काठमाडौं । सरकारले विश्वविद्यालय शिक्षाको गुणस्तर सुधार्न विशेष कार्यक्रम ल्याउने भएको छ ।  विश्वविद्यालयहरुको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउने सरकारको कार्यक्रम रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विश्वविद्यालयको संरचनागत अन्य आवश्यक सुधार गरी शैक्षिक गुणस्तर वृद्धि गर्ने सरकारको कार्यक्रम रहेको बताइन् ।

विश्वविद्यालयका पाठ्यक्रमलाई समयसापेक्ष बनाइने साथै, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अनुसन्धान केन्द्रहरुलाई सुदृढ गरी विशिष्टिकृत अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको राष्ट्रपति भण्डारीले बताइन् ।

यस्तै, विज्ञान प्रविधि सम्बन्धी उच्च शिक्षालाई अनुसन्धानमुखी बनाइने जनाइएको छ । अनुसन्धानको गुणस्तर सुनिश्चित गर्ने सयन्त्र बनाइनेसमेत सरकारले जनाएको छ ।

मदनभण्डारी प्रद्यौगिक विश्वविद्यालय  र योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आवश्यक तयारी पुरा गरिने छ ।

‘चिनौं आफ्नो माटो बनाउँ आफ्नै देश’ अभियान सञ्चालन गरी स्नातकोत्तर युवाहरुलाई विकास निर्माण तथा शैक्षिक विकास सम्बन्धी कार्यक्रममा मुलुकभर परिचालन गरिनेछ ।

राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अवसरका आधारमा जनशक्ति प्रक्षेपण गरी विषय क्षेत्रगत जनशक्ति उत्पादन गर्ने सरकारको योजना रहेको छ । राष्ट्रिय योग्यता प्रारुपको ढाँचा कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

विकास निर्माण र सामाजिक सेवाका क्षेत्रमा विशेषज्ञ जनशक्तिको अभाव रहेको छ । आवश्यक जनशक्ति विकासको लागि कृषि तथा वन, पर्यावरण, विज्ञान तथा प्रविधि, चिकित्सा, आयुर्वेद, पर्यटन, इञ्जिनियरिङ, आर्टिफिसियल इन्टीलिजेन्स, सुरुङ प्रविधि, रक इञ्जिनियरिङ, खनिज, अन्वेक्षण, जलविद्युत, नवीकरणीय उर्जालगायतका विशिष्ट विधामा उच्च शिक्षा उपलब्ध गराउने व्यवस्था मिलाइने सरकारको नीति रहेको छ ।

स्वदेशमै विज्ञान र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन, अध्यापन र अनुसन्धान गर्न सक्ने विश्वविद्यालयको रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणका कार्यहरु तिब्ररुपमा अघि बढाइने सरकारको कार्यक्रम रहेको छ ।

२०७७ जेष्ठ २ गते १८:३०मा प्रकाशित

प्रतिकृया दिनुहोस्