काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँ आएर प्रदर्शनरत शिक्षकहरुमाथि सरकारले बल प्रयोग गरेको छ । प्रहरीसँगको झडपमा दर्जन बढी शिक्षक घाइते भएका छन् । नेपाल शिक्षक महासंघले भने शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ ।
आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाए । सरकारले जति नै बल प्रयोग गरेपनि अधिकारका निम्ति शिक्षक ज्यान दिन तयार रहेको उनको भनाइ थियो ।
‘शान्तिपूर्ण आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर सरकारले नाङ्गो रुप देखायो ।’ उनले भने, ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ। हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस् ।’ दमनबाट विचलित नहुने उल्टै भोलि थप शिक्षक कर्मचारी काठमाडौँ आउने सुवेदीले चेतावनी दिए । ‘भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन। अब हामी पनि आउछौ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नुभएको छ,’ अध्यक्ष सुवेदीले भने ।
बानेश्वरमा शिक्षक र प्रशरीबीच झडप भएको थियो । प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो महासंघका अनुसार दर्जन बढी शिक्षक घाइते भएका छन् । यसपछि शिक्षकहरू झन आक्रोशित भएका छन् ।