काठमाडौँ । काठमाडौंको वसन्तपुर क्षेत्रमा बस्दै आएका जगन्नाथ पन्त नेपालभाषा (नेवारी) शिक्षकका रूपमा छानिएपछि औधी खुसी छन् । नेवार समुदायनिकट रहेका उनी स्थानीयसँग नेवारीमै बोली व्यवहार गर्छन् ।
मूल घर पाल्पा भएका उनको पुस्तक तथा पत्रपत्रिका पसल पनि छ । काठमाडौं महानगरपालिकाले दरखास्त आह्वान गरेअनुसार उनी नेपालभाषा शिक्षकमा छनोट भएका हुन् ।
मकवानपुरकी यशोदा पाण्डे पनि नेपालभाषा शिक्षकमा छानिइन् । करिब ६ वर्षदेखि दरबारमार्गस्थित मोर्डन नेवाः इङ्लिस स्कुलमा नेवारी भाषा पढाउँदै आएकी उनी भन्छिन्, ‘यसलाई मैले अब्बल अवसरका रूपमा लिएकी छु ।’ नेपालभाषा बोल्न, लेख्न, पढ्न र बालबालिकासँग बोलचाल, व्यवहार गर्न उनी सक्षम छिन् । यसपालि महानगरले छनोट परी ‘सरकारी शिक्षक’ हुन पाएकामा उत्साह जागेको उनले बताइन् । पन्त र पाण्डेजस्तै गैरनेवार समुदायबाट अदृशा चौधरी, सस्मिता झा, सृजना शर्मा र उर्मिला विक छनोटमा परेका छन् । कुल २ सय ९ शिक्षक छानिएकामा १ सय ७९ जना महिलामात्रै छन् ।
महानगरले पहिलो पटक मातृभाषा शिक्षणका निम्ति करार सेवामा प्रशिक्षण सहायक छनोट गरेको हो । प्रयोगात्मक र अन्तर्वार्ता छनोटमा परेका शिक्षकको सोमबारबाट साताव्यापी तालिम सुरु भएको छ । उनीहरूलाई छ वटा केन्द्रमा तालिम दिइएको छ । मातृभाषा शिक्षणप्रति आकर्षण देखिएको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए । ‘हामीले अपेक्षा गरेभन्दा महिला आवेदकको संख्या अधिक रहेको छ र त्यसैअनुसार छनोटमा परेका छन्,’ प्रमुख सुवेदीले भने, ‘यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं । तालिममा सहभागी भएपछि ती शिक्षकलाई नियुक्तिपत्र दिइनेछ ।’ महानगरले १ सय ७२ जनाको कोटामा आवेदन आह्वान गरेको थियो । त्यसमा २७ जना वैकल्पिक सूचीमा छन् । विद्यार्थी चापका कारण वैकल्पिक सूची रहेकासमेतलाई करार नियुक्ति दिइने जनाइएको छ ।
‘नेवाः बस्ती, नेवाः स्कुल’ अभियानका संयोजक दीपक तुलाधर मातृभाषा पठनपाठनका निम्ति महिला शिक्षक छनोट हुनु सकारात्मक रहेको बताउँछन् । ‘महानगरले नेपालभाषा पठनपाठन गर्नु ज्यादै सकारात्मक काम हो,’ उनले भने, ‘नेवार जातिको पहिचान भनेको नेपालभाषा हो, यो भाषा पढाउन महिला शिक्षक धेरै छनोट हुँदा थप सकारात्मक पहल भएको मान्न सकिन्छ ।’ शिक्षाविद् विद्यानाथ कोइराला पनि मातृभाषा शिक्षणका अधिक महिला छनोट हुनु सकारात्मक रहेको बताउँछन् । ‘महिला शिक्षक राख्न सक्नु काइदाको कुरो हो,’ कोइराला भन्छन्, ‘उनीहरूमा साना केटाकेटीलाई आफ्ना छोराछोरीजस्तो गरी पठनपाठन गराउने मातृवात्सल्य क्षमता हुन्छ । त्यो क्षमताको उपयोग हुन्छ भने अर्कोतर्फ महिलाले रोजगारीको अवसर पनि पाउँछन् ।’
शिक्षा ऐन तथा नियमावलीअनुसार आधारभूत तहमा स्थानीय विषयका रूपमा मातृभाषामा पठनपाठन गर्न सकिने व्यवस्था छ । महानगरपालिकाले चालु शैक्षिक सत्रबाट कक्षा १ देखि ८ सम्मको ‘यँ देय् म्हसीके’ (काठमाडौं चिनौं) पाठ्यपुस्तक लागू गरेको छ । त्यसैअनुसार महानगरले कक्षा ८ सम्म पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रकाशित गरेको छ । महानगरले स्थानीय विषयलाई अनिवार्य गर्न लागेकामा भने शिक्षाविद् कोइराला विमति प्रकट गर्छन् । ‘महानगरले स्थानीय विषयलाई अनिवार्य गर्ने भनेको छ,’ उनले भने, ‘इच्छाधीन विषयका रूपमा मात्र लागू हुनुपर्छ, अन्य समुदायका बालबालिकालाई जबर्जस्त लाद्नु जायज होइन ।’
महानगरभित्र ९२ वटा सामुदायिक (सरकारी) र ७ सय ८३ भन्दा बढी निजी विद्यालय छन् । छनोटमा परेका शिक्षकलाई सामुदायिक विद्यालयमा खटाइनेछ । निजी विद्यालयमा समेत नेपालभाषाको पाठ्यपुस्तक पठनपाठन गराउन पहल गर्ने महानगरले जनाएको छ ।
गणेश राईले कान्तिपुरमा खबर लेखेका छन् ।