
काठमाडौँ । शिक्षा विषयमा कलम चलाउने पत्रकारका दुई संस्था एकापसमा एकीकृत हुने भएका छन् ।
शिक्षा पत्रकार समूह र शिक्षा पत्रकार समाजबीच समायोजनको प्रक्रिया सुरु भएको हो । संस्थाका पूर्वअध्यक्ष प्रकाश सिलवाल र सुदर्शन सिग्देलको सहजीकरणमा भएको वार्तामा समूहका अध्यक्ष निर्जला कक्षपति, वरिष्ठ उपाध्यक्ष जनक नेपाल, महासचिव रोशन गाउँले क्षेत्री तथा समाजका अध्यक्ष देवीप्रसाद सापकोटा, महासचिव श्याम तण्डुकार र सचिव लक्ष्मीप्रसाद ढकालबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
समूहले दिवंगत पूर्वमहासचिव शेषकान्त पण्डितको स्मृतिमा वार्षिक पुरस्कार स्थापना गर्ने योजना पनि बनाएको छ ।
शिक्षा पत्रकार समूहको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार अनामनगरस्थित समूहको सभाहलमा साधारण सभा सम्पन्न भएको हो ।
सो अवसरमा समूहका सल्लाहकार प्राडा विद्यानाथ कोइराला, पूर्व अध्यक्षहरु सुदर्शन घिमिरे, प्रकाश सिलवाल र सुदर्शन सिग्देल लगायतले भावी कार्यदिशाबारे दिशानिर्देश गरेका थिए ।
उनीहरूले बदलिँदो परिवेशमा शिक्षाको मुद्दालाई दह्रो गरी पक्रिएर अघि बढ्नुपर्ने बताए । सार्वजनिक शिक्षाको उन्नयनमा शिक्षा पत्रकार समूहले रचनात्मक र सहयोत्मक भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ थियो ।
समूहकी अध्यक्ष निर्जला कक्षपतिको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव रोशन क्षेत्री गाउँलेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सविना बानियाँको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको सचिव प्रज्ञा तिमल्सिनाले बताइन् ।
समूहमा शिक्षा बीटमा काम गर्ने ३७ पत्रकार आवद्ध छन् भने सातै प्रदेशमा प्रदेश समन्वय समितिहरु समेत क्रियाशील रहेका छन् । साधारण सभाले उस्तै प्रकृतिका अन्य संघसंगठनलाई एकै छातामा ल्याउन पहल गर्ने निर्णय पनि गरेको बताइएको छ ।