काठमाडौँ । आन्दोलनरत शिक्षकहरूले आज दशौँ दिन पनि प्रदर्शन जारी राखेका छन् । गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरू आज शनिबार सडकमै बसेर प्रदर्शन गरेका हुन् । बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेरै प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको थियो ।

विगत १० दिन देखि प्रत्येक दिन बिहान ११ः०० बजे माइतीघर–बबरमहलमा भेला भई जिल्लागत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसङ्गीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकको दिनचर्या नै बनेको छ । आन्दोलनमा सहभागिताको लेखाजोखा गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिरी गर्ने गरिएको छ । आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि महासङ्घले काठमाडौँ उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका लागि अनिवार्य गरिएको छ ।

आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बनाउनेजस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । शिक्षकहरू शिक्षण सिकाइमा प्रयोग गरिने उपकरण, माइक, मादलसहित आन्दोलनमा सहभागी हुँदै आएका छन् । साथै, स्थानीय कलासंस्कृति, वेशभूषाअनुसार सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना माग पूरा गर्न सरकारलाई खबरदारी गर्ने शैली पनि अपनाइने गरिएको छ ।

आन्दोलनमा स्थायी, अस्थायी, करार, बाल विकास शिक्षा, राहत, विद्यालय कर्मचारी, सहयोगी, साबिक उच्च मावि, सिकाइ अनुदानलगायत शिक्षकहरू सहभागी हुँदै आएका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित शिक्षहरू सडक आन्दोलनमा उत्रिएका हुन् । यससँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुस्तिका जाँच पनि प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस्