प्यारा भाइबहिनीहरु !

अहिले समय असामान्य छ । हामी जान्दछौं की यसबेला अवोध बालबालिका बाहेक संसारका मानिस कसैको पनि दिमाग स्थिर छैन। यो चिठी लेख्ने बेलासम्म विश्वका लगभग सवै राज्यहरुमा कोरोना भाइरसले असर गरिसकेको छ।लाखौँ मानिसहरु सङ्क्रमित भएका छन्।हजारौँले ज्यान गुमाइ सकेका छन्।हजारौँ परिवार विचल्लीमा परेका छन्। लाखौँ मानिसहरुको हातमुख जोड्ने पेशा रोकिएको छ। अर्थतन्त्रको ग्राफ ओरालो लाग्दैछ।व्यापार–व्यवसाय चौपट हुँदैछन्।मानिसहरुमा आर्थिक प्रभावभन्दा मानसिक प्रभाव बेस्सरी बढ्दैछ। विज्ञान प्रविधिले वर्षौँ लगाएर निर्माण गरेको विश्व ग्लोबल भिलेज कोरोना भाइरसले दुई महिनामै छियाछिया पारिदिएको छ । यो समय संयम र धैर्यको हो । पीडितहरुलाई सहयोग गर्ने बेला हो ।

प्यारा भाइबहिनीहरु,

यो भय र संत्रास बढाउने समय होइन।मनोबल उच्च राख्ने समय छ।सावधानी अपनाउने समय हो।चिकित्सक वा विशेषज्ञले दिएका सल्लाहहरुलाई इमान्दारीपूर्वक पालना गर्ने र आफू तथा आफ्ना परिवारजनका लागि पनि अनुशासित बन्नुको विकल्प छैन । हामी जान्दछौ तिमीहरुको एसईई परीक्षा रोकिएकामा तिमीहरुको मानसिकता खलबलिएको छ ।सबै योजनाहरु भत्किएका छन् ।परीक्षा पछि पूरा गर्ने भनेका थुप्रै योजनाहरु थिए होलान् । अहिले ती सवै खलबलिएका छन् । चिन्ता नलिनु धेरै यो समस्या पक्कै पनि धेरै समय टिक्ने छैन । घरमा लकडाउन भएर बस्नु परेको यो अवस्थामा समय कसरी सदुपयोग भएको छ त ? एसईई परीक्षालाई चटक्कै भुलेर कतै हामी विषयान्तर त भएका छैनौ भन्ने शंका लागेको छ । आफ्नो सुनिश्चित भविष्यका लागि यसप्रति इमान्दारीपूर्वक लागिरहनुपर्दछ। कोरोनाको कहर वा यो लकडाउन क्षणिक हो तर तिम्रो पढाइको महत्व जीवनभरिलाई हो भन्ने मात्रै बुझिदिए पुग्छ । तिमीहरु समझदार छौ नै तर पनि केहि कुराहरु यो क्षण स्मरण गराउन चाहन्छु ।

१. याद गरौँ त । लकडाउनको यो अवस्थामा तिमीहरुका लागि परिवारसँग बस्ने, घरको स्वस्थ खाना खाने र जे जति कुराहरु परीक्षाका लागि रिभिजन वा अभ्यास गर्न भ्याइएको थिएन त्यो गर्नका लागि यो एउटा महत्वपूर्ण समय बन्न सक्छ । दुई चार दिन पनि पढाइबाट टाढियौ भने पढ्ने बानी छुट्छ । त्यसैले दुई घण्टा पढ्ने, आधि घण्टा ब्रेक लिँदै पढाइलाई निरन्तरता दिनु उत्तम हुनेछ ।

२. पाठ्यपुस्तकका सबै बिषयलाई ध्यानपूर्वक सविस्तारमा पढ्ने । त्यसो गर्दा नबुझेका वा बिर्सिएका पाठ पनि फेरी बुझिन्छ ,सम्झिन्छ ।

३. प्रत्येक विषयलाई समय बाँडेर पढौ । सबै विषयको महत्व उत्तिकै छ । तर अनिवार्य गणित र ऐच्छिक गणितलाई अभ्यास गर्न केहि बढी समय दिनु राम्रो हो ।
४. पुस्तकका यस अघि हल गरिएका समस्याहरुलाई पटक पटक अभ्यास गर्दै दोहोर्‍याउँदै गरौँ ।
५.  केही कुरा अस्पष्ट भए आफ्नो विषय शिक्षकलाई फोन गरेर सोधौ । त्यो सम्भव नभए आफ्ना साथीहरुसँग छलफल गरौँ ।
६. मोबाइल फोनमा अनावश्यक च्याट गरेर वा गेम खेलेर समय खेर नफालौ ।
७. सामाजिक सञ्जालबाट टाढा रहौं । केही दिन सामाजिक सञ्जालबाट टाढा बस्दा तिमीले कुनै नोक्सान व्यहोर्नुपर्न हुँदैन ।
८. घरका सबै परिवार एकै ठाँउमा बस्ने, रमाइला कुराकानी गर्ने, टेलिभिजन हेर्ने गरेको देखेर तिमी दुःखी नहुने। यो समयलाई एउटा मौका ठानेर अधिकतम सदुपयोग गर्ने।
९. शारीरिक र मानसिकरुपमा स्वस्थ रहन सके बाहिरी रोगहरुसँग सजिलै लड्न सकिन्छ ।त्यसैले स्वास्थ्यको ख्याल गरौँ ।
१०. एक दशक लामो पढाइको प्रतिफल पाउने बेलामा केही दिनको लापरवाहीले पछि पछुतो हुने काम नगरौँ ।

अन्तमा तपाईंहरुको एसईइ परीक्षाको उच्च सफलताको
शुभकामान ब्यक्त गर्दछु ।

प्रधानाध्यापक
भीमोदय मावि, कालिका नपा, चितवन

 

प्रतिकृया दिनुहोस्