घनश्याम पाठक
प्रधानाध्यापक
कालिका मानवज्ञान माध्यमिक विद्यालय, बुटवल

विद्यालयको समग्र अवस्था कस्तो छ ?
समग्रमा भन्नुपर्दा अहिले विद्यालय भौतिक रुपमा सम्पन्न, शैक्षिक उपलब्धिमा अब्बल तथा अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय सिकाइ गतिविधिमा अग्रसर भई अघि बढिरहेको छ । दुई सेक्टरमा विद्यालय सञ्चालन छ र १३२ वटा कक्षाकोठा, प्रयाप्त प्रोगशाला, स्वच्छ पिउने पानी, शौचालय, ६ वटा स्कूल बस, ६ हजार ५ सय ४७ जना विद्यार्थी, २ सय ६५ जना शिक्षक तथा कर्मचारी, प्रत्येक शिक्षकलाई उपयुक्त तथा प्रसस्त शैक्षिक सामग्रीको उपलव्धता, ६९ कोठाको नयाँ भवन सम्पन्न हुँदैछ । रंगरोगन हुन बाँकी छ ।

शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के–के छन् ?
कालिका माविमा मानवज्ञान मावि विद्यालय मर्ज पश्चात दुबै ठाउँमा समान रुपमा कक्षा सञ्चालन भइरहेका छन् । विद्यालयमा पढाउने भन्दापनि सिकाउने तर्फ अग्रसर युग सुहाउँदो प्रविधियुक्त कक्षा सञ्चालन भइरहेका छन् । हाल विद्यालयले व्यवहार कुशल सिप, कोर स्किल लगायतका विधिहरु प्रयोग गरी जिवनोपयोगी शिक्षा प्रदान गरिरहेको छ । सिकाइको दायरा फराकिलो र समयसापेक्ष बनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय विद्यालयहरुसँग सिकाइ आदान प्रदान तथा सहकार्य गरिने गरिएको छ ।

शैक्षिक सत्रको सुरुमा वार्षिक कार्ययोजना निर्माण, शिक्षण सामग्री निर्माण तथा शिक्षक तालीम जस्ता कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । तहगत रुपमा इन्चार्ज व्यवस्थापन तथा कार्य बिभाजन गर्ने गरिएको छ । बिभिन्न खालका समितिहरु निर्माण गरी शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्ने गरिएको छ । सबै सरोकारवालाहरुलाई राखेर एस.आइ.पी. निर्माण गर्ने र समय समयमा अभिभावकलाई प्रशिक्षण दिने गरिएको छ । छिटो छरितो कार्य सम्पादनको लागि कक्षागत प्रोफाइल तथा कक्षा व्यवस्थापन समिति निर्माण  र कक्षागत लगबुक कार्यन्वयन गरिएको छ । अभिभावकको उपस्थितिमा मात्र नतीजा विद्यार्थीलाई दिईने र पुरक परीक्षाको व्यवस्था गरिएको छ । उत्कृष्ट अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारी सम्मान गर्ने गरिएको छ । पूर्णरुपमा विद्यार्थीकेन्द्रित शिक्षण विधि र स्थानीय पाठ्यक्रम निर्माण तथा अवलम्वन गर्ने गरीएको छ । बाल प्रतिभा प्रफुस्टनको लागि भरपुर अवसर तथा बिभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिएको छ भने संगितमय नमूना कवाजको पूर्ण कार्यान्वयन गरिएको छ । शिक्षक, अभिभावक, विद्यार्थी, तथा विद्यालय व्यवस्थापन समितिको एक मन एकता रहेको अवस्था छ ।

कक्षाकोठालाई बालमैत्री र सिकाइमैत्री बनाउन विद्यालयमा के प्रयास भएको छ ?
विद्यालयमा बालमैत्री वातावरण विकास गर्न निम्न अभ्यासहरु भएका छन् । साना बालबालिकाले प्रयोग गर्ने कक्षाकोठाका फर्निचर, खानेपानी, शौचालय, कक्षाकोठा व्यवस्थापन तथा बसाई सोही कक्षाको उमेर अनुसार व्यवस्थापन गरिएको छ । शिक्षण विधि तथा अन्य कार्यक्रमहरु पनि बाल मनोबैज्ञानिक सिद्धान्तलाई ख्याल गरी सञ्चालन गरिएको छ । कुशल व्यवहार सिपको अवलम्बन तथा सामाजिक व्यवहार अनुसार सिकाइको व्यवस्थापन गरिएको छ । स्वच्छ खानेपानी (तातो चिसो), खेल मैदान, बातानुकुलित कक्षाकोठाहरु, सुविधायुक्त चमेनागृह आदिको व्यवस्थापन गरिएको छ । विद्यार्थीको उमेर समुहको आवश्यकता अनुसारका सिपहरुको व्यवस्थापन गरिएका छन् । बालअधिकारको पूर्ण पालना, ऋजष्मि एचयतभअतष्यल एयष्अिथ निर्माण तथा पालना गर्ने गरिएको छ ।

यस्तैगरी, विद्यालयमा सिकाइमैत्री वातावरण विकास गर्नका लागि निम्न अभ्यासहरु गरिएका छन् । विद्यार्थी केन्द्रित विधि, व्यवहार कुशल सिप, कोर स्किल जस्ता आधुनिक विधिहरु सिकाइको लागि भरपुर प्रयोग गर्ने गरिएका छन् । बेला बेलामा शिक्षक तालीम, प्रयोग तथा अनुगमन हुने गरेको छ भने कार्यमुलक अनुसन्धान पूर्णरुपमा अवलम्बन गर्ने गरिएको छ ।

शैक्षिक सामग्री निर्माण, खरिद तथा व्यवस्थापन अनि प्रयोगमा अनुगमन तथा उचित प्रयोगको लागि बिषयगत समितिहरु बिच छलफल गर्ने तथा विषयगत समिति अध्यक्षबाट बेला–बेलामा समस्यामूलक अवस्था अनुसार छलफल तथा तालीमको व्यवस्थापन गर्ने गरिएको छ । २१ औं सताब्दी अनुसारका विधिहरु, प्रविधिमैत्री शिक्षणको लागि आवश्यक पर्ने आधुनिक उपकरण, प्रोजेक्टर, स्मार्ट डिभाइस, स्मार्ट बोर्डको उचित व्यवस्थापन, प्रयोग तथा अनुगमनको व्यवस्था गर्ने गरिएको छ । बेला बेलामा बिषयबस्तुको माग अनुसार स्थलगत अध्ययन तथा जीवनोपयोगी शिक्षणमा उपयोगी हुने बिभिन्न ठाँउको भ्रमण गराई सिकाइको उचित बातावरण तयार पारिएको छन् । परियोजना निर्माण, कार्यान्वयन तथा अनुगमन तथा अन्तर्राष्ट्रिय मित्र विद्यालयहरुसँग सहकार्य गरि अन्तर्राष्ट्रिय आयाम अनुसारको सिकाइ आदान–प्रदान तथा दिगो विकासका लक्ष्य पहिल्याई सिकाउने उचित वातावरण विकास गरिएको छ ।

सिकाइस्तरको अवस्था के छ ?
दिगो सिकाइको लागि भरपुर प्रयास गरिएको र सोही अनुसारको सिकाइ उपलब्धि पनि उत्कृष्ट रहेको छ । फेलरहित विद्यालयको परिकल्पना सहित शैक्षिक सत्रको सुरुमा सबै विषय शिक्षकले शैक्षिक उपलब्धिस्तर कति पुर्याउने भनि प्रअसँग र विद्यार्थीले बिषय शिक्षकसँग करार सम्झौता गर्ने गरिएको छ । र सबै विषयमा औषत उपलब्धिस्तर ६० भन्दा माथि रहेको अवस्था छ ।

सामुदायिक विद्यालयको अवस्था देशभर खस्किदै गइरहेको भनिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
देशभरका सामुदायिक विद्यालयको स्तर खस्किदै गइरहेको भन्ने कुरा सही होइन । तर, सामुदायिक विद्यालय हुनुपर्ने जति अब्बल चाँही हुन नसकेका पक्कै हुन् । यसको प्रमुख कारण सरकारले शिक्षाको दायित्वबाट उम्कने खालको नीति बनाउनु हो ।  शिक्षालाई कम्पनी ऐन अन्तरगत दर्ता भएमा प्राईभेट बोर्डिङ स्कुल खोल्न दिने र नीति निर्माता नै प्राईभेट बोर्डिङ स्कुलका सञ्चालक हुनु पनि कारण हुन् । राज्य शिक्षाको उत्तरदायित्व बहन गर्ने तर्फ अनिईच्छुक रहेको देखिन्छ जसले गर्दा शिक्षा तर्फको राज्यको लगानी घट्दै गएको छ ।

समस्याको गहिराइ सम्म पुग्ने भन्दा प्रचारमुखी शिक्षा नीति रहेको अवस्था छ ।  सामुदायिक विद्यालयमा अभिभावकत्व ग्रहण गर्ने नाममा टी.भी. र सञ्चार माध्यममा देखिने तर त्यो बच्चाले विद्यालयमा पुग्न नसक्नुको कारण खोज्ने तर्फ लाग्ने देखिन्न । जस्तै आमाबाबुको काममा जानुपर्ने अवस्थाले घरमा भाईबहिनी हेरेर बस्नु परेकाले स्कुल जान नसकेको कुरालाई आत्मसाथ नगर्नु पनि कारण हुन् । शिक्षाको पाठ्यक्रम र पाठ्यपुस्तक समयमा नै पुर्याउन नसक्नु तथा देशको राजनीतिक अवस्थामा आजको फेरबदल अनुसार शिक्षा ऐन नियममा परिवर्तन हुन नसक्नु पनि सामुदायिक विद्यालय सोचे जस्तो सुधार हुन नसक्नुका कारण हुन् ।

अभिभावकहरुले त अझैपनि सामुदायिक विद्यालयलाई पत्याएको देखिदैन नि ?
नपत्याएको कसरी भन्ने ? अझैपनि झण्डै असी प्रतिशत बालबालिका सामुदायिक विद्यालयमै पढ्छन् । तर, हुनुपर्ने जति आकर्षण भने नभएकै हो । त्यसो हुनुमा नितान्त रुपमा शिक्षक, विद्यालय दोषी मान्न सकिँदैन । राज्यको ध्यान सामुदायिक सुधारमा निरन्तर हुनु जरुरी छ । यहाँ राज्यको जिम्मेवार बहन गर्ने ओहोदामा बसेकाहरुको लगानी निजी विद्यालयमा छ । जसले गर्दा सामुदायिक विद्यालयमा ध्यान कम भएको देखिन्छ । कतिपय सामुदायिक विद्यालय भौतिक रुपमा अत्यन्तै कमजोर छन् । उपयुक्त कक्षाकोठा, तालीम प्राप्त शिक्षक, एथेस्ट शिक्षक दरबन्दी छैन । अनि त्यस्तो अवस्थामा विद्यालयलेले निजी स्रोतमा शिक्षक खटाई विद्यालय चलाउनु परेको छ । दूरदराजका विद्यालयहरुमा नपत्याइएको अवस्था हो तर आजको अवस्थमा आएर धेरैजसो सामुदायिक विद्यालयमा अभिभावकको मोह बढेको पाइन्छ । हाम्रो विद्यालयमा भन्ने हो भने भर्नाका बेला अभिभावकको दवाव थेग्न नसक्ने अवस्था छ ।

अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमतामा बारम्बार प्रश्न उठ्ने गर्छ ।  सुधारका लागि के गर्नुपर्ला ?
पहिलो कुरा विद्यालयमा शिक्षक भित्रिने तरिका ठोस गरिनु पर्दछ । संवैधानिक शिक्षक सेवा आयोग मार्फत शिक्षक भित्रिने बाटो खोल्नु पर्दछ । सेवा प्रवेश गरेका शिक्षकहरुको क्षमता बढाउन युग सुहाउँदो शिक्षक तालीम, प्रविधिमैत्री, बालमैत्री शिक्षण तालीम, त्यसको सहि प्रयोग तथा अनुगमन निरन्तर हुनु पर्दछ । शिक्षकहरुको मनोबल बढाउने कार्यहरु पनि निरन्तर गर्नु पर्दछ । दण्ड र सजायको व्यवस्था हुनुपर्छ । वास्तवमा केहो भने शिक्षक क्षमतावान छन् तर, उनीहरुको क्षमता कक्षाकोठामा पुग्न मात्र सकेको छैन ।

शिक्षकहरुको बेला बेलामा क्षमता परिक्षण हुनुपर्ला कि नपर्ला ?
हुनुपर्दछ । बेलाबेलामा शिक्षकहरुको क्षमता बिस्तार तथा युग सुहाउँदो कार्यक्रम सञ्चालन गरी शिक्षकहरुलाई अपडेट बनाइराख्नु पर्दछ । त्यसो गर्दा पनि क्षमता बिस्तारमा ध्यान नदिने तथा शिक्षणलाई जागीरको रुपमा मात्र लिने शिक्षकलाई क्रमशः फेजआउट गर्दै जानुपर्दछ । एकपटक पढेर जीवनभर पढाइरहने अवस्थामा परिवर्तन हुनैपर्छ । शिक्षकहरुपनि निरन्तर अध्यनअनुसन्धानमा लाग्नुपर्छ । प्रविधिमैत्री हुनै पर्छ ।

सरकारले दिने शिक्षक तालीम, पाठ्यक्रम, परीक्षा प्रणाली, मूल्याङ्कनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
परीक्षा र मूल्याङ्कन पनि यसको मर्म, भावना र महत्व अनुसार हुन नसकेको अवस्था छ । सिकाइ प्रकृयामा मूल्याङ्कनको धेरै महत्व हुन्छ । एकोहोरो ३ घण्टा वा २ः१५ घण्टा परीक्षाले सिकारुको सिकाइको सबै पक्षको मापन गर्न सक्दैन । यो निरन्तर गर्नु पर्दछ । सीप, ज्ञान, व्यवहार सबै पक्षको मूल्याङ्कन गर्ने औजारको प्रयोग गराउनुपर्ने यस्को मुख्य मर्म हो । यहाँ केवल प्रश्नपत्रले तोकिएको समयभित्र उत्तरपुस्तिकामा दिइएको उत्तरले मात्रै पक्षको मूल्याङ्कन गर्ने गरिएको छ । विद्यार्थीहरुले  प्राप्त गरेको सिकाइ बाताबरण अनुसार उसको मूल्याङ्कन गर्दा न्याय हुन्छ । काठमाडौं र जुम्लाका विद्यार्थीको सिकाइ वातावरण र अवस्था फरक हुन्छ जस्ले गर्दा एउटै प्रश्नपत्रले मूल्याङ्कन उपयुक्त हुँदैन ।

एउटा विद्यालय राम्रो बनाउनका लागि एकजना प्रअको कस्तो भूमिका रहन्छ ?
प्रअ हाकिम भन्दा पनि लिडर बन्नुपर्दछ । सबै शिक्षक तथा विद्यार्थी निर्धक्क भएर प्रअसँग सहकार्य गर्ने वातावरण तयार गर्नुपर्दछ । विद्यालयको भौतिक, सामुदायिक, शैक्षिक पक्षहरुमा निरन्तर लागिरहनु पर्दछ । शिक्षकहरुको मनोबल बढाउने, विद्यार्थीहरुलाई निरन्तर सुझाब दिने, अभिभावकहरुसँग निरन्तर सम्पर्कमा आउने, व्यवस्थापन समितिसँग एक मन एकता भइ सहकार्य गर्ने हुनु पर्दछ । विद्यालयको लागि आवश्यक पर्ने स्रोतहरुको निरन्तर खोजी गरिरहने हुनुपर्दछ । म भन्दा पनि हामी भन्ने भावना भएको हुनुपर्दछ । राजनीति आस्थालाई विद्यालय भन्दा टाढा राख्ने तथा पक्षपात रहित हुनुपर्दछ । शिक्षकहरुको मनोबल बढ्ने कार्यमा निरन्तर लागिरहनु पर्दछ ।

यो विद्यालयमा नै विद्यार्थीहरु किन पढाउने ?
कालिका मानवज्ञान मावि एक पूर्णरुपमा बालमैत्री र प्रविधिमैत्री विद्यालय हो । यसमा उत्कृष्ट, तालीम प्राप्त शिक्षकहरुको समुह छ । कालिका मानवज्ञान पढाउने थलो नभई सिकाउने थलो हो । युग सुहाउँदो शिक्षण विधिहरु अवलम्बन गर्ने गरिएको छ । उत्कृष्ट नतीजा सहित सुनिश्चित भविष्य र जीवनोपयोगी, व्यवहारमा कुशल ल्याउने सिकाइका लागि पनि हाम्रो विद्यालयमा स्वागत छ । संस्कार सहितको शिक्षा र राष्ट्रिय तथा अन्तराष्ट्रिय विद्यालयहरुसँग सिकाइ आदान–प्रदान गरी सिक्नको लागि पनि हाम्रो विद्यालय उपर्युक्त हुन सक्छ । संस्कार र सभ्यता सहितको शिक्षा प्राप्त गर्न हाम्रो विद्यालयको विकल्प दख्दिन ।

तपाईं यस विद्यालयमा कहिले प्रअ बन्नुभयो ? तपाईं प्रअ बनेपछि के–के सुधार गर्नुभयो ?
म २०६५ असार १८ गते देखि यस विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीमा छु । शुरुमा आधुनिक सुविधा सम्पन्न तथा वातानुकुलित विद्यालय भवनहरु निर्माण गरेँ । दश जोड दुईका कक्षाहरु सञ्चालन र त्यसमा मानविकी, शिक्षा, व्यवस्थापन, कानून, कम्प्युटर इन्जिनियरिङ र विज्ञान संकायहरु शुरु गरियो । यस्तै ५ वर्षे शिक्षण सुधार कार्यक्रम ल्याई उच्च उपलब्धि सहित ९६ प्रतिशत सम्म विद्यार्थीहरु उत्तीर्ण बनाउन सफल भइयो । एस.एल.सी.,  एस.ई.ई. मा लगातार सर्वोत्कृष्ट नतीजा दिन सफल भइयो ।

लगातार नेपाल प्रथम भएर २०७२ देखि राष्ट्रिय ध्वजा ५ वटा हाँसिल गर्न सफल भएको अवस्था छ । समान कामको समान सुविधाको लागि जुन तहमा कार्य गरेको हो सोही तहमा सरकारी तलव सुविधा सबै खालका शिक्षकहरुलाई व्यवस्था गर्ने काम गरेँ  । जसले विद्यालयलाई देशको नमूना विद्यालय बनाउन सफल भइयो । आई एस ए परियोजना सञ्चालन गरि अन्तर्राष्ट्रिय रुपमा विद्यालयलाई स्थापित गराउन सफल भइयो । साविकको मानवज्ञान मा.वि. सँग विद्यालय मर्ज गरि त्यो विद्यालयको पनि स्तरउन्नती गर्न सफल भइयो । यो मेरो नेतृतवमा भएपनि म एक्लैले गरेको भने होइन । विद्यालय परिवारकै मिहिनेत र सामूहिक मिहिनेतले सम्भव भएको हो ।

राम्रो प्रअ बन्नका लागि तपाईंका सुझाबहरु के–के छन् ?
शुरुमा प्रधानाध्यापक राजनीति पुर्वाग्रही नभई सबैको साझा बन्नुपर्दछ । सबै शिक्षक तथा कर्मचारीहरुको मनोभावना बुझेको हुनु पर्दछ । सबै शिक्षक तथा विद्यार्थी निर्धक्क भएर प्रअ सँग सहकार्य गर्ने बातावरण तयार गर्नु पर्दछ । विद्यालयको भौतिक, सामुदायिक, शैक्षिक पक्षहरुमा निरन्तर लागिरहनु पर्दछ । शिक्षकहरुको मनोबल बढाउने, विद्यार्थीहरुलाई निरन्तर सुझाब दिने, अभिभावकहरुसँग निरन्तर सम्पर्कमा आउने, व्यवस्थापन समितिसंग एक मन एकता भई सहकार्य गर्ने हुनु पर्दछ । विद्यालयको लागि आवश्यक पर्ने स्रोतहरुको निरन्तर खोजी गरिरहने हुनु पर्दछ । म भन्दा पनि हामी भन्ने भावना भएको हुनुपर्दछ । राजनीति आस्थालाई विद्यालय भन्दा टाढा राख्ने तथा पक्षपात रहित हुनुपर्दछ । शिक्षकहरुको मनोबल बढ्ने कार्यमा निरन्तर लागिरहनु पर्दछ ।

विद्यालय सुधारका लागि तपाईंका योजनाहरु के–के छन् ?
विद्यालयको सुधारको उच्च रुपमा विद्यार्थीका उपलब्धि देखिनुपर्दछ । विद्यार्थीको उपलब्धि जस्ता मापन गर्ने पनि बिभिन्न औजारहरु हुन्छन् ।  जस्तै परीक्षाः लिखित, मौखिक, प्रयोगात्मक र शैद्धान्तिक आदि । कालिकाले गरेको सुधारका योजना आफ्नै प्रकारका रहने गरेका छन् । जस्तै २०७२ सालदेखि २०७६ सालसम्मको पाँच वर्षे योजना बनायो ।  पाँच वर्षे योजनालाई प्रत्येक वर्षको लागि १÷१ गरि पाँच वटा मुख्य योजना जुन नाराको रुपमा शिक्षक, विद्यार्थीहरु र अभिभावक सामु पुर्याउने गरेका छौँ । जस्तैः

१. २०७२ सालमा “हाम्रो विद्यालय पढ्न् पढाउने थलोमात्र नभई सिक्ने सिकाउने थलो बनाउँ” । यो निकै प्रभावकारी बन्यो । विद्यालयमा शिक्षक सिकाउन जाने, विद्यार्थी सिक्न जाने, र अभिभावक सिकोस भनेर विद्यार्थी विद्यालयमा पठाउने । प्रविधिको अत्यधिक प्रयोग गरेर नारा सफल पार्न हामी सफल भयौं ।
२. २०७३ सालमा “हाम्रो विद्यालयको स्वरुप छाता जस्तो बन्यो यसलाई बदलेर खम्बा जस्तो बनाउने” । सानो कक्षादेखि ठूलो कक्षा सम्म विद्यार्थी संख्या समान बनाउने योजना हो यो । जसको लागि नर्सरी देखि कक्षा ३ सम्मका कक्षाहरुमा सबैभन्दा बढि लगानी गरेर आर्कषक, अत्याधुनिक तथा पूर्ण बालमैत्री बनाउने यो योजना पनि सफ भयो ।  हाल पूर्व प्राथमिक तहमा ७२० विद्यार्थी पुगेको छ ।

३. २०७४ सालमा “आँफैप्रति निर्मम बनाँै भन्दै शिक्षकले आँफैलाई सुधार गरौँ सुरुवात मुस्कान सहित कक्षाकोठा प्रवेशबाट गर्ने” । यसले विद्यार्थीहरु शिक्षक नजिक आउने, आफ्ना कुरा राख्न सक्ने र बढि से बढि कक्षालाई प्रभावकारी बनाउन सफल भयौँ । प्रश्न सोधेको खण्डमा स्याबासी र पुरस्कार दिने कक्षाकोठा निर्माण भयो यसले प्रभावकारी सिकाई हुन पुग्यो ।

४. २०७५ सालमा “बिना शैक्षिक सामग्री कक्षाकोठा प्रवेश नगरौँ” भन्ने नारा तयार गर्यौ । यसले झन सिकाइलाई प्रभावकारी बनायो ।

५. २०७६ सालमा हालसम्मको नतिजा विश्लेषण गरेर हेर्यौ । राष्ट्रिय रुपमा लगातार ५ वटा राष्ट्रिय ध्वजा शिक्षा मन्त्रालयबाट प्राप्त गरेका छौँ । बिभिन्न रुपमा सम्मािित भयौँ । प्रत्येक वर्षको नतिजा राष्ट्रिय चर्चाको बिषय बन्न पुग्यो तर हामी सन्तुष्ट हुन सकेनौँ । प्राप्त भएको ग्रेड सीट अनुसारको आचरण, बोली, भाषा, घर परिवार र सामाजिक भावना, देशप्रेम, आफ्नो संस्कृति र संस्कार नभएको विद्यार्थीको के काम छ? यसैले हेदा हाम्रो नारा बन्यो “२०७६ सालको हाम्रो इच्छा सभ्यता र संस्कार सहितको शिक्षा” । यसले आफुभन्दा ठूलोलाई सम्मान र सानालाई माया गर्ने । आफ्नो संस्कार र सभ्यताप्रति गर्व गर्ने । बोली भाषामा सुधार ल्याउने कार्य गर्यौँ । यसले धेरै राम्रो उपलव्धी भएको पाएका छौँ ।

अब सबैको निरन्तरताको साथै टुहुरा, असहाय, गरीब तथा निमुखा बालबालिकाहरुलााई विद्यालय भित्र ल्याउने र खान, बस्न, लगाउन र पढ्न पाउने गरि व्यवस्था गर्ने योजना बनाएका छौँ । २०७७ सालबाट सुरुवात गर्दै छौ । प्राप्त सफलता लाई गुम्न नदिने गरि योजना निर्माण गरिरहेका छौँ ।

अन्तराष्ट्रिय सम्बन्ध बिस्तार गर्दै विश्वमा हुने गरेको नयाँ अभ्यासलाई हाम्रो विद्यालयमा भित्र्याउने कार्यको थालनी भएको छ । ब्रिटिस काउन्सिलले आयोजना गरेको अन्तराष्ट्रि विद्यालय पुरस्कार प्राप्त गरि सकेका छौं भने यसलाई निरन्तरता दिने योजना छ ।

स्थानीय समुदायको सहयोग कत्तिको छ ?
स्थानीय समुदायका व्यक्तिहरुसँग सुरु–सुरुमा म प्रअ बन्दा खासै राम्रो थिएन । म प्रअ बनिसकेपछि बिस्तारै–बिस्तारै समुदाय लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै गयौं र बिस्तारै समुदायसँग सम्बन्ध बलियो बन्दै गयो । हाल आएर स्थानीय समुदायको सहयोग, माया, सदभाव एकदम राम्रो बनेको छ ।

शिक्षा सुधार नहुनुमा सरकारको नीतिमा समस्या देख्नुहुन्छ  कि नियतमा ?
सामुदायिक विद्यालयको सुधार नभएको भन्ने धेरैजसो हल्ला हो । सामुदायिक विद्यालयमा सुधार पनि भएको छ । तर जुन रुपमा सुधार र सबै अभिभावकको आर्कषणको प्रमुख केन्द्र सामुदायिक विद्यालयहरु हुन सकेका छैनन् त्यसको प्रमुख कारण सरकारको नीति र नियत दुबै दोषि छन् । संस्थागत विद्यालयलाई नाफा कमाउने र शिक्षाको माध्यमबाट अर्थउपार्जन  गर्न पाउने नीति बनाउँदा आफ्ना नागरिक ठूलो अन्याय भएको छ । जो सँग पैसा छ उसले राम्रो शिक्षा पाउने र पैसा नभएकाले शिक्षा नै नपाउने यस्तो नीति बनाइएको छ । यो सरकारको मुख्य दोष हो ।

अर्को तर्फ नियत पनि दोषि देखिन्छ । संविधानले आधारभूत तहसम्ममको शिक्षा हरेक नागरिकको निःशुल्क तथा अनिवार्य प्राप्त गर्ने हक हुनेछ भनि लेख्ने । मा.वि. तह ९ देखि १२ सम्मको शिक्षा निःशुल्क भनेर उल्लेख गरिनु तर व्यवहारमा शिक्षामा हरेक बर्ष लगानी घटाउँदै लैजानु र विद्यार्थी संख्याको आधारमा दरबन्दी नदिनु कक्षा ११ र १२ बेवारिसे अवस्थामा रहेको अवस्थालाई यथावत राख्ने गरिएको छ यो नियत नै गलत हुनुको प्रमाण हो ।

राष्ट्रिय शिक्षा सुझाव आयोग जुन आयोगमा अध्यक्षा शिक्षा मन्त्री स्वयं थिए । उनले बुझाएको प्रतिवेदन हालसम्म गुपचुप छ । यसो किन भयो त ? प्रतिवेदनमा संस्थागत विद्यालयलाई सेवामुलक बनाउने केही कार्यक्रम छन् त्यसैले हो । यसले गर्दा स्पष्ट छ संस्थागत विद्यालय र सरकार चलाउने एउटै छन् जसको नियत नै गलत छ ।

हाम्रा शिक्षकहरुलाई साँच्चै ‘गुरु’ बनाउन के गर्नुपर्ला ?
समग्र देशकै सामुदायिक विद्यालयको कुरा गर्ने हो भने हाम्रा शिक्षकहरुलाई साँच्चै गुरु बनाउनको लागि हामी विभिन्न खालका योजना, त्यसको कार्यान्वयन तथा अनुगमन गर्नु पर्दछ जुन यस प्रकार छनः

–   आधुनिक युग सुहाउँदो प्रविधियुक्त शिक्षणमा निपुण बनाई कक्षाकोठामा प्रवेश गराउनुपर्दछ । यसो गर्दा अहिलेका बालबालिकाको मनोभावना अनुसारको सिकाईको बाताबरण बन्दछ अनि विद्यार्थीहरु सिक्नको लागि तयार रहन्छन् ।
–   शिक्षकहरुको मनोबल उच्च बनाउनको लागि मेहनत अनुसारको सुविधाको लागि योजना बनाउनु पर्दछ ।
–   नयाँ शिक्षण विधिहरु आएसँगै शिक्षकहरुलाई पनि त्यसमा साक्षात्कार बनाउनु पर्दछ ।
–  शिक्षकहरुलाई पढाउने भन्दा पनि सिकाउने तर्फ उन्मुख गराउनु पर्दछ ।
–    व्यवहार कुशल सिपको मर्म अनुसार बच्चाहरुको उमेर, रुची, मनोभावना बुझेर सिकाइ क्रियाकलाप गराउन तर्फ उत्प्रेरित गर्नुपर्दछ ।

 सरकारको ठूलो लगानीका बाबजुद सामुदायिक विद्यालयको गुणस्तर कम देखिन्छ । यसको कारण केलाई मान्नुहुन्छ ?
पहिलो महत्वपूर्ण कुरा के हो भने शिक्षा राज्यको दायित्व भित्र पर्नुपर्ने विषय हो जसले गर्दा राज्यले गर्ने लगानीको कुरा उसको दायित्व भित्र कै विषय हो । जहाँसम्म राज्यको ठूलो लगानी भनिएको छ नेपालको कुल बजेटको करिब १०.५ प्रतिशत मात्र बजेट शिक्षामा छ त्यो नेपालकै परिप्रेक्ष्यमा भन्नुपर्दा राज्यले १७ प्रतिशतबाट घटाएर यहाँ पुर्याएको छ । तसर्थ यो पर्याप्त लगानी होइन ।

अर्को विषय केहो भने सामुदायिक विद्यालयको गुणस्तर अनुसारको भएन भन्ने प्रश्न त्यो लगानी अनुसार नै छ भन्ने मेरो तर्क छ । मासिक ६ हजारमा  शिक्षकको व्यवस्था गरेको सरकाले यहाँ भन्दा गुणस्तर कस्तो खोज्ने हो ?

अर्को कुरा राज्यले लगानी जे जस्तो रुपमा गरोस हामी शिक्षकले शिक्षाको महत्वपूर्ण जिम्मेवारी लिएको नाताले जिम्मेवारबोध सहित आ आफ्नो ठाँउबाट शिषकले गरेका योगदानको परिणाम स्वरुप गुणस्तर राम्रो हुँदै गएको छ । जहाँ भाइ भतिजा र कार्यकर्ता भर्ती गरेर जिम्मा लगाइने गरेको छ त्यहाँको गुणस्तर कमजोर अवश्य छ ।त्यसकारण शिक्षाको गुणस्तरको स्पष्ट मापन गर्ने औजार र मानक के हो ? त्यो स्पष्ट हुनुपर्दछ । सुगा रटान गरि निस्कने परीक्षाफललाई मात्र आधार लिएर गर्ने गुणस्तरको मापन गर्ने परिपाटीको अन्त्य हुनु पर्दछ । बरु उत्पादित जनशक्तिले राष्ट्र, समाज र परिवारको लागि उसले गरेको योगदानलाई हेरेर पनि अर्थाउनु आवश्यक छ । शिक्षा स्वाभिमान पूर्वक जिउन सिकाउने, आत्मनिर्भरता हुन सिकाउने, र संस्कार र सभ्यता सिकाउने स्वस्थ र सीपयुक्त हुन सिकाउने हो भने त्यसैको आधारमा गुणस्तर मापन गरिनु पर्दछ । सामुदायिक विद्यालयको गुणस्तर सन्तोषजनक अवस्य छ ।

सामुदायिक विद्यालयलाई कसरी प्रतिस्पर्धी बनाउन सकिएला ?
सामुदायिक विद्यालयलाई पहिलो रोजाइको विद्यालय कसरी बनाउने ? यो अझै प्रश्न बन्न सक्छ भन्ने लाग्छ । मैले नेतृत्व गरेको विद्यालय आज पहिलो रोजाईको विद्यालय बनाउन सफल भएका छौँ जसले गदा आज ६ हजार ५ सय ४७ जना विद्यार्थीहरु अध्ययनरत् छन् । प्रतिस्पर्धी  विद्यालयको लागि अरु छैनन् । यो सामुदायिक विद्यालय नै हो । यसको लागि गर्ने के–के ?
–    अभिभावकको चाहाना बुझ्ने हुनुपर्यो किन अभिभावक संस्थागत विद्यालय तर्फ फर्केका छन् । अभिभावक संस्थागत विद्यालय तफै फर्केका छन् त्यो बुझेर सामुदायिक तर्फ फर्कने बनाउने ।
–   परीक्षाको परिणाम अर्थात सिकाइ उपलब्धि बृद्धि गरेर विद्यार्थीको आन्तरिक क्षमता अनुसार प्रतिस्प्रधाको वातावरण विद्यालयभित्र बनाउनु पर्दछ । ज्ञान, सीप, व्यवहारमा खास गरी खेलकूद, साहित्य, कलाकारिता, बोली, भाषा, संस्कार तथा सभ्यतामा आफ्नो आन्तरिक क्षमता अनुसार बिकास गर्न सक्ने गरि शैक्षिक बाताबरण बनाउनु पर्दछ ।
–    विद्यालय जाँदा घरबाटै खुसी भएर आउने र विद्यालयमा रमाएर कक्षाकोठामा सिक्ने वातावरण मिलाउनु पर्दछ ।
–    विद्यालय, विद्यालयको पोशाक आफ्नो विद्यालयको प्रतिष्ठाले सबै विद्यार्थी गर्व गर्न सक्ने बनाउनु पर्दछ ।
–   विद्यार्थीको चाहना र रुची अनुसार प्रविधिको अत्याधुनिक प्रयोग गरेर शिक्षण सिकाईलाई प्रभावकारी बनाउर पनि आकर्षण गर्न सकिन्छ ।
–   अभिभावकले आफ्नो बालबालिकाको भाग्य तथा भविष्य सामुदायिक विद्यालयमै देख्न सक्ने गरि शैक्षिक तथा भौतिक व्यवस्थापन गर्नु पर्दछ ।
–   आजको युग अनुसार अन्तराष्ट्रिय सम्बन्ध र सहकार्यलाई ध्यान दिएर अन्य देशका राम्रा विद्यालयसंग सिकाइ सम्बन्ध बनाएर पनि प्रतिस्पर्धी  बनाउन सकिन्छ ।

शिक्षक तालिम कक्षाकोठामा पुगेको लाग्छ त ?  
हाम्रो विद्यालयको हकमा भन्नुपर्दा हामी प्रायः जसो शिक्षक तालीम आफै चलाउँछौँ । त्यसको कार्यान्वय भए नभएको हेर्ने जिम्मा बिषय समितिका प्रमुख तथा तहगत इन्चार्जहरुले गर्नुहुन्छ । प्रअको नाताले मैले पनि प्रायःजसो कक्षाकोठाहरुमा गई अवलोकन गर्ने गरेको छु । विद्यार्थीहरुसँग छलफल पनि गरेको छु । समग्र देशको कुरा गर्नेहो भने यो शिक्षक तालीम एउटा औपचारिकता पुरा गर्ने अर्थात बिरालो बाँध्ने कार्य भएजस्तो लाग्दछ । तालीम आँफैमा नराम्रो हुँदैन तर त्यसमा सिक्ने सिकाउने कुरामा चाँही पक्कै पनि उचित जना निर्माण, कार्यान्वयन तथा अनुगमन प्रायःजसो नभएको पाईन्छ । यसमा व्यापक सुधार ल्याउन जरुरी छ ।

सिकाइ र भौतिक पूर्वाधारको कस्तो सम्बन्ध रहन्छ ?
भौतिक पुर्वाधार भनेको सिकाइ गर्नको लागि उपयुक्त वातावरण निर्माण गर्नु हो । सिकाइ बालबालिकामा अन्तरनिहित एक खालको इच्छा शक्ति हो तर पनि भौतिक पुर्वाधार भयो भने बालबालिकालाई सिकाइको लागि सजिलो हुन्छ ।

सामुदायिक विद्यालय सुधारको शुरुवात कहाँबाट गर्नुपर्ला ?
सामुदायिक विद्यालय सुधारको शुरुवात उपयुक्त तथा आधुनिक नीति नियमको निर्माण, युग सुहाउँदो पाठ्यक्रमको निर्माण, शिक्षामा देशको लगानी बढाउने तथा शिक्षामा निजी क्षेत्रको अतिक्रमण हटाएर गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्