेरका केवल १० लाख बालबालिकामा डिजिटल उपकरण तथा ब्याण्डविथको पहुँच छ ।
टेलिभिजनमा पढाइ
पाकिस्तानमा करिब चार करोड बालबालिका टेलिभिजन हेर्छन् । त्यसैले सरकारले विकट गाउँमा पनि शिक्षाको पहुँच पुर्याउने उद्देश्यले टेलिभिजनबाट शिक्षा दिन शुरु गरेको छ । यसका लागि सरकारले टेलिस्कुल नाममा छुट्टै च्यानल पनि बनाएको छ । विद्यालय बन्द भएपछि १३ अप्रिलदेखि टेलिभिजनबाट शिक्षा दिन शुरु गरिएको थियो । यसलाई सरकारी पीटीभी होममा देखाने गरिएको छ । यसलाई पाँच करोड ४० लाख मानिसले हेर्ने गरेका छन् । टेलिस्कुलमा एकदेखि १२ कक्षासम्मको पाठ्यक्रम पढाइन्छ । जसलाई पाकिस्तानका चार एडटेक कम्पनीले तयार पारेका हुन् ।
मे महिनाको अन्तिमसम्म यसमा साढे दुई लाख दर्शकसँग टेक्स्ट म्यासेजिङ सिस्टममा पनि जोडिएको थियो । जसको उद्देश्य अभिभावक र विद्यार्थीलाई शिक्षकसँग जोड्नु थियो । पाकिस्तानका शिक्षामन्त्री शफकत महमूदले सरकार विकट क्षेत्रहरुमा पनि पुग्ने उद्देश्यका साथमा रेडियो स्कुल पनि शुरु गर्ने तयारी भइरहेको बताउँछन् । डिजिटल सामग्रीका साथै ई–लर्निङ पोर्टल र वञ्चित क्षेत्रको लागि नयाँ लोकल एरिया नेटवर्क सिस्टममा पनि काम भइरहेको उनले बताए । प्रधानमन्त्री इमरान खानलाई ‘विद्यार्थी राहत प्याकेज’ शुरु गर्ने प्रस्ताव गरिएको छ । जसमा सस्तो इन्टरनेट प्याकेज दिने र स्मार्टफोनको शुल्क घटाउने उपाय पनि सामेल गरिएको छ ।
आरिफका अनुसार विश्व बैंकले दिएको ५० लाख डलरको सहयोगमा टेलिस्कुलको शुरुवात गरिएको हो । विकासशील मुलुकमा बहुस्तरीय शैक्षिक प्लेटफर्मका लागि काम गरिरहेको ग्लोबल पार्टनरशिप फर एजुकेशनसँग पनि दुई करोड डलरको सहयोग लिइएको छ । पछि परेका क्षेत्रमा शिक्षालाई बढावा दिन विश्व बैंकसँग २० करोड डलरको दीर्घकालीन सहयोग लिने विषयमा पनि छलफल भइरहेको छ । अहिले भने पाकिस्तानका बालबालिकाहरु सिकाइका लागि संघर्ष गरिरहेका छन् ।
१० विद्यार्थी एक स्मार्टफोन
पाकिस्तानको उत्तर–पश्चिमी जिल्लाको एक सरकारी स्कुलको सात कक्षामा पढ्ने एक छात्राले आफ्ना पिताको स्मार्टफोनमा होमवर्क पाउँथिन् । कार्यालय खुल्न थालेपछि उनका पिता काममा जान थाले । त्यससँगै उनको घरको एकमात्र इन्टरनेट उपकरण चार सय किलोमिटर टाढा गयो । त्यससँगै ती छात्रा अब आफ्नो लेखन शैली राम्रो पार्नेतर्फ लागेकी छन् ।
स्मार्टफोन भएका घरमा पनि समस्या छन् । लाहोरको एक स्कुलकी शिक्षकका अनुसार उनीसँग एक स्मार्टफोन छ तर उनको संयुक्त परिवारमा १० बालबालिकाहरु छन् । ‘सबै फरक–फरक कक्षामा पढ्छन् र उनीहरुलाई फरक–फरक कुरा पढाउनुपर्ने हुन्छ । कहिलेकाहीँ हामीले हजुरबुबा र हजुरआमाको फोन प्रयोग गर्छौं तर अधिकांश समय उनीहरु मेरै स्मार्टफोनको प्रयोग गर्छन् ।’
गुजरांवालामा बस्ने १५ वर्षीय एक बालक शैक्षिक भिडियो हेर्न आफूले दाइको स्मार्टफोनको प्रयोग गर्ने गरेको बताउँछन् । ‘तर, मेरो दाइ सधैँ टिकटकमा व्यस्त हुन्छन् र मैले उनको फोन माग्दा उनी रिसाउँछन्’, उनी दुखेसो गर्छन् ।
विद्यालय कहिले खुल्छन् ?
कोरोना भाइरसको कारण विद्यालयहरु बन्द भएसँगै अभिभावकहरु र शिक्षकको चिन्ता पनि बढेको छ । पहिला विद्यालयहरु १५ जुलाईदेखि खोल्ने तयारी थियो । तर, अहिले सरकारी अधिकारीहरु कोरोना भाइरसका संक्रमितको संख्याको आधारमा १५ सेप्टेम्बरदेखि विद्यालयहरु खुल्ने सम्भावना रहेको बताइरहेका छन् । तर, निश्चित भइसकेको छैन । यसैबीच अनलाइनको सामग्री पनि सकिँदै गएको छ ।
नयाँ लर्निङ एप लन्च गर्नु र अनलाइन सामग्री नियमित प्रवाह हुने सुनिश्चित गर्नु ठूलो चुनौती देखिएको छ । शैक्षिक प्रविधि (एडटेक) का उद्यमीहरु महामारीलाई लामो समयदेखि उपेक्षित क्षेत्रमा विस्तार तथा लगानीमा मौकाको रुपमा हेरिरहेका छन् ।तालिमाबाद एपका संस्थापक शहारुन यासिन भन्छन्, ‘मिस्टर रोजर्स र बालबालिकाको मिडियाको अग्रणी कम्पनीले अमेरिकाजस्तो मुलुकमा शिक्षाको परिदृश्य नै परिवर्तन गर्दा उनीहरुले सरकारबाट भरपूररुपमा समर्थन पाएका थिए ।’
तालिमाबाद एपमा प्राथमिक स्कुलका विद्यार्थीहरुलाई राष्ट्रिय पाठ्यक्रम पढाउनका लागि कार्टुन र गेम्सको प्रयोग गरिएको छ । यासिन भन्छन्, ‘पाकिस्तानमा सायदै कुनै शैक्षिक मिडिया होला, जसलाई सरकारबाट आर्थिक सहयोग मिलेको होस् ।’
प्रविधि प्राथमिकतामा छैन
सरकारी अधिकारीहरु उपकरण र इन्टरनेटको व्यवस्था राम्रो नभएको कारण सरकारको प्राथमिकतामा प्रविधिबाट पढाउने विषय नपरेको स्वीकार गर्छन् ।प्राथमिक स्कुलका विद्यार्थीका लागि ल्याइएको लर्निङ एप म्युज सबकका सीईओ हसन बिन रिजवान पछिल्लो समय स्मार्टफोनको पहुँच भने विस्तार भइरहेको बताउँछन् ।‘यस वर्ष हरेक महिनामा १० लाख नयाँ कनेक्शन जोडिएका छन् । स्मार्टफोन कुनै दोस्रो डिभाइसभन्दा निकै तीव्र गतिमा अघि बढिरहेको छ’, उनले भने ।
यासिन पनि प्रविधिलाई रोक्न नसकिने र यो कहिले पनि नरोकिने बताउँछन् । यद्यपि स्मार्टफोन ९० प्रतिशत मानिसमा पुगिसकेपछि मात्र यस विषयमा काम शुरु गर्ने हो भने त्यतिबेला निकै ढिलो भइसक्ने उनको भनाइ छ । कोरोना भाइरसको कारण शैक्षिक प्रविधिको प्रयोगमा भने उल्लेख्य मात्रामा विकास भइरहेको छ । यस्तो अवस्थामा पाकिस्तानमा तालिमाबाद एपसँग जोडिनेको संख्या ६६० प्रतिशत बढेको छ भने म्युज सबक एपमा थप दुई सय प्रतिशत मानिस जोडिएका छन् ।
यस्तो अवस्थामा पाकिस्तानको सरकार र एडिटेक कम्पनीको बीचमा सहकार्य र लगानीको आवश्यकता रहेको विज्ञहरु बताउँछन् ।
भविष्यको पढाइ
मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार नेटवर्क जेज र एडटेक कम्पनी नलेजसँग मिलेर पाकिस्तान सरकारले इस्लामाबादमा ७५ हाइस्कुलमा पाइलट प्रोजक्ट चलाइरहेको छ । तर, यसको प्रभावकारिताको आंकलन गरिएको छैन । जेजका मुख्य कर्पोरेट तथा उद्यम अधिकारी अली नासीरका अनुसार यो प्रोजेक्टको कारण मेट्रिक परीक्षा दिने विद्यार्थीको अंकमा ३० प्रतिशतको सुधार आएको थियो । नासीर पनि कोभिड–१९ को संकटमा यो क्षेत्रमा सुधारको आशा देखेको बताउँछन् ।
मस्जिदमा लाउडस्पिकरबाट पढाइ
इस्लामाबादको एक उपनगरीय निजी स्कुलमा टिच फर पाकिस्तानकी प्रशिक्षिका रिदा रिजवी मोबाइल फोन नभएका विद्यार्थीलाई सहयोग गर्छिन् । उनी स्थानीय मस्जिदमा गएर लाउडस्पिकरमा तोकिएको स्थानमा गएर पाठ्यसामग्री लिन आग्रह गर्छिन् ।बलुचिस्तानको अमिनाबादमा हाइस्कुलमा वाइफाइ कनेक्सनको माध्यमबाट वाट्सएप समूहमा भिडियो शेयर गरिन्छ । प्रान्तीय सरकार र युनिसेफको सहकार्यमा चलिरहेको कार्यक्रम ‘मेरो घर, मेरो स्कुल’ मा ३५ हजार विद्यार्थी जोडिएका छन् ।
यस्तो अवस्थामा केही भने अहिले देखिएको समस्यालाई लिएर अस्थायीरुपमा विचलित हुनुभन्दा शिक्षकमाथि लगानी बढाउनुपर्ने बताउँछन् । विशेषज्ञहरु भने प्रविधिको क्षेत्रमा गरिएको लगानी अस्थायी नहुने तर्क गर्छन् ।
शिक्षामन्त्री महमुद कोरोना भाइरसले आफूहरुलाई एक मौका दिएको र यसको फाइदा उठाउँदै दीर्घकालीन समाधान खोज्नुपर्ने बताउँछन् । उनले प्रविधिको विकास पाकिस्तानको लागि आगामी बाटो हुन सक्ने बताएका छन् ।
स्रोतः बिबिसी हिन्दी