२०७६ माघ ११ गते

समाजवादी शिक्षक

वाई.पी. आचार्य


 

शिक्षाका सबै चिज शिक्षकसँग ठोक्किन्छन् । शिक्षा बनाउने की भत्काउने, उकास्ने की थेचार्ने, दौडाउने की घिसार्ने, पिलाउने की पिउने चिज बनाउन सक्ने बनाउने यी सबै शिक्षकको हातमा छ । समाज चाहे सामन्तवादी होस चाहे पँुजीवादी वा समाजवादी नै किन नहोस शिक्षामा समाजको प्रतिविम्वन गर्ने काम शिक्षकले गर्छन् ।


समाजवादी शिक्षाका प्रमुख संवाहक शिक्षक हुन् । अक्टोबर क्रान्ति पछि पूर्व सोभियत संघमा लेनिनले शिक्षकलाई समाजवादी मूल्य मान्यताको विस्तार गर्ने, विकास गर्ने र रक्षा गर्ने प्रमुख शक्तिका रुपमा लिए र सोहीअनुसार जिम्मा पनि दिए । क्रान्ति पछि क्रुप्सकायाले विकास गरेको शैक्षिक मोडेल लागू गरे र त्यसमा शिक्षकलाई केन्द्रमा राखियो । क्यूवामा आशा भएका, सपना देख्ने शिक्षकले मात्रै परिवर्तन गर्न सक्छन्, परिवर्तनलाई संस्थागत गर्न सक्छन् भन्ने मान्यता अनुरुप शिक्षकप्रति विशेष ध्यान दिइयो ।

सोहीअनुसारका शिक्षक नियुक्ति गरियो । चीनमा सन् १९४९ मा भएको जनवादी क्रान्ति पछि शिक्षामा अपेक्षित परिवर्तन आएन । शिक्षाको क्षेत्रमा गढेर बसेको सामन्ती संस्कृतिमा बदलाव आउन सकेन । यसको कारण शिक्षकको चिन्तन र व्यवहारमा परिवर्तन नआउनु नै हो भन्ने निष्कर्ष निकालियो । सांस्कृतिक क्रान्ति (सन् १९६६ देखि १९७६) का बेला शिक्षकलाई लक्षित गरी कार्यक्रम ल्याइयो । गाउँका शिक्षकलाई शहरमा पठाइयो । शहरकालाई गाँउमा पठाइयो । रुपान्तरण हुन नसक्ने र नचाहाने शिक्षकलाई विदा गरियो ।


नेपालमा पनि समाजवादी शिक्षाको मर्मलाई लागू गर्ने हो भने सबै भन्दा पहिले शिक्षकलाई सुसज्जित गर्न जरुरी छ । उनीहरुमा रहेको सामान्तवादी चिन्तन र पूँजीवादी शैलीमा रुपान्तरण गर्न जरुरी हुन्छ । यसकालागि महाअभियान चलाउनु पर्दैन । लपेटा लाउनु पनि पर्दैन । केहि सामान्य काम गरे पुग्छ जहाँ शिक्षक आफै अभिप्रेरित होउन् ।


कस्तो हुने जनवादी शिक्षक ?
१. आशा (hope) भएकाः पाउलो फ्रेरेले पेडागोजी अफ होप भन्ने किताब लेखे । उनले निराशालाई उन्नतिको प्रमुख बाधक माने । जुन शिक्षकमा भविष्यप्रति आशा हुँदैन, आत्मबल र विश्वास हुँदैन त्यसले गरीखादैन भने । नेपालमा अहिले जताततै निराशा छाएको छ । नेतादेखि सामान्य जनतासम्म सपना कम छन् । अरुप्रति विश्वास छैन, आफुप्रति भरोसा छैन । यो नै विकासको प्रमुख बाधक हो । अब शिक्षकले विद्यार्थीलाई सपना देख्न सक्ने बनाउनु पर्छ । देशप्रति, नेताप्रति, व्यवस्था प्रति छिमेकीप्रति, भविश्यप्रति, पेशाप्रति, आफुप्रति विश्वास जगाउने वातावरण बनाउनु पर्छ । विद्यार्थीको क्षमताका आधारमा यो गर्न सक्छु भन्ने आशा जागाउनु पर्छ । त्यसो गर्न सक्ने मात्रै समाजवादी शिक्षक हुन सक्छ ।


२. शिक्षण विधिः शिक्षण विधिका प्रयोगकर्ता शिक्षक हुन् । उनीहरुले जस्तो विधि अपनाउछन् विद्यार्थीको सिकाइ त्यसैमा भर पर्छ । समाजवादी शिक्षकले बैँकिङ् धारणा जस्तै ज्ञान कोचाउँर्दैनन् । कितावका भारी बोकाउदैनन् । पूँजीवादका मान्यता लाद्दैनन् र एकोहोरो भाषणमात्रै गर्दैनन् । जोन डिवेका अनुसार अनुभवमा आधारित ज्ञान सबैभन्दा शक्तिशाली हुन्छ । समाजवादी शिक्षकले विद्यार्थीलाई अनुभवबाट सिक्ने बतावरण निर्माण गर्छन । गरेर सिक्ने, भोगेर सिक्ने, आफै परीक्षण गरेर सिक्ने अवसर दिन्छन् । गार्नरले भने जस्तो बहुसिकाइ क्षमतामा आधारित विधि अपनाउछन् । कसैलाई गरेर सिक्ने अवसर दिन्छन्, कसैलाई खेलेर सिक्ने अवसर दिन्छन्, कसैलाई पढेर, कसैलाई सुनेर जे चाहान्छन् त्यही गर्ने अवसर दिन्छन् । विद्यार्थीलाई प्रश्न गर्न हौसाउछन् । विद्यार्थीबाटै उत्तरको अपेक्षा गर्छन् । विद्यार्थीको सृजनाको सम्मान गर्छन् । व्यक्तिगत भिन्नताको कदर गर्छन । भिगोत्स्कीले भने जस्तो विद्यार्थीलाई ज्ञानको निर्माणकर्ता मान्छन् । आफुलाई सहजकर्ता ठान्छन् । शिक्षक आफुलाई सर्बेसर्वा होइन, बुज्रुक होइन विद्यार्थीका साथी ठान्छन् । समस्या सामुहिक रुपमा समाधान गर्छन् ।


३. दबिएको आवाज उठाउनेः पुँजीवादमा गरिब वर्गको आवाज दबाइन्छ । गरिब उकुस मुकुस भएर बाच्छ । श्रम गर्छ न्युनतम ज्याला पाउछ तर मुनाफामा हिस्सेदारी पाउदैन । मालिकले मुनाफा कुम्ल्याको टुलुटुलु हेरेर बस्छ । अपमानको हलाहल पिएर बस्छ । विद्यालयमा धनीका गाथा सुनाइन्छ । पँुजीवादका कथा पढाइन्छ । समाजवादी शिक्षकले यीनै दबिएका आवाजलाई शिक्षाको माध्यमबाट बुलन्द गराउनु पर्छ । शोषण र दमनको दुष्चक्रका बारेमा विद्यार्थीलाई सचेत बनाउनु पर्छ । विद्यार्थीलाई उनीहरुकै गाथा गाउन लगाउनु पर्छ । उनीहरुकै पुर्खाको योगदानलाई सम्झाइदिनु पर्छ । आफ्नै इतिहार आफै रच्न प्रोत्साहन गर्नु पर्छ । विद्यार्थीलाई अधिकार र कर्म प्रति सचेतीकरण गर्नु पर्छ । श्रम नगरी खाने भतुवा प्रवृत्तिप्रति घृणा जगाउनु पर्छ । श्रमप्रति सम्मानभाव जगाइदिनु पर्छ । गरिबीको दुश्चक्रमा फसेका बच्चामा रहेको हीन मनोग्रन्थिलाई फुटाइदिनु पर्छ । विश्वास र आत्मबलको मुल फुटाइदिनु पर्छ ।


४. सामुदायिक सशक्तिकरणका सम्वाहक: शिक्षकले विद्यार्थीलाई मात्रै सिकाउँदैनन् । विद्यालयमात्रै बनाउदैनन्, समुदायको पनि विकास गर्छन् । उनीहरु समाजका रोल मोडल पनि हुन् । उनीहरुमाथि समाजको भरोसा छ । समाजवादी शिक्षकले समुदायमा रहेको सामन्तवादका अवशेषहरुको अन्त्य गर्न सघाउनु पर्छ । बोक्सिको आरोपमा जिउदै जलाउने, दिसापिसाब खुवाउने, तातो भाँडोले डाम्ने, गाँउ निकाला गर्ने जस्ता अन्ध विश्वास र कुचलनको अन्त्य गर्नु पर्छ । जातीय छुवाछुतका नाममा हुने सामाजिक कलंकहरुलाई अन्त्य गर्न लाग्नु पर्छ । महिलामाथी हुने लैंगिक हिँसा र शोषणका विरुद्धमा ज्वालामुखी फुटाउनु पर्छ । दिनदाहाडै बेचिने चेलीहरु बचाउने कर्म गर्नु पर्छ । सडकमा प्याकेटको हावा तान्दै गरेका अनाथ बच्चाहरुलाई विद्यालयमा ल्याउने, इटा भट्टा, होटेल, यातायात आदि क्षोत्रमा प्रयोग गरिएका, शोषणमा परेका बालबच्चालाई उद्धार गरी विद्यालयमा ल्याउने धर्म गर्नु पर्छ ।


५. स्वव्यवस्थापनः शिक्षकले आफुलाई जती व्यवस्थित गर्छ त्यती अरुलाई व्यवस्थ्ति गर्न सक्छ । बलेको दियोले मात्रै उज्यालो छर्न सक्छ । फक्रेको फुलले मात्रै बासना छर्न सक्छ । धार भएको खुकुरीले मात्रै काट्नम सक्छ । अध्ययनसिल शिक्षकलेमात्रै विद्यार्थीलाई अध्ययनशील बनाउन सक्छ । अुनुशासित शिक्षकले मात्रै विद्यार्थीलाई अनुशासित बनाउन सक्छ । श्रमसिल शिक्षकले मात्रै श्रमको मूल्यवोध गराउन सक्छ । इमान्दार शिक्षकले मात्रै इमान्दारिताको पाठ सिकाउन सक्छ । त्यसैले समाजवादी शिक्षक समयबद्ध हुनपर्छ । अनुशासित, उत्तरदायि, जवाफदेहि हुनु पर्छ । निरन्तर अध्ययन उसको प्रयायवाची हुनु पर्छ । समुदायको बुझाई स्पष्ट हुनु पर्छ । न्याय उसको आदर्श हुनु पर्छ । लचकता उसको स्वभाव हुनुपर्छ । समालोचनात्मक उसको दृष्टिकोण हुनुपर्छ । बैज्ञानिक विश्वदृष्टिकोण उसको दर्शन हुनु पर्छ ।


६. पेशागत संगठनः संगठनमा दम हुन्छ । शक्ति हुन्छ । पेशागत संगठन पेशागत विकासको खम्बा हो । पेशागत विकास तब हुन्छ जब विषयगत विज्ञता हुन्छ । कर्मप्रति लगनशिलता र दृढता हुन्छ । अनुशासन हुन्छ । पेशागत मर्यादा हुन्छ । निरन्तर विकासमा तल्लिन हुन्छ । तर नेपालमा अहिले पेशागत मर्यादा स्खलन भएको छ । पेशागत संगठन अनुशासनहीन, गुणस्तरहीन, अराजक र अमर्यादित शिक्षकको ढाल बनेको छ । सौदावाजीको साधन बनेको छ । यो अराजकताको पराकाष्ठा हो । समाजवादी शिक्षकले पेशागत संगठनलाई शैक्षिक गुणस्तर विकासको प्रमुख साधन बनाउछन् । संगठनलाई पार्टीका मर्कट सेना बाट मुक्त गर्छन । यसलाई उत्पादक मण्डलका रुपमा प्रयोग गर्छन् । सिकाइ संगठनका रुपमा उपयोग गर्छन् । शिक्षालय र समुदाय विकासका साधक बन्छन् । समाजवादी समाज निर्माणका नेतृत्वकर्ता हुन्छन् । न्यायका प्रयायवाची बन्छन् ।


७. स्वावलम्वी सीपः स्वाबलम्बी सीपले शिक्षकलाई आत्मजिवी बनाउछ । यस्ता सीप विद्यार्थीलाई मात्रै होइन शिक्षकलाई पनि चाहिन्छ । कपडा च्यातिदा, सिलाउन सक्ने, चप्पल छिन्दा जोड्न सक्ने, मोबाईल सामान्य बिग्रदा बनाउन सक्ने, घरको टेलिभिजन बिग्रदा सपार्न सक्ने, धारा बिग्रदा बनाउन सक्ने, ग्यास चुलो बिग्रिय मिलाउन सक्ने हुनु पर्छ । यति काम गर्न अर्कोलाई गुहार्न नपर्ने हुनु पर्छ । यसले शिक्षकलाई श्रमसँग जोड्छ । यी सीप विद्यार्थीलाई सिकाउन सक्छन् । विद्यार्थीको रोलमोडल बन्न सक्छन् । त्यसैले समाजवादी शिक्षकमा जीवनोपयोगी सीप अनिवार्य हुनै पर्छ ।  


समाजवादी शिक्षाको बोक्रे शब्दलेमात्रै शिक्षामा न्याय हुन सक्दैन । समाजवादी शिक्षाको सारलाई व्यवहारमा प्रतिक्षेप गराउने प्रमुख कर्ता शिक्षक हुन । पुरानै चिन्तन, पुरानै ज्ञान, पुरानै सीप, पुरानै अभिप्रेरणाले नयाँ उत्पादन गर्न सक्दैन । पुरानैलाई पुनराबृत्तिमात्रै गर्छ । नयाँ लुगा लगाउँदैमा मानिस बदलिदैन । समाजवादी शिक्षाको आत्मा र मर्मलाई खासरुपमा प्रयोग गर्दै विद्यार्थी, समाज र राष्टको मुहार फेर्ने शिक्षकलेनै हो । त्यसैले समाजवादी शिक्षक समालोचक, क्रान्तिकारी, आशावादी, श्रमसिल, समायोजित, समाजवादी चिन्तनले लैस र सीपयुक्त हुन जरुरी छ । यसैले सबैको कल्याण गर्ला ।  

Comments: