
काठमाडौं । नेपाल सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
शुक्रबार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूको परम्परागत आन्तरिक परीक्षा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो । सरकारका अनुसार साना बालबालिकामा परीक्षाका कारण उत्पन्न हुने मानसिक तनाव र दबाब कम गर्दै उनीहरूको प्राकृतिक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्न यो कदम चालिएको हो ।
कार्यसूचीको बुँदा नम्बर ८९ मा कक्षा ५ सम्मका विद्यार्थीलाई आन्तरिक परीक्षा नलिने र त्यसको सट्टा मनोवैज्ञानिक असर नपर्ने वैकल्पिक मूल्याङ्कन प्रणाली विकास गरिने उल्लेख छ। कक्षा ५ सम्मका बालबालिकामा परीक्षाको हाउगुजीले मनोवैज्ञानिक असर पार्ने निष्कर्ष निकाल्दै सरकारले आन्तरिक परीक्षा प्रणाली हटाउने निर्णय गरेको हो ।
सरकारद्वारा स्वीकृत कार्ययोजनाअनुसार अब प्राथमिक तहका विद्यार्थीलाई पास–फेलको आधारमा मूल्याङ्कन गर्ने र रटाउने परम्परागत प्रणाली अन्त्य गरिएको छ। यसको सट्टा मानसिक दबाब नपर्ने खालको नयाँ आन्तरिक मूल्याङ्कन प्रणाली विकास गरिनेछ । कलिलो उमेरमै परीक्षाको बोझले विद्यार्थीको सिर्जनात्मक तथा सर्वाङ्गीण विकासमा असर परेको भन्दै शिक्षाविद्हरूले उठाउँदै आएको मागलाई सम्बोधन गर्दै सरकारले यो निर्णय गरेको जनाएको छ।
