काठमाडौँ । आज ५९ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन साक्षरता दिवस मनाउने गरिन्छ । यस वर्ष ‘डिजिटल युगमा साक्षरताको प्रवर्धन ’ भन्ने नारासहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदैछ ।
सरकारले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १७ वर्ष बित्दा पनि पूरा भएको छैन ।सुरुका दिनमा अभियान केही प्रभावकारी देखिए पनि केही वर्षयता सुस्ताएको छ । सरकारी तथ्याङ्क अनुसार मुलुकका दश जिल्ला अझै पूर्ण साक्षर घोषणा भएका छैनन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हालसम्म ६७ वटा जिल्ला पूर्ण साक्षर घोषणा भएका छन् । मधेश प्रदेशका आठ वटा तथा कर्णाली प्रदेशका दुई वटा जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।
मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा कर्णाली जिल्लाका कालीकोट र डोल्पा जिल्ला साक्षर घोषणा हुन बाँकी नै छन् । मधेश प्रदेशका त १३६ स्थानीय तहमध्ये १२९ स्थानीय तह साक्षर घोषणा हुन बाँकी नै रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका निर्देशक दिनेश घिमिरेले जानकारी दिए । कुल जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएका जिल्ला, पालिका वा प्रदेशलाई साक्षर घोषणा गर्न सकिने संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी अभ्यास छ ।
पछिल्लो तथ्याङ्क अनुसार पाँच वर्षभन्दा माथिल्लो उमेर समूहको साक्षरता दर ७६.२ प्रतिशत थियो, जसमा पुरुष र महिलाको साक्षरता दर क्रमशः ८३.३ प्रतिशत र ६९.४ प्रतिशत रहेको छ । १५ वर्षदेखि ६० वर्ष उमेर समूहको साक्षरता दर समग्रमा ८५ प्रतिशत छ । पाँच वर्षमाथिको दुई करोड ६७ लाख २५ हजार २९५ जना जनसङ्ख्यामध्ये दुई करोड तीन लाख ७७ हजार ९८० जनाले लेखपढ गर्न जानेको सरकारी तथ्याङ्क छ ।
सरकारले पहिलो पटक २०६५ सालमा अभियानको सुरुवात गरेको थियो । त्यतिबेला दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य लिइएको थियो । त्यसपछि हरेक वर्ष अभियान सञ्चालन भइरहेको छ । लक्ष्य अनुसार उपलब्धि भने छैन । पछिल्लो डेढ दशकको अवधिमा साक्षरता अभियानका लागि राज्यले झन्डै १० अर्ब रुपियाँ खर्च गरिसकेको छ । सरकारले पहिलो पटक सन् २००० मा थाइल्यान्डको जोम्टेनमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमै सन् २०१५ भित्रै मुलुकबाट निरक्षरता उन्मूलन गर्ने भनी लिखित प्रतिबद्धता गरेको थियो ।
साक्षरताका लागि विभिन्न १२ सूचक तोकिएका छन् । जसमा राष्ट्रभाषा वा मातृभाषाका वर्ण र अक्षरको पढ्न र लेख्न जानेको हुनुपर्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्य सूची र बिल पढ्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न, एक देखि एक सयसम्म गणना गर्न सक्नेलगायत रहेका छन् ।
त्यस्तै लेनदेनका हरहिसाब राख्न सक्ने, पोस्टर साइनबोर्ड र ट्राफिक संकेत पढ्न र बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्ते पात्रो हेरी तिथिमिति बताउन सक्ने, बैंक भौचर भर्न र चेकको प्रयोग गर्न सक्ने भएमा व्यक्ति साक्षर मानिने केन्द्रको सूचक छन् ।