गीता काफ्ले
प्रधानाध्यापक
नन्दी माध्यमिक विद्यालय, नक्साल, काठमाडौं

विद्यालयको समग्र अवस्था कस्तो छ ?
विद्यालयको वर्तमान परिस्थितिलाई प्रभावित गर्ने कारकतत्वमा सबैभन्दा ठूलो कारक प्रअ, शिक्षकहरुको व्यक्तित्व, हेराइ, बुझाइ र व्यवहार पनि हो । शिक्षकहरुलाई पनि त्यस्तो विद्यालयमा काम गर्न सहज हुन्छ जहाँका स्टाफ सहयोगात्मक हुन्छन् । प्रअबाट पनि सबै किसिमको सहयोग मिल्दछ । हाम्रो विद्यालयको अवस्था पनि यस्तै छ । विद्यालयमा सुधार सुस्त–सुस्त गतिमा हुने गर्छ । यसका लागि धर्यका सात प्रतिक्षा गर्नुपर्छ । विद्यालयको आफ्नै एक व्यक्तित्व हुनेगर्छ जुन त्यहाँ कार्यरत शिक्षक, विद्यार्थी र अभिभावकबाट बन्दछ । कुनै विद्यालयमा आउँदा विद्यार्थी मन नलागी नलागी आउँछन् र छुट्टीको घण्टि बज्नसाथ छुट्टी भन्दै उफ्रदै घर जान हतारिन्छन् । तर, हाम्रो विद्यालयको अवस्था ठीक उल्टो छ ।

काठमाडौं महानगरपालिका वडा नं. १ मा अवस्थित हाम्रो नन्दी माध्यमिक विद्यालय एक ऐतिहासिक विद्यालय पनि हो । बिहानी सत्रमा कक्षा ११, दिवा सत्रमा इसिडि देखि कक्षा १० तथा बेलुकी सत्रमा कक्षा ६ देखि ११ सम्म पठनपाठन हुने यो विद्यालयको अन्य विद्यालयको भन्दा भिन्न पृष्ठभूमि छ । एउटै संरचनामा २ वटा विद्यालय संचालन हुने हुँदा कक्षाकोठालगायत अन्य पूर्वाधार पनि धेरै नै चाहिने कुरामा २ मत हुन सक्दैन । विद्यालयको आफ्नो नाममा जग्गा नभएको कारणले आफूले चाहेको आधारमा भवन निर्माण गर्न नपाउनु एउटा समस्या भएतापनि विभिन्न दाताहरुको सहयोगमा २ वटा पक्की भवन निर्माण भइसकेको अवस्था छ । करिव ७०० विद्यार्थीको रोजाइको रुपमा रहेको यो विद्यालय विगत ७३ वर्षदेखि समुदायको शानको रुपमा खडा छ । करिव ७ रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालयले २०७२ सालको महाभूकम्पपछि आफ्नो स्वरुप बदलेको कुरा यहाँ आइपुग्ने जो कोहीले सहजै महसुस गर्न सक्छन् ।

शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के–के हुन् ?
सरकारी अनुदानमा सञ्चालित विद्यालय भएकोले नेपाल सरकारले तोकेको नियमभित्र आबद्ध भएर हाम्रा शैक्षिक क्रियाकलापहरु सञ्चालित हुन्छन् । दैनिक कार्यतालिका बनाएर कक्षा सञ्चालित हुन्छ । कुनै शिक्षक अनुपस्थित हुँदा अतिरिक्त शिक्षक खटाएर कक्षा सुचारु हुने गरेको छ । विषयगत विभागहरु गठन गरेर विषयगत योजना बनाउने तथा उपलब्धि उपर छलफल हुने गरेको छ । कमजोर सिकाइ क्षमता भएका बालबालिकाहरुका लागि उपचारात्मक शिक्षणको व्यवस्था छ ।

कक्षाकोठालाई बालमैत्री र सिकाइमैत्री  बनाउन विद्यालयमा के प्रयास भएको छ ?
कक्षाकोठा सफा र शैक्षिक सामग्रीले चिटिक्क सजाइएका छन् । शिक्षकहरु हासी हासी खुसी भएर कक्षाकोठामा जानुहुन्छ र सन्तुष्ट हुँदै फर्कनुहुन्छ । बालबालिकाको लागि सिकाइ अवसर सिर्जना गर्न कुनै कसर बाँकी  हुन्न । लाइब्रेरी,कम्प्युटर ल्याब, स्मार्ट क्लासमा आवश्यकता अनुसार लग्ने गरिएको छ । दण्डरहित, भयरहित वातावरणमा सिक्ने र सिकाउने काम हुन्छ । कक्षाकोठामा सकेसम्म पारिवारिक वातावरण निर्माण गर्ने प्रयास गरिएको छ । विद्यार्थीहरु शिक्षकसँग निर्धक्क आफ्नो कुरा राख्न सक्छन् । शिक्षकहरुले अनिवार्य रुपमा कुनै न कुनै शैक्षिक सामग्री लिएर कक्षाकोठामा जानुहुन्छ । हरेक पाठ पठाउँदा पाठयोजना र फरक सिकाइ विधि प्रयोग गर्ने गर्नुहुन्छ । हाम्रो विद्यालयमा विद्यार्थीहरुले सिकाइलाई बोझ नभइ मजाको रुपमा लिने गर्छन् । त्यसैले त १० बजे विद्यालय आउँद रमाएर आउँछन् । ४ बजे फर्कदा फर्कन नपरे हुन्थ्यो जस्तो गर्छन् । काठमाडौंको विद्यालय र धेरै जसो विद्यार्थी घरेलु कामदार हुने भएकाले हामी उनीहरुको समस्यालाई नजिकबाट नियाल्दै समाधानको प्रयासमा जुट्ने गर्छौं ।

सिकाइस्तरको अवस्था के छ ?
परीक्षाको नतिजा मात्रै भन्दा हामी विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित छौं । विद्यार्थीले शिक्षासँगै, नैतिकता, सामाजिकता र जीवनोपयोगी सीप सिकून् भन्ने चाहन्छौं । साथै, विद्यार्थीको  सिकाइस्तर सन्तोषजनक छ । एसईईको नतिजा राम्रो आउँछ । सबै विषयको उपलब्धि विवरणलाई सार्वजनिक रुपमा प्रदर्शन गर्ने गरिएको छ जसको आधारमा आगामी उपलब्धि प्रक्षेपण गर्ने गरिएको छ ।

सामुदायिक विद्यालयको अवस्था देशभर खस्किदै गइरहेको भनिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
सामुदायिक विद्यालयलाइ हेर्ने दृष्टिकोण नबदलिकन यो आरोपबाट उम्कन सक्ने अबस्था छैन । एकाध नराम्रा विद्यालयको उदाहरण दिएर सबैलाई एउटै बास्केटमा राखेर हेर्नु कदापि राम्रो होइन । आजको देश चलाउने जनशक्ति सबै सामुदायिक विद्यालयको उत्पादन हो र अझै अगाडिका दिनमा पनि त्यहि नै अवस्था रहन्छ । वर्षभरि रटाएको विषयवस्तुलाई उत्तरपुस्तिकामा लेखेको भरमा प्राप्त गरेको जिपिएलाई आधार मानेर मात्र पुग्दैन । उनीहरुको रहन सहन, लवज, संस्कार पारिवारिक अवस्था आदिको मूल्यांकन गर्दा सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले हासिल गरेको उपलब्धिको कसैसँग तुलना हुन सक्दैन । विद्यालयले उपलब्ध गराएको वातावरणको आधारमा सामुदायिक विद्यालयको नतिजा आउने गरेको छ जुन कुरा हामीले कदापि भुल्नु हुदैन । होला एकाध शिक्षकहरु नराम्रा पनि होलान्, तर सबैलाई हेर्ने चस्मा एउटै भयो भने त्यो गम्भिर त्रुटि हुनेछ । मेरो विचारमा सामुदायिक विद्यालय कमजोर भन्ने कुरा हल्ला मात्रै हो । वास्तवमा पछिल्लो दिन सामुदायिक विद्यालयहरु उम्दा बन्दै आइरहेका छन् ।

अभिभावकहरुले त अझैपनि सामुदायिक विद्यालयहरुलाई पत्याएको देखिदैन नि ?
मुलुकका झण्डै असी प्रतिशत बालबालिका अझैपनि सामुदायिक विद्यालयमै अध्ययन गर्छन । सामुदायिक विद्यालयमा भर्ना हुन नपाएपछि संस्थागत निजी विद्यालयमा जाने विद्यार्थीहरु पनि धेरै छन् । सामुदायिक विद्यालयमा भर्ना गराइदिन अभिभावकहरुले नेताहरुलाई फोन गर्ने प्रचलन छँदै छ । अब कसरी सामुदायिक विद्यालयलाई अभिभावकले पत्याएनन् भन्ने ? घरैपिच्छे खुलेका संस्थागत विद्यालय र तिनीहरुको आकर्षक प्रचारबाजी अनि अंग्रेजी मोहले गर्दा अभिभावकहरु भुलभुलैयामा परेका हुन् । पैसा हुनेलाई खर्च गर्ने ठाउँ पनि चाहिएको छ । सामुदायिक विद्यालयहरुले प्रचारबाजी गर्दैनन् । हाम्रो विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन हुन्छ भनेर कति अभिभावकलाई थाहा नै छैन । कति सामुदायिक विद्यालयहरुले स्थान अभावका कारण विद्यार्थी फर्काईरहेको अवस्था पनि छ । भवन र शिक्षकमात्र भएर विद्यालय चल्न सक्दैन, सरकारले विद्यालयमा आउने सम्पूर्ण बालबालिकाको खाना र खाजाको पनि जिम्मा लिनु पर्छ ।

अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमतामा बारम्बार प्रश्न उठ्ने गर्छ । सुधारका लागि के गर्नुपर्ला ?
गुणस्तरिय शिक्षाको मानकको रुपमा योग्य र दक्ष शिक्षक पनि हुन् । सम्पूर्ण शैक्षिक क्रियाकलापको केन्द्रबिन्दुमा शिक्षकलाई राखिनु पर्दछ । शिक्षकले राम्रोसँग विषयबस्तु नसिकाएसम्म विद्यार्थीले सिक्न सक्दैन । त्यसैले शिक्षक आफै पनि अपडेट हुनु जरुरी छ । सरकारले  सेवा प्रवेश गरिसकेपछि नव नियुक्त शिक्षकलाई ३ महिना सम्म शिक्षण सम्बन्धि तालिम दिएर मात्र कक्षाकोठमा पठाउने व्यवस्था गर्नुपर्छ । शिक्षकको क्षमता राम्रो हुनुपर्ने चर्चा चल्नु स्वाभाविक छ । चल्नुपर्छ । तर, अहिलेका शिक्षकका क्षमतामाथि प्रश्न उठाउनु भने सहि कुरा होइन । शिक्षकहरु दक्ष, योग्य र क्षमतावान नै छन् । अझ पछिल्ला आयोगबाट आउनुभएका शिक्षकहरु अझ राम्रा हुनुहुन्छ । कमी भनेको लगनशीलता र मिहिनेतको मात्रै हो । जे गरेपनि हुने अवस्था छ । अब कार्य हेरेर पुरस्कार र दण्डको व्यवस्था गर्ने हो भने यी सबै समस्या हट्छन् ।

शिक्षकहरुको बेलाबेलामा क्षमता परिक्षण हुनुपर्ला कि नपर्ला ?
जरुर पर्छ ।  एकपटक पेशामा छिरिसकेपछी सधैलाई जागिरको लालमोहोर लाग्ने प्रथाको अन्त्य गरि निश्चित अवधिमा परीक्षा लिएर त्यसमा पास हुनै पर्ने बाध्यकारी व्यवस्था लागु गरिनुपर्छ अथवा शिक्षकलाई उनीहरुको कार्यप्रगतिको आधारमा निश्चित समयमा बढुवा गर्ने परिपाटी भयो भने उनीहरु सक्रिय भएर काम गर्छन् जस्तो लाग्छ । २०३२ सालमा लिएको ज्ञान अब पुरानो भइसक्यो । शिक्षकहरु पनि तिखारिँदै, नयाँ ज्ञानसँग अपडेट हुँदै जानुपर्छ ।

सरकारले दिने शिक्षक तालिम, पाठ्यक्रम, परीक्षा प्रणालीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
तालिम पर्याप्त छैन । फेरी पुरानै ढर्राको तालिमले सुधार हुँदैन । समयसापेक्ष सुधार आवश्यक छ । फेरी हाम्रा पाठ्यक्रम पनि संकुचित भए । यसलाई बृहत बनाउनुपर्छ । ३ घण्टे परीक्षा प्रणालीलाई पनि व्यवहारिक बनाउनु आवश्यक छ । वर्षभरीको सिकाइ ३ घण्टे लेखाइमा मापन हुन सक्दैन । परीक्षामा घोकेर, रटेर लेख्ने भन्दा पनि खोजेर, विश्लेषण गरेर लेख्ने विधिको विकास हुन जरुरी छ । सीप र प्रतिभाको परीक्षण हुनुपर्छ न कि घोकेको विषयवस्तुको । बरु प्रश्नपत्र पहिल्यै सार्वजनिक गरेर त्यसमा विश्लेषण गरेर उत्तर लेख्न दिनुपर्छ । अब तालिमका नाममा पेपर पेन्सिलको विकल्प खोजिनुपर्छ ।

एउटा विद्यालय राम्रो बनाउनको लागि एकजना प्रअको कस्तो भुमिका रहन्छ ?
विद्यालयको समग्र व्यवस्थापन र सञ्चालनको मार्गचित्र बनाउने काम प्रअको हो ।  भएको श्रोत र साधनको सहि सदुपयोग गर्नु तथा शिक्षकको कार्य क्षमता पहिचान गरेर सही व्यक्तिलाई सही स्थानमा जिम्मेवारी दिनेगरी कार्यविभाजन गर्नु पर्दछ । रणनीतिक योजना बनाएर विद्यालयको भावि कार्यदिशा पहिल्याउन प्रअ एक्लै दौड्ने होइन कि शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई लक्षप्राप्तिमा सँगसँगै दौडाउन समन्वयकारी भुमिका खेल्नु नै प्रअको दायित्व हो भन्ने लाग्छ मलाई । त्यसैगरी समुदायका व्यक्तिहरुसंग समन्वय गरेर अघि बढ्नु पनि त्यत्तिकै अपरिहार्य हुन्छ । तर, यसको मतलव सुधारका लागि प्रअ मात्रै सबै थोक भने होइन् । प्रअले योजना बनाउने र त्यसको कार्यान्वयनमा सबैलाई परिचालन गर्नसक्नुपर्छ । शिक्षक, विद्यार्थी, अभिभावक, प्रअ सबै मिलेर सामुहिक रुपमा प्रयास गरेमात्रै सुधार आउँछ ।

यो विद्यालयमा नै विद्यार्थीहरु किन पढाउने ?
भौगोलिक हिसाबले यातायातको राम्रो पहुँच भएको तथा काठमाडौँको केन्द्रमा अवस्थित यो विद्यालय वातावरण्ीाय हिसाबले पनि आकर्षक र मनमोहक छ । अगाडिको नन्दिकेशर बगैँचा तथा विद्यालय भित्रकै हरित वातावरणले सबैको ध्यानाकर्षण गराउँदछ । भूकम्पप्रतिरोधि पक्की भवन, बालमैत्री कक्षाकोठा, दक्ष शिक्षक, उत्कृष्ट  नतिजा, सबै पुर्वाधार सम्पन्न यस नन्दि माध्यमिक विद्यालयको विकल्प अरु हुन सक्दैन । श्रोत र साधनयुक्त पुस्तकालय, प्रयोगशाला, कार्यक्रम हल, कम्प्युटर ल्याब, स्मार्ट कक्षाको व्यवस्था, शुद्ध पिउने पानी आदि यसका विशेषता हुन् । गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता भन्ने आदर्श भाव बोकेका कर्मशील शिक्षकद्वारा अंग्रेजी तथा नेपाली दुबै माध्यमबाट पठनपाठन हुने नन्दी विद्यालय सबैको रोजाईमा परेको विद्यालय हो ।

तपाईं यस विद्यालयमा कहिले प्रअ बन्नु भयो ? तपाईं प्रअ भएपछि के–के सुधार गर्नुभयो ?
मैले यस विद्यालयमा २०७२ सालदेखि प्रअको जिम्मेवारी सम्हाल्दै आएकी छु । मैले त्यस्तो जोखिमको अवस्थामा प्रअको जिम्मेवारी वहन गरेको हो जतिबेला भूकम्पले विद्यालयको समग्र संरचना थिलोथिलो थियो । राणाकालीन समयमा बनेका भिमकाय भवनहरुको भग्नावशेष व्यवस्थापन नै एउटा ठुलो चुनौति को पहाड बनेर खडा भइरहँदा साँघुरो  ठाउँमा पाल टाँगेर कक्षा सञ्चालन गर्नुपर्ने दायित्व निर्वाह गर्ने कार्य झनै जटिल थियो । भौतिक खण्डहरताको अवस्थामा शैक्षिक धरोहरको साख गिर्न नदिनु अर्को चुनौति भइरहेको जटिल परिस्थितिबाट आजको अवस्थामा आईपुग्दा निम्न कार्यहरु गरिएका छन् ।
–  समुदायका विभिन्न संस्थाहरुको सहयोगमा विद्यालय परिसरको भग्नावशेष व्यबस्थापन ।
–    विद्यालयको भौतिक संरचनामा आमुल परिवर्तन गर्दै एउटा सुन्दर pre-fab एवं २ वटा पक्कि भवनको निर्माण ।
–    समग्र भवनमा फर्निचरको व्वस्थापन साथै अन्य सामग्रीहरुको जोरजम्मा गर्ने काम ।
–   विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउँदै कम्प्युटर ल्याबको स्थापना, कम्प्युटर विषयको पठनपाठनको सुरुवात, इन्टरनेट सहितको स्मार्ट कक्षाको  सुरुवात, सन्दर्भ सामग्रीसहितको पुस्तकालय एवं उपकरण सहितको विज्ञान प्रयोगशालाको सुरुवात, कार्यक्रम हलको निर्माण, क्यान्टिनको सुरुवात ।
–   विद्यालयलाइ हरित विद्यालयमा रुपान्तरण गर्दै सेनिटेशनमा अत्यधिक सुधार, कम्पाउण्ड वालको निर्माण एवं रंगरोगन, भुइमा ब्लक छाप्ने काम, बगैँचा निर्माण आदिबाट स्तरोन्नति गर्ने कार्य ।
–   शैक्षिक सुधारका लागि उल्लेख्य कार्यहरु जस्तै अंग्रेजी माध्यममा पठनपाठनको सुरुवात, कक्षा ११ मा पठनपाठनको सुरुवात, निरन्तर मुल्यांकन पद्धतिमा सुधार, शिक्षक तालिमको व्यवस्था, कमजोर विद्यार्थीको लागि उपचारात्मक शिक्षणको व्यवस्था, बिभागिय प्रमुखहरुलाई सकृय बनाईएको आदि ।

राम्रो प्रअ बन्नका लागि तपाईंका सुझाबहरु के–के छन् ?
योजना निर्माण, समय व्यवस्थापन, सहकार्य, समन्वय तथा जवाफदेहिता एवं जिम्मेवारिबोधका साथ कार्यक्षेत्रमा खटेमा मात्रै चाहेको जस्तो नतिजा दिन सकिन्छ भन्ने लाग्छ मलाई । प्रअमा विद्यालयप्रतिको समर्पण भाव हुनुपर्छ । विद्यालयको बारेमा मात्रै चिन्ता र चिन्तन गर्ने प्रअले मात्रै सुधार गर्छ । सबैलाई साथ लिन सक्ने, पहिले आफै मोडल बन्ने, हरेक कामको योजना बनाउने, सबैलाई जिम्मेवारी दिने गुण प्रअमा हुनुपर्छ । प्रअमा बाहाना भन्दा सुधारको चाहना भएको हुनुपर्छ ।

विद्यालयको सुधारका लागि तपाईंका योजनाहरु के–के छन् ?
भौतिक पक्षमा विद्यालयले ठूलो फड्को मारिसकेतापनि अझै सुधारका कार्यहरु गर्न बाँकी छ । अबको योजनामा प्रारम्भिक बालविकास देखिका सबै  बालबालिकाको लागि अत्याधुनिक, बालमैत्री फर्निचर, इन्टरनेट सहितको प्रविधिमैत्री कक्षाकोठा, सिकाइकेन्द्रित वातावरण निर्माणको लागि नयाँ कार्यक्रमहरु अगाडि बढाइएको छ । कक्षा १ देखि नै जीवनोपयोगी सीपलाई अगाडि बढाएर एसएलसीपछि विद्यार्थी बाहिरिँदा शैक्षिक प्रमाणपत्रसँगै केही न केही सीप पनि लिएर जाउन भन्ने लक्ष्यका साथ अगाडि बढिएको छ । विद्यार्थीहरुलाई सामाजिकता, नैतीकता, अनुशासन र संस्कारसहित  शिक्षा दिनु नै हाम्रो  पहिलो योजना रहेको छ । विद्यालयलाई विद्यार्थी भित्रको प्रतिभा प्रस्फुटनको केन्द्र बनाउन चाहन्छौं । त्यसैले हामी विद्यार्थी केन्द्रित सिकाइलाई जोड दिँदै आएका छौं ।

स्थानीय समुदायको सहयोग कत्तिको छ ?
समुदायको राम्रो सहयोग छ । कामपा वडा नं. १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले आफ्नो छोरीलाई बोर्डिङबाट निकालेर यसै विद्यालयमा भर्ना गर्नुभएको छ । समुदायका बिभिन्न महानुभावहरुले अक्षयकोष स्थापना गरेर जेहेन्दार बालबालिकाको लागि छात्रवृत्तिको व्यवस्था गर्नु भएको छ । विद्यार्थीको समग्र विकासमा सहयोग पुर्याउने विभिन्न कार्यक्रमहरु समुदायको सहभागितामा सञ्चालन हुने गरेका छन् ।

शिक्षक र विद्यार्थीको अवस्था कस्तो छ ?
विद्यालयमा यथेष्ट शिक्षक दरबन्दी छन् । विषयगत शिक्षकको कमी छैन । सबै शिक्षकहरु दक्ष र तालिमप्राप्त हुनुहुन्छ । विद्यार्थीहरु रमाएर सिकिरहेका छन् । कसैको केहि गुनासो छैन । तर, एउटा कुरा के छ भने इसिडि शिक्षक, विद्यालय कर्मचारी तथा कार्यलय सहयोगीलाई राज्यले गरेको बिभेदले गर्दा उहाँहरुबाट चाहेको जति सेवा लिन सकिरहेको अवस्था छैन ।

प्रतिकृया दिनुहोस्