विश्वव्यापी फैलिएको कोरोनाभाइरस(कोभिड–१९)का कारण विश्वविद्यालय र विद्यालयका १.२५ अर्ब बालबालिका घरमै बस्न बाध्य छन् ।
अहिलेको समयमा अभिभावकहरुलाई विद्यालय शिक्षा बाहेक विद्यार्थीलाई सिक्नको लागि कुनै विकल्प बाँकी रहेको छैन । वर्तमान समयमा गृह शिक्षा एकमात्रै विकल्पको रूपमा रहेको हुँदा यसबारे सबै अभिभावकले विचार गर्नु आवश्यक देखिन्छ । किनभने अभिभावकको सहयोग र सक्रियता विना यो सम्भव छैन ।
नेपालमा चैत ११ देखि हालसम्म निरन्तर लकडाउनको अवस्था रहेको छ । विश्वविद्यालयका सहित एसईई, कक्षा ११ र १२ को परीक्षा सम्पन्न हुन बाँकी नै रहेका छन् ।
एकातिर सामाजिक दूरी कायम गर्दै स्वस्थ र सुरक्षित हुनुपर्ने र अर्कोतिर परीक्षाको तयारी गर्नुपर्ने मानसिक दवावमा विद्यार्थीहरु रहेका देखिन्छन् । त्यसैले उनीहरुमा मनोसामाजिक समस्याले पनि पिरल्ने देखिन्छ । विद्यार्थीका प्रथम शिक्षक अभिभावक नै भएकाले यस समयमा उनीहरुको भुमिका महत्वपूर्ण हुने देखिन्छ ।
एकातिर उनीहरुले विद्यार्थीको स्वास्थ्य सुरक्षा र अर्कोतिर सिकाइ निरन्तरतामा ध्यान दिनुपर्ने हुन्छ । फेरी मनोपरामर्शको जिम्मेवारी पनि उनीहरुको काँधमा आएको देखिन्छ ।
बलबालिकाहरुले घर, समाज र आफ्नो समुदायबाट धेरै कुरा सिक्ने गर्छन् । यसैसन्दर्भमा भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता महात्मा गान्धीले गृह र अभिभावकका सन्दर्भमा यसो भनेका छन्–‘यहाँ एक सभ्य घर बराबर कुनै स्कूल छैन र सद्गुण अभिभावकको बराबर कुनै शिक्षक छैन ।’
यसको मतलव अब अभिभावकहरुले घरमा एक असल शिक्षकको भुमिका निर्वाह गर्नुपर्ने भएको छ । बालबालिकालाई व्यस्त राख्दै उनीहरुको सिकाइ निरन्तरता र स्वास्थ्यको चिन्ता लिनुपर्ने भएको छ ।
यस आलेखमा घरमा कसरी विद्यार्थीको सिकाइ निरन्तरता दिन सकिन्छ भन्ने बारे चर्चा गर्न खोजिएको छ । विद्यार्थीहरुलाई निम्न उपायहरू अपनाएर घरमा व्यस्त राख्न सकिन्छ :
क)समयतालिका बनाउने : विद्यालयको जस्तो समयतालिका निर्माण गरिदिने र उनीहरुलाई उक्त तालिका लागूभएको र नभएको अनुगमन गरिरहने ।
ख)योगअभ्यास गराउनेः बिहान उठेको समयमा विभिन्न किसिमका ध्यान, प्रणायम गराएर उनीहरुको ध्यान एकत्रित गराउने ।
ग) उच्चारण, लेखन सिपमा ध्यान दिनेः कतिपय विद्यार्थीहरुलाई शुद्धसँग लेख्न र उच्चारण गर्न समस्या रहेको हुँदा उनीहरुलाई उक्त कार्यमा सहभागी गराइ आवश्यक पृष्ठपोषण प्रदान गर्नुपर्ने हुन्छ, यसबाट उनीहरुको अध्ययनमा ठूलोसफलता मिल्ने गर्दछ ।
घ)स्वस्थ आलोचना गर्न लगाउनेः विद्यार्थीहरुलाई विद्यालयमा बादबिबादमा सहज हुने हिसाबले कुनै एकशीर्षक दिएर त्यसको आलोचना गर्न लगाउनुउपयुक्त हुन्छ ।
ङ)सिर्जनात्मक कार्यमाध्यान दिनेः विद्यार्थीले गरेका सिर्जना, चित्र, व्यंग्यचित्र आदिको रुचीअनुसार कार्य गर्न लगाइ उनीहरुलाई आवश्यकता अनुसार पृष्ठपोषण प्रदान गर्नुपर्दछ ।
च)व्यक्तिगत सरसफाईमा केन्द्रित गर्नेः हातमुख धुने, नुहाउने, कपडा धुने, नङ काट्ने कार्य गर्न लगाउने र गरेको खण्डमा पुर्ण रूपमा लकडाउन खुलेर विद्यालयमा अध्ययनमा सफलता प्राप्त गर्न सहज हुन्छ । असल बानीको पनि विकास हुन्छ ।
छ) रुचीअनुसारको कार्य गर्न लगाउनेः विद्यार्थीको रुची बुझ्ने समय यहि भएकाले उनीहरुको रुचीतर्फ केन्द्रित भएर कार्य गर्न लगाउन सकिएको खण्डमा उनीहरुको जाँगर, हौसला बढ्छ ।
ज)नातागोता चिनाउनेः बुझ्ने उमेरका विद्यार्थीहरुलाई आफ्नानातागोता, आफन्त चिनाउने गर्दा उनीहरुलाई सामाजिक बन्न आदरसंस्कार सिक्न सहज हुन्छ ।
झ) कृषि जन्य कार्यमा संलग्न गराउनेः सक्ने उमेरका विद्यार्थी लाई खेतबारीमा मल, बीउ छर्न लगाउने, वनस्पतिबारे जानकारी दिने गर्दा विद्यालयमा अध्यापन हुने विषय पेशाा व्यवसाय तथा प्रविधिको अध्ययन गर्न सहज हुन्छ भने उनीहरुको कृषि पेशा प्रति सम्मान र आकर्षण बढ्छ ।
ञ) खाने र सुत्ने समय निश्चित गर्नेः शारीरिक आराम र भोजनका लागि उनीहरुलाई समयतालिका निर्माण गरेर घरपरिवारका सदस्यले देख्ने गरि टाँसेर राख्दा उनीहरुमा समय पालनाको बानी बढ्छ ।
ट) नक्कल गर्न लगाउनेः समय समयमा उनीहरुलाई नक्कल गर्न लगाई आफू पनि उक्त कार्यमा सहभागी हुनुपर्छ ।
ठ)घरायसी काममा लगाउनेः खाना पकाउन लगाउने, खानामा राखिने वस्तुहरुको बारेमा जानकारी दिनुपर्ने हुन्छ ।
अन्त्यमा ,
अभूतपूर्व त्रासको अवस्थाको रुपमा रहेको यो समय सधैँ नरहने भएकाले यसका लागि धैर्यवान र सकारात्मक हुनु महत्वपूर्ण हुन्छ ।
(उपाध्याय महांकाल जनजागृत मावि बूढानीलकण्ठ, गोल्फुटारका विज्ञान शिक्षक हुन् ।)