काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण तथा परीक्षा सञ्चालन व्यवस्थापमा सघाउन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ ।

आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले देशभरका शिक्षकहरू आन्दोलन गरिरहेका छन् । २० चैतदेखि काठमाडौंकेन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले सरकारले माग पूरा नगरे एसईई परीक्षाको उत्तरपुस्तिका जाँच नगर्ने जनाएका छन् । यसबाट परीक्षा दिएर बसेका लाखौं विद्यार्थी प्रभावित हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षणमा सघाउन आग्रह गरेको हो ।

बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उत्तरपुस्तिका परीक्षण तथा परीक्षा संचालन व्यवस्थापनमा शिक्षकहरूकै अहम् भूमिका रहन्छ । परीक्षाको उत्तरपुस्तिका परीक्षणमा हुने ढिलाइले विद्यार्थीले नतिजा प्राप्ति पछि पाउने अवसरमा प्रत्यक्ष असर पार्ने संवेदनशील पक्षमा प्रवुद्ध शिक्षकवर्ग जानकार नै हुनुहुन्छ ।’

बोर्डले विगत समयदेखि शिक्षकहरूले नै विद्यार्थीको दक्षता र सिकाइ उपलब्धि परीक्षणको गहन जिम्मेवारी सम्हाल्दै आएको चर्चासमेत गरेको छ । ‘शिक्षकहरूको पेसागत बढोत्तरी, पेसागत सुरक्षा तथा विद्यार्थीका आवश्यकता र अवसर दुवै प्राथमिक र संवेदनशील पक्ष हुन् । यस संवेदनशीलताभित्र आफ्ना माग तथा अपिलसँगै विद्यार्थीको भविष्यलाई समेत दृष्टिगत गरी उल्लिखित कार्यहरूको जिम्मेवारी सदाझैँ वहन गरी सहयोग पुर्‍याइदिनुहुन नेपाल शिक्षक महासंघ तथा सम्पूर्ण शिक्षकहरूसँग हार्दिक अनुरोध गरिन्छ,’ बोर्डले भनेको छ ।

प्रतिकृया दिनुहोस्