जोखिममा गुरुपूर्णिमाको गरिमा

Avatar photo

Byएजुकेशन पाटी

५ श्रावण २०८१, शनिबार
बाबुकाजी कार्की

“गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः”

( गुरु नेै ब्रह्मा हुन, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन, गुरु नै हुन साक्षात परब्रह्मा, यस्ता गुरुलाई म नमस्कार गर्दछु । )

वेदको रचीयता कृष्ण द्वैपायन व्यास जन्मेको आषाढ पूर्णिमाको दिनमा गुरुहरूको सम्झना र पूजा गरेर गुरुपूर्णिमा मनाइन्छ । वेदव्यासले वेद, अठार पुराण, उपषिद्हरू लेखी हिन्दू धर्मलाई मार्गदर्शन प्रदान गरेका छन् । गुरुपूर्णिमाको सन्देश जीवन र जगतलाई उन्नत एवम् सार्थक बनाउने तर्फ लक्षित छ । संस्कृतमा गु भनेको अन्धकार र रू को अर्थ उज्यालो अर्थात अज्ञानरूपी अन्धकारबाट चेतनास्तर बृद्धि गरी उज्यालोतिर लानु हो । गुरुलाई देवता र पिता समान सम्मान दिने हाम्रो संस्कार र संस्कृति छ । पौराणिककाल देखि नै गुरु अर्थात शिक्षकको महिमा अतुलनीय रहंदै आएको छ । पौराणिककालको जस्तो गुरु शिष्यको सम्बन्धमा शिष्टता, आत्मियता र समर्पणको भावना बर्तमानमा पाइदैन् । गुरु शिष्यको सम्बन्ध सौहाद्रता भन्दा पनि कृतिमता बढी देखिन्छ । गुरुपूर्णिमाको गरिमालाई आत्मसात गर्नु भन्दा पनि कर्मकाण्डी पाराले मनाउनु्ले यसको गरिमा जोखिममा पर्दै गएको भान हुन्छ । गुरुपूर्णिमाको महिमा र गरिमा गुरुको आचरण, विचरण र उच्च नैतिकतामा मात्रै फस्टाउने र निस्कलंक रहने कुरामा दुईमत हुन सक्दैन ।

वर्तमानमा गुरु भन्नाले पुरेत र शिक्षक ÷ प्रशिक्षकलाई बुझाउँछ । यहाँ गुरुलाई शिक्षकको रूपमा प्रस्तुत गरिएको छ । वर्तमानमा कतिपय शिक्षकले सम्मान भन्दा पनि सम्पत्तिलाई महत्त्व दिने प्रचलन हावी भएकोले शिक्षण पेसा अन्यको तुलनामा उपेक्षित हुन पुगेको गुनासो गर्नेको कमी छैन् । अर्कोतर्फ डाक्टर, इन्जिनियर, वकिल, प्रशासक, राजनीतिज्ञ आदी उत्पादन गर्ने महान शिक्षण पेसालाई कम आँक्नु विवेकहिनता हो । त्यस्तै स्वयम् शिक्षकबाट पनि मर्यादित शिक्षण पेसालाई उपहास हुने गरी आचारसहिता विपरित कार्य गरेर आफ्नो प्रतिष्ठा र गरिमामा खोट लगाउने काम प्रति उद्दत रहनु गुरु गरिमाको लागि शुभसंकेत होइन । शिक्षक र शिक्षण पेसाको गरिमालाई निस्कलंक राख्न शिक्षकको आचरण, आहारविहारको अहम भूमिका रहन्छ नै । गुरुपूर्णिमालाई एकदिने उत्सव मात्र नबनाएर शिक्षक, विद्यार्थी र व्यवस्थापनले शैक्षिक गुणस्तरलाई उन्नत बनाउन प्रण गर्ने दिनको रूपमा मनाउन सके मात्र सार्थक हुनेछ । गुरुको गरिमा शिष्यले प्राप्त गर्ने शिक्षाको स्तर र संस्कारमा भरपर्ने वास्तविकतालाई मध्यनजर राखेर स्वयं शिक्षक, सरकार र सरोकार पक्ष संवेदनशिल र चनाखो रहनु बुद्धिमानी ठहर्छ ।

परम्परागत गुरु शिष्य बीचको सुमधुर र सौहाद्र सम्बन्ध अहिलेका शिक्षक र विद्यार्थीले अनुशरण नगरेको विभिन्न निन्दनीय घट्नाले पुष्टि गरेको छ । अचेल विद्यार्थीबाट शिक्षकलाई अपमान, हातपात एवं कालोमसो दल्ने जस्ता निन्दनीय कार्यहरू सामान्य बन्दै जानु गुणस्तरीय र संस्कारयुक्त शिक्षाको लागि शुभसंकेत होइन । शिक्षकहरु राष्ट्रका मेरुदण्ड हुन । शिक्षकहरुका व्यक्तिगत, सामाजिक र पेसागत विशेष गुणहरु हुनु आवश्यक छ । व्यक्तिगत गुणमा राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान आदि । सामाजिक गुणमा पक्षपातरहित, स्पष्टवक्ता, मानवीय सम्त्रन्ध कायम गर्ने, सेवाभाव, क्रियाशील, विनोदप्रीय, नेतृत्व गर्ने क्षमता र समाज र समुदायको ज्ञान आदि । पेसागत गुणहरुमा विषयगत उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञानका ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञाषु र अध्ययनशील, खोज आदि प्रमुख रहेका छन् ।

अचेल शिक्षाको गुणस्तरबारे चर्चा बाक्लै हुने गरेको छ । गुरुस्तर गुणस्तर एकअर्कामा अन्तरसम्बन्धित छन् । भनाइ पनि छ, कुनै पनि विद्यालय शिक्षक भन्दा राम्रो हुन सक्दैन् । अर्थात शिक्षक राम्रो भए विद्यालय पनि स्वतह राम्रो हुन्छ । शिक्षण सिकाइ क्रियाकलापलाई उपलब्धिमूलक बनाउन शिक्षकको पेसागत दक्षता तथा निष्ठापूर्वक समर्पणको भावनाले प्रमुख भूमिका खेल्छ । गुणस्तरीय शिक्षाको लागि शिक्षण सिकाइ क्रियाकलाप पनि गुणस्तरीय हुनुपर्दछ । साधानस्रोतको उपलब्धता तथा त्यसको वैज्ञानिक व्यवस्थापनलाई गुणस्तरीय शिक्षणको लागि नजरअन्दाज गर्न सकिन्न । जसको लागि प्रतिभाशाली जाँगरिलो पेसाप्रति समर्पित उत्साही शिक्षक अपरिहार्य हुन्छ । साथै शिक्षण पेसामा प्रवेश गरिसकेका जनशक्तिलाई हौसला प्रदान गर्न उनीहरूमा भएको मौजुदा ज्ञान सीपलाई परिस्कृत र पारङ्गत गर्दै सक्षमता ल्याउन समयानुकुल तालिम तथा प्रशिक्षण निरन्तर हुनु आवश्यक छ ।

शिक्षकलाई पेसाप्रति समर्पित र जाँगरिलो बनाउने खालका रणनीति अवलम्वन गर्न राज्य चुक्नु हुन्न । नियमित र पारदर्शी अनुगमन निरीक्षणका आधारमा पुरस्कार र दण्डको व्यवस्थाले शिक्षकमा जाँगर, उत्साह र ऊर्जा थप्ने काम गर्छ । शिक्षक स्वयंले पेसागत उत्कृष्टता हाँसिल गर्न समग्रमा नौ नि (निष्पक्षता, निष्ठता, निर्भिकता, निस्कलंकता, निस्वार्थता, नियमितता, नीतज्ञता, निसंकोचता, र्निदिष्टता) जस्ता आधारभूत गुणलाई आत्मसात् गरेर व्यवहारमा उतार्नु पर्दछ ।

शिक्षण संस्थालाई विद्यार्थीका लागि मात्रै सिक्ने थलो नभएर शिक्षकको ज्ञानको दायरालाई फराकिलो बनाउदै सिक्ने थलोको रूपमा विकसित गरिनुपर्दछ । शिक्षक ज्ञान, सीप, अभिबृतिबाट कहिल्यै बुढो हँुदैन अत निरन्तर नवीन कुरालाई सिक्ने सिकाउने भावनाबाट प्रेरित हुनुपर्छ । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षकको अहम् भूमिका हुने हँुदा उनिहरूको कार्यगत क्षमता, लगनशीलता तथा पेसाप्रति समर्पणमा उर्जा थप्न पेसागत सुरक्षा र सम्मानको पनि उत्तिकै खाँचो रहन्छ ।

शिक्षण पेसामा प्रवेश गर्न तथा पेसागत सुरक्षाको लागि कतिपय अवस्थामा व्यवस्थापन समिति प्रति उत्तरदायी हुनुपर्ने बाध्यता छ । व्यवस्थापन समितिका पदाधिकारी लगभग सबै प्रत्यक्ष रूपमा कुनै न कुनै राजनीतिक दलको सदस्यता लिएको कारणबाट शिक्षकप्रति गरिने व्यवहारमा निष्पक्षता हुन चुकेको गुनासो सुन्न पाइन्छ । शिक्षक तथा कर्मचारीको बृतिविकासमा पराक्रम गर्ने भन्दा परिक्रमा गर्नेको हैसियत बढेको तितो सत्य हो । यसरी शिक्षकको पेसागत मर्यादामा विनाकारण पूर्वग्राही ढंगबाट आँच पु¥याउने व्यवस्थापन पदाधिकारीलाई सचेत पार्न तथा आफ्नो तीन वर्षे कार्यकालको लागि विद्यालय विकासको कार्ययोजना बनाउन अभिमुखीकरण गोष्ठी संचालन गर्नुपर्छ । जानीजानी पदिय हैसियतलाई दुरूपयोग गर्नेलाई कानुनी दायरामा ल्याउनसके शिक्षकमा स्वभिमानीपूर्वक आफ्नो पेसागतधर्म निर्वाह गर्न उत्साही बनाउने छ । शिक्षक नियुक्ति प्रक्रियाको लागि केन्द्रियस्तरमा संवैधानिक शिक्षक सेवा आयोग र शिक्षकको कानुनी उपचारको लागि छुट्टै न्यायालयको व्यवस्था भएमा शिक्षण पेसामा दक्ष जनशक्तिको आकर्षण अझ बढ्नेछ ।

शिक्षकको पेसागत दक्षतालाई विद्यार्थीको उपलब्धीसँग दाँजेर सोहीअनुसार पुरस्कार र दण्डको व्यवस्था पारदर्शिरूपमा गर्न सके गुणस्तरीयता कायम गर्न होस्टेमा हैंसे हुनेछ । विद्यार्थीले ६ घण्टा मात्रै विद्यालयमा बिताउने र बाँकी १८ घण्टा घरपरिवारमा नै बिताउने साथै बालबालिकाको लागि घरपरिवार पहिलो विद्यालय भएकोले त्यहाँको वातावरण पनि पढ्ने तथा शैक्षिक सामग्रीको पर्याप्तता लगायत अन्य पक्षको छलफल र सहकार्य गर्न शिक्षकले अभिभावकसँग निरन्तर सम्पर्क राखी चिरन्जीवि सौहार्दता कायम राख्नाले पनि शैक्षिक उपलब्धीलाई उच्च बनाउन टेवा पुग्न जान्छ ।

विद्यालयको शैक्षिक कार्यक्रमलाई व्यवस्थित गदैैै सबै शिक्षकको सल्लाह र सहमतिमा वार्षिक शैक्षिक क्यालेण्डर बनाइनुपर्दछ । त्यसको अनुसरण भए नभएको अनुगमन निरीक्षण प्रअ तथा व्यवस्थापनले गर्नुपर्दछ । विद्यमान ऐन नियममा भए अनुसार कम्तीमा २२० दिन विद्यालय खोली पठनपाठन गर्ने वातावरण बनाउन सञ्चालक र सेवाग्राही सजग रहनुपर्दछ । त्यस्तै विद्यालयमा अनुशासित एवम् मर्यादित वातावरण बनाउन आचारसंहिता बनाई लागू गरिनुपर्दछ । विद्यालयलाई बन्द हडतालमुक्त क्षेत्र घोषणा गरी त्यसको कडाइका साथ पालना गर्न समर्थन जुटाउनुपर्दछ ।

विद्यालयको हरेक कार्यक्रम विद्यार्थीको हितलाई उच्च प्राथमिकता दिएर बनाइनुपर्दछ । विद्यार्थी घरबाट भागेर विद्यालय आउने चित्ताकार्षक रोचक रतिने खालको वातावरण हुनुपर्दछ । शिक्षाकर्मीहरू विद्यार्थीप्रति उत्तरदायी हुनुपर्दछ । उनीहरूनै रोजगारदाता हुन भन्ने यथार्थलाई बिर्सनु हुँदैन, किनकी विद्यार्थी भएको कारणले विद्यालय खुल्ने र शिक्षा क्षेत्रमा रोजगार सिर्जना हुने भएकोले विद्यार्थीलाई प्रमुख रोजगारदाताको रूपमा व्यवहार गरिनुपर्दछ । । विद्यार्थी वनस्पतिको एकदाना बीउ जस्तै हो । यदि उपयुक्त हावापानी तथा आवश्यकता अनुसार गोडमेल भएमा राम्रोसँग फस्टाउँछ । त्यस्तै विद्यालयमा पनि बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने वातावरण दिनसके मात्रै भोलिको योग्य नागरिक बनाउन सकिन्छ । विद्यार्थीलाई माछा मारेर खुवाउनुको सट्टा माछा मार्न सिकाउने स्वावलम्बी पौरखी खालको शिक्षा दिइनुपर्दछ ।

 कार्की पूर्व जिल्ला शिक्षा अधिकारी हुन् ।

प्रतिकृया दिनुहोस्