काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मानव चेतना र सभ्यताको मूल पुञ्ज भएको बताएका छन् । शिक्षाले व्यक्तिको जीवन, राष्ट्रको उन्नति, समग्र समाज हुँदै मानव सभ्यताकै अग्रगतिमा भूमिका खेल्ने उनको भनाइ छ ।

५९ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानले नै नागरिकको मौलिक हकको रूपमा अनिवार्य तथा निःशुल्क शिक्षा स्थापित गरेको स्मरण गरेका छन् ।

सबै नागरिकलाई शिक्षाको पहुँच र अवसरबाट वञ्चित किमार्थ स्वीकार्न नसकिने भन्दै उनले भने -‘यो मुलुक वैदिक तथा उत्तर वैदिक युगमा प्रादुर्भाव भएका आदियोगी शिवको योग दर्शन, महर्षि चरकको गणितशास्त्र, आर्यभट्टले गुरुत्वाकर्षणको सिद्धान्त, कपिलमुनिको साङ्ख्य दर्शन, भाष्कराचार्यको पृथ्वी र सूर्यको दूरी तथा विश्वामित्रका छोरा (सुश्रुत ऋषि) ले शल्यक्रिया विज्ञान लगायतका आदिम ज्ञान र दर्शनको भूमि हो ।’

नयाँ पुस्ताले आदिम ज्ञान र दर्शनको पुनर्उत्थान तथा पुनर्जागरणसहित तथ्यपरक तथा प्रामाणिक अध्ययन अनुसन्धानमा जुट्ने बेला आएको उनको भनाइ छ । उनले गणतन्त्रको स्थापना पश्चात् शिक्षामा नागरिकको पहुँच विस्तारको दायरा बढेको पनि बताएको छ । वि.सं २०४८ मा नेपालको साक्षरता दर ३९.६ प्रतिशत रहेकोमा तीन दशकपछि आइपुग्दा वि.सं. २०७८ को जनगणनामा यो दर ७६.२ प्रतिशत पुगेको उनले स्पष्ट पारेका छन् ।

यस बीचमा विद्यालयमा भर्ना हुने बालबालिकाको सङ्ख्या दोब्बरले वृद्धि भई करिब ७० लाख पुगेको, विद्यालय तहको खुद भर्ना दरमा लैङ्गिक समता सूचकाङ्क समद्मा पुगेको भएपनि तराई मधेशका तथा हिमाली क्षेत्रका केही जिल्लामा अझै पनि महिला साक्षरता दर ५० प्रतिशत मात्र हुनु सुखद स्थिति नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले भने, ‘यसमा राज्यको थप हस्तक्षेपकारी भूमिका आवश्यक छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल शिक्षा र सीपको विकास गरी शिक्षामा नवीन प्रविधिको आत्मसात् गर्न आवश्यक छ ।’

प्रतिकृया दिनुहोस्